गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027), ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (AI), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको छ ।
काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ।
प्रस्तावित गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरिएको छ। यस सम्बन्धमा आज गैरआवासीय नेपाली संघ (NRNA) र परराष्ट्र मन्त्रालयबीच आयोजित अन्तरक्रिया कार्यक्रममा माननीय परराष्ट्र मन्त्री शिशिर खनालले उक्त जानकारी दिनुभयो। उहाँले संविधानका आकांक्षाहरूलाई अवधारणात्मक आधार र व्यावहारिक कार्यान्वयन दुवै दृष्टिकोणबाट अझ स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा योगदानलाई समेट्ने गरी ऐनलाई प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्मा, संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष डा. बद्री केसी, पूर्व अध्यक्ष कुल आचार्य, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष बुद्धि सुबेदी तथा फोकल पर्सन सरोज दाहाललगायतले मस्यौदा ऐनबारे सुझावहरू प्रस्तुत गर्नुभयो। उहाँहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरूसँग सामञ्जस्य कायम गर्दै गैरआवासीय नेपालीहरूको आकांक्षालाई पनि समेट्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईले मन्त्रालयले NRNA लाई विश्वासिलो साझेदारका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनहरूमा यो सहकार्य अझ सुदृढ बनाइने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उपाध्यक्ष खगेन्द्र न्यौपाने,उपाध्यक्ष चिन्तामणि सापकोटा, महिला उपाध्यक्ष राधिका टिका गुरुङ, उपमहासचिव बेदराज बस्नेत, सचिव अभिमन्यु बस्नेत, सचिव यज्ञ नारायण पौडेल, कोषाध्यक्ष कृष्ण तिमल्सिना, महिला संयोजक रश्मि थापा, क्षेत्रीय महिला उप संयोजक (युरोप) राधा सिग्देल, क्षेत्रीय उप-समन्वयक (एशिया) भविन्द्र बस्नेत, एनसीसी आयरल्याण्डका अध्यक्ष चेतराज ओली, हङकङका संस्थापक अध्यक्ष कृष्ण पाण्डे, तेजेन्द्र गिरी (कानुनी सल्लाहकार) र अनलराज भट्टराई (एनआरएन डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत) सहभागी हुनुहुन्थियो ।
गैरआवासीय नेपाली संघ (NRNA) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहकार्यमा चार दिने आवासीय रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ। यस कार्यशालामा मध्यपूर्वका देशहरू सहित मलेसिया(राष्ट्रिय समन्वय समिति) का पदाधिकारीहरूको सहभागिता रहेको छ। कार्यशालाको मुख्य उद्देश्य NRNA अन्तर्गतका NCC तथा सचिवालयका कर्मचारीको समेत क्षमता अभिबृद्दि गरि समग्र संरचनालाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउनु रहेको छ। यसमार्फत संस्थागत क्षमता विकास, नेतृत्व सुदृढीकरण तथा समन्वय प्रणालीलाई अझ व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमंडलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग भेटघाट गरेको छ। भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको प्रगति र प्रभावबारे मन्त्री बादीलाई जानकारी दिईएको थियो। उक्त परियोजनामार्फत सडकबाट उदार गरिएका ५० जना बालबालिकाको संरक्षण, शिक्षा तथा पुनर्स्थापनामा सहयोग उपलब्ध गराइएको छ l यसैगरी, आगामी महिला विश्व सम्मेलनको तयारीका सम्बन्धमा पनि जानकारी गराइएको छ l सम्मेलनलाई सफल बनाउन भइरहेको तयारी र अपेक्षित सहभागिताबारे जानकारी प्रस्तुत गरिएको हो l भेटमा मन्त्री बादीले संघ का गतिविधिहरूको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा गरिने कार्यक्रमहरूमा सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो। उक्त भेटमा उपाध्यक्ष रोजिना प्रधान राई, महिला संयोजक रश्मि थापा, युरोप क्षेत्रीय महिला संयोजक राधा सिग्देल, एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक संगीता सुबेदी अधिकारी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्रको समेत उपस्थिति रहेको थियो।
