विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ। मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ ।
अध्यक्ष डा. हेमराज शर्मा
अध्यक्ष डा. हेमराज शर्माले माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष शर्माले भन्नुभयो "विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पुर्याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक छ।" उहाँले, गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यन गर्न, र यस सम्बन्धी कानुनी र संवैधानिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्यन गरिनु पर्नेमा जोड दिनुभयो। साथै, विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र कानुनी सहायता प्रणाली निर्माण गर्न आग्रह गर्नुभयो। अध्यक्ष शर्माले संघको तर्फबाट नेपालको विकास र विदेशमा रहेका नेपालीहरूको हितमा सरकारसँग सहकार्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले साथ् र सहकार्य गर्न सक्ने उल्लेख गर्नुभयो।
अध्यक्ष महतोले भन्नुभयो "सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट सहज तरिकाले काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान,, सिप र प्रबिधि आवश्यक पर्ने भएकाले विदेशमा रहेका नेपाली समुदायको अनुभव, ज्ञान र योगदान अत्यन्तै महत्वपूर्ण छ।"
उहाँले थप भन्नुभयो, “विदेशमा रहेका नेपालीहरूले सधैं मनमा नेपाललाई समृद्ध बनाउने सपना बोकेर काम गर्दै आएका छन्। परराष्ट्र मन्त्रालय हाम्रो सम्बन्धित मन्त्रालय भएकाले हामी जिम्मेवारी बुझिसकेका छौं र नेपाललाई समृद्ध बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न आजको भेटमा आएको हौँ ।” अध्यक्ष महतोले ९० देशमा रहेका नेपालीहरूको साझा आवाज र एकतालाई नेपालको विकास अभियानमा जोड्नुपर्नेमा जोड दिनुभयो।

परराष्ट्रमन्त्री शिशिर खनाल
भेटमा मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्था गत सहकार्यमा जोड दिनुभएको छ । भेटका क्रममा मन्त्री खनालले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त योगदानप्रति आभार व्यक्त गर्नुभयो । “यस पटक देशमा भएको परिवर्तनमा विदेशमा रहेका नेपालीहरूको ठूलो योगदान छ भन्ने कुरा स्पष्ट रूपमा हाम्रो नेतृत्व तहमा स्थापित छ,” उहाँले भन्नुभयो । आर्थिक समृद्धिका लागि विदेशस्थित नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । “सानातिना लगानीभन्दा देशलाई रूपान्तरण गर्ने ठूला परियोजनामा सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो। मन्त्री खनालले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको औंल्याउँदै विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन भइरहेको सहयोगलाई व्यवस्थित बनाउन कोष स्थापना गर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
मन्त्री खनालले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डाहरूलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै अब तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । नागरिकता सम्बन्धी विषयमा स्पष्ट रूपमा सकारात्मक रहेको भएपनि केही कानुनी जटिलताका कारण थप अध्ययन र आवश्यक कानुन संशोधनको आवश्यक हुन सक्ने उल्लेख गर्नुभयो ।
त्यस्तै, उहाँले पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिनुभयो । प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको उहाँको भनाइ थियो ।
विदेशमा रहेका नेपालीलाई सेवा प्रदान गर्ने सन्दर्भमा मन्त्रालयको स्रोत सीमित रहेको स्वीकार गर्दै उहाँले भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए। दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको छ।
युरोपियन सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमान्त्रण
सोही अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले २२–२३ जून २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना गर्न लागेको १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्र मन्त्री श्री शिशिर खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरिएको छ।
कार्यक्रमको सहजीकरण महासचिव डा. चिरञ्जीवी खड्काले गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाइएको पत्र :
मितिः २०८२ /१२/ २०
माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल ज्यू
परराष्ट्र मन्त्रालय,
सिंहदरबार, काठमाण्डौ ।
विषयः हार्दिक बधाई तथा शुभकामना सहित सहजीकरणका लागि सादर अनुरोध ।
माननीय मन्त्रीज्यू,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माननीय परराष्ट्र मन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यहाँको कार्यकाल सफल, प्रभावकारी तथा ऐतिहासिक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।
यहाँको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा काम गर्न सहज वातावरण बन्ने अपेक्षा राखेका छौँ। विशेष गरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाउनेमा विश्वस्त छौँ।
"नेपालीका लागि नेपाली" भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले हालसम्म ९० देशमा औपचारिक सञ्जाल विस्तार गरी, विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई एकै सुत्रमा जोड्न सफल भएको छ। साथै, मातृभूमि नेपालको सामाजिक, परोपकारी र आर्थिक विकासमा नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ।
माननीय मन्त्रीज्यू,
परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली संघको तालुकदार मन्त्रालय मात्र नभई हाम्रो भरोसा र विश्वाशको मन्त्रालय पनि हो। नेपाल सरकारसँग सहकार्यको मार्ग यही मन्त्रालयमार्फत तय हुने भएकाले गैरआवासीय नेपालीका समस्या समाधानमा पनि यस मन्त्रालयले अग्रसर भूमिका खेलोस् भन्ने हाम्रो अपेक्षा छ।
यसै सन्दर्भमा, हाल विश्वभर रहेका नेपालीहरूको प्रमुख चासो, वंशजको नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन रहेको छ । नेपालको संविधानको धारा १४ ले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रयोग गर्न पाउने व्यवस्था स्पष्ट गरेपनि विगत दश वर्षसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको करिब तीन वर्ष पुग्न लाग्दा पनि ती अधिकारहरू प्रयोगविहीन अवस्थामा रहेका छन्, जसबारे माननीय मन्त्रीज्यू पूर्ण रूपमा जानकार हुनुहुन्छ। त्यसैले आवश्यक कानुनी र संवैधानिक हैसियत सुनिश्चित गरिदिन नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गर्दछौं। यसका लागि माननीय मन्त्रीज्यूले तीन चरणमा निर्णय प्रक्रिया अघि बढाउन भूमिका खेल्नु पर्ने सुझाव प्रस्तुत गर्दछौं।
पहिलो, गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन।
दोस्रो, विश्वभरका नेपालीको आवश्यकता र भावना समेट्ने गरी गैरआवासीय नेपाली सम्बन्धि ऐन संशोधन।
तेस्रो, “वंशजको नागरिकताको निरन्तरता भन्ने मान्यता अनुसार संविधान संशोधन।
माननीय मन्त्रीज्यू,
उल्लेखित तीन चरणमध्ये पहिलो चरण गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नितान्त व्यवहारिक विषय हो। संविधानअनुसार ऐन संशोधन गरी वितरण गरिएको नागरिकताबाट सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न रोक्नु पर्ने कुनै ठोस कारण छैन, यो केवल प्रशासनिक अनिच्छा मात्र भएको हाम्रो बुझाइ छ। त्यसैले यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न मन्त्रिपरिषद् बाट निर्णय गराई देहायबमोजिमको कार्यमा सम्बन्धित निकायमा तत्काल परिपत्र गर्न हार्दिक अनुरोध गर्दछौं l
१. अध्यागमन : गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई नेपाल प्रवेशका लागि भिसा लिनु नपर्ने तथा भिसा अवधि थप गरिरहनु नपर्ने व्यवस्था स्पष्ट गरी गृह मन्त्रालयमार्फत अध्यागमन विभागबाट कार्यान्वयन हुने गरी आवश्यक निर्णय तथा परिपत्र जारी गरिदिनुहुन ।
२. जग्गा-जमिन सम्बन्धी: गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्ति, खरिद-बिक्री तथा पैत्रिक सम्पत्ति आफ्नो नाममा नाम सारी गर्ने प्रक्रियामा सहजता मिलाउन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयहरूलाई आवश्यक परिपत्र जारी गर्न l
३. बैंक तथा वित्तीय क्षेत्र: गैरआवासीय नेपाली नागरिकहरूलाई अन्य नेपाली नागरिक सरह बैंक खाता खोल्न तथा सञ्चालन गर्न, कम्पनी स्थापना गर्न, धितोपत्र खरिद-बिक्री गर्न, डिम्याट खाता खोल्न तथा धितोपत्र बजारमा लगानी गर्न पूर्ण अधिकार सुनिश्चित गर्न र नेपाल सरकारको समन्वयमा स्थापित करिब रु. १० अर्ब बराबरको “एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड” लाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड मार्फत आवश्यक सहजीकरण गरिदिनुहुन l
