Latest News

news-img
NRNA Admin • 27 May 2026

आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा सुझाव प्रस्तुत

२७ मे : परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट सहभागिता जनाई सुझाव दिईएको छ । नेपालको आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीतिगत, संस्थागत तथा संरचनागत सुधार आवश्यक रहेको सुझाव दिईएको हो । एनआरएनलाई संविधानतः अधिकार प्रदान गरी अझ प्रभावकारी रूपमा लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने, आर्थिक कूटनीतिलाई संस्थागत, समन्वयात्मक र परिणाममुखी बनाउनुपर्ने लगायतका सुझाव प्रस्तुत गरिएको थियो ।

news-img
NRNA Admin • 25 May 2026

एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच नीति सुधारका सम्भावनाबारे विस्तृत छलफल

मुलुकको शासकीय प्रणाली, दिगो आर्थिक विकास तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच विशेष मस्तिष्क मन्थन कार्यक्रम सम्पन्न भएको छ। बालुवाटारस्थित एनआरएनए सचिवालयमा आयोजित कार्यक्रममा मुलुकमा देखिएका नीतिगत अन्तर (Policy Gap) पहिचान गर्दै दीर्घकालीन नीति सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बहुविधागत र समसामयिक विषयमा अध्ययन, अनुसन्धान तथा नीति पैरवीका लागि अनुभवी, दक्ष र प्राज्ञिक क्षमता भएका विज्ञहरूको प्रभावकारी उपयोग गर्न सक्षम संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालिएको हो । छलफलमा गैरआवासीय नेपाली, नेपालका प्राज्ञिक विद्वान, सेवानिवृत्त राष्ट्रसेवक, सफल उद्यमी–व्यवसायी, पत्रकार, कानुन व्यवसायी तथा अनुसन्धानकर्ताबीच सहकार्य विस्तार गर्दै नीति निर्माणमा संस्थागत योगदान बढाउनुपर्ने धारणा राखिएको थियो। कार्यक्रममा नेपालको दीर्घकालीन तथा समावेशी आर्थिक विकासका लागि संरचनागत रूपान्तरण (Structural Transformation) केन्द्रित आर्थिक नीतिहरू तर्जुमा र कार्यान्वयनमा जोड दिइएको थियो। उत्पादन तथा उत्पादकत्व वृद्धि, औद्योगिकीकरण, डिजिटल अर्थतन्त्र, हरित अर्थतन्त्र, रोजगारी सिर्जना तथा सार्वजनिक–निजी–सहकारी साझेदारीलाई सुदृढ बनाउने नीति निर्माणमा विशेष ध्यान दिनुपर्ने सहभागीहरूको भनाइ थियो। “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणालाई आत्मसात गर्दै विश्वभर रहेका गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धि र विकासमा प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक कानुनी तथा नीतिगत ढाँचा निर्माणमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो। संविधानले व्यवस्था गरेअनुसार गैरआवासीय नेपालीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्धबारे समेत सहभागीहरूले धारणा राखेका थिए। कार्यक्रममा नेपाली विज्ञहरूको अन्तर्राष्ट्रिय अनुभव र ज्ञानलाई नेपालमा नीति निर्माण तथा विकास प्रक्रियामा संस्थागत रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको थियो। निजी क्षेत्र, शैक्षिक संस्था तथा विदेशस्थित नेपाली विशेषज्ञबीच समन्वय गर्दै नीति संवाद, अनुसन्धान र रणनीतिक सुझाव तयार गर्ने साझा प्लेटफर्म निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। छलफलका क्रममा निम्न विषयगत क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सुझाव दिइएको थियोः १ कानुन, संविधान तथा सुशासन २. अर्थतन्त्र, व्यापार तथा लगानी ३. जलवायु परिवर्तन, दिगो विकास तथा प्राकृतिक स्रोत व्यवस्थापन ४. सामाजिक क्षेत्र (स्वास्थ्य, शिक्षा तथा सरसफाइ) ५. परराष्ट्र मामिला तथा कनेक्टिभिटी ६. विज्ञान, प्रविधि तथा नवप्रवर्तन ७. कृषि तथा ग्रामीण विकास ८. ऊर्जा ९. श्रम, आप्रवासन तथा वैदेशिक रोजगार व्यवस्थापन १०. पर्यटन, संस्कृति तथा सम्पदा संरक्षण ११. पूर्वाधार विकास, सहरीकरण तथा यातायात व्यवस्थापन १२. विपद् व्यवस्थापन तथा संकट न्यूनीकरण १३. मानव संसाधन विकास तथा व्यावसायिक सीप तालिम १४. उद्योग, उत्पादन तथा आपूर्ति १५ युवा विज्ञहरूको समावेशीकरण/ डायस्पोराका नेपाली विज्ञहरूको ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभव कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा, निवर्तमान अध्यक्ष डा. बद्री केसी, महासचिव डा. चिरञ्जीवी खड्का, उपमहासचिव दिनेश कुमार घिमिरे, कोषाध्यक्ष कृष्ण तिमल्सिना लगायतले आफ्नो धारणा राख्नुभएको थियो । साथै, अन्य पदाधिकारी तथा सरोकारवालाहरू पनि अनलाइनमार्फत कार्यक्रममा जोडिएका थिए । कार्यक्रममा पूर्व मुख्य सचिवहरू एकनारायण अर्याल र शंकर बैरागी, पूर्व सचिवहरू शिशिरकुमार ढुङ्गाना, प्रेम कँडेल, रामप्रसाद घिमिरे, धनराज ज्ञवाली, फणिन्द्र गौतम र मणिलाम गेलाँलको उपस्थिति रहेको थियो । यसैगरी सशस्त्र प्रहरीका अवकाशप्राप्त महानिरीक्षक राजु अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपक श्रेष्ठ, साथै नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी पूर्व महाप्रबन्धक संगिता यादव, बिजनेस डेभलपमेन्ट एशोसिएट्स (बीडीए) का कार्यकारी अधिकृत इन्जिनियर सुदिप पौडेल एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की , सल्लाहकार पूर्णलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

news-img
NRNA • 24 May 2026

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आगामी अगस्ट १५ र १६ २०२६ मा

नेपाली डायस्पोरालाई नेपालको लगानी तथा पर्यटन अवसरहरूसँग जोड्ने मुख्य उद्देश्य गैरआवासीय नेपाली संघ अन्तर्गत एसिया-प्रशान्त क्षेत्रको आयोजना तथा राष्ट्रिय समन्वय परिषदको समन्वयमा आगामी अगस्त १५ र १६ २०२६ मा Crowne Plaza Guangzhou City Centre मा ११औँ एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आयोजना गरिदैछ l “आरोहण २०२६ – Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” मूल नारासहित आयोजना गर्न लागिएको सम्मेलन विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक, सामाजिक रुपमा जोड्नुको साथै पुस्तान्तरणमा केन्द्रित रहनेछ l सम्मेलनको संयोजकत्व एशिया-प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेललाई दिईएको छ। चीनको विश्वव्यापी व्यापारिक केन्द्र ग्वाङझाउमा आयोजना हुने यस उच्चस्तरीय सम्मेलनले एशिया प्यासिफिक क्षेत्रमा रहेका दक्ष तथा स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालको लगानी तथा पर्यटन अवसरहरूसँग जोड्ने उद्देश्य लिएको छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार–व्यवसाय साझेदारी (B2B Networking), जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि र पूर्वाधार क्षेत्रमा विज्ञहरूको नेटवर्क निर्माण तथा श्रमिक सुरक्षाका विषयमा नीतिगत विषयमा घनिभूत छलफल समावेश हुनेछ l साथै, महिला उद्यमशीलता र युवा सहभागितालाई समेत प्राथमिकतामा राखिएको छ। सम्मेलनले दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो मौलिक पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने विषयलाई विशेष प्राथमिकता दिईएको छ l साथै, विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक सम्बन्ध विस्तार गरिने छ l दुई दिने सम्मेलनमा विभिन्न ५ वटा सत्रमा छलफलसहित कार्यपत्र प्रस्तुत गरिनेछ l सम्मेलनको पहिलो दिन अर्थात् अगस्त १५, २०२६ मा नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना गरिनेछ। त्यसपछि “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयक विशेष सत्र सञ्चालन हुनेछ। सो अवसरमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार तथा उत्पादनमूलक उद्योगका विषयमा छलफल गरिने छ l दोस्रो दिन अगस्त १६ २०२६ पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विशेष छलफल हुने जनाइएको छ। सम्मेलनको समापनमा “ग्वाङझाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव र कार्ययोजना प्रस्तुत गरिने छ l सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ l जसमा NRNA नेतृत्व, लगानीकर्ता, व्यवसायी, कूटनीतिज्ञ, सरकारी अधिकारी तथा दोस्रो पुस्ताका युवाहरू सहभागी हुनेछन्।

