गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027), ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (AI), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको छ ।
काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ।
८ अप्रिल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेसँग सचिवालयमा भेटघाट सम्पन्न भएको छ। उक्त भेटघाटमा समसामयिक गतिविधिहरूका विषयमा विस्तृत छलफल भएको थियो। भेटघाटका क्रममा गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी विभिन्न मुद्दा, वर्तमान चुनौतीहरू तथा आगामी कार्यदिशाबारे विचार–विमर्श गरिएको थियो। साथै, वैदेशिक रोजगारीसँग सम्बन्धित विषयहरूमा पनि छलफल भएको बताइएको छ। उक्त छलफलले नीतिगत सुधार तथा सरोकारवाला पक्षबीच सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल चेम्बर अफ कमर्सले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र पहिचानलाई विश्वसामु पु¥याउन महत्वपूर्ण सेतुको भूमिका खेल्दैै आएको बताउदै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख समेत गर्नुभयो । उहाँले दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोडिराख्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्ने पनि बताउनुभयो । कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको समग्र विकास, व्यापार प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने विषय आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र मानवीय सम्भावनाले सम्पन्न भए पनि तिनको प्रभावकारी उपयोग अझै हुन नसकेको उल्लेख गर्नुभयो । अध्यक्ष अग्रवालले रणनीतिक ढंगले स्रोत परिचालन गर्नुपर्नेमा जोड दिदै नेपाल चेम्बर र एनआरएन बीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले मेड ईन नेपाललाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न स्थानीय उत्पादनको प्रवद्र्धन, निर्यात वृद्धि, पर्यटन विकास तथा वैदेशिक लगानी आकर्षण अपरिहार्य रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा सहभागीहरूले नेपालको आर्थिक समृद्धिका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गर्दै अवसरहरूको अधिकतम उपयोग गरी समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। कान्तिपथ स्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स र एनआरएनएका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन उद्देश्यसहित तयार पारिएको नीतिगत प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गरेको छ। मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्मा सहभागी भई उक्त प्रस्ताव मन्त्रालयका सम्बन्धित पदाधिकारीसमक्ष औपचारिक रूपमा बुझाउनुभएको हो। छलफलका क्रममा वैदेशिक रोजगार क्षेत्रमा देखिएका वर्तमान चुनौती, श्रमिकको सुरक्षा, सीप विकास, स्वास्थ्य सेवा, कानुनी पहुँच तथा पुनःएकीकरणलगायत विषयमा विस्तृत विचार–विमर्श भएको थियो। एनआरएनएले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण योगदान रहे पनि श्रमिकहरू विभिन्न जोखिम र समस्याबाट प्रभावित भइरहेकाले संरचनात्मक सुधार आवश्यक रहेको औंल्याएको छ। पेश गरिएको प्रस्तावमा वैदेशिक रोजगार कल्याणकारी कोषको प्रभावकारी उपयोग, श्रमिकका लागि समर्पित स्वास्थ्य सेवा, सीपमा आधारित रोजगार प्रणाली, दूतावास सेवाको सुदृढीकरण, डिजिटल गुनासो व्यवस्थापन प्रणाली तथा पुनःएकीकरण र उद्यमशीलता प्रवर्द्धनलाई मुख्य रूपमा समेटिएको छ। त्यसैगरी श्रमिकका लागि समर्पित अस्पताल स्थापना, गन्तव्य मुलुकमा स्वास्थ्य बीमा तथा आकस्मिक उपचार प्रणाली सुदृढीकरण, प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र विस्तार, श्रमिक शोषण नियन्त्रणका लागि कडा अनुगमन, कानुनी सहायता संयन्त्र, तथा २४ सै घण्टा