Latest News

news-img
NRNA • 30 Jul 2026

विश्व ज्ञान सम्मेलन–२०२७ र दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।

news-img
NRNA • 28 Jul 2026

विश्व नेपाली ज्ञान सम्मेलन–२०२७, ज्ञान हस्तान्तरण, एआई, लगानी प्रवर्द्धन र गैरआवासीय नेपाली ऐनसम्बन्धी विषयमा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027), ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (AI), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको छ ।

news-img
NRNA • 28 Jul 2026

राष्ट्रिय योजना आयोग र एनआरएनएबीच छलफल

काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ।

news-img
NRNA • 13 Jul 2026

महान्यायाधिवक्तासँग शिष्टाचार भेट तथा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ।

All News

news-img
NRNA Admin • 25 Mar 2026

लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन गरिएको छ।संघका अध्यक्ष डा. हेमराज शर्मा को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुर्गा थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो।अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापा लाई चयन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिलाको नेतृत्व र दोस्रो पुस्ताको सहभागितालाई विशेष रूपमा सराहना गर्नुभयो। कार्यक्रममा निवर्तमान तथा पूर्व पदाधिकारीहरू र विभिन्न व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति रहेको थियो।

news-img
NRNA Admin • 23 Mar 2026

एनआरएनएभित्र एनसीसी एकता प्रक्रिया सुरु, फ्रान्सबाट शुभारम्भ

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले यूरोप भ्रमणका क्रममा एनसीसी एकताको शुभारम्भ फ्रान्सबाट गर्नुभएको हो। काठमाडौंमा ‘फेस–टु–फेस’ बैठक सम्पन्न गरिसकेपछि अध्यक्ष शर्मा फ्रान्स पुग्नुभएको थियो। त्यहाँ लामो समयदेखि समानान्तर रूपमा सञ्चालन हुँदै आएका दुई समूहबीच सहमति जुटाउँदै एकीकृत कार्यसमिति गठन गरिएको छ। भेलाले दिलीप गुरुङको नेतृत्वमा एनआरएनए फ्रान्सको नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष डा शर्मा ले “आईसीसी एकता पश्चात् एनसीसी एकता आफ्नो प्राथमिकतामा रहेको” उल्लेख गर्नुहुँदै फ्रान्सबाट सुरु भएको एकता प्रक्रिया अन्य देशहरूमा समेत क्रमशः विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ।

news-img
NRNA Admin • 23 Mar 2026

गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट

गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। भेटघाटमा विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन NRNA भित्र समर्पित संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो। उहाँले संकटका बेला छिटो आपतकालीन उद्धार कार्य र सहयोग पुर्‍याउन संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, संघका अध्यक्ष भुवन गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि दुवै संस्थाबीच समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो। छलफलका क्रममा दुवै पक्षले विदेशमा संकटमा परेका नेपालीहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित साझा मुद्दामा सहकार्य गर्दै प्रभावकारी समाधान खोज्ने विषयमा समेत छलफल भएको जनाइएको छ। भेटका क्रममा वैदेशिक रोजगार व्यवसायी संघले NRNA का नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो। भेटमा , उपाध्यक्षहरू डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई,जुनु गुरुङ, चिन्तामणि सापकोटा, महासचिव चिरन्जीवी खड्का, सह-कोषाध्यक्ष गंगा खतिवडा,महिला संयोजक रश्मी थापा, महिला क्षेत्रीय संयोजक राधा सिग्देल ‘किरण’, यूरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, सचिव दीपेश खत्री, एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्य, एनसीसी साउदीका अध्यक्ष उमेश भट्टराई, कार्यकारी प्रमुख राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो।