news-img
NRNA Admin • 19 May 2026

मध्यपूर्व संकटबारे समन्वयात्मक छलफल सम्पन्न

सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव नेपाल सरकार, दूतावास र NRNA बीच मध्यपूर्वको वर्तमान संकटका कारण नेपाली श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे समन्वयात्मक छलफल सम्पन्न भएको छ। मध्यपूर्वको वर्तमान संकट र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापन विषयमा परराष्ट्र मन्त्रालय डायस्पोरा डिभिजन लगायत सरकारी तथा गैरसरकारी ४० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको हो । बैठक NRNA र ILO को संयुक्त परियोजना “MiRiDeW Phase II” अन्तर्गत आयोजना गरिएको हो । बैठकमा प्राप्त मुख्य सुझावहरू: नेपाल सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्रलाई अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने। आपतकालीन उद्धार योजना तथा सुरक्षित स्थानान्तरण प्रणालीलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने। नेपाली श्रमिकहरूको तथ्यांक अद्यावधिक गर्ने प्रणालीलाई नियमित, विश्वसनीय र केन्द्रीकृत बनाउनुपर्ने। मानसिक तनावग्रस्त श्रमिकहरूका लागि मनोसामाजिक परामर्श सेवाको पहुँच विस्तार गर्नुपर्ने। प्रस्थानपूर्व अभिमुखीकरण तालिममा संकट व्यवस्थापन तथा जोखिम सचेतना अनिवार्य रूपमा समावेश गर्नुपर्ने। वैदेशिक रोजगारीसम्बन्धी ठगी रोक्न व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने। डिजिटल सहायता प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र व्यवस्थित बनाउनुपर्ने। गन्तव्य देशहरूसँग श्रमसम्बन्धी द्विपक्षीय सम्झौताहरूलाई अझ सुदृढ गर्नुपर्ने। फर्किएका श्रमिकहरूको सीप विकास, वैकल्पिक रोजगारी तथा पुनःएकीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने। द्रुत प्रतिक्रिया संयन्त्र (Rapid Response Mechanism) विकास गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने। बैदेशिक रोजगार विभाग प्रमुख तथा उपाध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षता सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालय पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले सरकारले गरिरहेको कामबारे जानकारी गराउनु भएको थियो । उक्त बैठकमा कतार, यूएई, साउदी अरब, कुवेत, ओमान, बहराइनका NRNA NCC प्रतिनिधिहरूले आफ्नो धारणा राख्नु भएको थियो भने आप्रवासन विज्ञहरू, सरोकारवाला सबैले सुझाव पेश गर्नुभएको थियो । अध्यक्ष डा. शर्माले सरकार, दूतावास र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। कोभिड कालमा NRNA को RRR (Relief, Repatriation & Rehabilitation) कार्यक्रममार्फत मध्यपूर्वलगायत देशबाट नेपालीहरूको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी भूमिका खेलेको स्मरण गर्नुभयो। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, बैदेशिक रोजगार विभाग, बैदेशिक रोजगार बोर्ड, कल्याणकारी कोष आदि र NRNA बीच उच्चस्तरीय समन्वय गरी तत्काल आपतकालीन संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनमा NRNA ले सरकारसँग मिलेर वा आफ्नै संयन्त्रबाट तत्काल पहल गर्न तयार रहेको बताउनुभयो। प्रवक्ता सोम सापकोटाले संकटले श्रमिकहरूको रोजगारी, सुरक्षा र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारेकोले नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो। डा. बद्री केसी (NRNA को पूर्व अध्यक्षले मध्यपूर्वको वर्तमान संकटका बेला NRNA को सक्रिय भूमिका र सरकारसँगको सहकार्यमा जोड दिनुभएको थियो। मध्यपूर्वका प्रमुख श्रम गन्तव्य देशहरूमा पछिल्ला घटनाक्रमले नेपालीहरूमा डर र अनिश्चितताको वातावरण सिर्जना गरेको बताउनुभयो। यस्तै महिला संयोजक रश्मि थापाले सिप सिकाएर मात्र बिदेशमा श्रमिक पठाउन पर्ने बताउनु भयो । बैठकमा महासचिव डा चिरन्जीवी खड्का, सहकोषाध्यक्ष गंगा खतिवडा, एनसीसी साउथ सुडानका अध्यक्ष राम प्रसाद पाध्या पनि सहभागी हुनुहुन्थियो । अनलाइन जुममार्फत पनि पदाधिकारीले सहभागी हुनुभएको थियो ।

