गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गर्नुभएको हो । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी बृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रुपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ब्यारिकेड प्रदान गरिएको उल्लेख गर्नुभयो । उहाँले यसअघि पनि महानगरीय प्रहरी बृत्त रानीपोखरीमा फर्निचर सहयोग गर्नुका साथै उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलरुम रामशाह पथमा अत्याधुनिक उपकरणहरु सहयोग गरेको स्मरण गराउँदै एनआरएनएले सामाजिक कार्यमा जहिले पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताउनुभयो । कार्यक्रममा प्रहरी बृत्त प्रमुख डीएसपी डाँगीले शान्ति स–ुव्यवस्था कायम गर्नका लागि एनआरएनएको सहयोग महत्वपूर्ण हुने भन्दै आभार व्यक्त गर्नुभयो । एनआरएनएले बृत्तलाई ३ लाख मूल्य बराबरको १० थान ब्यारिकेड हस्तान्तरण गरेको हो । कार्यक्रममा एनआरएनए महिला संयोजक रश्मि थापा, पूर्व युवा उपाध्यक्ष अब्दुल बसिद्, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत वरिष्ठ अधिकृत कुनाल मिश्र र सहायक अधिकृत निरन महर्जनको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय डा. बद्री केसी तथा महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामसँग भेटवार्ता गरेको छ। भेटका क्रममा प्रतिनिधिमण्डलले नेपालको संविधानले प्रत्याभूत गरेको आर्थिक अधिकार अन्तर्गतको सम्पत्ति तथा भूमि सम्बन्धी अधिकारलगायत गैरआवासीय नेपाली नागरिकका संवैधानिक र कानूनी अधिकारको तत्काल कार्यान्वयनको विषयमा मन्त्री इङ्नामको ध्यानाकर्षण गराएको थियो। एनआरएनए अध्यक्षद्वयले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई कानूनद्वारा प्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार पूर्णरूपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट आवश्यक निर्णय तथा परिपत्र जारी गर्न पहल गरिदिन अनुरोध गर्नुभयो। प्रतिनिधिमण्डलले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ लगायतका प्रचलित कानूनहरूले नेपाली नागरिकतालाई वंशज, अंगीकृत, सम्मानार्थ तथा गैरआवासीय नेपाली नागरिकता गरी विभिन्न प्रकारमा विभाजन गरेको उल्लेख गरिएको छ। सोही व्यवस्था अन्तर्गत गैरआवासीय नेपाली नागरिकता पनि कानूनी रूपमा मान्यता प्राप्त नागरिकताका प्रकारमध्ये एक भएकाले, नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकलाई समेत आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति गरिनुपर्ने माग गरिएको छ। ध्यानाकर्षण पत्रमार्फत संविधान र नागरिकता ऐनको मर्मअनुसार गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय गराई आवश्यक परिपत्र जारी गर्न सविनय अनुरोध गरिएको छ। भेटमा मन्त्री इङ्नामले गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयनको विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक कानून निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो “यस विषयमा कानून बनिरहेको छ, त्यसैअनुसार गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयन हुँदै जानेछ।" भेटवार्तामा एनआरएनएका उपाध्यक्ष बुद्धि सुवेदी, उपमहासचिव सोम सापकोटा, राष्ट्रिय समन्वय परिषद् साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्याय, राष्ट्रिय समन्वय परिषद् युएईका पूर्व महासचिव भुवन वाग्ले, तथा कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो।
गैरआवासीय गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डल र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ। उक्त भेटघाटमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्षद्वय डा. बद्री के.सी. तथा महेश कुमार श्रेष्ठ र सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो। भेटका क्रममा गैरआवासीय नेपाली संघ र नेपाली सेनाबीच विगतमा महाभूकम्प, विभिन्न प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीका समयमा गरिएको सहकार्यका विषयमा चर्चा भएको थियो। सो अवसरमा प्रधानसेनापति सिग्देलले गैरआवासीय नेपाली संघले नेपालको आर्थिक समृद्धि तथा राष्ट्रिय हितका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि संघ र नेपाली सेनाबीच सहकार्य थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेटवार्ता सम्पन्न गरेको छ। भेटमा एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका क्रममा देखिएका विभिन्न चुनौतीबारे विस्तृत कुराकानी गरिएको थियो। प्रतिनिधि मण्डलले फण्ड सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे आफ्नो धारणा पेस गरेको थियो। मन्त्री खनालले प्रतिनिधि मण्डलले उठाएका सबै विषयहरू ध्यानपूर्वक सुन्नुहुँदै समाधानतर्फ सकारात्मक तथा व्यवहारिक कदम चालिने आश्वासन दिनुभयो। बैठकमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फण्ड सञ्चालनमा रहेका अवरोध हटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न अनुरोध गर्नुभयो । उहाले आगामी दिनमा प्रवासी समुदायले नेपाल डेभलपमेन्ट फण्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्ने बताउँदै सरकारले गर्ने विकास प्रयासहरूमा साथ दिने प्रतिबद्धता जनाउनुभयो । