Latest News

news-img
NRNA • 26 Aug 2026

एनआरएनए र इक्यानबीच सहकार्य सम्झौता, विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्ने प्रतिबद्धता

एनआरएनए र इक्यानबीच सहकार्य सम्झौता, विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्ने प्रतिबद्धता भाद्र ९ –काठमाडौं - विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्र ( एमओयु) मा हस्ताक्षर भएको छ।

news-img
NRNA • 26 Aug 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्नेबारे छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्नेबारे छलफल भाद्र ९ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको प्रतिनिधिमण्डल र आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर) नुमान ओज्कान बीच भएको उक्त छलफलमा विशेषत: आप्रवासी नेपाली श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, सचेतना, आपत्कालीन सहयोग, पुनःस्थापना तथा फर्किएका श्रमिकको सीप उपयोगलगायतका विषयमा विस्तृत छलफल भएको छ। यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि सरकार, गैरसरकारी संस्था, साझेदार निकाय तथा प्रवासी नेपाली समुदायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

news-img
NRNA • 24 Aug 2026

एनआरएनए र नेपाल चेम्बरबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

काठमाडौं, ७ भाद्र - गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। एनआरएनएका तर्फबाट अध्यक्ष डा हेम राज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सहजीकरण गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहकार्य गर्ने तथा स्वदेशी र गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त रूपमा पैरवी गर्ने विषय पनि समझदारीमा समेटिएको छ। एमओयूअन्तर्गत एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यवसायिक कार्यक्रम आयोजना गर्नेछन्। त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ।

news-img
NRNA • 30 Jul 2026

विश्व ज्ञान सम्मेलन–२०२७ र दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।

All News

news-img
NRNA Admin • 05 Apr 2026

इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) को भ्रमण

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मा सहितको प्रतिनिधिमण्डलले काठमाडौँको बुढानिलकण्ठस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) को भ्रमण गरेको छ। उक्त अवसरमा भविष्यमा गर्न सकिने सहकार्यका विषयमा घनिभूत छलफल गरिएको छ।

news-img
NRNA Admin • 05 Apr 2026

नेपाल पर्यटन बोर्डसँग भेटघाट

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक राज जोशीसँग भेट गरेको छ। भेटमा नेपाल र नेपाली पर्यटन प्रवर्द्धन, सांस्कृतिक महोत्सव, र दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको छ। यस्तै पर्यटन प्रवर्द्धन, नेपाल महोत्सव, नेपाल हाउस, र आगामी सहकार्यको समझदारी (MoU) तयार गर्ने विषयमा छलफल भएको छ l सो अवसरमा पर्यटन प्रवर्द्धन अन्तर्गत, दोस्रो पुस्तालाई पर्यटन क्षेत्रमा संलग्न गर्ने योजना प्रस्तुत गरिएको थियो। साथै नेपाल महोत्सवमार्फत सांस्कृतिक कार्यक्रम, कला र परम्परागत गतिविधिहरूको आयोजना गर्ने विषयमा छलफल भएको थियो। नेपाल हाउसको अवधारणा पनि बैठकमा प्रस्तुत गरिएको थियो, जसले स्थायी वा अस्थायी रूपमा नेपालका सांस्कृतिक र पर्यटन आकर्षणहरू प्रदर्शन गर्ने योजना समेट्नेछ। भेटघाटमा सहकार्यको समझदारी (MoU) तयार गर्ने जिम्मेवारी NTB ले लिने निर्णय गरिएको छ र यसलाई एनआरएनएसँग पठाइनेछ। सम्भावित सहकार्य क्षेत्रहरूमा अनुसन्धान सहयोग र पर्यटन क्षेत्रमा लगानी समावेश छन्। प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक राज जोशीले यस भेटघाटले नेपालमा पर्यटन प्रवर्द्धनलाई अझ मजबुत बनाउने र दीर्घकालीन सहकार्यको ढाँचा तयार गर्ने अवसर प्रदान गरेको बताउनुभएको छ l अप्रिल ५ -

