१२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले माननीय परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ। मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो । एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ। भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले संघको १२औँ महाधिवेशन विशेषत: बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिबेशन सपन्न गर्न लागेको जानकारी गराउनुभयो । परराष्ट्र मन्त्रालयले ड्राफ्ट गरेको गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । यस सम्बन्धमा एनआरएन विधेयकमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र संघले सहकार्य गर्न सकिने बताइएको छ । भेटमा कोषध्यक्ष सुदन थापा, संघका सीइओ राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको थियो ।
गत २०२५ नोभेम्बर ३० मा सम्पन्न बृहत् एकताको सहमतिअनुसार आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौंमा आयोजना हुने १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले माननीय परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ। मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलसंगको भेटका क्रममा परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिनुभएको छ। “नेपालमा भौतिक रूपमा गर्दा धेरै सकारात्मक पक्ष छन्, त्यसैले नेपालमै गर्नुहोस् भन्ने मेरो चाहना हो,” मन्त्री शर्माले भन्नुभयो, “तर हामीले मान्नुपर्ने नियम-कानुन हुन् यसर्थ तपाईंहरूको विधानले जे भन्छ, त्यहीअनुसार गर्नु राम्रो हुन्छ, किनकि नेपाल आउन नसक्ने सदस्यहरूलाई पनि मतदानबाट वन्चित गर्न मिल्दैन l"“संघको २००३ (२०२२) को संशोधित विधानको धारा १४ मा "महाधिवेशन तथा साधारण सभा अनलाइन अथवा भौतिकरुपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत साधारण सभामा भाग लिन र निर्वाचनमा मतदानको व्यवस्था गर्नु पर्नेछ ।" भनि उल्लेख गरिएको छ । यसैबीच एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठन गर्न अनुरोध गरेको छ। एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ । भेटका अवसरमा अध्यक्ष महेश श्रेष्ठले संघको १२औँ महाधिवेशन विशेषत: बृहत् एकतापछि आयोजना गर्न लागिएको र एकता सुदृढ बनाउन आफुहरुले काम गरिरहेको जानकारी गराउनुभयो । हाल परराष्ट्र मन्त्रालयले ड्राफ्ट गरिरहेको एनआरएन एक्टको विधेयकमा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभयो। गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि यसको कार्यान्वयनमा भइरहेको ढिलाइका कारण संविधानले प्रदान गरेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न नसकिएको भन्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता जारी भइसके पनि प्रयोगमा विभिन्न कानुनी जटिलता देखिएको उल्लेख गर्दै यससम्बन्धी स्पष्ट कानून निर्माणका लागि सम्बन्धित मन्त्रालयले सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “ अहिलेसम्म हजारौँले नागरिकता प्राप्त भइसकेको भए पनि त्यसको प्रयोगमा कानुनी अस्पष्टता रहनु दुःखद हो। यसलाई व्यवहारमा लागू गर्न आवश्यक कानून निर्माणका लागि मन्त्रालयको सक्रिय र समन्यवकारी भूमिका आवश्यक छ।” उक्त अवसरमा पुर्व अध्यक्ष बिनोद कुँवरले नागरिकताको कार्यान्वयन नहुँदा भोग्नुपरेका कठिनाइबारे जानकारी गराउनुभएको थियो। यसै क्रममा पुर्व अध्यक्ष आर. के. शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले सामना गर्नुपरेका विविध समस्याहरूको उल्लेख गर्दै गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरूमा कानुन विज्ञको व्यवस्था गर्न अनुरोध गर्नुभयो। महिला उपाध्यक्ष रोजिना प्रधान राईले विदेशमा रहेका महिलाहरूले सामना गर्नुपरेका विविध समस्याहरूको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। फरक प्रसङ्गमा नेपाल एनआरएन डेभलपमेन्ट फण्ड सञ्चालनका लागि सहजीकरण गर्न पनि अनुरोध गरिएको छ l भेटमा कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना, महिला संयोजक रश्मि थापा र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) स्थापना कालदेखि नै विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई एकताबद्ध गर्दै निरन्तर रूपमा परोपकारी तथा समाजसेवामूलक कार्यहरू गर्दै आइरहेको छ। “नेपालीका लागि नेपाली” भन्ने मूल भावनालाई आत्मसात गर्दै, संघले नेपाल र नेपालीको हितका लागि शिक्षा, स्वास्थ्य, आपतकालीन राहत, सीप विकास, लगानी प्रवर्द्धन तथा सामाजिक उत्थानका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। NRNA को प्रमुख उद्देश्य गैरआवासीय नेपालीहरूको हकहित संरक्षण गर्नु, नेपालमा सामाजिक सेवा र विकासका कार्यमा योगदान पुर्याउनु तथा नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानमा सक्रिय साझेदार बन्नु हो। सामाजिक उत्तरदायित्व, राष्ट्रिय एकता र दिगो विकासलाई केन्द्रमा राख्दै, NRNA ले विश्वभर फैलिएका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्ने दिशामा निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा, गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिएनो सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ (NRNA) र एसियन इन्टरनेशनल युनिभर्सिटी (Asian International University–AIU) बीच आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा समझदारीपत्र (MoU) सम्पन्न भएको थियो। उक्त समझदारीअनुसार आज सोही सहकार्यलाई कार्यान्वयन गर्दै योग्य नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस छात्रवृत्ति औपचारिक रूपमा घोषणा गरिएको हो। यस कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगद्वारा लिइएको Common Entrance Exam (CEE) २०८२ मा उत्तीर्ण भएका, शैक्षिक रूपमा सक्षम तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूमध्ये एनआरएनए र एसियन इन्टरनेशनल युनिभर्सिटीद्वारा आयोजित एमबीबीएस छात्रवृत्ति प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँपालिका वडा नं. ६ निवासी भुद्दुर कोहारका नाति तथा माधव प्रसाद कोहारका छोरा २१ वर्षीय सचिन कुमार प्रजापति तथा बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १८ निवासी ईश्वरी दत्त रेग्मीकी नातिनी तथा यमुना रेग्मीकी छोरी २१ वर्षीया भावना रेग्मी रहनुभएको छ। एमबीबीएस छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा शुल्क, बीमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्न भएपछि नेपाल फर्किने हवाईजहाजको भाडा (एक पटकका लागि) एसियन इन्टरनेशनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरिएको छ। अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च सम्बन्धित विद्यार्थी स्वयंले व्यहोर्नुपर्नेछ। साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले एसियन इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई (२) वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ। यस सम्पूर्ण प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्नुहुने आइसीसी सदस्य आदरणीय डा किसान भण्डारीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छौं । उहाँको निरन्तर पहल, प्रतिबद्धता र नेतृत्वबिना यो ऐतिहासिक अवसर सम्भव हुने थिएन। साथै यस प्रक्रियामा युनिभर्सिटीका सम्माननीय रेक्टर एस.एस. देखकानोयज्यू सहित एसिया इन्टरनेशनल युनिभर्सिटी (AIU) प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छौं । अन्त्यमा, यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान दिनुहुने सम्पूर्ण संघका पदाधिकारीज्यूहरू, आयोजक टिम, सहयोगी हातहरू तथा सञ्चारकर्मी मित्रहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। मिति : २०८२ पुस २४ तदनुसार ८ जनवरी २०२६