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले फण्ड संचालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न आग्रह गर्नुभयो । पूर्व अध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत “ब्रेकथ्रु” गर्न सरकारसँग माग गर्नुभयो । बैठकमा अध्यक्ष महेश श्रेष्ठ, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष कुमार पन्त, राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष बिनोद श्रेष्ठ, राष्ट्रिय समन्वय परिषद् क्यानाडाका धुर्व भट्टराई, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका अनलराज भट्टराई, संघका कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायत र वरिष्ठ संचार तथा बैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको उपस्थिति थियो। नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो । एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।
विपिन जोशीको रिहाइका लागि आमा पद्मा र बहिनी पुष्पा अमेरिका प्रस्थान, विश्वव्यापी दबाब सिर्जनामा गैरआवासीय नेपाली संघको ऐक्यबद्धता प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अपहरण भई विगत २४ महिनादेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका छन्। यसअघि उनीहरू इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेका थिए। तर ठोस प्रगति नदेखिएकाले थप पहलका लागि संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने उदेश्यले अमेरिका गएका हुन्। आमा–छोरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने जनाइएको छ। विपिन जोशी कञ्चनपुर निवासी हुन् र सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका थिए। उनी २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका थिए र हालसम्म उनको अवस्था अज्ञात रहेको छ। नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको भए पनि अहिलेसम्म ठोस नतिजा आउन सकेको छैन। परिवार निरन्तर अपील र पहलमा सक्रिय छ र अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल जारी राखेको छ। जोशी परिवारले गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीलाई भेटी विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए। त्यसपश्चात संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका बसाइका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढाउनुभएको थियो। अमेरिका बसाइमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछ। क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष बिकाश उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा उनीहरुलाई सहयोग पुर्याउन र आवश्यक कार्यक्रम सञ्चालन गर्न तयारी गरिएको छ। यसअघि गैरआवासीय नेपाली संघ इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि ऐक्यबद्धता व्यक्त गरेको थियो । यस्तै, मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा समेत कूटनीतिक पहल तथा छलफलका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्नेछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुर्ननिर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको छ । विश्वभरिका गैरआवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष डा केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले मातृभूमिलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरुको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ ।’ जवाफमा सम्माननीय प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि बिदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभयो । पुनर्निर्माणको लागि नेपाली र गैरआवासीय नेपालीहरुसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आग्रह गर्नुभयो । उक्त भेटमा अध्यक्ष डा केसीले 'एक पटकको नेपाली सदैव नेपाली' भन्ने मुल उद्देश्य अनुरुप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरुलाई वंशजको नागरिकताको निरन्तरता सहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गर्नुभयो । यस्तै अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरुका लागि मताधिकार सुनिश्चित गर्न समेत अनुरोध गर्नुभयो । यसका साथै गैरआवासीय नेपाली संघको १२ औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारी समेत गराउनुभएको थियो । सम्माननीय प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रुपमा लिएको तथा आगामी निर्बाचनमा बिदेशमा रहेका नेपाली हरुलाई बिदेशबाट नै मतदान गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको थियो । २०८२ असोज ५
वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनी स्थित नेपाली दुतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो । केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो । सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरु विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरु दुवैजना काठमाण्डौ आईपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनीहरुलाई स्वागत गर्न संघको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र कनिष्ठ अधिकृत निरोज महर्जन उपस्थित हुनुभएको थियो । उनीहरु दुवै जनाले दुःखको बेलामा गैर आवासीय नेपाली संघ र जर्मन स्थित नेपाली दुतावासले पुर्याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् । नोट : फोटो शेयर नगर्न उनीहरुले गरेको आग्रहलाई सम्मान गर्दै यहाँ फोटो समावेश गरिएको छैन ।
संघीय संसद भवनको अवलोकन गत भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको गैरआवासीय नेपाली संघ (NRNA) ले भग्नावशेषहरूको अवलोकन कार्य सुरु गरेको छ। यही क्रममा, भदौ ३१ गते मंगलबार संघीय संसद भवनको अवलोकन गरिएको छ। गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको नेतृत्वमा गएको टोलीले संसद भवनमा आगजनीबाट भएको क्षतिको प्रत्यक्ष निरीक्षण गरेको हो। उक्त टोलीमा संघका सचिव स्वतन्त्र प्रताप शाहसहित केन्द्रीय कार्यालयका अन्य पदाधिकारीहरू र कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो। संघले आन्दोलनका क्रममा भएको भौतिक र आर्थिक क्षतिको मूल्यांकन गर्दै प्रभावित संरचनाहरूको पुनःनिर्माणमा सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्नेछ।
२६ अगस्ट २०२५, काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । संघको सचिवालयमा मंगलबार (२०८२ साल भाद्र १० गते तदनुसार २६ अगस्त २०२५ ) स्वीस विकास तथा सहयोग संस्था (SDC)को सहयोगमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क (MiRiDeW) परियोजना दोस्रो चरणको कार्यान्वयनका लागि दुई संस्थाबीच सम्झौता भएको हो । आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार मुख्यतया मध्यपूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकहरूमा एनआरएनएको संस्थागत क्षमता अभिवृद्धिका साथै नेपाल सरकारसँग नीतिगत वकालत एवं पैरवी, श्रमिकलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता, महिला र अलेखबद्ध (अवैधानिक) अवस्थामा रहेका श्रमिकहरूलाई कानूनी परामर्ष, सचेतना अभिवृद्धि लगायतका विषयहरुलाई यस परियोजनाले प्राथमिकतामा राखेर काम गर्नेछ । यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ । उक्त अवसरमा आईएलओ नेपालका निर्देशक ओजकानले ‘एनआरएनलाई रणनैतिक साझेदार मित्रका रुपमा लिईएको र यस संस्थाको विश्वब्यापी संजालका माध्यमबाट विदेशमा रहेका नेपाली श्रमिकहरुले भोग्नुपरेका समस्या समाधानका लागि यो परियोजनाले सहयोग पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली श्रमिकहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड हुन्, तर विदेशमा उनीहरूले असुरक्षित कार्यस्थिति, कानुनी सुरक्षाको अभाव, र एक्लोपनको सामना गर्नुपरेको छ । एनआरएनए सँगको सहकार्यले संस्थागत सुदृढीकरण र मानसिक स्वास्थ्यमा टेवा पु¥याउनेछ । हाम्रो लक्ष्य प्रवासी श्रमिकहरूलाई सुरक्षित, मर्यादित र अधिकारसहितको रोजगारीका लागि प्रणाली निर्माण गर्ने नै हो ।” एनआरएनए–आईसीसी अध्यक्ष डा. केसीले एनआरएनएले आप्रवासी नेपाली श्रमिकहरु तथा गैर आवासीय नेपालीहरुको हक हितका लागि एनआरएनएले सधै बहस तथा पैरवी गरिरहको बताउनुभयो उहाँले भन्नुभयो, “हामीले दुई दशक लामो इतिहासमा ९० भन्दा बढी देशमा समन्वय परिषद् (NCC) स्थापना गरेका छौं जसमा ८०,००० भन्दा बढी पञ्जीकृत सदस्यहरू छन् । सरकारको विश्वासिलो साझेदारको रूपमा, एनआरएनएले प्रवासी श्रमिकहरूको अधिकार र हितका लागि निरन्तर काम गर्दै आएको छ । यो साझेदारी विदेशमा रहेका श्रमिकहरूको समस्या समाधानका लागि एक सुनौलो अवसर हो, जसलाई हामी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्नेछौं।” एनआरएनकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै विदेशको श्रम बजारमा रहेका युवा, महिला तथा पछाडि पारिएका श्रमिकहरुका अवसर तथा जोखिमका विषयमा चर्चा गर्नु भएको थियो । कोभिड–१९ को महामारीका बेलामा समेत एउटा महत्वपुर्ण परियोजना मार्फत सफलतापुर्वक सहकार्य सम्पन्न भईसकेको र यसका कतिपय असल अभ्यास तथा सिकाईहरुबाट यो दोश्रो सहकार्य तथा साझेदारीता पनि सफलता पुर्वक सम्पन्न हुनेमा विश्वस्त रहेको डा केसीले उल्लेख गर्नुभयो । यो साझेदारी सेप्टेम्बर २०२५ देखि मे २०२६ सम्म ९ महिनाको अवधिमा सञ्चालन हुनेछ । कोभिड–१९ महामारीको समयमा दुबै संस्थाले हजारौं नेपाली श्रमिकहरूलाई सहयोग पु¥याएको सफल सहकार्यलाई आधार बनाएर यो कार्यक्रम अगाडि बढाइएको हो । यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ । कार्यक्रममा आईएलओ नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर, नुमन ओजकान, राष्ट्रिय कार्यक्रम संयोजक रोनी प्रधान धौभडेल तथा संचार अधिकृत निष्ठा रायमाझी र एनआरएनएका तर्फबाट अध्यक्ष डा.बद्री केसीका साथै महिला उपाध्यक्ष रोजिना प्रधान राई, सल्लाहकारहरु अतुल कोईराला र हिराधन राई र एनआरएन अभियन्ता बाबा राजेश्वरी थापा र रोविन बज्राचार्यको पनि उपस्थिति रहको थियो । साथै उक्त कार्यक्रममा एनआरएन डेभलपमेन्ट फण्डका सिईओ अनलराज भट्टराई र संघको सचिवालयका सिईओ राजेन्द्र कुमार राउतका साथै अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका सिईओ राजेन्द्र कुमार राउतले गर्नुभएको थियो ।