All News

news-img
NRNA Admin • 19 Mar 2026

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान काठमाडौं, २ चैत प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान गरेकी हुन् । ‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् । उनले नेपालको लगानी र अवसरलाई सदुपयोग गर्न अपिल गर्दै प्रवासी नेपालीको हातेमालोले विकास, पर्यावरणीय संरक्षण र आर्थिक रुपमा समृद्ध बनाउने बताइन् । प्रधानमन्त्री कार्कीले नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिइन् । सम्मेलनले विश्वका विभिन्न कुनामा फैलिएका नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण रहेको बताइन् । सम्मेलनले सबैमा साझा प्रतिबद्धता, नयाँ सहकार्यको वातावरण र मुलुकको विकासतर्फ अग्रसर हुने स्पष्ट मार्गदर्शन गरेको उनले उल्लेख गरिन् । ‘नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ,’ उनले भनिन्, ‘यस्तो महत्वपूर्ण समयमा यहाँहरूले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकासमा सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गर्नुभएको छ ।’ गैरआवासीय नेपालीहरु वास्तवमा नेपालको सद्भावना दूत रहेको भन्दै प्रधानमन्त्रीले थपिन्, ‘तपाईंहरूसँगै नेपालको पहिचान पनि संसारभर फैलिरहेको हुन्छ। विश्वसामु कस्तो नेपाल प्रस्तुत गर्ने भन्ने कुरा तपाईंहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ। तपाईंहरू जहाँ बस्नुहुन्छ, त्यहाँ नेपालको गौरव, पहिचान र संस्कृतिलाई विश्वसामु परिचित गराइरहनुभएको पनि छ। यसका लागि म तपाईंहरू सबैप्रति सम्मान व्यक्त गर्दछु।’ नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको भन्दै उनले यो प्रबन्ध मातृभूमि र प्रवासी नेपालीबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने सेतु भएको बताइन् । ‘यसले तपाईंहरू जहाँ रहे पनि आफ्नो ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा योगदान गर्न सक्ने अवसर सुनिश्चित गरेको छ,’ उनले भनिन् । यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरहरूमा सक्रिय सहभागिताका लागि उनले आह्वान गरिन् । ‘तपाईंहरूको योगदानले देशको दिगो विकास, पर्यावरणीय संरक्षण र आर्थिक समृद्धिलाई सुदृढ बनाउनेछ,’ उनले भनिन् । नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउनु साझा लक्ष्य भन्दै प्रधानमन्त्री कार्कीले नेपालमै अवसर सिर्जना गर्ने, नेपाली युवालाई आशावादी बनाउने र नेपाल विश्वका पर्यटकका लागि सुरक्षित तथा आकर्षक गन्तव्य हो भन्ने सन्देश फैलाउने काममा प्रवासी नेपालीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिन् । नेपाल नयाँ सरकार गठनको चरणमा रहेको भन्दै प्रधानमन्त्री कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजीलाई सुरक्षित र पारदर्शी ढङ्गले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति अबको प्राथमिकतामा रहने विश्वास व्यक्त गरिन् । गैरआवासीय नेपालीहरूको लगानी आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री कार्कीले यो लगानी नेपाली मन र नेपालीपनसँग जोडिएको लगानी भएको बताइन् । यसले विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेपालीबीच आर्थिक समुन्नति मात्र होइन, पहिचान र सामाजिक एकतालाई पनि सुदृढ बनाउने उनको भनाइ थियो । प्रधानमन्त्री कार्कीले विभाजन र मुद्दा मामिलासम्म पुगेको संघलाई एउटै मञ्चमा उभिएर सर्वसम्मत नेतृत्व चयन गरी अगाडि बढ्ने प्रण लिएकोमा प्रशंसा गर्दै विश्वभर रहेका नेपालीहरूको भावनात्मक एकताको सूत्र बन्न सकोस् भनी शुभकामना दिइन् । आफू बाँच र अरूलाई पनि बचाऊ भन्ने मन्त्रअनुसार भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का बेला देशलाई सहयोग गरेको, लगानी भित्र्याउने अभियान सञ्चालन गरेको, विदेशमा जन्मे–हुर्केका नयाँ पुस्तालाई पनि नेपालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नुभएकोमा प्रधानमन्त्री कार्कीले धन्यवाद दिँदै भनिन्, ‘यस्ता कामहरू एकताबद्ध भएर गर्दा अझ प्रभावकारी हुनेछन् ।’ कार्कीले अब बन्ने सरकारले मुलुकलाई सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गमा तीव्र गतिमा अघि बढाउने विश्वास पनि व्यक्त गरिन् । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल नेपालीले नै बनाउने बताए । ‘संस्थामा बीचमा केही समस्या आएका थिए । तर ती समस्यालाई थाहा पाएर निराकरण गरेर तबमात्र अगाडि बढिन्छ भन्ने लागेर सबैले मेहनत गरेर हाम्रो बाटोमा फेरि ल्याइदिनुभएको छ,’ उनले भने । सभ्यता र संस्कारसहितको आर्थिक समृद्धि आवश्यक रहेको भन्दै उनले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न गैरआवासीय नेपाली तयार रहेको बताए । ‘सानो मन हुन दिँदैनौं । ठूलो मन बनाएर अगाडि बढ्छौं,’ उनले भने । नयाँ आउने कार्यसमितिमा ठूलो आशा र जिम्मेवारी नेपालीले दिएको भन्दै त्यसलाई सम्हालेर अगाडि बढ्न उनले अनुरोध गरे । एनआरएनएका संस्थापक अन्तर्राष्ट्रिय संयोजक एवं म्यानमारका लागि नेपाली पूर्वराजदूत भीम उदासले समृद्ध नेपाल निर्माणका लागि रणनीतिक साझेदारी जरुरी भएको र एनआरएनए उपयुक्त प्लाटफर्म भएको बताए । नेपाली डायस्पोरा लगानीका लागि महत्त्वपूर्ण पक्ष भएको र विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना रहेको उनको भनाइ थियो । पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा बसे पनि गैरआवासीय नेपालीमा देशको लागि केही गर्नुपर्ने भावना रहेको बताए । प्रवासी नेपालीहरु एक भएर समृद्ध नेपालको अभिभारामा हातेमालो गर्न चाहेको उनको भनाइ छ । एनआरएनए एकेडेमिकहरुको संस्था हो भन्ने डा. हेमराज शर्मा निर्विरोध अध्यक्ष भएबाट पुष्टि भएको पनि बताए । अध्यक्ष डा. बद्री केसीले प्रविधिको युगमा धेरै देशले प्रवासमा रहेका नागरिकलाई मताधिकार दिएको भन्दै आउने सरकारले प्रवासी नेपालीलाई यो अधिकार सुनिश्चित गर्न माग गरे । उनले एकपटकको नेपाली सधैको नेपाली भन्दै नेपालीलाई नेपाल आउनबाट वञ्चित नगर्न पनि माग गरे । गैरआवासीय नागरिकता वा गैरआवासीय प्रमाणपत्र दिएर उनीहरुलाई सहजै मातृभूमिप्रति समर्पित हुने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । विदेशको नागरिकता लिए पनि नेपाली नागरिकता कायमै रहनेगरी संविधान संशोधन गरेर व्यवस्था गर्न र नेपालीको पहिचान नखोस्न पनि माग गरे । अध्यक्ष केसीले मध्यपूर्वको तनावले जोखिममा परेका लाखौं श्रमिक नेपालीलाई सरकार र एनआरएनएले भरोसा दिलाउनुपर्नेमा जोड दिए । एनआरएनएमा एकता भइसकेको भन्दै अध्यक्ष केसीले नेपालको विकास र समृद्धिमा हातेमालो गर्न गैरआवासीय नेपाली सदैव तयार रहेको प्रतिबद्धता जनाए । अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले गैरआवासीय नेपाली संघभित्र थुप्रै मतभेद भए पनि एकताबद्ध रुपमा एकताको १२औं महाधिवेशन सम्पन्न गरेको बताए । ‘हामी विभाजित हुँदा असाध्यै कमजोर भयौं । विश्वास टुट्यो । हामीप्रतिको अविश्वासले मुद्दा कमजोर भएका थिए । आजबाट त्यो अविश्वास टुटेको छ । अब यस्तो टुटफुट दोहोरिन दिने छैनौं । मिलेर सकारात्मक सोचका साथ अगाडि बढ्नेछौं,’ उनले भने । समृद्ध नेपाल निर्माणमा योगदान गर्न चाहने भन्दै आफूहरुका मुद्दा सम्बोधन गर्न माग गरे । गैरआवासीय नेपाली नागरिकताले अधिकार नपाएको भन्दै उनले आगामी सरकारले सम्बोधन गरेर अधिकार दिलाउने विश्वास व्यक्त गरे । उनले प्रवासी नेपालीको लगानी भित्र्याउन ऐनहरु संशोधन गर्नुपर्ने, धितोपत्र बोर्डसम्बन्धी नियमावली संशोधन गरेर अर्बाै लगानी भित्र्याउने सकारात्मक वातावरण आगामी सरकारले बनाउने उनको विश्वास थियो । संघका उपाध्यक्ष एवं अध्यक्षमा निर्विरोध डा. हेमराज शर्माले आफूलाई सर्वसम्मत बनाएकोमा रोविन शेरचन र रविन बर्जाचार्यलाई धन्यवाद दिए । एनआरएनएको एकताका लागि भूमिका खेल्ने पूर्वअध्यक्षहरु, सरकारका पदाधिकारीलाई पनि सम्मान व्यक्त गरे । शर्माले प्रवासी नेपालीको ज्ञान सीप र पुँजीलाई आर्थिक र सामाजिक विकासमा एकताबद्ध गर्ने उद्देश्यले एनआरएनएको स्थापना भएको र सबै प्रवासीलाई स्वदेशसँग जोड्ने काम गरेको बताए । आफूले एनआरएनएलाई रिब्राण्डिङ गर्दै पुस्तौसम्म जोड्ने प्रतिबद्धता गरेको बताए । ‘संघलाई बलियो बनाउँदै आम गैरआवासीयलाई जोड्ने र समस्या केन्द्रित हुने निधो गरेको छु । संस्थाको पुनर्संरचना गर्ने, सम्पूर्ण पञ्जीकृत सदस्यले अनलाइनबाट समिति चयन गर्न सकिने व्यवस्था गरिनेछ । वशंजको नागरिकता कायम, सम्पत्तिको अधिकार, निर्वाचनमा मताधिकार, पिएनओज, ब्रिटिस गोर्खाका मुद्दामा काम गर्नेछु । अब बन्ने सरकार विदेशमा बसेका नेपालीको मुद्दामा उदार देखिएकाले हाम्रा मागहरु पूरा हुनेछन् भन्ने अपेक्षा छ,’ उनले भने । सुरक्षित मर्यादित वैदेशिक रोजगारका लागि केन्द्रीय कार्यालयमा फोकल पर्सन राख्ने, श्रमिकका समस्याहरु रियल टाइम थाहा पाउन आर्टिफिसियल इन्टलीजेन्स प्रयोग गर्नेलगायत आफ्ना योजनाहरु उनले समारोहमा सुनाएका थिए । उनले आफू नेतृत्वमा पुग्छु भन्ने कल्पना नगरेको भन्दै एनआरएनए सबैको हो भन्ने सन्देश गएको बताए । शर्माले संघको विभाजन भएका एनसीसी कार्यसमिति देशहरुमा पुग्ने र एकताको वातावरण बनाउने प्रतिबद्धता पनि जनाए । समापन सत्रमा पूर्वअध्यक्ष विनोद कुँवर, भवन भट्ट, आरके शर्मा लगायतले नयाँ कार्यसमितिलाई बधाई नयाँ ढंगबाट नयाँ सोचले नयाँ सरकारसँग एकताबद्ध ढंगले काम गर्न शुभकामना दिएका थिए । समारोहमा प्रवक्ता गंगाधर गौतमले १२औं अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा पत्र प्रस्तुत गरेका थिए । समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको हातमा सम्मान पत्र र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