सहायता कक्ष सञ्चालन गर्ने प्रस्तावसमेत समावेश गरिएको छ। अन्य सुझावहरूमा पूर्व–प्रस्थान अभिमुखीकरण सुधार, म्यानपावर कम्पनीहरूको नियमन, मानव तस्करीविरुद्ध शून्य सहनशीलता नीति, आपतकालीन उद्धार संयन्त्र सुदृढीकरण तथा वैदेशिक रोजगारमा मृत्यु भएका श्रमिकको सम्मानजनक व्यवस्थापन प्रणाली विकास गर्ने विषय उल्लेख छन्। एनआरएनएले प्रस्ताव कार्यान्वयन भएमा वैदेशिक रोजगार क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गर्नुभएको हो । “नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन”, उहाँले भन्नुभयो । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नु हुनेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् भन्दै उहाँले यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ भन्ने आफूलाई लागेको बताउनुभयो । “यसका लागि बुहपक्षीय साझेदारी अत्यावश्यक हुन्छ । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले विगतमा तपाईहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र संगठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ भन्नुभयो । साथै, आगामि दिनमा यो सहयोगलाई अझै प्रभावकारी बनाउन उहाँले आग्रह गर्नुभयो । भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उहाँको भनाई थियो । “नेपाली जनता र खासगरी युवा पुस्ताको चाहनाबमोजिम अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका छन्”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले हामीले राज्यको प्रशासनिक पुनसंरचना त ग¥यौ, तर राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई जबसम्म हामी आत्मसात गर्न सक्दैनौ तबसम्म नेपाली जनताले चाहेजस्तो सामाजिक न्यायसहितको समृद्धि हाँसिल गर्न कठिन छ भन्नुभयो । “त्यसैले आज हामी सबैले ती मूल्य, मान्यता र दर्शनलाई अंगिकार गरेर अघि बढ्नुपर्ने खाँचो छ”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली संघले आफ्नोतर्फबाट सहयोग गर्ने नै छ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिनुभयो । सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।यस्तै नेपालमा NRNA ले गरिरहेको लगानी, थप लगानीको सम्भावना, दोस्रो पुस्तालाई जोड्ने रणनीति लगायतका विषयमा प्रकाश पार्नुभएको थियो।
विदेश अध्ययन नेपाली युवाका लागि अवसरसँगै चुनौतीको क्षेत्र बन्दै जाँदा त्यसलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउने पहल स्वरूप गैरआवासीय नेपाली संघ (एनआरएनए) र शैक्षिक परामर्शदाताहरूको संघ नेपाल (ईक्यान) बीच सहकार्य अघि बढाइएको छ। आइतबार सम्पन्न परिचयात्मक बैठकमा दुवै संस्थाका नेतृत्व तहले विद्यार्थी कल्याणलाई केन्द्रमा राख्दै दीर्घकालीन सहकार्यका आधार तयार गरिएको छ । बैठकमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सहित पदाधिकारीहरूको सहभागिता थियो। छलफलमा विदेश जाने विद्यार्थीका लागि प्रस्थानपूर्व अभिमुखीकरण (पीडीओ) लाई थप प्रभावकारी बनाउने, सुरक्षित र सहयोगमुखी वातावरण सुनिश्चित गर्ने तथा परामर्श सेवाको गुणस्तर सुधार गर्ने विषयमा जोड दिइयो। दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली क्यारियर पोर्टल’ विकास गरी अध्ययनपछिका रोजगारी र क्यारियर अवसरबारे एकीकृत सूचना प्रणाली तयार गर्ने विषयमा छलफल भयो । यस्तै, परामर्शदाताहरूको क्षमता अभिवृद्धिका लागि लक्षित तालिम सञ्चालन गर्ने, पाइलट परियोजनामार्फत विद्यार्थी सहयोग प्रणाली परीक्षण गर्ने र विभिन्न देश तथा क्षेत्रअनुसार सीप म्यापिङ गर्ने विषयमा पनि सहमति जुटेको छ। मानसिक स्वास्थ्य र मनोसामाजिक सचेतनालाई समेत प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। बैठकले स्वास्थ्य बीमा, छात्रवृत्ति सम्बन्धी सूचना प्रवाह र विद्यार्थी कर व्यवस्थापनका विषयमा