news-img
NRNA Admin • 20 Mar 2026

डा. हेमराज शर्माको नेतृत्वमा एनआरएनएको टोलीले महासंघसँग भेट, पूँजी–सीपलाई विकाससँग जोड्न आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वको नवनिर्वाचित कार्यसमितिको टोलीले नेपाल उद्योग वाणिज्य महासंघसँग भेटघाट गरेको छ। उक्त भेटमा गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्ने विषयमा महत्वपूर्ण छलफल भएको छ। महासंघको सचिवालय, टेकुमा सम्पन्न भेटमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपालीहरू नेपालको विकासमा साझेदार बन्न प्रतिबद्ध रहेको बताउनुभयो। “हामीले एकताको महाधिवेशनमार्फत डायस्पोरालाई एकजुट बनाएका छौं। अब हाम्रो ध्यान ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा लगाउनेतर्फ केन्द्रित छ,” उहाँले भन्नुभयो। उहाँले एनआरएनए र महासंघबीच सहकार्य अझ सुदृढ गर्दै ठोस परिणाम दिने खालका कार्यक्रम अघि बढाइने समेत उल्लेख गर्नुभयो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै एनआरएनएलाई लगानी तथा सहकार्यका लागि आह्वान गर्नुभयो। उहाँले महासंघको पहलमा नीतिगत तथा प्रक्रियागत सुधारहरू हुँदै गएको र लगानीका लागि वातावरण सहज बन्दै गएको धारणा राख्नुभयो। “नीतिगत जटिलता न्यूनीकरण, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण र प्रक्रियागत सरलीकरणका लागि हामीले नेपाल सरकारसँग निरन्तर पहल गरिरहेका छौं। सहकार्यलाई अझ प्रभावकारी बनाउन सके नेपाल र नेपालीका लागि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ,” अध्यक्ष ढकालले भन्नुभयो। उहाँले महासंघको पहलमा १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड’ स्थापना गरिएको जानकारी दिँदै ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन भइरहेको बताउनुभयो। साथै, उक्त कम्पनीमार्फत सहलगानीका लागि एनआरएनएलाई आग्रह गर्नुभयो। भेटघाटमा पर्यटन, ऊर्जा, पूर्वाधार विकास, यातायात, सूचना प्रविधि लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा लगानीका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