news-img
NRNA Admin • 17 Mar 2026

एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन: सबै पदाधिकारी निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा ), रोशन थापा (जाम्बिया)बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके र टंकप्रसाद गैरे (जापान) तिलक गैरे(पोर्तुगल, बिश्व दीप तिगिला (यूके), सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन्। महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेश कुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), मोहम्मद मुक्तदा(कतार )स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्विरोध निर्वचित भएका छन्। सचिव पदमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान) यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी प्रसाद तिमल्सिना (युएई), रमेश भट्ट (कतार)सर्वसम्मत रूपमा चयन भएका छन्। महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार)बिमल सुबेदी (कतार) तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन्। महिला संयोजकमा रश्मी थापा (क्यानडा) र युवा संयोजकमा नवीन निउरे (जापान) निर्विरोध भएका छन्। क्षेत्रीय संयोजकहरूतर्फ अफ्रिकामा मनोज बी.के. (सेशेल्स), अमेरिकामा भुवन खरेल (क्यानडा), एसिया–प्रशान्तमा दीपक प्रसाद कँडेल (जापान), युरोपमा रोबोट लिम्बु (पोर्चुगल), मध्यपूर्वमा रमेश श्रेष्ठ (यूएई) र ओसियानियामा रमेश जोशी (अष्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यसैगरी अमेरिका क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा नेत्र पाण्डे र सम्राट थापा सर्वसम्मत रूपमा विजयी भएका छन्। यसैगरी, एशिया प्यासिफिक क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा भविन्द्र बस्नेत (थाइल्याण्ड), छत्र बहादुर दाहाल (जापान) र लाल सिंह खड्का (कम्बोडिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। युरोप क्षेत्रका उप-क्षेत्रीय संयोजक पदमा बेलायतका तिलक राम भट्टराई सर्वसम्मत रूपमा चयन हुनु भएको छ। मध्यपूर्व क्षेत्रका उप-क्षेत्रीय संयोजकमा ओमनका बिकाल झा, यूएईका बिकास शाही र विष्णु लाल श्रेष्ठ, साथै कतारका करिम बक्स मिया सर्वसम्मत निर्वाचित भएका छन्। ओसियाना क्षेत्रका उप-क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका छबी प्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले निर्वाचित भएका छन्। एशिया प्यासिफिक, युरोप, मध्यपूर्वका अफ्रिका, अमेरिका र ओसियनिया क्षेत्रमा महिला संयोजक पदका उम्मेदवारहरूमा संगीता अधिकारी (जापान), बाबा (राजेश्वरी) थापा (अस्ट्रिया), सरिता भण्डारी (कतार) लगायतका निर्वाचित भएका छन्। उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) र मध्यपूर्वका लागि मञ्जु मल्ल (यूएई) निर्विरोध भएका छन्। एशिया प्यासिफिक उप-क्षेत्रीय युवा संयोजकमा राम थापा (जापान),यूरोप उप-क्षेत्रीय युवा संयोजक शिव सागर बुढथोकी (पुर्तुगल) र मध्य पूर्वमा सुजन सापकोटा (यूएई) तथा उप-क्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) र बासुदेव सापकोटा (साउदी अरेबिया) निर्विरोध भएका छन्। त्यसैगरी, दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल (हङकङ) निर्विरोध निर्वाचित भएकी छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत प्रवक्ता (Spokesperson) पदमा सोम सापकोटा सर्वसम्मत रूपमा मनोनित हुनु भएको छ।

news-img
NRNA Admin • 17 Mar 2026

नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान

बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै गैरआवासीय नेपालीलाई अझै एकताबद्ध भई राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो। मन्त्री शर्माले संघको नयाँ कार्यसमिति अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब हामी अझ एकताबद्ध भएर अगाडि बढ्नेछौँ र सहकार्य झनै घनिष्ठ हुनेछ।” उहाँले लगानीसँगै ज्ञान, सीप र प्रविधिको आदान–प्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याउन तथा नेपाली भाषा, संस्कृति र पहिचानको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न प्राथमिकता दिन गैरआवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। पश्चिम एसियामा देखिएको पछिल्लो परिस्थितिमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउन गैरआवासीय नेपाली समुदायले देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको मन्त्री शर्माले उल्लेख गर्नुभयो। साथै उहाँले विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्न परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गैरआवासीय नेपालीहरूले विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै आएकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभयो। साथै नयाँ सरकारले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्केर योगदान दिन सक्ने अनुकूल वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। अन्त्यमा मन्त्री शर्माले गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

news-img
NRNA Admin • 15 Mar 2026

नेपाली संस्कृतिलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न एनआरएनएले पहल गर्नुपर्छ