नीतिगत सुधारका लागि सम्बन्धित निकायसँग संयुक्त वकालत गर्ने सहमति गरेको छ। साथै, छिट्टै औपचारिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी अघि बढाइएको छ। विदेश अध्ययन ‘सामान्य प्रक्रिया’ मा परिणत भइसकेको सन्दर्भमा यस क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन संस्थागत सहकार्य अपरिहार्य भएको निष्कर्ष बैठकले निकालेको छ। यसैबीच, (ईक्यानले एनआरएनएका अध्यक्ष डा. शर्मा ९ अप्रिलदेखि ईक्यानको मानार्थ सल्लाहकारका रूपमा राख्ने प्रतिब्धता जनाएको छ। ईक्यानले शैक्षिक परामर्श क्षेत्रमा अनैतिक अभ्यासविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने प्रतिबद्धता दोहोर्याएको छ l नियमित भर्चुअल अभिमुखीकरण, एयरपोर्ट सहयोग र प्रशासनिक सहजीकरणमा सहकार्य गर्ने सहमति बैठकबाट जुटेको छ l
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मा सहितको प्रतिनिधिमण्डलले काठमाडौँको बुढानिलकण्ठस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) को भ्रमण गरेको छ। उक्त अवसरमा भविष्यमा गर्न सकिने सहकार्यका विषयमा घनिभूत छलफल गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक राज जोशीसँग भेट गरेको छ। भेटमा नेपाल र नेपाली पर्यटन प्रवर्द्धन, सांस्कृतिक महोत्सव, र दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको छ। यस्तै पर्यटन प्रवर्द्धन, नेपाल महोत्सव, नेपाल हाउस, र आगामी सहकार्यको समझदारी (MoU) तयार गर्ने विषयमा छलफल भएको छ l सो अवसरमा पर्यटन प्रवर्द्धन अन्तर्गत, दोस्रो पुस्तालाई पर्यटन क्षेत्रमा संलग्न गर्ने योजना प्रस्तुत गरिएको थियो। साथै नेपाल महोत्सवमार्फत सांस्कृतिक कार्यक्रम, कला र परम्परागत गतिविधिहरूको आयोजना गर्ने विषयमा छलफल भएको थियो। नेपाल हाउसको अवधारणा पनि बैठकमा प्रस्तुत गरिएको थियो, जसले स्थायी वा अस्थायी रूपमा नेपालका सांस्कृतिक र पर्यटन आकर्षणहरू प्रदर्शन गर्ने योजना समेट्नेछ। भेटघाटमा सहकार्यको समझदारी (MoU) तयार गर्ने जिम्मेवारी NTB ले लिने निर्णय गरिएको छ र यसलाई एनआरएनएसँग पठाइनेछ। सम्भावित सहकार्य क्षेत्रहरूमा अनुसन्धान सहयोग र पर्यटन क्षेत्रमा लगानी समावेश छन्। प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक राज जोशीले यस भेटघाटले नेपालमा पर्यटन प्रवर्द्धनलाई अझ मजबुत बनाउने र दीर्घकालीन सहकार्यको ढाँचा तयार गर्ने अवसर प्रदान गरेको बताउनुभएको छ l अप्रिल ५ -
विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ। मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ । अध्यक्ष डा. हेमराज शर्मा अध्यक्ष डा. हेमराज शर्माले माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष शर्माले भन्नुभयो "विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पुर्याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक छ।" उहाँले, गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यन गर्न, र यस सम्बन्धी कानुनी र संवैधानिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्यन गरिनु पर्नेमा जोड दिनुभयो। साथै, विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र कानुनी सहायता प्रणाली निर्माण गर्न आग्रह गर्नुभयो। अध्यक्ष शर्माले संघको तर्फबाट नेपालको विकास र विदेशमा रहेका नेपालीहरूको हितमा सरकारसँग सहकार्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले साथ् र सहकार्य गर्न सक्ने उल्लेख गर्नुभयो। अध्यक्ष महतोले भन्नुभयो "सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट सहज तरिकाले काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान,, सिप र प्रबिधि आवश्यक पर्ने भएकाले विदेशमा रहेका नेपाली समुदायको अनुभव, ज्ञान र योगदान अत्यन्तै महत्वपूर्ण छ।" उहाँले थप भन्नुभयो, “विदेशमा