news-img
NRNA Admin • 03 Apr 2026

एनआरएनए प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्रीबीच भेट

विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ। मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ । अध्यक्ष डा. हेमराज शर्मा अध्यक्ष डा. हेमराज शर्माले माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष शर्माले भन्नुभयो "विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पुर्‍याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक छ।" उहाँले, गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यन गर्न, र यस सम्बन्धी कानुनी र संवैधानिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्यन गरिनु पर्नेमा जोड दिनुभयो। साथै, विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र कानुनी सहायता प्रणाली निर्माण गर्न आग्रह गर्नुभयो। अध्यक्ष शर्माले संघको तर्फबाट नेपालको विकास र विदेशमा रहेका नेपालीहरूको हितमा सरकारसँग सहकार्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले साथ् र सहकार्य गर्न सक्ने उल्लेख गर्नुभयो। अध्यक्ष महतोले भन्नुभयो "सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट सहज तरिकाले काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान,, सिप र प्रबिधि आवश्यक पर्ने भएकाले विदेशमा रहेका नेपाली समुदायको अनुभव, ज्ञान र योगदान अत्यन्तै महत्वपूर्ण छ।" उहाँले थप भन्नुभयो, “विदेशमा रहेका नेपालीहरूले सधैं मनमा नेपाललाई समृद्ध बनाउने सपना बोकेर काम गर्दै आएका छन्। परराष्ट्र मन्त्रालय हाम्रो सम्बन्धित मन्त्रालय भएकाले हामी जिम्मेवारी बुझिसकेका छौं र नेपाललाई समृद्ध बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न आजको भेटमा आएको हौँ ।” अध्यक्ष महतोले ९० देशमा रहेका नेपालीहरूको साझा आवाज र एकतालाई नेपालको विकास अभियानमा जोड्नुपर्नेमा जोड दिनुभयो। परराष्ट्रमन्त्री शिशिर खनाल भेटमा मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्था गत सहकार्यमा जोड दिनुभएको छ । भेटका क्रममा मन्त्री खनालले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त योगदानप्रति आभार व्यक्त गर्नुभयो । “यस पटक देशमा भएको परिवर्तनमा विदेशमा रहेका नेपालीहरूको ठूलो योगदान छ भन्ने कुरा स्पष्ट रूपमा हाम्रो नेतृत्व तहमा स्थापित छ,” उहाँले भन्नुभयो । आर्थिक समृद्धिका लागि विदेशस्थित नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । “सानातिना लगानीभन्दा देशलाई रूपान्तरण गर्ने ठूला परियोजनामा सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो। मन्त्री खनालले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको औंल्याउँदै विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन भइरहेको सहयोगलाई व्यवस्थित बनाउन कोष स्थापना गर्ने प्रस्ताव अघि सार्नुभएको छ । मन्त्री खनालले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डाहरूलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै अब तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । नागरिकता सम्बन्धी विषयमा स्पष्ट रूपमा सकारात्मक रहेको भएपनि केही कानुनी जटिलताका कारण थप अध्ययन र आवश्यक कानुन संशोधनको आवश्यक हुन सक्ने उल्लेख गर्नुभयो । त्यस्तै, उहाँले पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिनुभयो । प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको उहाँको भनाइ थियो । विदेशमा रहेका नेपालीलाई सेवा प्रदान गर्ने सन्दर्भमा मन्त्रालयको स्रोत सीमित रहेको स्वीकार गर्दै उहाँले भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए। दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको छ। युरोपियन सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमान्त्रण सोही अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले २२–२३ जून २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना गर्न लागेको १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्र मन्त्री श्री शिशिर खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरिएको छ। कार्यक्रमको सहजीकरण महासचिव डा. चिरञ्जीवी खड्काले गर्नुभएको थियो । परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाइएको पत्र : मितिः २०८२ /१२/ २० माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल ज्यू परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाण्डौ । विषयः हार्दिक बधाई तथा शुभकामना सहित सहजीकरणका लागि सादर अनुरोध । माननीय मन्त्रीज्यू, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माननीय परराष्ट्र मन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यहाँको कार्यकाल सफल, प्रभावकारी तथा ऐतिहासिक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं । यहाँको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा काम गर्न सहज वातावरण बन्ने अपेक्षा राखेका छौँ। विशेष गरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाउनेमा विश्वस्त छौँ। "नेपालीका लागि नेपाली" भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले हालसम्म ९० देशमा औपचारिक सञ्जाल विस्तार गरी, विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई एकै सुत्रमा जोड्न सफल भएको छ। साथै, मातृभूमि नेपालको सामाजिक, परोपकारी र आर्थिक विकासमा नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ। माननीय मन्त्रीज्यू, परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली संघको तालुकदार मन्त्रालय मात्र नभई हाम्रो भरोसा र विश्वाशको मन्त्रालय पनि हो। नेपाल सरकारसँग सहकार्यको मार्ग यही मन्त्रालयमार्फत तय हुने भएकाले गैरआवासीय नेपालीका समस्या समाधानमा पनि यस मन्त्रालयले अग्रसर भूमिका खेलोस् भन्ने हाम्रो अपेक्षा छ। यसै सन्दर्भमा, हाल विश्वभर रहेका नेपालीहरूको प्रमुख चासो, वंशजको नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन रहेको छ । नेपालको संविधानको धारा १४ ले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रयोग गर्न पाउने व्यवस्था स्पष्ट गरेपनि विगत दश वर्षसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको करिब तीन वर्ष पुग्न लाग्दा पनि ती अधिकारहरू प्रयोगविहीन अवस्थामा रहेका छन्, जसबारे माननीय मन्त्रीज्यू पूर्ण रूपमा जानकार हुनुहुन्छ। त्यसैले आवश्यक कानुनी र संवैधानिक हैसियत सुनिश्चित गरिदिन नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गर्दछौं। यसका लागि माननीय मन्त्रीज्यूले तीन चरणमा निर्णय प्रक्रिया अघि बढाउन भूमिका खेल्नु पर्ने सुझाव प्रस्तुत गर्दछौं। पहिलो, गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन। दोस्रो, विश्वभरका नेपालीको आवश्यकता र भावना समेट्ने गरी गैरआवासीय नेपाली सम्बन्धि ऐन संशोधन। तेस्रो, “वंशजको नागरिकताको निरन्तरता भन्ने मान्यता अनुसार संविधान संशोधन। माननीय मन्त्रीज्यू, उल्लेखित तीन चरणमध्ये पहिलो चरण गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नितान्त व्यवहारिक विषय हो। संविधानअनुसार ऐन संशोधन गरी वितरण गरिएको नागरिकताबाट सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न रोक्नु पर्ने कुनै ठोस कारण छैन, यो केवल प्रशासनिक अनिच्छा मात्र भएको हाम्रो बुझाइ छ। त्यसैले यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न मन्त्रिपरिषद् बाट निर्णय गराई देहायबमोजिमको कार्यमा सम्बन्धित निकायमा तत्काल परिपत्र गर्न हार्दिक अनुरोध गर्दछौं l १. अध्यागमन : गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई नेपाल प्रवेशका लागि भिसा लिनु नपर्ने तथा भिसा अवधि थप गरिरहनु नपर्ने व्यवस्था स्पष्ट गरी गृह मन्त्रालयमार्फत अध्यागमन विभागबाट कार्यान्वयन हुने गरी आवश्यक निर्णय तथा परिपत्र जारी गरिदिनुहुन । २. जग्गा-जमिन सम्बन्धी: गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्ति, खरिद-बिक्री तथा पैत्रिक सम्पत्ति आफ्नो नाममा नाम सारी गर्ने प्रक्रियामा सहजता मिलाउन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयहरूलाई आवश्यक परिपत्र जारी गर्न l ३. बैंक तथा वित्तीय क्षेत्र: गैरआवासीय नेपाली नागरिकहरूलाई अन्य नेपाली नागरिक सरह बैंक खाता खोल्न तथा सञ्चालन गर्न, कम्पनी स्थापना गर्न, धितोपत्र खरिद-बिक्री गर्न, डिम्याट खाता खोल्न तथा धितोपत्र बजारमा लगानी गर्न पूर्ण अधिकार सुनिश्चित गर्न र नेपाल सरकारको समन्वयमा स्थापित करिब रु. १० अर्ब बराबरको “एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड” लाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड मार्फत आवश्यक सहजीकरण गरिदिनुहुन l ४. सवारी साधन: गैरआवासीय नेपाली नागरिकलाई अन्य नेपाली सरह सवारी साधन खरिद/दर्ता तथा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न यातायात व्यवस्था विभाग तथा मातहतका सबै कार्यालयबाट पूर्ण सहजीकरण गरिदिनुहुन l ५. राष्ट्रिय परिचयपत्र: गैरआवासीय नेपाली नागरिकहरूले नेपालमा तत्कालका लागि राष्ट्रिय परिचयपत्रबिना पनि सरकारी सेवा, बैंक/वित्तीय कारोबार, सम्पत्ति खरिद–बिक्री र सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्ने वातावरण निर्माण गरि तत्कालका लागि अनिवार्य नराखी सेवा तथा कारोबारमा सहज पहुँच सुनिश्चित गरिदिनुहुन l माननीय मन्त्रीज्यू, गैरआवासीय नेपालीसँग सम्बन्धित सबै विषयलाई समग्र रूपमा सम्बोधन गर्न हालको गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ लाई संशोधन गरी समयानुकूल नयाँ ऐन निर्माण यथासिघ्र अगाडि बढाउनु जरुरी छ, हामीलाई विश्वास छ कि पूर्ण बहुमत भएको सरकारले यो ऐन परिवर्तन गर्न समय लिने छैन। त्यसैले हामी नयाँ ऐनमा विशेषतः छुट्नै नहुने केही विषयहरू मन्त्रालयले नै तयार गर्ने विधेयकमा अवश्य समेटिने भन्ने विश्वाससहित ती विषयहरू पुनः स्मरण गराउन चाहन्छौँ: १. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार बाहेक बाँकी सम्पूर्ण अधिकार बंशजको नागरिकता प्राप्त व्यक्तिसँग समान हुने। २. गैरआवासीय नागरिकता प्राप्त व्यक्तिका सन्तानले स्वतः त्यही आधारमा गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने। ३. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले विदेशी नागरिकसँग विवाह गरेमा निजको वा पत्नी/पति गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने। ४. गैरआवासीय नेपाली नागरिकताका आधारमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने। माननीय मन्त्रीज्यू, कुनै पनि नेपालीले स्वदेश छोड्नु केवल इच्छा होइन, बाध्यता पनि हो। त्यस बाध्यताका कारण विदेशमा रहेका नेपालीले त्यहाँको स्थायी बसोबास वा नागरिकता लिनुपर्छ। तर यसो गर्दा आफ्नो मातृभूमिको बंशजको नागरिकता त्याग्ने रहर हुँदैन। त्यसैले व्यवहारिक दृष्टिले “एकपटक बंशजको नागरिकता लिएको व्यक्तिले जुनसुकै देशको नागरिकता लिए पनि उसको बंशजको नागरिकता कायम रहने व्यवस्था संविधान संशोधन र कानुनमै स्पष्ट उल्लेख गर्दै नेपाली नागरिकको मौलिक हकसँग सम्बन्धित संविधानको धारा २९१ खारेज गर्न ध्यानाकर्षण गराउँदछौ । माननीय मन्त्रीज्यू, यसैसँगै, पछिल्लो समयमा मध्यपूर्वमा रहेका नेपालीहरूले भोगिरहेका सङ्कट समाधानका लागि मन्त्रालयले गरिरहेको पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ। यद्यपि, उक्त पहल पर्याप्त नभएकोले यस सम्बन्धमा व्यवस्था गरि प्रभावकारी पहलका लागि अनुरोध गर्दछौँ। साथै, वैदेशिक रोजगारीमा रहेका र विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि निम्न व्यवस्था गर्न अनुरोध गर्दछाँ : १. दूतावासको जनशक्ति प्रभावकारी बनाउन हालको जनशक्तिलाई कम्तीमा दोब्बर बढाउन। २. विदेशमा कारागारमा रहेका नेपालीहरूलाई समयमै र व्यवस्थित कानुनी सहायता उपलब्ध गराउन विशेष संयन्त्र स्थापना गर्न। ३. श्रमिक स्वास्थ्य सुरक्षा र प्रस्थानपूर्व सचेतना कार्यक्रम व्यवस्थित र व्यापक बनाउन। ४. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्न र ठुलो संख्यामा नेपालीहरू रहेका रोमानिया, क्रोएसिया, पोल्याण्ड र माल्टा लगायतका देशमा दूतावास स्थापना गर्न। ५. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था l अन्त्यमा, बृहत् एकता सहित भर्खरै सम्पन्न विश्व सम्मेलन र माहाधिवेशनबाट आएको गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व माननीय मन्त्रीज्यूसहित सिंगो परराष्ट्र मन्त्रालयसँग हातेमालो गर्दै देशको विकास र नेपालीहरूको खुशीका लागि स्वदेश र विदेशमा जस्तोसुकै सहयोग गर्न सधैं तत्पर रहने प्रतिवद्धता पुनः दोहोर्याउन चाहन्छ। साथै, नेपाललाई समग्र रूपमा समृद्ध बनाउने दिशामा यहाँको कार्यकाल फलदायी हुने विश्वासका साथ संघको तर्फबाट पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। भवदीय, डा. हेमराज शर्मा अध्यक्ष, गैरआवासीय नेपाली संघ ।