काठमाडौं, भदौ ६ – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन नेपालकी प्रमुख (Chief of Mission) हेलन फोर्स र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीबीच शुक्रबार ( भाद्र ६ २०८२ ) एक विशेष भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा आप्रवासन, आपसी समन्वय, र भावी सहकार्यका विविध पक्षहरूमा गहन छलफल भएको छ । दुवै पक्षले नेपाली आप्रवासीहरूको हितमा मिलेर कार्य गर्न सकिने सम्भावनाहरूको समीक्षा गरिएको हो । आईओएम नेपाल र एनआरएनएले लामो समयदेखि सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासन प्रवाहका लागि सहकार्य गर्दै आएको छ । भेटमा डा. केसीले आप्रवासनका साझा सरोकारमा काम गर्ने विषयमा सकारात्मक रहेको र एनआरएनए र आईओएमबीच भविष्यमा अझ सशक्त सहकार्य हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । आईओएम प्रमुख फोर्सले पनि एनआरएनएले विश्वभरि रहेका नेपालीहरूको हितमा गरिरहेको कार्यको प्रशंसा गर्दै संस्थाबीचको सहकार्यले दीर्घकालीन प्रभाव पार्न सक्ने उल्लेख गर्नुभयो । उक्त अवसरमा संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले संघका विविध कार्यक्रम लगायत समसामायिक विषयहरुमा थप प्रकाश पार्नुभएको थियो । छलफलमा आइओएम नेपालको आप्रवास तथा विकास विभाग प्रमुख प्रज्वल शर्मा र एनआरएनएका तर्फबाट सहायक निर्देशक महेश श्रेष्ठ, वरिष्ठ अघिकृत कुनाल मिश्र, वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरेको उपस्थिति रहेको थियो ।
एनसीसीका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र आइसीसी सदस्यहरूको सम्मानमा स्वागत तथा बधाई आदान–प्रदान कार्यक्रम सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गरेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र आइसीसी सदस्यहरूको सम्मानमा स्वागत तथा बधाई आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार साँझ (१० अगष्ट २०२५) भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले साधारण सभा र निर्वाचन दुवै एनसीसीको वैधानिक अधिकार भएको उल्लेख गर्दै, यी प्रक्रियालाई सहज र सफलतापूर्वक सम्पन्न गराएकोमा सबै एनसीसीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माले ‘गैरआवासीय नेपाली संघको यात्रा’ शीर्षकमा प्रस्तुति दिँदै, नेपालको संविधानमा २०७२ सालदेखि गैरआवासीय नेपालीको परिभाषा प्रवेश पाएसँगै यो विषय विश्वव्यापी नेपाली डायस्पोरामा स्थापित भएको बताउनुभयो । महिला उपाध्यक्ष रोजिना प्रधान राईले संघको गरिमा एनसीसीहरूकै बलमा रहेको भन्दै, विधि र कानुनको पालना गर्दै संघको प्रतिष्ठा यथावत राख्न सुझाउनुभयो । महासचिव गौरीराज जोशीले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्षद्वय रामशरण सिंखडा र रबिनप्रसाद शेरचन, प्रवक्ता फणिन्द्र पन्त, महिला संयोजक अनुजा प्रधान,युवा उपाध्यक्ष रोशन थापा, डिआरसी रोबर्ट लिम्बु, युरोप सचिव भुवन अर्याल, सह–कोषाध्यक्ष कञ्चन थापा, सचिव पारसमणि पोख्रेल, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोख्रेल, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतले पनि नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । ६ सय भन्दा बढी सहभागी कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले आफ्नो आगामी कार्यदिशा, अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।
पछिल्लो समय इरान र इजरायलबीच उत्पन्न तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै गैरआवासीय नेपाली संघ (NRNA) ले दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै २४ घण्टा सञ्चालन हुने हटलाइन सेवा सुरु गरेको छ। इजरायल र इरानमा कार्यरत वा बसोबास गरिरहेका नेपालीहरूले आपतकालीन अवस्थाहरूमा आवश्यक सहयोगका लागि सिधा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको हो। सुरक्षा अवस्थाको जानकारी लिन वा सहायता आवश्यक परेमा नेपालीहरूले २४ सै घण्टा सेवा उपलब्ध रहने निम्न टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्: 📞 ९८०१८६११२३ 📞 ९८०१८६११०६ 📞 ९८०१८६११०० नेपाली समुदायलाई सतर्क रहन, स्थानीय सरकार तथा दूतावासको निर्देशन पालन गर्न र सुरक्षित स्थानमा बस्नसमेत गैरआवासीय नेपाली संघ अनुरोध गर्दछ ।