काठमाडौं, ३० फागुन वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले संस्कृतिको विकास पुस्ता पुस्तामा हस्तान्तरणबाट हुने र त्यहीबाट संरक्षण हुने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा विश्व सम्मेलनको 'दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व (सेकेण्ड जेनेरेसन युथ र कल्चरल रेस्पोन्सबिलिटी)' सत्रमा मुख्य वक्ताका रुपमा बोल्दै गुरुङले प्रवासमा रहेका नेपालीको दोस्रो पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न सरोकारवाला सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । संस्कृति अस्तित्वसँग जोडिने भन्दै त्यो श्वास भएको बताए । संस्कृति बिर्सियो भने पहिचान नै नरहने उनको भनाइ थियो । नेपालको संस्कृतिलाई अफ्ठेरो पर्दा युवाहरुले नै जोगाएको इतिहास उनले सुनाए । गुरुङले नेपाली संस्कृतिको प्रवर्द्धनका लागि दूतावासहरुले पनि अभियान चलाउनुपर्ने, गैरआवासीय नेपाली संघले पनि आफ्ना पिढीलाई प्रशिक्षण दिनुपर्ने बताए । आफ्नो पिढीलाई संस्कृतिप्रति जानकार गराउनुपर्नेमा जोड दिए । नेपालको विकास कसरी भयो भन्ने जानकारी गराउनुपर्छ । 'नेपाल सरकार संस्कृति मन्त्रालय, दूतावासले ब्याख्या गर्ने, पुराना पुस्ताले भन्ने, नयाँ पुस्ताले नेपालदेखि अमेरिकासम्म सारा विश्वमा फैलाउने यति भए पछि संस्कृति बाच्छ,' उनले भने । संस्कृतिविद् प्राडा वीणा पौडेलले दोस्रो पुस्तालाई नेपालसँग जोड्न के गर्ने, विदेशमा रहेका नेपालीलाई संस्कृति हस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने प्रश्नमा प्रवासमा रहेका दोस्रो पुस्ताका युवाहरु अघोषित राजदूतहरु रहेको बताइन् । देशमा ठूलो परिवर्तन पुस्तान्तरणकै कारण भएको भन्दै संस्कृतिको हकमा पनि नवपुस्तालाई पुस्तान्तरण नै भएको बताइन् । चाडपर्वदेखि अन्य संस्कारका कुरा युवा पुस्तालाई बुझायो भयो भने संस्कृति जीवित रहने अन्यथा सकिने बताइन् । 'संस्कृति जीवित राख्न भाषा र कलाको ठूलो भूमिका हुन्छ । अमूर्त सम्पत्तिहरु पनि युवाहरुलाई बुझाउनुपर्छ,' उनले भनिन् । नेपालका मौलिक चाडपर्व विदेशमा बढी मनाइने गरेको भन्दै उनले आफ्ना नातिनातिनालाई लोककथा सुनाउने कुरालाई अब डिजिटाइज गर्नुपर्ने बताइन् । संस्कृति हाम्रो जरा हो । जरा जति बलियो रुख त्यति ठूलो, रुख जति ठूलो छहारी त्यति नै फराकिलो, त्यसैले जरालाई मलजल गरौं,' उनले भनिन् । उनले अपनत्वको भावना युवाहरुमा पुर्याउन नसकिएको भन्दै यसले संस्कृति क्षयीकरण भइरहेको बताइन् । संस्कृति पहिचानका लागि पनि सम्पदाबारे जानकार हुनुपर्ने र यसमा परिवार, समाज र राष्ट्रले योगदान गर्नुपर्ने बताए । नेपाल पर्यटन बोर्डका सीईओ दिपकराज जोशीले दोस्रो पुस्ताले आफ्नो हजुरबा/आमाबाट कथा सुनेको तर मातृभूमि नआएको भन्दै उनीहरु आएर बुझ्दा सांस्कृतिक आदानप्रदान हुने र पर्यटनलाई पनि सहयोग पुग्ने बताए । माउण्टेनिङमात्र होइन कल्चरल, हेरिटेज, फुडमा फोकस गरिरहेको बताए । पर्यटनले संस्कृतिमा पनि प्रभाव पार्ने उनको भनाइ थियो । एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले म्यानमारमा पाँचौ पुस्तासम्म दुरुस्तै भाषा संस्कृति पुस्तान्तरण भएको तर युरोपियन देशमा त्यसो गर्न नसकिएको भन्दै विविध किसिमले सकेसम्म नेपाल चिनाउन लागिरहेको बताए । नेपाल सरकारले विदेशमा पढेका नेपाली युवाहरुलाई फर्काउनेगरी सोच्नुपर्ने बताए । तर नागरिकताको समस्याले निरुत्साहित हुने गरेको सुनाए । दोस्रो पुस्तालाई कनेक्ट गर्ने युथ कोर्डिनेटर तोक्ने, प्रवासी नेपालीका बच्चालाई एक महिनाको कार्यक्रम बनाएर नेपाल पठाउने, यसमा एक हप्ता बाबुआमासँग, एक हप्ता मन्दिर, एक हप्ता आफ्नो विज्ञता भएको काम र एक हप्ता फ्रि छोडिदिने गरी बताए । 'अर्को दोस्रो पुस्ता जोड्ने स्पोर्टस पनि हो । एनआरएनए लिग सबै देशमा गराउन सकियो भने यहाँको राष्ट्रिय लिगमा सहभागी गराउने । नागरिकताको व्यवस्था भयो भने त्यहीबाट राष्ट्रिय टिममा सहभागी हुनसक्छ,' उनले भने । एनआरएनएले नेपाली भाषा पढाउन डिजिटल कोर्स बनाउने योजना उनले सुनाए । । यी विविध विषयहरुमा मार्फत पुस्ता जोड्ने उनको भनाइ छ । बुद्ध छिरिङ मोक्तानले संस्कृतिको पूर्वावस्था प्रकृति भएको बताए । अध्यात्म सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । भाषा संस्कृतिको ठूलो माध्यम भएको उनको भनाइ छ । एनआरएनले दोस्रो पुस्तालाई संस्कृतिसँग जोड्न थालेको अभियान प्रसंशनीय भएको बताए । ब्रेन गेन सेन्टरका लक्ष्मण बिस्टले संस्कृति र अहिलेको संसारको प्रविधि सँगै अगाडि बढाउन सकिन्छ कि छैन भन्ने प्रश्न अहम् बनेको र युवाहरुले दुबैलाई सन्तुलित रुपमा अगाडि बढाइरहेको बताए । 'संस्कृतिक बाधक हाइन निकास हो,' उनले भने, 'आवरणात्मक, अनुशरणात्मक, कल्चरल ओल्पियाड, ज्ञानमा आधारित कल्चर क्लास, योग, ध्यान रुपान्तरणको विधि हुनसक्छन् ।' दोस्रो पुस्ताकी बेलायत निवासी समीरा केसीले आफ्नो पुस्ताले नेपाललाई माया गर्ने गरेको र सांस्कृतिक रुपमा नजिक रहेको बताइन् । उनले आफू भौतिक टाढा भए पनि पहिचान संस्कृति र सम्पदाले मातृभूमिसँग जोडिएको बताइन् । 'नेपालीको रुपमा भावनात्मक सम्बन्ध छ । तर भौतिकरुपमा टाढा छु । भैतिक रुपमा टाढा भए पनि सांस्कृतिक रुपमा नजिक छु । भाषा नै संस्कृतिको परिचय हो । हाम्रो पुस्ता नेपाललाई माया गर्छ । संस्कृतिक, सम्पदा, भाषासँग जानकार छ । विभिन्न माध्यमबाबट मातृभूमिसँग जोडिरहेका छौं,' उनले भनिन् । हङकङकी दिपमाला ढकालले विभिन्न बाध्यताले आफ्नो मातृभूमिबाट टाढा बसे पनि संस्कृतिबाट टाढा नभएको बताइन् । संस्कृति नै पहिचान भन्दै युवाहरुको दायित्व संस्कृति र मूल्य मान्यता बुझ्नु र फैलाउनु भएको बताइन् । यसका लागि एनआरएनएसँग कनेक्ट भएर अगाडि बढ्न सकिने बताइन् । सत्रको सञ्चालन परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले गरेका थिए ।