४. सवारी साधन: गैरआवासीय नेपाली नागरिकलाई अन्य नेपाली सरह सवारी साधन खरिद/दर्ता तथा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न यातायात व्यवस्था विभाग तथा मातहतका सबै कार्यालयबाट पूर्ण सहजीकरण गरिदिनुहुन l
५. राष्ट्रिय परिचयपत्र: गैरआवासीय नेपाली नागरिकहरूले नेपालमा तत्कालका लागि राष्ट्रिय परिचयपत्रबिना पनि सरकारी सेवा, बैंक/वित्तीय कारोबार, सम्पत्ति खरिद–बिक्री र सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्ने वातावरण निर्माण गरि तत्कालका लागि अनिवार्य नराखी सेवा तथा कारोबारमा सहज पहुँच सुनिश्चित गरिदिनुहुन l
माननीय मन्त्रीज्यू,
गैरआवासीय नेपालीसँग सम्बन्धित सबै विषयलाई समग्र रूपमा सम्बोधन गर्न हालको गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ लाई संशोधन गरी समयानुकूल नयाँ ऐन निर्माण यथासिघ्र अगाडि बढाउनु जरुरी छ, हामीलाई विश्वास छ कि पूर्ण बहुमत भएको सरकारले यो ऐन परिवर्तन गर्न समय लिने छैन। त्यसैले हामी नयाँ ऐनमा विशेषतः छुट्नै नहुने केही विषयहरू मन्त्रालयले नै तयार गर्ने विधेयकमा अवश्य समेटिने भन्ने विश्वाससहित ती विषयहरू पुनः स्मरण गराउन चाहन्छौँ:
१. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार बाहेक बाँकी सम्पूर्ण अधिकार बंशजको नागरिकता प्राप्त व्यक्तिसँग समान हुने।
२. गैरआवासीय नागरिकता प्राप्त व्यक्तिका सन्तानले स्वतः त्यही आधारमा गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने।
३. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले विदेशी नागरिकसँग विवाह गरेमा निजको वा पत्नी/पति गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने।
४. गैरआवासीय नेपाली नागरिकताका आधारमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने।
माननीय मन्त्रीज्यू,
कुनै पनि नेपालीले स्वदेश छोड्नु केवल इच्छा होइन, बाध्यता पनि हो। त्यस बाध्यताका कारण विदेशमा रहेका नेपालीले त्यहाँको स्थायी बसोबास वा नागरिकता लिनुपर्छ। तर यसो गर्दा आफ्नो मातृभूमिको बंशजको नागरिकता त्याग्ने रहर हुँदैन। त्यसैले व्यवहारिक दृष्टिले “एकपटक बंशजको नागरिकता लिएको व्यक्तिले जुनसुकै देशको नागरिकता लिए पनि उसको बंशजको नागरिकता कायम रहने व्यवस्था संविधान संशोधन र कानुनमै स्पष्ट उल्लेख गर्दै नेपाली नागरिकको मौलिक हकसँग सम्बन्धित संविधानको धारा २९१ खारेज गर्न ध्यानाकर्षण गराउँदछौ ।
माननीय मन्त्रीज्यू,
यसैसँगै, पछिल्लो समयमा मध्यपूर्वमा रहेका नेपालीहरूले भोगिरहेका सङ्कट समाधानका लागि मन्त्रालयले गरिरहेको पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ। यद्यपि, उक्त पहल पर्याप्त नभएकोले यस सम्बन्धमा व्यवस्था गरि प्रभावकारी पहलका लागि अनुरोध गर्दछौँ। साथै, वैदेशिक रोजगारीमा रहेका र विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि निम्न व्यवस्था गर्न अनुरोध गर्दछाँ :
१. दूतावासको जनशक्ति प्रभावकारी बनाउन हालको जनशक्तिलाई कम्तीमा दोब्बर बढाउन।
२. विदेशमा कारागारमा रहेका नेपालीहरूलाई समयमै र व्यवस्थित कानुनी सहायता उपलब्ध गराउन विशेष संयन्त्र स्थापना गर्न।
३. श्रमिक स्वास्थ्य सुरक्षा र प्रस्थानपूर्व सचेतना कार्यक्रम व्यवस्थित र व्यापक बनाउन।
४. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्न र ठुलो संख्यामा नेपालीहरू रहेका रोमानिया, क्रोएसिया, पोल्याण्ड र माल्टा लगायतका देशमा दूतावास स्थापना गर्न।
५. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था l
अन्त्यमा, बृहत् एकता सहित भर्खरै सम्पन्न विश्व सम्मेलन र माहाधिवेशनबाट आएको गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व माननीय मन्त्रीज्यूसहित सिंगो परराष्ट्र मन्त्रालयसँग हातेमालो गर्दै देशको विकास र नेपालीहरूको खुशीका लागि स्वदेश र विदेशमा जस्तोसुकै सहयोग गर्न सधैं तत्पर रहने प्रतिवद्धता पुनः दोहोर्याउन चाहन्छ।
साथै, नेपाललाई समग्र रूपमा समृद्ध बनाउने दिशामा यहाँको कार्यकाल फलदायी हुने विश्वासका साथ संघको तर्फबाट पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
भवदीय,
डा. हेमराज शर्मा
अध्यक्ष,
गैरआवासीय नेपाली संघ