गैरआवासीय नेपाली संघ (एनआरएनए) र एशियन इन्टरनेशनल युनिभर्सिटी (एआइयु) बीचको सहकार्यमा सञ्चालन भएको एमबीबीएस छात्रवृत्ति कार्यक्रम अन्तर्गतको छनोट परीक्षा शनिबार सम्पन्न भएको छ। इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस, ललितपुरमा आयोजित उक्त परीक्षामा ९० जना विद्यार्थी सहभागी भएका थिए। परीक्षाअघि परीक्षार्थीहरूलाई शुभकामना दिन एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ तथा महिला उपाध्यक्ष रोजिना प्रधान परीक्षा केन्द्रमा पुग्नुभएको थियो। यस कार्यक्रमअन्तर्गत उज्वेकिस्तानमा ६ वर्षे एमबीबीएस अध्ययनका लागि २ जना नेपाली विद्यार्थीलाई एनआरएनएले पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिका लागि लिइएको छनोट परीक्षा चिकित्सा शिक्षा आयोगको पाठ्यक्रममा आधारित रहेको छ। कार्यक्रमका अवसरमा एशियन इन्टरनेशनल युनिभर्सिटीका डिन डा. किसन भण्डारीले नेपाली विद्यार्थीलाई चिकित्साशिक्षा प्रदान गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो। सो अवसरमा चिकित्सक संघका अध्यक्ष अनिल कार्कीको पनि उपस्थिति रहेको थियो। एनआरएनएका अनुसार लिखित परीक्षाको नतिजा सार्वजनिक भएपछि अन्तर्वार्ता प्रक्रिया सञ्चालन गरिनेछ र अन्ततः छनोटमा परेका २ जना विद्यार्थीको नाम पत्रकार सम्मेलनमार्फत चाँडै सार्वजनिक गरिनेछ।
२६ अगस्ट २०२५, काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । संघको सचिवालयमा मंगलबार (२०८२ साल भाद्र १० गते तदनुसार २६ अगस्त २०२५ ) स्वीस विकास तथा सहयोग संस्था (SDC)को सहयोगमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क (MiRiDeW) परियोजना दोस्रो चरणको कार्यान्वयनका लागि दुई संस्थाबीच सम्झौता भएको हो । आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार मुख्यतया मध्यपूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकहरूमा एनआरएनएको संस्थागत क्षमता अभिवृद्धिका साथै नेपाल सरकारसँग नीतिगत वकालत एवं पैरवी, श्रमिकलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता, महिला र अलेखबद्ध (अवैधानिक) अवस्थामा रहेका श्रमिकहरूलाई कानूनी परामर्ष, सचेतना अभिवृद्धि लगायतका विषयहरुलाई यस परियोजनाले प्राथमिकतामा राखेर काम गर्नेछ । यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ । उक्त अवसरमा आईएलओ नेपालका निर्देशक ओजकानले ‘एनआरएनलाई रणनैतिक साझेदार मित्रका रुपमा लिईएको र यस संस्थाको विश्वब्यापी संजालका माध्यमबाट विदेशमा रहेका नेपाली श्रमिकहरुले भोग्नुपरेका समस्या समाधानका लागि यो परियोजनाले सहयोग पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली श्रमिकहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड हुन्, तर विदेशमा उनीहरूले असुरक्षित कार्यस्थिति, कानुनी सुरक्षाको अभाव, र एक्लोपनको सामना गर्नुपरेको छ । एनआरएनए सँगको सहकार्यले संस्थागत सुदृढीकरण र मानसिक स्वास्थ्यमा टेवा पु¥याउनेछ । हाम्रो लक्ष्य प्रवासी श्रमिकहरूलाई सुरक्षित, मर्यादित र अधिकारसहितको रोजगारीका लागि प्रणाली निर्माण गर्ने नै हो ।” एनआरएनए–आईसीसी अध्यक्ष डा. केसीले एनआरएनएले आप्रवासी नेपाली श्रमिकहरु तथा गैर आवासीय नेपालीहरुको हक हितका लागि एनआरएनएले सधै बहस तथा पैरवी गरिरहको बताउनुभयो उहाँले भन्नुभयो, “हामीले दुई दशक लामो इतिहासमा ९० भन्दा बढी देशमा समन्वय परिषद् (NCC) स्थापना गरेका छौं जसमा ८०,००० भन्दा बढी पञ्जीकृत सदस्यहरू छन् । सरकारको विश्वासिलो साझेदारको रूपमा, एनआरएनएले प्रवासी श्रमिकहरूको अधिकार र हितका लागि निरन्तर काम गर्दै आएको छ । यो साझेदारी विदेशमा रहेका श्रमिकहरूको समस्या समाधानका लागि एक सुनौलो अवसर हो, जसलाई हामी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्नेछौं।” एनआरएनकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै विदेशको श्रम बजारमा रहेका युवा, महिला तथा पछाडि पारिएका श्रमिकहरुका अवसर तथा जोखिमका विषयमा चर्चा गर्नु भएको थियो । कोभिड–१९ को महामारीका बेलामा समेत एउटा महत्वपुर्ण परियोजना मार्फत सफलतापुर्वक सहकार्य सम्पन्न भईसकेको र यसका कतिपय असल अभ्यास तथा सिकाईहरुबाट यो दोश्रो सहकार्य तथा साझेदारीता पनि सफलता पुर्वक सम्पन्न हुनेमा विश्वस्त रहेको डा केसीले उल्लेख गर्नुभयो । यो साझेदारी सेप्टेम्बर २०२५ देखि मे २०२६ सम्म ९ महिनाको अवधिमा सञ्चालन हुनेछ । कोभिड–१९ महामारीको समयमा दुबै संस्थाले हजारौं नेपाली श्रमिकहरूलाई सहयोग पु¥याएको सफल सहकार्यलाई आधार बनाएर यो कार्यक्रम अगाडि बढाइएको हो । यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ । कार्यक्रममा आईएलओ नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर, नुमन ओजकान, राष्ट्रिय कार्यक्रम संयोजक रोनी प्रधान धौभडेल तथा संचार अधिकृत निष्ठा रायमाझी र एनआरएनएका तर्फबाट अध्यक्ष डा.बद्री केसीका साथै महिला उपाध्यक्ष रोजिना प्रधान राई, सल्लाहकारहरु अतुल कोईराला र हिराधन राई र एनआरएन अभियन्ता बाबा राजेश्वरी थापा र रोविन बज्राचार्यको पनि उपस्थिति रहको थियो । साथै उक्त कार्यक्रममा एनआरएन डेभलपमेन्ट फण्डका सिईओ अनलराज भट्टराई र संघको सचिवालयका सिईओ राजेन्द्र कुमार राउतका साथै अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका सिईओ राजेन्द्र कुमार राउतले गर्नुभएको थियो ।