रहेका नेपालीहरूले सधैं मनमा नेपाललाई समृद्ध बनाउने सपना बोकेर काम गर्दै आएका छन्। परराष्ट्र मन्त्रालय हाम्रो सम्बन्धित मन्त्रालय भएकाले हामी जिम्मेवारी बुझिसकेका छौं र नेपाललाई समृद्ध बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न आजको भेटमा आएको हौँ ।” अध्यक्ष महतोले ९० देशमा रहेका नेपालीहरूको साझा आवाज र एकतालाई नेपालको विकास अभियानमा जोड्नुपर्नेमा जोड दिनुभयो। परराष्ट्रमन्त्री शिशिर खनाल भेटमा मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्था गत सहकार्यमा जोड दिनुभएको छ । भेटका क्रममा मन्त्री खनालले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त योगदानप्रति आभार व्यक्त गर्नुभयो । “यस पटक देशमा भएको परिवर्तनमा विदेशमा रहेका नेपालीहरूको ठूलो योगदान छ भन्ने कुरा स्पष्ट रूपमा हाम्रो नेतृत्व तहमा स्थापित छ,” उहाँले भन्नुभयो । आर्थिक समृद्धिका लागि विदेशस्थित नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । “सानातिना लगानीभन्दा देशलाई रूपान्तरण गर्ने ठूला परियोजनामा सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो। मन्त्री खनालले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको औंल्याउँदै विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन भइरहेको सहयोगलाई व्यवस्थित बनाउन कोष स्थापना गर्ने प्रस्ताव अघि सार्नुभएको छ । मन्त्री खनालले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डाहरूलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै अब तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । नागरिकता सम्बन्धी विषयमा स्पष्ट रूपमा सकारात्मक रहेको भएपनि केही कानुनी जटिलताका कारण थप अध्ययन र आवश्यक कानुन संशोधनको आवश्यक हुन सक्ने उल्लेख गर्नुभयो । त्यस्तै, उहाँले पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिनुभयो । प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको उहाँको भनाइ थियो । विदेशमा रहेका नेपालीलाई सेवा प्रदान गर्ने सन्दर्भमा मन्त्रालयको स्रोत सीमित रहेको स्वीकार गर्दै उहाँले भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए। दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको छ। युरोपियन सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमान्त्रण सोही अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले २२–२३ जून २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना गर्न लागेको १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्र मन्त्री श्री शिशिर खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरिएको छ। कार्यक्रमको सहजीकरण महासचिव डा. चिरञ्जीवी खड्काले गर्नुभएको थियो । परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाइएको पत्र : मितिः २०८२ /१२/ २० माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल ज्यू परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाण्डौ । विषयः हार्दिक बधाई तथा शुभकामना सहित सहजीकरणका लागि सादर अनुरोध । माननीय मन्त्रीज्यू, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माननीय परराष्ट्र मन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यहाँको कार्यकाल सफल, प्रभावकारी तथा ऐतिहासिक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं । यहाँको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा काम गर्न सहज वातावरण बन्ने अपेक्षा राखेका छौँ। विशेष गरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाउनेमा विश्वस्त छौँ। "नेपालीका लागि नेपाली" भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले हालसम्म ९० देशमा औपचारिक सञ्जाल विस्तार गरी, विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई एकै सुत्रमा जोड्न सफल भएको छ। साथै, मातृभूमि नेपालको सामाजिक, परोपकारी र आर्थिक विकासमा नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ। माननीय मन्त्रीज्यू, परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली संघको तालुकदार मन्त्रालय मात्र नभई हाम्रो भरोसा र विश्वाशको मन्त्रालय पनि हो। नेपाल सरकारसँग सहकार्यको मार्ग यही मन्त्रालयमार्फत तय हुने भएकाले गैरआवासीय नेपालीका समस्या समाधानमा पनि यस मन्त्रालयले अग्रसर भूमिका खेलोस् भन्ने हाम्रो अपेक्षा छ। यसै सन्दर्भमा, हाल विश्वभर रहेका नेपालीहरूको प्रमुख चासो, वंशजको नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन रहेको छ । नेपालको संविधानको धारा १४ ले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रयोग गर्न पाउने व्यवस्था स्पष्ट गरेपनि विगत दश वर्षसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको करिब तीन वर्ष पुग्न लाग्दा पनि ती अधिकारहरू प्रयोगविहीन अवस्थामा रहेका छन्, जसबारे माननीय मन्त्रीज्यू पूर्ण रूपमा जानकार हुनुहुन्छ। त्यसैले आवश्यक कानुनी र संवैधानिक हैसियत सुनिश्चित गरिदिन नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गर्दछौं। यसका लागि माननीय मन्त्रीज्यूले तीन चरणमा निर्णय प्रक्रिया अघि बढाउन भूमिका खेल्नु पर्ने सुझाव प्रस्तुत गर्दछौं। पहिलो, गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन। दोस्रो, विश्वभरका नेपालीको आवश्यकता र भावना समेट्ने गरी गैरआवासीय नेपाली सम्बन्धि ऐन संशोधन। तेस्रो, “वंशजको नागरिकताको निरन्तरता भन्ने मान्यता अनुसार संविधान संशोधन। माननीय मन्त्रीज्यू, उल्लेखित तीन चरणमध्ये पहिलो चरण गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नितान्त व्यवहारिक विषय हो। संविधानअनुसार ऐन संशोधन गरी वितरण गरिएको नागरिकताबाट सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न रोक्नु पर्ने कुनै ठोस कारण छैन, यो केवल प्रशासनिक अनिच्छा मात्र भएको हाम्रो बुझाइ छ। त्यसैले यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न मन्त्रिपरिषद् बाट निर्णय गराई देहायबमोजिमको कार्यमा सम्बन्धित निकायमा तत्काल परिपत्र गर्न हार्दिक अनुरोध गर्दछौं l १. अध्यागमन : गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई नेपाल प्रवेशका लागि भिसा लिनु नपर्ने तथा भिसा अवधि थप गरिरहनु नपर्ने व्यवस्था स्पष्ट गरी गृह मन्त्रालयमार्फत अध्यागमन विभागबाट कार्यान्वयन हुने गरी आवश्यक निर्णय तथा परिपत्र जारी गरिदिनुहुन । २. जग्गा-जमिन सम्बन्धी: गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्ति, खरिद-बिक्री तथा पैत्रिक सम्पत्ति आफ्नो नाममा नाम सारी गर्ने प्रक्रियामा सहजता मिलाउन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयहरूलाई आवश्यक परिपत्र जारी गर्न l ३. बैंक तथा वित्तीय क्षेत्र: गैरआवासीय नेपाली नागरिकहरूलाई अन्य नेपाली नागरिक सरह बैंक खाता खोल्न तथा सञ्चालन गर्न, कम्पनी स्थापना गर्न, धितोपत्र खरिद-बिक्री गर्न, डिम्याट खाता खोल्न तथा धितोपत्र बजारमा लगानी गर्न पूर्ण अधिकार सुनिश्चित गर्न र नेपाल सरकारको समन्वयमा स्थापित करिब रु. १० अर्ब बराबरको “एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड” लाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड मार्फत आवश्यक सहजीकरण गरिदिनुहुन l ४. सवारी साधन: गैरआवासीय नेपाली नागरिकलाई अन्य नेपाली सरह सवारी साधन खरिद/दर्ता तथा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न यातायात व्यवस्था विभाग तथा मातहतका सबै कार्यालयबाट पूर्ण सहजीकरण गरिदिनुहुन l ५. राष्ट्रिय परिचयपत्र: गैरआवासीय नेपाली नागरिकहरूले नेपालमा तत्कालका लागि