news-img
NRNA Admin • 20 Mar 2026

एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट

काठमाडौं, मार्च २०, २०२६— नव-निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ। उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। नव-निर्वाचित नेतृत्वका तर्फबाट बोल्दै डा. शर्माले नेपाल सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै एनआरएनएभित्र एकता कायम गर्न सरकारको भूमिकाको प्रशंसा गर्नुभयो। भेटका क्रममा माननीय मन्त्रीले नव-निर्वाचित एनआरएनए टोलीलाई बधाई दिँदै संघ एकताबद्ध रहँदै १२औं अन्तर्राष्ट्रिय महासभा (IGA) तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले एनआरएनएका पहलहरूमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। नयाँ नेतृत्व तथा सम्पूर्ण टोलीलाई बधाई दिँदै माननीय मन्त्रीले देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन समन्वयात्मक र परिणाममुखी ढङ्गले सँगसँगै काम गर्नुको महत्व औंल्याउनुभयो। माननीय मन्त्री बालानन्द शर्माले भन्नुभयो, “मलाई एनआरएनएसँग काम गर्ने तथा एनआरएन र गैरआवासीय नेपालीहरूलाई नजिकबाट चिन्ने अवसर मिल्यो। एनआरएनएले उठाएका मुद्दाप्रति म सकारात्मक छु र हामी सक्दो सहयोग गर्नेछौं। नयाँ संसद सदस्यहरूसँग पनि समन्वय गर्न सुझाव दिन्छु, र आगामी सरकार पनि यसप्रति सकारात्मक रहनेमा विश्वस्त छु। स्पष्ट दृष्टि र मिशनसहित आएका नव-निर्वाचित अध्यक्षलाई हामी पूर्ण सहयोग गर्नेछौं।” यस अवसरमा परराष्ट्र सचिव श्री अमृत बहादुर राईले नयाँ टोलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो र एनआरएनएको स्थापना उद्देश्यहरू प्रभावकारी रूपमा पूरा गर्न उनीहरूको क्षमतामा विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र सचिव अमृत बहादुर राइले भन्नुभयो, “एनआरएनएले १२औं अन्तर्राष्ट्रिय महासभा सफलतापूर्वक सम्पन्न गरेकोमा हामी खुशी छौं र आगामी दिनमा सहकार्य गर्न तत्पर छौं। नेपाली डायस्पोरा विश्वभर विस्तार हुँदै गएको देख्दा पनि हामी उत्साहित छौं। एनआरएनए नेपाल सरकारको विश्वासिलो साझेदार हो। गैरआवासीय नेपाली नागरिकताको मुद्दा छिट्टै समाधान हुनेछ। नव-निर्वाचित टोलीलाई बधाई।” भेटका क्रममा अध्यक्ष डा. हेमराज शर्माले एनआरएनएद्वारा तयार गरिएको मध्यपूर्व क्षेत्रको बैठकको निर्णय प्रतिवेदन मन्त्रालयलाई हस्तान्तरण गर्नुभयो, जसमा उक्त क्षेत्रका नेपालीहरूको अवस्था, राहत कार्यक्रम तथा आवश्यक कदमहरूको विस्तृत विवरण समेटिएको छ। उहाँले हालै सम्पन्न आईसीसी बैठकहरूको संक्षिप्त जानकारी दिँदै मध्यपूर्व संकटसम्बन्धी छलफल र निर्णयहरू प्रस्तुत गर्नुभयो। साथै, संकटमा परेका नेपालीहरूको सहयोगार्थ वैदेशिक रोजगार राहत कोषका लागि १ करोड रुपैयाँ संकलन गरिएको जानकारी दिनुभयो। नेपाली डायस्पोरासम्बन्धी ‘ह्वाइट पेपर’ तयार भइरहेको उल्लेख गर्दै रोजगारीका अवसर र गैरआवासीय नेपाली नागरिकताको विषयमा केन्द्रित भई डायस्पोरासँगको सम्बन्ध सुदृढ गर्ने लक्ष्य रहेको बताउनुभयो। उपाध्यक्ष मनोज श्रेष्ठले बैठकका प्रमुख निर्णयहरू प्रस्तुत गर्दै मध्यपूर्वमा रहेका नेपालीहरूको हितका लागि समन्वित प्रयास भइरहेको जानकारी दिनुभयो। उपाध्यक्ष चिन्तामणि सापकोटाले स्पेनमा रहेका नेपालीहरूले भोगिरहेका राहदानी तथा आप्रवासन समस्याहरू उठाउनुभयो भने यज्ञ नारायण पौडेलले ती विषयहरूमा सरकारको तत्काल सहयोग आवश्यक रहेको बताउनुभयो। उपाध्यक्ष रामशरण सिम्खडाले पूर्वी युरोपमा देखिएका प्रहरी प्रतिवेदनसम्बन्धी समस्या तथा विदेशस्थित गोर्खा सैनिकहरूले भोगिरहेका चुनौतीहरूबारे ध्यानाकर्षण गराउँदै तत्काल हस्तक्षेपको माग गर्नुभयो। मध्यपूर्व आपतकालीन बैठकका मुख्य निर्णयहरूमा: मध्यपूर्वमा रहेका नेपालीहरूका लागि राहत तथा उद्धार कार्यक्रम सञ्चालन; आकस्मिक खाद्य, आवास र स्वास्थ्य सेवाको सुनिश्चितता; स्वदेश फर्किन चाहने नेपालीहरूलाई टिकट, भिसा तथा चार्टर्ड उडानमार्फत सहयोग (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग समन्वय गरी); दूतावासस्तरमा आपतकालीन कार्यदल गठन तथा साउदी अरेबियाको दम्मामस्थित नेपाली दूतावास पुनः सञ्चालन; आपतकालीन कोष स्थापना र पारदर्शी व्यवस्थापन; गलत सूचनाको रोकथाम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन (कल सेन्टर र हटलाइन सहित); कतार, बहराइन, इराक र ओमानजस्ता संवेदनशील देशहरूमा रहेका नेपालीहरूको सुरक्षा तयारी; विदेशमा निधन भएका नेपालीहरूको व्यवस्थापन तथा स्वदेश फिर्ता; तथा परराष्ट्र मन्त्रालय, एनआरएनए, राष्ट्रिय समन्वय परिषद्, वैदेशिक रोजगारसम्बन्धी संघ–संस्था लगायत सरोकारवालाहरूको सहभागितामा ‘मध्यपूर्व आपतकालीन समन्वय समिति’ गठन रहेका छन्। डा. शर्माले मध्यपूर्वमा कार्यरत २० लाखभन्दा बढी नेपाली श्रमिकहरूको अवस्थाप्रति सरकार गम्भीर रहनुपर्ने आग्रह गर्दै यस संवेदनशील समयमा एनआरएनए सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभयो। उहाँले गैरआवासीय नेपालीहरू नेपालका सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको पनि दोहोर्याउनुभयो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन, उपाध्यक्षहरू, आईईएस तथा ओबी सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी अध्यक्षहरू तथा विभिन्न देशका गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव तथा अन्य अधिकारीहरूको समेत सहभागिता रहेको उक्त भेटले एनआरएनए र मन्त्रालयबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाएको छ।