news-img
NRNA Admin • 15 Mar 2026

एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा विश्व सम्मेलनको चौथो सत्र 'राइटस् अफ नेपाली डायस्पोरा एण्ड डिग्निफाइड लेबर माइग्रेसन' मा बोल्दै वक्ताहरुले संविधानले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिए पनि एनआरएन नागरिकताले नछोएको भन्दै आगामी संसद र सरकारले प्राथमिकताका साथ ऐन संशोधन गरेर गाँठो फुकाउनुपर्न धारणा राखेका हुन् । उनीहरुले ब्रिटिस गोर्खा र पीएनओज नेपालीको समस्यालाई पनि नीतिगत रुपमै एडरेस गर्न माग गरेका छन् । संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ठूलो माथापच्ची गरेर नेपाली नागरिकलाई आर्थिक समाजिक सांस्कृतिक अधिकार दिने व्यवस्था संविधानमा गरिए पनि अझै कार्यान्वयन हुन नसकेको बताए । नागरिकता ऐन आए पनि अन्य ऐनहरु संशोधन नहुँदा कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । जे नेपाली नागरिकले पाउँछ, त्यही गैरआवासीय नेपालीले पाउँछ राजनीतिक बाहेक भनेर संविधानमा व्यवस्था गरिएको उनले सुनाए । 'आज संविधान आएको १० वर्षपछि छेकिरहेको छ,' उनले भने । कानुन आयोगले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर एकीकृत विधेयक बनाएर सरकारलाई दिएको तर विधेयक अगाडि नबढाइदिँदा अहिले पनि समस्या ज्युका त्यु रहेको बताए । 'त्यो विधेयकमा नेपालीलाई प्रवाससँग कसरी जोड्ने, प्रवासीलाई कसरी लगानीसहित भित्र्याउने, सहज वातावरण बनाउने भनेर राम्रोसँग लेखिएको थियो । अब नयाँ सरकारले यसमा ध्यान देओस् । नयाँ संसदले कानुन बनाओस् । नेपालको प्रगतिलाई अगाडि बढाउने हो भने बाटो खोलिदिनुपर्छ,' उनले भने । एनआरएनएका अध्यक्ष विनोद कुँवरले एनआरएनएको कार्ड जति पनि गैरआवासीय नागरिकताले काम नगरेको गुनासो गरे । एनआरएनए नागरिकता लिँदा कार्डले पाउने सुविधा पनि कटौती भएको उनले बताए । नेपालमा राजनीतिक तहबाट किन बन्देज, संविधानमा लेखेर किन कार्यान्वयन गरिएन, दलबाट किन असहयोग भनेर प्रश्न गरे । नागरिकतामा भएका अधिकार कार्यान्वयन हुनुपर्ने र भोटिङ राइट्स पनि दिनुपर्ने बताए । एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले प्रवासी नेपालीले भोगिरहेका प्रक्रियागत समस्या सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए । उनले पीएनओको समस्या पनि जगजाहेर रहेको उल्लेख गरे । जीटुजी रिपोर्ट नेपाल र बेलायतबीचको कहाँ छ भनेर सोधे । पीएनओलाई आउँछु भन्दा किन रोकिन्छ भनेर पनि सोधे । खाडीका नेपालीको पुनर्स्थापनाका लागि एनआरएनएसँग सहकार्य गर्ने सोच के छ भनेर पनि सोधे । पिपुल नेप्लिज ओरिजिन (पीएनओ)का महासचिव गोपाल धितालले विभिन्न कालखण्डमा बाहिर गएका पीएनओजहरुले नेपाली पहिचान खोजेको र आर्थिक, सामाजिक तथा सांस्कृतिकरुपमा नेपालसँग जोडिन खोजेको बताए । 'म्यानमारमा ३ लाख छन् । थाइल्याण्डमा ८० देखि १ लाख छन् । मलेसिया र फिजीमा पनि छन् । उहाँहरु सबै मातृभूमिसँग जोडिन खोज्नुभएको छ । दुख सुखमा साझेदार बन्न खोज्नुभएको छ,' उनले भने । यसका लागि एनआरएनए र पीएनओले नेपाल सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको उनले बताए । पीएनओका छोराछोरी नेपालमा पढ्न चाहिरहेको भन्दै देशमा आएर सहयोग गर्न खोजेको, जोडिन खोजेको उनको भनाइ छ । नेपालको विकास, उन्नति, प्रगतिमा जोडिने चाहना राख्दै उनले भिसामा सहजीकरण गरिदिन अनुरोध गरे । ब्रिटिस गोर्खा नागरिकता अभियानका महासचिव होम किरात सुनुवारले वीर गोर्खालीले संसारको शान्तिका लागि लड्दै आए पनि दुई सय वर्षदेखि अधिकारको संषर्घमा रहेको बताए । लड्दा लड्दा बेलायतमा आवासीय भिसा पाइएको भन्दै उनले दुई सरकारको बीचमा सहमति भएर जाँदा पनि गोर्खालाई संविधानमा सम्बोधन नगर्नु दुखद भएको बताए । गोर्खालीलाई एनआरएनएमा राखेकोमा असहमति रहेको भन्दै दुई सरकारको बीचमा भएको सम्झौताले गएको गोर्खालाई वशंजकै नागरिकता यथावत् हुनुपर्ने बताए । नागरिकता विधेयक आउँदा सम्बन्धित मन्त्रालयमा गई जानकारी गराएको तर सुनुवाइन नभएको बताए । अहिले सरकार परिवर्तन हुँदै गर्दा अब बाँकी रहेको कुरा नागरिकको अधिकार पूरा हुन्छ भन्ने आशा लागेको बताए । परराष्ट्रको पश्चिम एसिया संयोजक सहसचिव रामकाजी खड्काले पश्चिम एसियामा भुराजनीतिक जटिलताले मध्यपूर्वमा १८ लाख संख्यामा नेपालीहरु जोखिममा रहेको बताए । कोल्याटरल भलरनेविलिटी बढेको र भाषागत समस्याले समयमै सूचना नपाएको, भर्खरै गएका नेपालीहरुमा आर्थिक दबाब बढेको, रोजगारी गुम्ने डर पनि रहेको, ट्रान्जिटमा रहेका नेपाली यात्रु पनि बमबारीले उडान अवरुद्ध हुँदा अलपत्रमा परेको, विद्यार्थीको उद्धार जस्ता समस्या रहेको बताए । यसमा परराष्ट्र सचिवको नेतृत्वमा एमर्जेन्सी कन्ट्रोल रुम स्थापना गरेर काम भइरहेको बताए । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था र सम्बन्धित देशका राष्ट्र प्रमुखसँग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संवाद गरेर चासो राखिरहेको बताए । जोखिममा रहेकाहरुको तथ्यांक संकलन गरेर सुरक्षाका लागि अन्य सबै उपाय अवलम्बन गरिएको र यसमा एनआरएनएसँग सहकार्य पनि भइरहेको बताए । आइएलओका सिनियर प्रोग्राम अफिसर बसन्त कार्कीले स्थानीय कार्यालयले प्रवासी श्रमिकको हितमा काम गरिरहेको बताए । प्रभावित श्रमिकलाई कसरी सुरक्षित गर्ने भन्ने मुख्य चासो रहेको भन्दै यसमा काममा नलगाउने, सुरक्षित राख्ने, श्रमिकको अधिकार सुनिश्चित गर्न त्यहाँको सरकारसँग सम्वाद भइरहेको बताए । उद्धार र पुनर्स्थापनाको अवस्था आयो भने सम्बन्धित राष्ट्रसँग नै समन्वय गरेर जाने उनले सुनाए । उद्धार र राहतमा आइएलओले एनआरएनएसँग पनि सहमन्वय गर्ने बताए । कामदारको सुरक्षा र अधिकारको सुनिश्चितता नै आफूहरुको चासो भएको र त्यसमै काम भइरहेको बताए । इक्वेडेम रिसर्च नेपालका लेबर माइग्रेसन विज्ञ रामेश्वर नेपालले वैदेशिक रोजगारीमा जाँदा कतै रोजगार दाता त कतै रोजगारमा पठाउने देशले आधारभूत अधिकारको कुरामा ख्याल गर्नुपर्ने बताए । भाषा, धर्म, संस्कृतिको कुरामा पनि हिंसा भइरहेको बताए । वैदेशिक रोजगार ऐनमै अधिकार भन्ने शब्द नभएको, राज्यले नै विभेदकारी नीति लिएको र त्यसले आधारभूत अधिकारहरु सुनिश्चित गर्नुपर्छ भनेर अडान पनि लिन नसकेको अवस्था रहेको बताए । घरेलु कामदारलाई म अन्यायमा परे भनेर रिपोर्ट गर्न जाने अवस्था पनि नरहेको, नीतिमै समस्या रहेको, दूतावासमा जनशक्तिको अभाव रहेको अवस्थामा नियोगले पनि सुरक्षा दिन नसकेको बताए । नीति सुधार, व्यापारमा पुनरावलोकन जरुरी रहेको उनले औल्याए । रिटर्नी फेडेरेशनका अध्यक्ष विनोद भट्टराईले वैदेशिक रोजगारीबाट फर्केका रिटर्नीको ज्ञान, सीप, पुँजी प्रयोग गरेर समृद्धि हासिल गर्न सकिने बुझाइ पर्याप्त नभएको बताए । पछिल्ला दिनमै वैदेशिक रोजगारका समस्याहरु जस्ताको तस्तै रहेको र रिटर्नी फेडरेसनले शवहरु ल्याउन सहजीकरण गरेको सुनाए । उनले युरोपका समस्या राज्यको ध्यान नपुगेको बताए । मध्यपूर्वको समस्या बल्झिँदा नेपाल फर्किँदाको व्यवस्थापन के हो, समाजमा आर्थिक रुपान्तरणको अवस्था के हो भनेर प्रश्न गर्दै सोच्नुपर्ने बताए । रिटर्नी फेडरेसन विदेशमा फर्केकालाई उत्पादनसँग जोड्ने कुरामा केन्द्रित भइरहेको र उद्यमशीलतासँग जोड्न एनआरएनएसँग सहकार्य बढाउनुपर्ने अपरिहार्यता उनले दर्शाए । एनआरएनएका नागरिकता सम्बधि फोकल पर्सन सरोज दाहालले नागरिकता कागजको खोस्टोजस्तो भइरहेको भन्दै यहाँ उठेका नागरिकता, गोर्खा, पीएनओलगायत विषयहरु आगामी संसदमा आउने गैरआवासीय ऐन संशोधनमा राख्न परराष्ट्रका अधिकारीलाई सुझाए । 'हामीले अब संसदमा लाने विधेयकमा खासै संशोधन प्रस्ताव हाल्न नपर्ने गरी सबै विषयलाई समेटेर लगौं,' उनले भने । परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकालले सत्र सञ्चालन गरेका थिए । अन्तिममा ढकालले सत्रमा उठेका विषयहरु गम्भीरतापूर्वक नोटिस गरेको भन्दै आगामी नीति कार्यक्रम निर्माणमा समेट्न लेखेर पठाउने प्रतिबद्धता जनाए । परराष्ट्र मन्त्री र सचिवले एनआरएनएको विषयलाई उच्च प्राथमिकतामा लिइराखेको जानकारी गराउँदै एनआरएनएको एकता र सहकार्य परराष्ट्रले चाहेको बताए । विकास र समृद्धिको यात्रामा सहभागिता अझ बढी हुने अपेक्षा पनि गरे । भविष्य निर्माणमा योगदान गर्न अपिल पनि गरे ।

