गैरआवासीय नेपालीका मुद्दाहरूलाई मिडियाले प्राथमिकताका साथ बहस, पैरवी गर्ने

NRNA Admin • 08 Apr 2026
news-img

काठमाडौं, ८ अप्रिल २०२६ – नेपाल पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीबीच महासंघको केन्द्रीय कार्यालयमा भेटघाट भएको छ। भेटमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा लगायतका पदाधिकारीले नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

भेटका क्रममा अध्यक्ष शर्माले विशेषगरी विदेशमा रहेका नेपाली पत्रकारहरूसँग सहकार्य बढाउँदै सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने आवश्यकतामा जोड दिनुभयो। उहाँले प्रवासमा रहेका नेपालीका मुद्दा, उपलब्धि र चुनौतीलाई सन्तुलित र यथार्थपरक रूपमा प्रस्तुत गर्न मिडियाको दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले गैरआवासीय नेपालीका मुद्दाहरूलाई मिडियाले प्राथमिकताका साथ बहस र पैरवी गर्नुपर्ने बताउँदै एनआरएनएभित्र रहेको विशाल सम्भावना, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।
महासंघका उपाध्यक्ष बुद्धि सुवेदी तथा महिला उपाध्यक्ष टीका गुरुङले पनि पत्रकारिता क्षेत्रको विकास र एनआरएनएसँग सहकार्यका विषयमा आफ्ना धारणा राख्नुभएको थियो।

यसैबीच, महासंघका महासचिव डा. चिरञ्जीवी खड्काले पत्रकारिताको भूमिका र जिम्मेवारीबारे चर्चा गर्दै रचनात्मक आलोचनामार्फत खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मिडियाले सन्तुलित, तथ्यपरक र जिम्मेवार ढंगले आफ्नो दायित्व निर्वाह गर्दै सकारात्मक परिवर्तनमा योगदान दिनुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले एनआरएनएसँग रचनात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहकार्यका विभिन्न आयामहरू अघि बढाउन प्रस्ताव गर्नुभयो।