news-img
NRNA Admin • 19 Mar 2026

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान काठमाडौं, २ चैत प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान गरेकी हुन् । ‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् । उनले नेपालको लगानी र अवसरलाई सदुपयोग गर्न अपिल गर्दै प्रवासी नेपालीको हातेमालोले विकास, पर्यावरणीय संरक्षण र आर्थिक रुपमा समृद्ध बनाउने बताइन् । प्रधानमन्त्री कार्कीले नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिइन् । सम्मेलनले विश्वका विभिन्न कुनामा फैलिएका नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण रहेको बताइन् । सम्मेलनले सबैमा साझा प्रतिबद्धता, नयाँ सहकार्यको वातावरण र मुलुकको विकासतर्फ अग्रसर हुने स्पष्ट मार्गदर्शन गरेको उनले उल्लेख गरिन् । ‘नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ,’ उनले भनिन्, ‘यस्तो महत्वपूर्ण समयमा यहाँहरूले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकासमा सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गर्नुभएको छ ।’ गैरआवासीय नेपालीहरु वास्तवमा नेपालको सद्भावना दूत रहेको भन्दै प्रधानमन्त्रीले थपिन्, ‘तपाईंहरूसँगै नेपालको पहिचान पनि संसारभर फैलिरहेको हुन्छ। विश्वसामु कस्तो नेपाल प्रस्तुत गर्ने भन्ने कुरा तपाईंहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ। तपाईंहरू जहाँ बस्नुहुन्छ, त्यहाँ नेपालको गौरव, पहिचान र संस्कृतिलाई विश्वसामु परिचित गराइरहनुभएको पनि छ। यसका लागि म तपाईंहरू सबैप्रति सम्मान व्यक्त गर्दछु।’ नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको भन्दै उनले यो प्रबन्ध मातृभूमि र प्रवासी नेपालीबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने सेतु भएको बताइन् । ‘यसले तपाईंहरू जहाँ रहे पनि आफ्नो ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा योगदान गर्न सक्ने अवसर सुनिश्चित गरेको छ,’ उनले भनिन् । यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरहरूमा सक्रिय सहभागिताका लागि उनले आह्वान गरिन् । ‘तपाईंहरूको योगदानले देशको दिगो विकास, पर्यावरणीय संरक्षण र आर्थिक समृद्धिलाई सुदृढ बनाउनेछ,’ उनले भनिन् । नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउनु साझा लक्ष्य भन्दै प्रधानमन्त्री कार्कीले नेपालमै अवसर सिर्जना गर्ने, नेपाली युवालाई आशावादी बनाउने र नेपाल विश्वका पर्यटकका लागि सुरक्षित तथा आकर्षक गन्तव्य हो भन्ने सन्देश फैलाउने काममा प्रवासी नेपालीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिन् । नेपाल नयाँ सरकार गठनको चरणमा रहेको भन्दै प्रधानमन्त्री कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजीलाई सुरक्षित र पारदर्शी ढङ्गले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति अबको प्राथमिकतामा रहने विश्वास व्यक्त गरिन् । गैरआवासीय नेपालीहरूको लगानी आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री कार्कीले यो लगानी नेपाली मन र नेपालीपनसँग जोडिएको लगानी भएको बताइन् । यसले विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेपालीबीच आर्थिक समुन्नति मात्र होइन, पहिचान र सामाजिक एकतालाई पनि सुदृढ बनाउने उनको भनाइ थियो । प्रधानमन्त्री कार्कीले विभाजन र मुद्दा मामिलासम्म पुगेको संघलाई एउटै मञ्चमा उभिएर सर्वसम्मत नेतृत्व चयन गरी अगाडि बढ्ने प्रण लिएकोमा प्रशंसा गर्दै विश्वभर रहेका नेपालीहरूको भावनात्मक एकताको सूत्र बन्न सकोस् भनी शुभकामना दिइन् । आफू बाँच र अरूलाई पनि बचाऊ भन्ने मन्त्रअनुसार भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का बेला देशलाई सहयोग गरेको, लगानी भित्र्याउने अभियान सञ्चालन गरेको, विदेशमा जन्मे–हुर्केका नयाँ पुस्तालाई पनि नेपालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नुभएकोमा प्रधानमन्त्री कार्कीले धन्यवाद दिँदै भनिन्, ‘यस्ता कामहरू एकताबद्ध भएर गर्दा अझ प्रभावकारी हुनेछन् ।’ कार्कीले अब बन्ने सरकारले मुलुकलाई सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गमा तीव्र गतिमा अघि बढाउने विश्वास पनि व्यक्त गरिन् । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल नेपालीले नै बनाउने बताए । ‘संस्थामा बीचमा केही समस्या आएका थिए । तर ती समस्यालाई थाहा पाएर निराकरण गरेर तबमात्र अगाडि बढिन्छ भन्ने लागेर सबैले मेहनत गरेर हाम्रो बाटोमा फेरि ल्याइदिनुभएको छ,’ उनले भने । सभ्यता र संस्कारसहितको आर्थिक समृद्धि आवश्यक रहेको भन्दै उनले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न गैरआवासीय नेपाली तयार रहेको बताए । ‘सानो मन हुन दिँदैनौं । ठूलो मन बनाएर अगाडि बढ्छौं,’ उनले भने । नयाँ आउने कार्यसमितिमा ठूलो आशा र जिम्मेवारी नेपालीले दिएको भन्दै त्यसलाई सम्हालेर अगाडि बढ्न उनले अनुरोध गरे । एनआरएनएका संस्थापक अन्तर्राष्ट्रिय संयोजक एवं म्यानमारका लागि नेपाली पूर्वराजदूत भीम उदासले समृद्ध नेपाल निर्माणका लागि रणनीतिक साझेदारी जरुरी भएको र एनआरएनए उपयुक्त प्लाटफर्म भएको बताए । नेपाली डायस्पोरा लगानीका लागि महत्त्वपूर्ण पक्ष भएको र विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना रहेको उनको भनाइ थियो । पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा बसे पनि गैरआवासीय नेपालीमा देशको लागि केही गर्नुपर्ने भावना रहेको बताए । प्रवासी नेपालीहरु एक भएर समृद्ध नेपालको अभिभारामा हातेमालो गर्न चाहेको उनको भनाइ छ । एनआरएनए एकेडेमिकहरुको संस्था हो भन्ने डा. हेमराज शर्मा निर्विरोध अध्यक्ष भएबाट पुष्टि भएको पनि बताए । अध्यक्ष डा. बद्री केसीले प्रविधिको युगमा धेरै देशले प्रवासमा रहेका नागरिकलाई मताधिकार दिएको भन्दै आउने सरकारले प्रवासी नेपालीलाई यो अधिकार सुनिश्चित गर्न माग गरे । उनले एकपटकको नेपाली सधैको नेपाली भन्दै नेपालीलाई नेपाल आउनबाट वञ्चित नगर्न पनि माग गरे । गैरआवासीय नागरिकता वा गैरआवासीय प्रमाणपत्र दिएर उनीहरुलाई सहजै मातृभूमिप्रति समर्पित हुने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । विदेशको नागरिकता लिए पनि नेपाली नागरिकता कायमै रहनेगरी संविधान संशोधन गरेर व्यवस्था गर्न र नेपालीको पहिचान नखोस्न पनि माग गरे । अध्यक्ष केसीले मध्यपूर्वको तनावले जोखिममा परेका लाखौं श्रमिक नेपालीलाई सरकार र एनआरएनएले