एनआरएनएद्वारा वैदेशिक रोजगार सुधारसम्बन्धी नीतिगत प्रस्ताव मन्त्रालयमा पेश

NRNA Admin • 06 Apr 2026
news-img

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन उद्देश्यसहित तयार पारिएको नीतिगत प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गरेको छ। मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्मा सहभागी भई उक्त प्रस्ताव मन्त्रालयका सम्बन्धित पदाधिकारीसमक्ष औपचारिक रूपमा बुझाउनुभएको हो। छलफलका क्रममा वैदेशिक रोजगार क्षेत्रमा देखिएका वर्तमान चुनौती, श्रमिकको सुरक्षा, सीप विकास, स्वास्थ्य सेवा, कानुनी पहुँच तथा पुनःएकीकरणलगायत विषयमा विस्तृत विचार–विमर्श भएको थियो।

एनआरएनएले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण योगदान रहे पनि श्रमिकहरू विभिन्न जोखिम र समस्याबाट प्रभावित भइरहेकाले संरचनात्मक सुधार आवश्यक रहेको औंल्याएको छ। पेश गरिएको प्रस्तावमा वैदेशिक रोजगार कल्याणकारी कोषको प्रभावकारी उपयोग, श्रमिकका लागि समर्पित स्वास्थ्य सेवा, सीपमा आधारित रोजगार प्रणाली, दूतावास सेवाको सुदृढीकरण, डिजिटल गुनासो व्यवस्थापन प्रणाली तथा पुनःएकीकरण र उद्यमशीलता प्रवर्द्धनलाई मुख्य रूपमा समेटिएको छ। त्यसैगरी श्रमिकका लागि समर्पित अस्पताल स्थापना, गन्तव्य मुलुकमा स्वास्थ्य बीमा तथा आकस्मिक उपचार प्रणाली सुदृढीकरण, प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र विस्तार, श्रमिक शोषण नियन्त्रणका लागि कडा अनुगमन, कानुनी सहायता संयन्त्र, तथा २४ सै घण्टा सहायता कक्ष सञ्चालन गर्ने प्रस्तावसमेत समावेश गरिएको छ। अन्य सुझावहरूमा पूर्व–प्रस्थान अभिमुखीकरण सुधार, म्यानपावर कम्पनीहरूको नियमन, मानव तस्करीविरुद्ध शून्य सहनशीलता नीति, आपतकालीन उद्धार संयन्त्र सुदृढीकरण तथा वैदेशिक रोजगारमा मृत्यु भएका श्रमिकको सम्मानजनक व्यवस्थापन प्रणाली विकास गर्ने विषय उल्लेख छन्।

एनआरएनएले प्रस्ताव कार्यान्वयन भएमा वैदेशिक रोजगार क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।