काठमाडौं, भदौ ६ – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन नेपालकी प्रमुख (Chief of Mission) हेलन फोर्स र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीबीच शुक्रबार ( भाद्र ६ २०८२ ) एक विशेष भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा आप्रवासन, आपसी समन्वय, र भावी सहकार्यका विविध पक्षहरूमा गहन छलफल भएको छ । दुवै पक्षले नेपाली आप्रवासीहरूको हितमा मिलेर कार्य गर्न सकिने सम्भावनाहरूको समीक्षा गरिएको हो । आईओएम नेपाल र एनआरएनएले लामो समयदेखि सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासन प्रवाहका लागि सहकार्य गर्दै आएको छ । भेटमा डा. केसीले आप्रवासनका साझा सरोकारमा काम गर्ने विषयमा सकारात्मक रहेको र एनआरएनए र आईओएमबीच भविष्यमा अझ सशक्त सहकार्य हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । आईओएम प्रमुख फोर्सले पनि एनआरएनएले विश्वभरि रहेका नेपालीहरूको हितमा गरिरहेको कार्यको प्रशंसा गर्दै संस्थाबीचको सहकार्यले दीर्घकालीन प्रभाव पार्न सक्ने उल्लेख गर्नुभयो । उक्त अवसरमा संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले संघका विविध कार्यक्रम लगायत समसामायिक विषयहरुमा थप प्रकाश पार्नुभएको थियो । छलफलमा आइओएम नेपालको आप्रवास तथा विकास विभाग प्रमुख प्रज्वल शर्मा र एनआरएनएका तर्फबाट सहायक निर्देशक महेश श्रेष्ठ, वरिष्ठ अघिकृत कुनाल मिश्र, वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरेको उपस्थिति रहेको थियो ।
एनसीसीका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र आइसीसी सदस्यहरूको सम्मानमा स्वागत तथा बधाई आदान–प्रदान कार्यक्रम सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गरेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र आइसीसी सदस्यहरूको सम्मानमा स्वागत तथा बधाई आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार साँझ (१० अगष्ट २०२५) भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले साधारण सभा र निर्वाचन दुवै एनसीसीको वैधानिक अधिकार भएको उल्लेख गर्दै, यी प्रक्रियालाई सहज र सफलतापूर्वक सम्पन्न गराएकोमा सबै एनसीसीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माले ‘गैरआवासीय नेपाली संघको यात्रा’ शीर्षकमा प्रस्तुति दिँदै, नेपालको संविधानमा २०७२ सालदेखि गैरआवासीय नेपालीको परिभाषा प्रवेश पाएसँगै यो विषय विश्वव्यापी नेपाली डायस्पोरामा स्थापित भएको बताउनुभयो । महिला उपाध्यक्ष रोजिना प्रधान राईले संघको गरिमा एनसीसीहरूकै बलमा रहेको भन्दै, विधि र कानुनको पालना गर्दै संघको प्रतिष्ठा यथावत राख्न सुझाउनुभयो । महासचिव गौरीराज जोशीले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्षद्वय रामशरण सिंखडा र रबिनप्रसाद शेरचन, प्रवक्ता फणिन्द्र पन्त, महिला संयोजक अनुजा प्रधान,युवा उपाध्यक्ष रोशन थापा, डिआरसी रोबर्ट लिम्बु, युरोप सचिव भुवन अर्याल, सह–कोषाध्यक्ष कञ्चन थापा, सचिव पारसमणि पोख्रेल, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोख्रेल, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतले पनि नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । ६ सय भन्दा बढी सहभागी कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले आफ्नो आगामी कार्यदिशा, अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।