news-img
NRNA Admin • 14 Mar 2026

एनआरएनएको १२औ अधिवेशन सुरु

गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रुपान्तरणका लागि महत्त्वपूर्ण : मन्त्री शर्मा गैरआवासीय नेपाली ऐन ०६४ र आवश्यक अन्य कानुन सुधार गर्न अन्तर निकाय समन्वय भइरहेको भनाइ एनआरएनएको एकतामा पूर्वअध्यक्षहरु खुसी काठमाडौं, ३० फागुन गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दिप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रुपान्तरणका लागि महत्त्वपूर्ण बताए । यसले औद्योगिक विकास, रोजगारी सिर्जनामा योगदान पुर्याउने उनको भनाइ थियो । नेपालको संविधान र कानुनमा गैरआवासीय नेपालीलाई राष्ट्रको साझेदारको रुपमा स्वीकार गरिएको भन्दै उनले लगानी, सांस्कृतिक जिम्मेवारी बढाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय सम्बन्धका आयाममा नयाँ चुनौतीहरु सिर्जना भएको बेला गैरआवासीय नेपाली संघले लगानी र प्रविधिको प्रभाव बढाउने, ज्ञान र पुँजीको दायरा बढाउने दायित्व भएको उनको भनाइ थियो । मन्त्री शर्माले प्रवासमा रहेर नेपाली सांस्कृतिक दूतको रुपमा रही नेपाली माटोमा योगदान पुर्याएको भन्दै प्रशंसा गरे । गैरआवासीय नेपालीले नेपालको आर्थिक विकास र समृद्धि ल्याउन महत्तवपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । मन्त्री शर्माले मध्यपूर्वमा देखिएको संकटमा परेका नेपालीको सुरक्षामा सरकार सजग रहेको बताए । 'पछिल्ला दिनमा देखिएको घटनाले नेपालीको सुरक्षाप्रति देखिएको चिन्ताप्रति नेपाल सरकार सजग छ । मध्यपूर्वमा कार्यरत नेपालीको सुरक्षाप्रति चासो बढेको छ । विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कार्यहरु अगाडि बढाइरहेको छ । खाडीमा देखिएका समस्या सम्बोधनका लागि इमरजेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ । मन्त्रालयले श्रमिक र परिवारबीच सेतुको काम गर्नेछ । कुनै घटना घटेमा नेपाली नियोग तथा नेपालीस्थित सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ,' उनले भने । दिर्घकालीन लगानी, उत्साहमुखी उद्योग, नवप्रवर्तन, ज्ञानमा आधारित अर्थतन्त्रका लागि सरकार, निजी क्षेत्र र गैरआवासीय सहकार्य जरुरी भएको भन्दै उनले यसका लागि नीतिगत सुधार र पारस्परिक विश्वास आवश्यक भइसकेको बताए । यसका लागि मन्त्रालयमा समन्वय महाशाखा स्थापना गरी नीतिगत कार्यगत सुधार अगाडि बढाइएको बताए । यसअन्तर्गत गैरआवासीय नेपाली ऐन ०६४ र आवश्यक अन्य कानुन सुधार गर्न अन्तर निकाय समन्वय भइरहेको बताए । आगामी दिनमा प्रवासमा रहेका एकीकृत तथ्यांक प्रणालीलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउँदै लगिने उनले प्रतिबद्धता जनाए । उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीको मनमा मातृभूमिका लागि केही गरौ भन्ने भावना रहेको बताए । उनले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको र समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको योगदान रहने बताए । आपसी विवादले नागरिकता, श्रमिकको विषय र मतदानको मुद्दा औझेलमा परेको भन्दै उनले एनआरएनएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनले संघको भावी दिशा निर्धारण र विगतको समीक्षा गर्ने बताए । विश्वभरका नेपाली एकताबद्ध छन् भन्ने सन्देश दिने र आउने कार्यसमितिले यसमा भूमिका खेल्ने भन्दै अध्यक्ष श्रेष्ठले संघभित्र विवादको कारको रुपमा रहेको निर्वाचन प्रणाली, डेलिगेट्स प्रणालीमा व्यापक परिमार्जन गरेर सबैलाई मतदानको अधिकार सुनिश्चित गरिने बताए । गैरआवासीय लगानीलाई वैदेशिक लगानीभन्दा फरक लिनुपर्ने र विदेशमा रहेका नेपालीको पुँजी, सीप, ज्ञान सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताप्रति हर्ष व्यक्त गरे । व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगे पनि देश बनेन् भने त्यसको अर्थ छैन भन्देर नेपालका लागि नेपाली नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको बताए । नेपालीको क्षमता सबै हिसाबले अब्बल रहेको भन्दै मात्र संकल्पको अभाव रहेको बताए । संकल्प गर्यो भने धेरै समृद्ध हुनसक्ने उनको भनाइ थियो । देश अफ्ठेरो परेको, नियम कानुन अफ्ठेरो भएको बेला लडेर नेपाल बनाउने संकल्प लिनुपर्नेमा उनले जोड दिए । भिसा, काम गर्ने भिसाको समस्या देखिएको भन्दै पहिला देश बनाउनुपर्ने बताए । 'जबसम्म आफ्नो देश बनाउँदैनौ तबसम्म जुनसुकै देशमा बसे पनि विदेशी नै हुन्छौ त्यसैले जुनसुकै देशमा बसे पनि आफ्नो देश बनाउन लागौं,' उनले भने । गैरआवासीय नेपाली ८० लाख नेपालीको अभियान भन्दै सय दुई जनाबीच मनमुटाव हुँदैमा अन्य नेपालीलाई ठेस नपुर्याउन अपिल गरे । ८० लाख नेपालीले आफ्नो क्षमताअनुसार जुन योगदान गरेको छ उनीहरुलाई उत्साहित बनाइदिन संघलाई अपिल गरे । जबसम्म गैरआवासीय नेपालीको लगानी आउँदैन अरु विदेशीको लगानी नआउने बताए । देशभित्रका उद्योगी संघसंस्थाले एनआरएनएसँग समन्वय गर्न छोडेको भन्दै मनमुटावले कसैलाई फाइदा नपुर्याएको उनको भनाइ थियो । उनले ८० लाख प्रवासीकै प्रतिनिधित्व गर्नेगरी काम गर्न संघलाई अनुरोध गरे । 'सबै मिलेर अगाडि बढौं । देशलाई समृद्ध बनाउ,' उनले भने । कार्यकारी अध्यक्ष डा. बद्री केसीले फुटदेखि एकतासम्मको यात्रामा आफू नै नेतृत्वमा रहेको भन्दै अझै एकता सुदृढ बनाइने बताए । उनले कार्यव्यवस्थाले पूर्वअध्यक्षहरु सहभागी हुन नसकेको तर उनीहरुको समर्थन रहेको बताए । एकजना पनि गैरआवासीय नेपाली आफ्नो मताधिकारबाट वञ्चित हुन नहुने गरी काम गरिने र काम गर्न चाहनेलाई जिम्मेवारी दिएर पठाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीको हातबाट गैरआवासी नेपाली नागरिकता लिएको तर आज त्यो कार्यान्वयन नहुने अवस्था रहेको भन्दै उनले गैरआवासीय ऐन, अन्य ऐन परिमार्जन गर्नुपर्ने बताए । पुरानो नागरिकता पनि निष्क्रिय भएको र नयाँ गैरआवासीय नागरिकताले काम नगरेको भन्दै छिटो कानुनी जटिलता हटाउन सरकारलाई अनुरोध गरे । आउने सरकारले सय दिनभित्र गैरआवासीय ऐन संसदमा पुर्याएर कार्यान्वयन ल्याउन उनले माग गरे । पीएनओ नेपालीहरुले भाषा, संस्कृति जोगाएर राखेको भन्दै आउने सरकारले उनीहरुलाई नेपालीको पहिचान र गैरआवासीय प्रमाणपत्र दिन माग गरे । उनले लगानीसम्बन्धी कानुनहरु पनि परिमार्जन गरेर सहजीकरण गर्न र गैरआवासीय नेपालीको लगानी सहजै भित्र्याउने वातावरण बनाउन पनि माग गरे । एनआरएन डेभलपमेन्ट फण्डमा सहयोग जुटे पछि सरकारको असहयोगले सुरुवात गर्न नसकेको बताए । आगामी सम्मेलनमा उद्द्घाटन गर्नेगरी वातावरण बनाइदिन उनले अनुरोध गरे । गैरआवासीय नेपालीले आफ्नो खर्चमा विदेशमा नेपालको पर्यटन र संस्कृति विस्तार गरिरहेको भन्दै सरकारले सहयोग नगरेको गुनासो गरे । विदेशमा नेपाली दूतावासमा कर्मचारी नै पर्याप्त नहुँदा पासपोर्ट समयमा पाउन समस्या भएको, क्याम्पेन गरेर पासपोर्ट दिनुपर्ने अवस्था रहेको भन्दै कमर्चारीहरु बढाउन माग गरे । कोभिडको बेलामा पनि गैरआवासीय नेपालीहरुले ज्यान जोखिममा राखेर भोलियन्टर परिचालन गरेको स्मरण गर्दै अहिले मध्यपूर्वमा गहिरिएको संकटमा नेपालीको सुरक्षाका लागि सरकारसँग सहकार्य गर्न संघ तयार गरेको बताए । पूवर्अध्यक्ष विनोद कुँवरले एकता महाधिवेशनले पूर्णता दिएको र आउने कार्यसमिति अझै एकतालाई पूर्णता दिने बताए । ८० लाख गैरआवासीय नेपाली बाहिर बसिरहँदा नेपालको विकासको चिन्ता रहेको बताए । पहिलो महिला अध्यक्ष रबिना थापाले असहमति भए पनि सहमतिमा जानु संस्थाको उद्देश्य भएको बताउँदै छुटेका साथीहरुलाई जोड्नुपर्ने बताइन् । प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी, विज्ञतालाई नेपालमा ल्याएर कसरी देश समृद्ध बनाउनुपर्छ भनेर लाग्नुपर्ने र यसका लागि प्रवासी नेपालीबीच एकता जरुरी रहेको उनको भनाइ थियो । प्रवासी नेपालीको विज्ञतालाई प्रयोग गर्न एनआरएनएले नयाँ सरकारसँग समन्वय गर्नुपर्ने उनले बताइन् । हरेक नेपाली प्रवास गइरहेको, परराष्ट्र मन्त्रालयले विदेश मामिला हेर्ने भएकाले अब एनआरएनए मन्त्रालय राख्नुपर्ने माग अघि सारिन् । पूर्वअध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकताको साथसाथै श्रमिक नेपालीको सामूहिक लगानीबाट समृद्धिको अभियान अगाडि बढाउन जरुरी रहेको बताए । अधिवेशन हुँदै गर्दा केही व्यक्ति छुटेको भन्दै नयाँ कार्यसमितिले समेट्नुपर्ने बताए । मध्यपूर्वमा संकट चुलिरहेको भन्दै यो कुरालाई सरकारले ध्यान दिनुपर्ने बताए । पूर्वअध्यक्ष जीवा लामिछानेले नागरिकता, लगानीलगायत थुप्रै मुद्दाहरु निर्णायक तहमा पुग्दा विभाजनले एनआरएनए अभियान पछाडि परेको बताए । 'आज खुसी लागेको छ कि आज सबै साथीहरुले रियलाइजेस गर्नुभएको छ । टुट फुटबाट कसैलाई फाइदा छैन जुट्नुपर्छ भन्ने ठाउँमा पुग्नुभएको छ । हामी एक भयौ भने मात्र योगदान गर्न सक्छौं । एजेण्डा स्थापित गर्न सक्छौं,' उनले भने । पूर्वअध्यक्ष भवन भट्टले एकता अधिवेशन खुसीको कुरा भएको बताए । प्रवासी नेपालीबाट लगानी ल्याउने मेकानिजम बनाएमा सहजै ९० राष्ट्रबाट लगानी भित्रिने भन्दै उनले हाइड्रो, एग्रिकल्चर, टुरिजम र आइटीमा केन्द्रित गर्नुपर्ने बताए । नयाँ आउने सरकारले यो कुरामा ध्यान दिने उनले अपेक्षा गरे । भीम उदासले संघको एकतामा नेपालको समृद्धिलाई जोड्नुपर्ने र त्यसमा एनआरएनएले भूमिका खेल्नुपर्ने बताए । डायस्पोराको सहयोगले भारत र चीन उकासिएको भन्दै आउने नेपाल सरकारले वातावरण बनाएर आह्वान गर्नुपर्ने, विकासमा साझेदार बनाउनुपर्ने बताए ।