news-img
NRNA Admin • 25 Mar 2026

लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन गरिएको छ।संघका अध्यक्ष डा. हेमराज शर्मा को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुर्गा थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो।अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापा लाई चयन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिलाको नेतृत्व र दोस्रो पुस्ताको सहभागितालाई विशेष रूपमा सराहना गर्नुभयो। कार्यक्रममा निवर्तमान तथा पूर्व पदाधिकारीहरू र विभिन्न व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति रहेको थियो।

news-img
NRNA Admin • 23 Mar 2026

एनआरएनएभित्र एनसीसी एकता प्रक्रिया सुरु, फ्रान्सबाट शुभारम्भ

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले यूरोप भ्रमणका क्रममा एनसीसी एकताको शुभारम्भ फ्रान्सबाट गर्नुभएको हो। काठमाडौंमा ‘फेस–टु–फेस’ बैठक सम्पन्न गरिसकेपछि अध्यक्ष शर्मा फ्रान्स पुग्नुभएको थियो। त्यहाँ लामो समयदेखि समानान्तर रूपमा सञ्चालन हुँदै आएका दुई समूहबीच सहमति जुटाउँदै एकीकृत कार्यसमिति गठन गरिएको छ। भेलाले दिलीप गुरुङको नेतृत्वमा एनआरएनए फ्रान्सको नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष डा शर्मा ले “आईसीसी एकता पश्चात् एनसीसी एकता आफ्नो प्राथमिकतामा रहेको” उल्लेख गर्नुहुँदै फ्रान्सबाट सुरु भएको एकता प्रक्रिया अन्य देशहरूमा समेत क्रमशः विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ।

news-img
NRNA Admin • 23 Mar 2026

गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट

गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। भेटघाटमा विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन NRNA भित्र समर्पित संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो। उहाँले संकटका बेला छिटो आपतकालीन उद्धार कार्य र सहयोग पुर्‍याउन संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, संघका अध्यक्ष भुवन गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि दुवै संस्थाबीच समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो। छलफलका क्रममा दुवै पक्षले विदेशमा संकटमा परेका नेपालीहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित साझा मुद्दामा सहकार्य गर्दै प्रभावकारी समाधान खोज्ने विषयमा समेत छलफल भएको जनाइएको छ। भेटका क्रममा वैदेशिक रोजगार व्यवसायी संघले NRNA का नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो। भेटमा , उपाध्यक्षहरू डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई,जुनु गुरुङ, चिन्तामणि सापकोटा, महासचिव चिरन्जीवी खड्का, सह-कोषाध्यक्ष गंगा खतिवडा,महिला संयोजक रश्मी थापा, महिला क्षेत्रीय संयोजक राधा सिग्देल ‘किरण’, यूरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, सचिव दीपेश खत्री, एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्य, एनसीसी साउदीका अध्यक्ष उमेश भट्टराई, कार्यकारी प्रमुख राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो।