गैरआवासीय नेपाली संघ (NRNA) र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) बीच नेपालमा बाल स्वास्थ्य सेवाको सुधार, विस्तार तथा सुदृढीकरणका लागि महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको हो। यस सहकार्यमार्फत नेपालमा बालबालिकाको उपचार सेवा, चिकित्सकीय प्रविधि, विशेषज्ञ ज्ञान तथा अन्तर्राष्ट्रिय सहयोगलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। सम्झौताअनुसार गैरआवासीय नेपाली संघले विश्वभर छरिएर रहेका नेपाली डायस्पोरासँग Kathmandu Institute of Child Health लाई जोड्ने प्रमुख भूमिका निर्वाह गर्नेछ। यसअन्तर्गत चिकित्सकीय ज्ञान, सीप तथा नवीन प्रविधिको आदान–प्रदान गरिनेछ। त्यसैगरी, बाल स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने उपकरण, सर्जिकल सामग्री तथा अन्य स्वास्थ्य सामग्रीको सहयोग उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ। आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको उपचारमा समेत विशेष सहयोग गर्ने सहमति भएको छ। सम्झौताअनुसार दुवै संस्थाबीच आपसी सहकार्यमा अन्य विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम, क्षमता अभिवृद्धि तालिम तथा विशेषज्ञ आदान–प्रदान कार्यक्रमहरू समेत सञ्चालन गरिने जनाइएको छ। यस सहकार्यले नेपालमा बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार तथा अत्याधुनिक उपचार प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। समझदारीपत्रमा KIOCH का तर्फबाट अध्यक्ष प्रा. डा. भगवान कोइराला र संघ का तर्फबाट अध्यक्ष डा. हेम राज शर्माले हस्ताक्षर गर्नुभएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले सौहार्दपूर्ण भेटघाट गर्दै लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यसम्बन्धी महत्वपूर्ण छलफल गर्नुभएको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा सम्पन्न उक्त भेटघाटमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष बद्री केसी, कोषाध्यक्ष कृष्ण तिमिल्सिना, एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत आनलराज भट्टराई तथा एनआरएनए आईसीसी उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोली सहभागी हुनुभएको थियो। भेटघाटका क्रममा गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालमा आकर्षित गर्ने, एनआरएन नेपाल डेभलपमेन्ट फन्डमार्फत विभिन्न विकास परियोजनाहरूमा सहकार्य गर्ने तथा डायस्पोराको पूँजी, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकासमा प्रभावकारी ढङ्गले परिचालन गर्ने विषयमा सकारात्मक तथा फलदायी छलफल भएको थियो। यसैगरी, एनआरएनए नागरिकता प्राप्त गैरआवासीय नेपालीहरूलाई बैंकिङ कारोबार तथा अन्य विभिन्न क्षेत्रमा सहजीकरण गरिदिन अर्थमन्त्रीज्यूसमक्ष आग्रह गरिएको थियो। साथै, एनआरएनए सम्बन्धी ऐनलाई थप स्पष्ट र सहज बनाउने तथा भावी दिनमा संविधान संशोधन गर्दा वंशजको नागरिकताको निरन्तरता कायम राख्ने विषयमा समेत ध्यानाकर्षण गराइएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डायस्पोराले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्नेमा विश्वास व्यक्त गर्दै सरकार र गैरआवासीय नेपाली समुदायबीचको सहकार्य अझ सुदृढ र प्रभावकारी बन्दै जाने अपेक्षा व्यक्त गर्नुभएको थियो। विश्वभर छरिएर रहेका नेपालीहरूको पूँजी, सीप, अनुभव तथा सञ्जाललाई राष्ट्रको आर्थिक विकास र समृद्धिको अभियानमा उपयोग गर्ने दिशामा सरकार तथा डायस्पोराबीचको सहकार्य थप मजबुत बन्दै जाने विश्वास लिइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेट गरेको छ l सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा विशेषगरी दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग अझ मजबुत रूपमा जोड्ने उपाय, तथा विदेशमा अध्ययन र पेशागत अनुभव हासिल गरेका प्राविधिक जनशक्तिलाई देश विकासमा उपयोग गर्ने विषयमा विस्तृत छलफल भएको हो। भेटमा अध्यक्ष डा. शर्माले विदेशमा रहेका नेपाली युवासँग पर्याप्त ज्ञान, सीप र नवीन प्रविधि रहेको उल्लेख गर्दै ती क्षमतालाई नेपालभित्र उपयोग गर्न नीतिगत तथा संस्थागत सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो। उहाँले ज्ञान रूपान्तरण (knowledge transfer) का माध्यमबाट देशको विकास प्रक्रियालाई गति दिन सकिने बताउनुभयो। त्यसैगरी, मन्त्री पोखरेलले विदेशमा रहेका नेपाली युवाको क्षमता, अनुभव र प्रविधिलाई नेपालसँग जोड्ने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै यस दिशामा आवश्यक सहकार्य र कार्यक्रमहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