भरोसा दिलाउनुपर्नेमा जोड दिए । एनआरएनएमा एकता भइसकेको भन्दै अध्यक्ष केसीले नेपालको विकास र समृद्धिमा हातेमालो गर्न गैरआवासीय नेपाली सदैव तयार रहेको प्रतिबद्धता जनाए । अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले गैरआवासीय नेपाली संघभित्र थुप्रै मतभेद भए पनि एकताबद्ध रुपमा एकताको १२औं महाधिवेशन सम्पन्न गरेको बताए । ‘हामी विभाजित हुँदा असाध्यै कमजोर भयौं । विश्वास टुट्यो । हामीप्रतिको अविश्वासले मुद्दा कमजोर भएका थिए । आजबाट त्यो अविश्वास टुटेको छ । अब यस्तो टुटफुट दोहोरिन दिने छैनौं । मिलेर सकारात्मक सोचका साथ अगाडि बढ्नेछौं,’ उनले भने । समृद्ध नेपाल निर्माणमा योगदान गर्न चाहने भन्दै आफूहरुका मुद्दा सम्बोधन गर्न माग गरे । गैरआवासीय नेपाली नागरिकताले अधिकार नपाएको भन्दै उनले आगामी सरकारले सम्बोधन गरेर अधिकार दिलाउने विश्वास व्यक्त गरे । उनले प्रवासी नेपालीको लगानी भित्र्याउन ऐनहरु संशोधन गर्नुपर्ने, धितोपत्र बोर्डसम्बन्धी नियमावली संशोधन गरेर अर्बाै लगानी भित्र्याउने सकारात्मक वातावरण आगामी सरकारले बनाउने उनको विश्वास थियो । संघका उपाध्यक्ष एवं अध्यक्षमा निर्विरोध डा. हेमराज शर्माले आफूलाई सर्वसम्मत बनाएकोमा रोविन शेरचन र रविन बर्जाचार्यलाई धन्यवाद दिए । एनआरएनएको एकताका लागि भूमिका खेल्ने पूर्वअध्यक्षहरु, सरकारका पदाधिकारीलाई पनि सम्मान व्यक्त गरे । शर्माले प्रवासी नेपालीको ज्ञान सीप र पुँजीलाई आर्थिक र सामाजिक विकासमा एकताबद्ध गर्ने उद्देश्यले एनआरएनएको स्थापना भएको र सबै प्रवासीलाई स्वदेशसँग जोड्ने काम गरेको बताए । आफूले एनआरएनएलाई रिब्राण्डिङ गर्दै पुस्तौसम्म जोड्ने प्रतिबद्धता गरेको बताए । ‘संघलाई बलियो बनाउँदै आम गैरआवासीयलाई जोड्ने र समस्या केन्द्रित हुने निधो गरेको छु । संस्थाको पुनर्संरचना गर्ने, सम्पूर्ण पञ्जीकृत सदस्यले अनलाइनबाट समिति चयन गर्न सकिने व्यवस्था गरिनेछ । वशंजको नागरिकता कायम, सम्पत्तिको अधिकार, निर्वाचनमा मताधिकार, पिएनओज, ब्रिटिस गोर्खाका मुद्दामा काम गर्नेछु । अब बन्ने सरकार विदेशमा बसेका नेपालीको मुद्दामा उदार देखिएकाले हाम्रा मागहरु पूरा हुनेछन् भन्ने अपेक्षा छ,’ उनले भने । सुरक्षित मर्यादित वैदेशिक रोजगारका लागि केन्द्रीय कार्यालयमा फोकल पर्सन राख्ने, श्रमिकका समस्याहरु रियल टाइम थाहा पाउन आर्टिफिसियल इन्टलीजेन्स प्रयोग गर्नेलगायत आफ्ना योजनाहरु उनले समारोहमा सुनाएका थिए । उनले आफू नेतृत्वमा पुग्छु भन्ने कल्पना नगरेको भन्दै एनआरएनए सबैको हो भन्ने सन्देश गएको बताए । शर्माले संघको विभाजन भएका एनसीसी कार्यसमिति देशहरुमा पुग्ने र एकताको वातावरण बनाउने प्रतिबद्धता पनि जनाए । समापन सत्रमा पूर्वअध्यक्ष विनोद कुँवर, भवन भट्ट, आरके शर्मा लगायतले नयाँ कार्यसमितिलाई बधाई नयाँ ढंगबाट नयाँ सोचले नयाँ सरकारसँग एकताबद्ध ढंगले काम गर्न शुभकामना दिएका थिए । समारोहमा प्रवक्ता गंगाधर गौतमले १२औं अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा पत्र प्रस्तुत गरेका थिए । समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको हातमा सम्मान पत्र र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

