नेपाल पर्यटन बोर्डसँग भेटघाट

NRNA Admin • 05 Apr 2026
news-img

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक राज जोशीसँग भेट गरेको छ।

भेटमा नेपाल र नेपाली पर्यटन प्रवर्द्धन, सांस्कृतिक महोत्सव, र दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको छ। यस्तै पर्यटन प्रवर्द्धन, नेपाल महोत्सव, नेपाल हाउस, र आगामी सहकार्यको समझदारी (MoU) तयार गर्ने विषयमा छलफल भएको छ l

सो अवसरमा पर्यटन प्रवर्द्धन अन्तर्गत, दोस्रो पुस्तालाई पर्यटन क्षेत्रमा संलग्न गर्ने योजना प्रस्तुत गरिएको थियो। साथै नेपाल महोत्सवमार्फत सांस्कृतिक कार्यक्रम, कला र परम्परागत गतिविधिहरूको आयोजना गर्ने विषयमा छलफल भएको थियो।

नेपाल हाउसको अवधारणा पनि बैठकमा प्रस्तुत गरिएको थियो, जसले स्थायी वा अस्थायी रूपमा नेपालका सांस्कृतिक र पर्यटन आकर्षणहरू प्रदर्शन गर्ने योजना समेट्नेछ।

भेटघाटमा सहकार्यको समझदारी (MoU) तयार गर्ने जिम्मेवारी NTB ले लिने निर्णय गरिएको छ र यसलाई एनआरएनएसँग पठाइनेछ। सम्भावित सहकार्य क्षेत्रहरूमा अनुसन्धान सहयोग र पर्यटन क्षेत्रमा लगानी समावेश छन्।

प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक राज जोशीले यस भेटघाटले नेपालमा पर्यटन प्रवर्द्धनलाई अझ मजबुत बनाउने र दीर्घकालीन सहकार्यको ढाँचा तयार गर्ने अवसर प्रदान गरेको बताउनुभएको छ l