काठमाडौं, ९ अप्रिल २०२६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच आज उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यले दुवै पक्षबीच नयाँ समझदारी पत्र (एमओयु) तयार गर्ने र सहकार्य विस्तार गर्ने निर्णय गरेको छ। बैठकमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र उपकार्यकारी निर्देशक कृष्ण अधिकारी उपस्थित थिए। एनआरएनए तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, महासचिव डा. चिरञ्जीवी खड्का, उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) ,एसिया प्यासिफिक महिला क्षेत्रिय संयोजक सङ्गीता अधिकारी सुवेदी, पूर्व उपाध्यक्ष डी.बी. क्षेत्री, सीओ राजेन्द्र कुमार राउत, बरिस्ठ अधिकृत कुनाल मिश्र लगायतका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा हाल एसएसएफमा २२ लाख नेपाली श्रमिक दर्ता भए पनि निरन्तर योगदान सीमित रहेको र धेरै श्रमिकले योगदान कायम गर्न नसकेको विषयमा गम्भीर छलफल भएको थियो। सहभागीहरूले प्रवासी श्रमिकहरूमा एसएसएफका फाइदाबारे व्यापक जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। बैठकले निम्न निर्णयहरू गरेको छ: • १००% एसएसएफ योगदान लागू गर्न नयाँ एमओयु तयार गर्ने • कागजातविहीन श्रमिकका लागि स्व–योगदानको व्यवस्था गर्ने • एसएसएफ भत्ताका लागि माग पत्र जारी गर्ने • मध्यपूर्व र पूर्वी युरोपमा एसएसएफ कभरेज विस्तार गर्ने • विदेशी रोजगारी दर्ता नवीकरण प्रभावकारी बनाउने • रोजगारदातासँग प्रत्यक्ष सम्झौता गर्ने • राष्ट्रिय परिचयपत्र (एनआईडी) एसएसएफ प्रणालीमा एकीकरण गर्ने • डी.बी. क्षेत्रीलाई केन्द्रीय फोकल प्वाइन्ट र समन्वयकर्ताको जिम्मेवारी दिने बैठकले मध्यपूर्वमा रोडशो कार्यक्रम सञ्चालन गर्ने, नीति निर्माणमा सहकार्य गर्ने, श्रम अनुगमन प्रणाली मजबुत बनाउने र एनआरएनएका सदस्य विवरण साझेदारी गर्ने निर्णयसमेत गरेको छ। बैठकले यसैगरी एसएसएफ सुविधालाई युरोपेली संघ (ईयू) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सन्दर्भमा हस्तान्तरणयोग्य बनाउने, गन्तव्य देशमा एसएसएफ सम्झौता गर्ने, र द्विपक्षीय श्रम सम्झौतामा समावेश गर्ने नीतिगत प्रस्ताव पनि अघि सारेको छ। यसका साथै, बैठकले दूतावाससम्बन्धी समस्या, विदेशमा अध्ययनरत विद्यार्थीहरूको सामाजिक सुरक्षा, म्यानपावर एजेन्सी सञ्चालन, भर्चुअल अभिमुखीकरण कार्यक्रम, विदेशी रोजगारी भुक्तानी संयन्त्र, र बैंकमार्फत नेपालमा एसएसएफ रकम स्थानान्तरण जस्ता व्यवहारिक मुद्दाहरू पनि छलफल गरेको छ।
काठमाडौं, ८ अप्रिल २०२६ – नेपाल पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीबीच महासंघको केन्द्रीय कार्यालयमा भेटघाट भएको छ। भेटमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा लगायतका पदाधिकारीले नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेटका क्रममा अध्यक्ष शर्माले विशेषगरी विदेशमा रहेका नेपाली पत्रकारहरूसँग सहकार्य बढाउँदै सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने आवश्यकतामा जोड दिनुभयो। उहाँले प्रवासमा रहेका नेपालीका मुद्दा, उपलब्धि र चुनौतीलाई सन्तुलित र यथार्थपरक रूपमा प्रस्तुत गर्न मिडियाको दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले गैरआवासीय नेपालीका मुद्दाहरूलाई मिडियाले प्राथमिकताका साथ बहस र पैरवी गर्नुपर्ने बताउँदै एनआरएनएभित्र रहेको विशाल सम्भावना, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। महासंघका उपाध्यक्ष बुद्धि सुवेदी तथा महिला उपाध्यक्ष टीका गुरुङले पनि पत्रकारिता क्षेत्रको विकास र एनआरएनएसँग सहकार्यका विषयमा आफ्ना धारणा राख्नुभएको थियो। यसैबीच, महासंघका महासचिव डा. चिरञ्जीवी खड्काले पत्रकारिताको भूमिका र जिम्मेवारीबारे चर्चा गर्दै रचनात्मक आलोचनामार्फत खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मिडियाले सन्तुलित, तथ्यपरक र जिम्मेवार ढंगले आफ्नो दायित्व निर्वाह गर्दै सकारात्मक परिवर्तनमा योगदान दिनुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले एनआरएनएसँग रचनात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहकार्यका विभिन्न आयामहरू अघि बढाउन प्रस्ताव गर्नुभयो।