पछिल्लो समय इरान र इजरायलबीच उत्पन्न तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै गैरआवासीय नेपाली संघ (NRNA) ले दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै २४ घण्टा सञ्चालन हुने हटलाइन सेवा सुरु गरेको छ। इजरायल र इरानमा कार्यरत वा बसोबास गरिरहेका नेपालीहरूले आपतकालीन अवस्थाहरूमा आवश्यक सहयोगका लागि सिधा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको हो। सुरक्षा अवस्थाको जानकारी लिन वा सहायता आवश्यक परेमा नेपालीहरूले २४ सै घण्टा सेवा उपलब्ध रहने निम्न टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्: 📞 ९८०१८६११२३ 📞 ९८०१८६११०६ 📞 ९८०१८६११०० नेपाली समुदायलाई सतर्क रहन, स्थानीय सरकार तथा दूतावासको निर्देशन पालन गर्न र सुरक्षित स्थानमा बस्नसमेत गैरआवासीय नेपाली संघ अनुरोध गर्दछ ।
इजरेल र इरानबीच विकसित पछिल्लो घटनाका बीच इजरेलमा रहेका नेपालीको अवस्था मूल्यांकनका लागि गैरअवासीय नेपाली संघले त्यहाँस्थित नेपालीहरुसँग अन्तक्र्रिया गरेको छ। त्यहाँस्थित दूतावासका राजदूतसहितको उपस्थितिमा बुधबार साँझ भर्चुअलमाध्यमबाट आयोजित अन्तक्र्रियाका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरेलमा निकै संवेदनशिल अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले इजरेलको अवस्था पहिलेका युद्धको समयमा भन्दा संवेदनशील छ, तर तोकिएका सुरक्षाका मापदण्ड अवलम्बन गर्दा त्यति असुरक्षा छैन त्यसलाई चाहिँ मान्नुपर्यो लापरबाही गर्नुभएन ।’उहाँले इजरेल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्डको पालना गर्न र सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा नकारात्मक सामग्री पोस्ट नगर्न पनि अनुरोध गर्नुभयो । उहाँले नेपाल फर्कन चाहने हो भने परराष्ट्र मन्त्रालयले जारी गरेको फर्म भर्न पनि अनुरोध गर्नुभयो । यस्तै एनसीसी इजरेलका महासचिव अलि मोहम्मद मिँयाले इजरायली सरकारले निर्धारण गरेको सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सुझाव दिनुभएको छ। उहाँका अनुसार हाल गाडी, पसल लगायत सबै सेवा खुल्ला छन् र सामान्य सुविधा उपलब्ध छन्, तर युद्धकोब अनिश्चितताबीच सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । यस्तै त्यहाँस्थित नेपाली महामहिम राजदूत धनप्रसाद पण्डितले इजरेल सरकारले भनेको र तोकेको सुरक्षाको मापदण्ड अपनाउन, शेल्टरमा बस्न आग्रह गर्नुभयो । नेपाल फर्कन चाहने नेपालीलाई परराष्ट्र मन्त्रालयले खुला गरेको फाराम भर्न सुझाउँदै उहाँले हालसम्म खासै कसैले तत्काल उद्धारका लागि अनुरोध नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म कसैले तत्काल उद्धार गर्न भनेका छैनन् तर विराटनगरका मेयर ज्यू र एक नेपाली चिकित्सकको लागि प्रक्रियागत काम हामीले गरेका छौँ, भने केही अन्डकुमेन्टेड नेपालीले आफूहरु फर्कन चाहेको बताएका छन् । त्यसैले अब जसले फर्कन चाहन्छन् उनीहरूलाई फर्काउन हामीलाई पहल गर्न सहज होस् भनेर दूतावासले पनि फारम भराउन सुरु गरेको हो । त्यो फाराम भर्न म सबैलाई आग्रह गर्छु ।’उहाँले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अन्तरक्रियाका क्रममा इजरेलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुले आफ्नो अवस्थाबारे जानकारी गराउँदै तत्काल नेपाल आइहाल्ने मनस्थिति नरहेको बताएका थिए । यस्तै संघका केन्द्रिय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्त लगायतका पदाधिकारीले पनि आवश्यक सहयोगको प्रतिबद्धतासहित सुरक्षित रहन आग्रह गर्नुभयो ।यस्तै अन्य केन्द्रीय पदाधिकारीहरुले पनि आफ्नो धारणा राख्नुभएको थियो । इजरेलस्थित नेपालीको जानकारी लिन सचिवालयमा हटलाइन सेवा समेत सुरु गर्ने तयारी गरिएको छ ।उक्त कार्यक्रमको सहजीकरण सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले गर्नुभएको थियो । https://docs.google.com/forms/d/e/1FAIpQLSckmIi1s0G8BXDj_6M1unYuVv2Rbl0jKSMCvgBJfI3NElf1Bg/viewform?pli=1&fbclid=IwY2xjawLAiyFleHRuA2FlbQIxMABicmlkETFEcTNOdXpHdnhaV00wdDI3AR5CdOgXk3GxaBfPzjyUbqvy9VQJ1NAQsGg-nNrNwzJL0h7THOrZaXSfb4dwcQ_aem_fgoiulwBGOql7HglpfmcXw
गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” माथि आफ्ना सुझाव पेश गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु वितरण गरिएको छ।