राष्ट्रिय परिचयपत्रबिना पनि सरकारी सेवा, बैंक/वित्तीय कारोबार, सम्पत्ति खरिद–बिक्री र सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्ने वातावरण निर्माण गरि तत्कालका लागि अनिवार्य नराखी सेवा तथा कारोबारमा सहज पहुँच सुनिश्चित गरिदिनुहुन l माननीय मन्त्रीज्यू, गैरआवासीय नेपालीसँग सम्बन्धित सबै विषयलाई समग्र रूपमा सम्बोधन गर्न हालको गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ लाई संशोधन गरी समयानुकूल नयाँ ऐन निर्माण यथासिघ्र अगाडि बढाउनु जरुरी छ, हामीलाई विश्वास छ कि पूर्ण बहुमत भएको सरकारले यो ऐन परिवर्तन गर्न समय लिने छैन। त्यसैले हामी नयाँ ऐनमा विशेषतः छुट्नै नहुने केही विषयहरू मन्त्रालयले नै तयार गर्ने विधेयकमा अवश्य समेटिने भन्ने विश्वाससहित ती विषयहरू पुनः स्मरण गराउन चाहन्छौँ: १. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार बाहेक बाँकी सम्पूर्ण अधिकार बंशजको नागरिकता प्राप्त व्यक्तिसँग समान हुने। २. गैरआवासीय नागरिकता प्राप्त व्यक्तिका सन्तानले स्वतः त्यही आधारमा गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने। ३. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले विदेशी नागरिकसँग विवाह गरेमा निजको वा पत्नी/पति गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने। ४. गैरआवासीय नेपाली नागरिकताका आधारमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने। माननीय मन्त्रीज्यू, कुनै पनि नेपालीले स्वदेश छोड्नु केवल इच्छा होइन, बाध्यता पनि हो। त्यस बाध्यताका कारण विदेशमा रहेका नेपालीले त्यहाँको स्थायी बसोबास वा नागरिकता लिनुपर्छ। तर यसो गर्दा आफ्नो मातृभूमिको बंशजको नागरिकता त्याग्ने रहर हुँदैन। त्यसैले व्यवहारिक दृष्टिले “एकपटक बंशजको नागरिकता लिएको व्यक्तिले जुनसुकै देशको नागरिकता लिए पनि उसको बंशजको नागरिकता कायम रहने व्यवस्था संविधान संशोधन र कानुनमै स्पष्ट उल्लेख गर्दै नेपाली नागरिकको मौलिक हकसँग सम्बन्धित संविधानको धारा २९१ खारेज गर्न ध्यानाकर्षण गराउँदछौ । माननीय मन्त्रीज्यू, यसैसँगै, पछिल्लो समयमा मध्यपूर्वमा रहेका नेपालीहरूले भोगिरहेका सङ्कट समाधानका लागि मन्त्रालयले गरिरहेको पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ। यद्यपि, उक्त पहल पर्याप्त नभएकोले यस सम्बन्धमा व्यवस्था गरि प्रभावकारी पहलका लागि अनुरोध गर्दछौँ। साथै, वैदेशिक रोजगारीमा रहेका र विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि निम्न व्यवस्था गर्न अनुरोध गर्दछाँ : १. दूतावासको जनशक्ति प्रभावकारी बनाउन हालको जनशक्तिलाई कम्तीमा दोब्बर बढाउन। २. विदेशमा कारागारमा रहेका नेपालीहरूलाई समयमै र व्यवस्थित कानुनी सहायता उपलब्ध गराउन विशेष संयन्त्र स्थापना गर्न। ३. श्रमिक स्वास्थ्य सुरक्षा र प्रस्थानपूर्व सचेतना कार्यक्रम व्यवस्थित र व्यापक बनाउन। ४. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्न र ठुलो संख्यामा नेपालीहरू रहेका रोमानिया, क्रोएसिया, पोल्याण्ड र माल्टा लगायतका देशमा दूतावास स्थापना गर्न। ५. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था l अन्त्यमा, बृहत् एकता सहित भर्खरै सम्पन्न विश्व सम्मेलन र माहाधिवेशनबाट आएको गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व माननीय मन्त्रीज्यूसहित सिंगो परराष्ट्र मन्त्रालयसँग हातेमालो गर्दै देशको विकास र नेपालीहरूको खुशीका लागि स्वदेश र विदेशमा जस्तोसुकै सहयोग गर्न सधैं तत्पर रहने प्रतिवद्धता पुनः दोहोर्याउन चाहन्छ। साथै, नेपाललाई समग्र रूपमा समृद्ध बनाउने दिशामा यहाँको कार्यकाल फलदायी हुने विश्वासका साथ संघको तर्फबाट पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। भवदीय, डा. हेमराज शर्मा अध्यक्ष, गैरआवासीय नेपाली संघ ।