अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले सौहार्दपूर्ण भेटघाट गर्दै लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यसम्बन्धी महत्वपूर्ण छलफल गर्नुभएको छ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा सम्पन्न उक्त भेटघाटमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष बद्री केसी, कोषाध्यक्ष कृष्ण तिमिल्सिना, एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत आनलराज भट्टराई तथा एनआरएनए आईसीसी उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोली सहभागी हुनुभएको थियो।
भेटघाटका क्रममा गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालमा आकर्षित गर्ने, एनआरएन नेपाल डेभलपमेन्ट फन्डमार्फत विभिन्न विकास परियोजनाहरूमा सहकार्य गर्ने तथा डायस्पोराको पूँजी, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकासमा प्रभावकारी ढङ्गले परिचालन गर्ने विषयमा सकारात्मक तथा फलदायी छलफल भएको थियो।
यसैगरी, एनआरएनए नागरिकता प्राप्त गैरआवासीय नेपालीहरूलाई बैंकिङ कारोबार तथा अन्य विभिन्न क्षेत्रमा सहजीकरण गरिदिन अर्थमन्त्रीज्यूसमक्ष आग्रह गरिएको थियो। साथै, एनआरएनए सम्बन्धी ऐनलाई थप स्पष्ट र सहज बनाउने तथा भावी दिनमा संविधान संशोधन गर्दा वंशजको नागरिकताको निरन्तरता कायम राख्ने विषयमा समेत ध्यानाकर्षण गराइएको थियो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डायस्पोराले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्नेमा विश्वास व्यक्त गर्दै सरकार र गैरआवासीय नेपाली समुदायबीचको सहकार्य अझ सुदृढ र प्रभावकारी बन्दै जाने अपेक्षा व्यक्त गर्नुभएको थियो।
विश्वभर छरिएर रहेका नेपालीहरूको पूँजी, सीप, अनुभव तथा सञ्जाललाई राष्ट्रको आर्थिक विकास र समृद्धिको अभियानमा उपयोग गर्ने दिशामा सरकार तथा डायस्पोराबीचको सहकार्य थप मजबुत बन्दै जाने विश्वास लिइएको छ।