news-img
NRNA Admin • 17 Mar 2026

एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन: सबै पदाधिकारी निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा ), रोशन थापा (जाम्बिया)बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके र टंकप्रसाद गैरे (जापान) तिलक गैरे(पोर्तुगल, बिश्व दीप तिगिला (यूके), सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन्। महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेश कुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), मोहम्मद मुक्तदा(कतार )स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्विरोध निर्वचित भएका छन्। सचिव पदमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान) यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी प्रसाद तिमल्सिना (युएई), रमेश भट्ट (कतार)सर्वसम्मत रूपमा चयन भएका छन्। महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार)बिमल सुबेदी (कतार) तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन्। महिला संयोजकमा रश्मी थापा (क्यानडा) र युवा संयोजकमा नवीन निउरे (जापान) निर्विरोध भएका छन्। क्षेत्रीय संयोजकहरूतर्फ अफ्रिकामा मनोज बी.के. (सेशेल्स), अमेरिकामा भुवन खरेल (क्यानडा), एसिया–प्रशान्तमा दीपक प्रसाद कँडेल (जापान), युरोपमा रोबोट लिम्बु (पोर्चुगल), मध्यपूर्वमा रमेश श्रेष्ठ (यूएई) र ओसियानियामा रमेश जोशी (अष्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यसैगरी अमेरिका क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा नेत्र पाण्डे र सम्राट थापा सर्वसम्मत रूपमा विजयी भएका छन्। यसैगरी, एशिया प्यासिफिक क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा भविन्द्र बस्नेत (थाइल्याण्ड), छत्र बहादुर दाहाल (जापान) र लाल सिंह खड्का (कम्बोडिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। युरोप क्षेत्रका उप-क्षेत्रीय संयोजक पदमा बेलायतका तिलक राम भट्टराई सर्वसम्मत रूपमा चयन हुनु भएको छ। मध्यपूर्व क्षेत्रका उप-क्षेत्रीय संयोजकमा ओमनका बिकाल झा, यूएईका बिकास शाही र विष्णु लाल श्रेष्ठ, साथै कतारका करिम बक्स मिया सर्वसम्मत निर्वाचित भएका छन्। ओसियाना क्षेत्रका उप-क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका छबी प्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले निर्वाचित भएका छन्। एशिया प्यासिफिक, युरोप, मध्यपूर्वका अफ्रिका, अमेरिका र ओसियनिया क्षेत्रमा महिला संयोजक पदका उम्मेदवारहरूमा संगीता अधिकारी (जापान), बाबा (राजेश्वरी) थापा (अस्ट्रिया), सरिता भण्डारी (कतार) लगायतका निर्वाचित भएका छन्। उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) र मध्यपूर्वका लागि मञ्जु मल्ल (यूएई) निर्विरोध भएका छन्। एशिया प्यासिफिक उप-क्षेत्रीय युवा संयोजकमा राम थापा (जापान),यूरोप उप-क्षेत्रीय युवा संयोजक शिव सागर बुढथोकी (पुर्तुगल) र मध्य पूर्वमा सुजन सापकोटा (यूएई) तथा उप-क्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) र बासुदेव सापकोटा (साउदी अरेबिया) निर्विरोध भएका छन्। त्यसैगरी, दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल (हङकङ) निर्विरोध निर्वाचित भएकी छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत प्रवक्ता (Spokesperson) पदमा सोम सापकोटा सर्वसम्मत रूपमा मनोनित हुनु भएको छ।

news-img
NRNA Admin • 17 Mar 2026

नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान

बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै गैरआवासीय नेपालीलाई अझै एकताबद्ध भई राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो। मन्त्री शर्माले संघको नयाँ कार्यसमिति अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब हामी अझ एकताबद्ध भएर अगाडि बढ्नेछौँ र सहकार्य झनै घनिष्ठ हुनेछ।” उहाँले लगानीसँगै ज्ञान, सीप र प्रविधिको आदान–प्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याउन तथा नेपाली भाषा, संस्कृति र पहिचानको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न प्राथमिकता दिन गैरआवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। पश्चिम एसियामा देखिएको पछिल्लो परिस्थितिमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउन गैरआवासीय नेपाली समुदायले देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको मन्त्री शर्माले उल्लेख गर्नुभयो। साथै उहाँले विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्न परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गैरआवासीय नेपालीहरूले विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै आएकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभयो। साथै नयाँ सरकारले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्केर योगदान दिन सक्ने अनुकूल वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। अन्त्यमा मन्त्री शर्माले गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।