news-img
NRNA Admin • 20 Mar 2026

डा. हेमराज शर्माको नेतृत्वमा एनआरएनएको टोलीले महासंघसँग भेट, पूँजी–सीपलाई विकाससँग जोड्न आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वको नवनिर्वाचित कार्यसमितिको टोलीले नेपाल उद्योग वाणिज्य महासंघसँग भेटघाट गरेको छ। उक्त भेटमा गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्ने विषयमा महत्वपूर्ण छलफल भएको छ। महासंघको सचिवालय, टेकुमा सम्पन्न भेटमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपालीहरू नेपालको विकासमा साझेदार बन्न प्रतिबद्ध रहेको बताउनुभयो। “हामीले एकताको महाधिवेशनमार्फत डायस्पोरालाई एकजुट बनाएका छौं। अब हाम्रो ध्यान ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा लगाउनेतर्फ केन्द्रित छ,” उहाँले भन्नुभयो। उहाँले एनआरएनए र महासंघबीच सहकार्य अझ सुदृढ गर्दै ठोस परिणाम दिने खालका कार्यक्रम अघि बढाइने समेत उल्लेख गर्नुभयो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै एनआरएनएलाई लगानी तथा सहकार्यका लागि आह्वान गर्नुभयो। उहाँले महासंघको पहलमा नीतिगत तथा प्रक्रियागत सुधारहरू हुँदै गएको र लगानीका लागि वातावरण सहज बन्दै गएको धारणा राख्नुभयो। “नीतिगत जटिलता न्यूनीकरण, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण र प्रक्रियागत सरलीकरणका लागि हामीले नेपाल सरकारसँग निरन्तर पहल गरिरहेका छौं। सहकार्यलाई अझ प्रभावकारी बनाउन सके नेपाल र नेपालीका लागि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ,” अध्यक्ष ढकालले भन्नुभयो। उहाँले महासंघको पहलमा १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड’ स्थापना गरिएको जानकारी दिँदै ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन भइरहेको बताउनुभयो। साथै, उक्त कम्पनीमार्फत सहलगानीका लागि एनआरएनएलाई आग्रह गर्नुभयो। भेटघाटमा पर्यटन, ऊर्जा, पूर्वाधार विकास, यातायात, सूचना प्रविधि लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा लगानीका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

news-img
NRNA Admin • 20 Mar 2026

एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट

काठमाडौं, मार्च २०, २०२६— नव-निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ। उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। नव-निर्वाचित नेतृत्वका तर्फबाट बोल्दै डा. शर्माले नेपाल सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै एनआरएनएभित्र एकता कायम गर्न सरकारको भूमिकाको प्रशंसा गर्नुभयो। भेटका क्रममा माननीय मन्त्रीले नव-निर्वाचित एनआरएनए टोलीलाई बधाई दिँदै संघ एकताबद्ध रहँदै १२औं अन्तर्राष्ट्रिय महासभा (IGA) तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले एनआरएनएका पहलहरूमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। नयाँ नेतृत्व तथा सम्पूर्ण टोलीलाई बधाई दिँदै माननीय मन्त्रीले देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन समन्वयात्मक र परिणाममुखी ढङ्गले सँगसँगै काम गर्नुको महत्व औंल्याउनुभयो। माननीय मन्त्री बालानन्द शर्माले भन्नुभयो, “मलाई एनआरएनएसँग काम गर्ने तथा एनआरएन र गैरआवासीय नेपालीहरूलाई नजिकबाट चिन्ने अवसर मिल्यो। एनआरएनएले उठाएका मुद्दाप्रति म सकारात्मक छु र हामी सक्दो सहयोग गर्नेछौं। नयाँ संसद सदस्यहरूसँग पनि समन्वय गर्न सुझाव दिन्छु, र आगामी सरकार पनि यसप्रति सकारात्मक रहनेमा विश्वस्त छु। स्पष्ट दृष्टि र मिशनसहित आएका नव-निर्वाचित अध्यक्षलाई हामी पूर्ण सहयोग गर्नेछौं।” यस अवसरमा परराष्ट्र सचिव श्री अमृत बहादुर राईले नयाँ टोलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो र एनआरएनएको स्थापना उद्देश्यहरू प्रभावकारी रूपमा पूरा गर्न उनीहरूको क्षमतामा विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र सचिव अमृत बहादुर राइले भन्नुभयो, “एनआरएनएले १२औं अन्तर्राष्ट्रिय महासभा सफलतापूर्वक सम्पन्न गरेकोमा हामी खुशी छौं र आगामी दिनमा सहकार्य गर्न तत्पर छौं। नेपाली डायस्पोरा विश्वभर विस्तार हुँदै गएको देख्दा पनि हामी उत्साहित छौं। एनआरएनए नेपाल सरकारको विश्वासिलो साझेदार हो। गैरआवासीय नेपाली नागरिकताको मुद्दा छिट्टै समाधान हुनेछ। नव-निर्वाचित टोलीलाई बधाई।” भेटका क्रममा अध्यक्ष डा. हेमराज शर्माले एनआरएनएद्वारा तयार गरिएको मध्यपूर्व क्षेत्रको बैठकको निर्णय प्रतिवेदन मन्त्रालयलाई हस्तान्तरण गर्नुभयो, जसमा उक्त क्षेत्रका नेपालीहरूको अवस्था, राहत कार्यक्रम तथा आवश्यक कदमहरूको विस्तृत विवरण समेटिएको छ। उहाँले हालै सम्पन्न आईसीसी बैठकहरूको संक्षिप्त जानकारी दिँदै मध्यपूर्व संकटसम्बन्धी छलफल र निर्णयहरू प्रस्तुत गर्नुभयो। साथै, संकटमा परेका नेपालीहरूको सहयोगार्थ वैदेशिक रोजगार राहत कोषका लागि १ करोड रुपैयाँ संकलन गरिएको जानकारी दिनुभयो। नेपाली डायस्पोरासम्बन्धी ‘ह्वाइट पेपर’ तयार भइरहेको उल्लेख गर्दै रोजगारीका अवसर र गैरआवासीय नेपाली नागरिकताको विषयमा केन्द्रित भई डायस्पोरासँगको सम्बन्ध सुदृढ गर्ने लक्ष्य रहेको बताउनुभयो। उपाध्यक्ष मनोज श्रेष्ठले बैठकका प्रमुख निर्णयहरू प्रस्तुत गर्दै मध्यपूर्वमा रहेका नेपालीहरूको हितका लागि समन्वित प्रयास भइरहेको जानकारी दिनुभयो। उपाध्यक्ष चिन्तामणि सापकोटाले स्पेनमा रहेका नेपालीहरूले भोगिरहेका राहदानी तथा आप्रवासन समस्याहरू उठाउनुभयो भने यज्ञ नारायण पौडेलले ती विषयहरूमा सरकारको तत्काल सहयोग आवश्यक रहेको बताउनुभयो। उपाध्यक्ष रामशरण सिम्खडाले पूर्वी युरोपमा देखिएका प्रहरी प्रतिवेदनसम्बन्धी समस्या तथा विदेशस्थित गोर्खा सैनिकहरूले भोगिरहेका चुनौतीहरूबारे ध्यानाकर्षण गराउँदै तत्काल हस्तक्षेपको माग गर्नुभयो। मध्यपूर्व आपतकालीन बैठकका मुख्य निर्णयहरूमा: मध्यपूर्वमा रहेका नेपालीहरूका लागि राहत तथा उद्धार कार्यक्रम सञ्चालन; आकस्मिक खाद्य, आवास र स्वास्थ्य सेवाको सुनिश्चितता; स्वदेश फर्किन चाहने नेपालीहरूलाई टिकट, भिसा तथा चार्टर्ड उडानमार्फत सहयोग (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग समन्वय गरी); दूतावासस्तरमा आपतकालीन कार्यदल गठन तथा साउदी अरेबियाको दम्मामस्थित नेपाली दूतावास पुनः सञ्चालन; आपतकालीन कोष स्थापना र पारदर्शी व्यवस्थापन; गलत सूचनाको रोकथाम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन (कल सेन्टर र हटलाइन सहित); कतार, बहराइन, इराक र ओमानजस्ता संवेदनशील देशहरूमा रहेका नेपालीहरूको सुरक्षा तयारी; विदेशमा निधन भएका नेपालीहरूको व्यवस्थापन तथा स्वदेश फिर्ता; तथा परराष्ट्र मन्त्रालय, एनआरएनए, राष्ट्रिय समन्वय परिषद्, वैदेशिक रोजगारसम्बन्धी संघ–संस्था लगायत सरोकारवालाहरूको सहभागितामा ‘मध्यपूर्व आपतकालीन समन्वय समिति’ गठन रहेका छन्। डा. शर्माले मध्यपूर्वमा कार्यरत २० लाखभन्दा बढी नेपाली श्रमिकहरूको अवस्थाप्रति सरकार गम्भीर रहनुपर्ने आग्रह गर्दै यस संवेदनशील समयमा एनआरएनए सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभयो। उहाँले गैरआवासीय नेपालीहरू नेपालका सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको पनि दोहोर्याउनुभयो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन, उपाध्यक्षहरू, आईईएस तथा ओबी सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी अध्यक्षहरू तथा विभिन्न देशका गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव तथा अन्य अधिकारीहरूको समेत सहभागिता रहेको उक्त भेटले एनआरएनए र मन्त्रालयबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाएको छ।