news-img
NRNA Admin • 14 Mar 2026

प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्छ

प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्छ काठमाडौं, ३० फागुन लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन 'रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी' मा प्रमुख वक्ताका रुपमा बोल्दै ज्ञवालीले अब दुई तिहाइ सरकार आउन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने बताए । अब पनि अलमलको अवस्थामा रहने छुट नभएको भन्दै उनले सेबोन र अन्य ऐनहरुको हकमा अगाडि बढ्न जरुरी रहेको बताए । यसमा लगानी बोर्डले सघाउने उनले प्रतिबद्धता जनाए । नीतिगत सुधारको लागि केही नेपाल ऐन संशोधनमार्फत जान सकिने र प्रवासी नेपाली र सरकारी निकायबीच घनिभूत छलफल जरुरी रहेको बताए । आइपीओमा अड्किएको विषयमा गहिरो छलफल गरी निकास निकाल्नुपर्ने र लगानी बोर्डले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । गैरआवासीय नेपाली ऐनलगायत ऐनहरु संशोधन नहुँदा समस्या भएको, संविधानले बोलेपछि कार्यान्वयन गर्नुपर्नेमा सम्पत्ति किन्न नपाएको, के कारणले डर सिर्जना भएको हो त्यसमा छलफल गरी क्लियर गर्नुपर्ने बताए । '१४ वटा निकायमा लगानी हेर्ने फोकल पर्सन तोकिदिएका छौं । अब सहजीकरण हुनेछ,' उनले भने । दुइतिहाइ सरकार गठन भइसकेपछि लगानीको वातावरण बन्ने एक वर्षमा १० खर्ब पैसा आउनसक्ने ठाउँमा पुर्याउन सक्ने आत्मविश्वास विकास भएको बताए । अब आर्थिक, जनशक्ति र कानुनी रुपमा तयारी गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 'तपाइसँग भएको आइडिया, पुँजी, प्रविधि लगानी बोर्डमा प्रस्ताव गर्नुस् । हामी अगाडि बढाउन तयार छौं । हामी एनआरएनएसँग एमओयु नै गरेर जाने सोचेका छौं,' उनले भने । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले ८० लाख नेपालीलाई नेपालको दिर्घकालीन आर्थिक विकासमा कसरी जोड्न सकिन्छ भन्ने मुख्य विषय भएको बताए । समृद्धिमा साझेदार, लगानीको प्रणालीमा कसरी सामेल हुने भन्दा लगानी भावनात्मक सम्बन्धले नहुने बताए । भावनात्मक सम्बन्ध भन्दा पनि सुरक्षित वातावरण, बजार चाहिने बताए । लगानी अभिवृद्धि गर्न पहिलो नेपालप्रति आशा, भरोसा विश्वासको वातावरण कायम गराउनुपर्ने बताए । यसका लागि भ्रष्टाचार सूचकमा सुधार आउनुपर्ने र नयाँ सरकारबाट हुने उनको भनाइ थियो । दोस्रो नयाँ सरकारले एनआरएनलाई विशेष सुविधा र छुटसहित लगानीका लागि आह्वान गर्नुपर्ने बताए । चीन र भारतको सुरुवाती दिनमा एनआरएनलाई नै आह्वान गरेर विकास र समृद्धि हासिल गरेको स्मरण गर्दै प्रवासी नेपालीको व्यवसायिकता, सीप, ज्ञान जरुरी भएको बताए । आइटी पार्क, औद्योगिक निर्यातमा जोड्नुपर्ने बताए । तेस्रो सार्वजनिक, निजी क्षेत्र र प्रवासी नेपालीबीच विकास साझेदारी गर्ने । वैदेशिक रोजगार बचत पत्र ठूलो रकमको निष्कासन नयाँ सरकारले गर्ने भन्दै त्यसमा लगानी गर्न सकिने बताए । यसैगरी खास खास परियोजनाका लागि प्रोजेक्ट बण्ड लिंकको तर्जुमा गरेर लगानीको आह्वान गर्ने र प्रतिफलमुलक आयोजना भएपछि लगानी सुनिश्चित हुने उनको भनाइ थियो । यस्ता सम्मेदनमा लगानीको लागि सो केस हुने खालको प्रस्तुति गर्न उनले एनआरएनएलाई सुझाव दिए । समृद्धि हासिल गर्ने मार्गचित्रसहित देश अगाडि बढ्दा लगानी गर्ने क्षमता र दक्षता चाहिने भन्दै एनआरएनएको ठूलो भूमिका हुने बताए । सेबोनका रुपेश केसीले एनआरएन डेभलपमेन्ट फण्डबारे ब्रिफिङ गरेका थिए । उनले धितोपत्र बोर्डमा गैरआवासीय नेपालीको सहभागिताका जटिलता र गर्नुपर्ने कानुनी सुधारबारे जानकारी गराएका थिए । मुख्य मुद्दा नै ऐन संशोधन रहेको र अब स्थायी सरकारबाट आशावादी हुने ठाउँ रहेको बताए । ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन 'रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी' मा चेम्बर अफ कमर्सका तर्फबाट आफ्नो धारणा राख्दै उपाध्यक्ष दिपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिए । उनले गैरआवासीय लगानीको लागि संस्थागत संयन्त्र आवश्यक भएको बताए । नवीन वित्तीय कोष, रणनीतिक लगानी क्षेत्र, पर्यटन तथा आतिथ्य उद्योग, ज्ञान हस्तान्तरण र उद्यमशीलतामा जोड दिए । उनले रुपान्तरणमा निजी क्षेत्रको ठूलो भूमिका रहेको बताए । प्रवासी नेपाली र स्वदेशी उद्यमीबीच सहकार्य गर्न चेम्बर तयार रहेको उनको भनाइ थियो । 'नयाँ सरकार आएको छ । देश अब स्थायित्व आएको छ । २/३ मेजोरिटीको सरकार छ । स्थायित्व हुन्छ । अब एकद्वार प्रणाली नीति हुनुपर्छ । सरलीकृत गर्नुपर्नेछ । हामी मिलेर काम गर्न चाहन्छौं,' उनले भने । हेमराज ढकालले नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको लगानी महत्त्वपूर्ण भन्दै राज्यले वातावरण बनाउनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको बताए । लगानी भित्र्याउने नीतिगत सुधारहरु गर्न निजी क्षेत्रले प्रवासी नेपालीसँग हातेमालो गर्न तयार रहेको बताए । 'यहाँहरुले गरेको व्यवसायको केही अंश नेपालको सम्भावना भएको ठाउँमा लगानी गरिदिनुस् । जलविद्युत, पर्यटन, प्रविधिमा ठूलो सम्भावना छ । सहकार्य गरौं,' उनले भने । एकता गरेर एउटा संस्था बनाएको र अध्यक्ष सर्वसम्मत बनाएको मा बधाई दिँदै फुटेर होइन जुटेर अगाडि बढ्न अनुरोध गर्दै नेपालमा भएको सम्भावनामा संयुक्तरुपमा काम गर्न अपिल गरे । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने हुँदा देश विकासका लागि डायस्पोराको लगानी आवश्यक रहेको बताएका हुन्। उपाध्यक्ष ढकालले युवाहरू विदेशिने क्रमलाई ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) का रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा लिनुपर्ने बताए। एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशका लागि भन्दा आफ्नो भावी सन्ततिको लागि भनेर लगानी गर्न सुझाव दिए । सन्ततिलाई एनआरएनएसँग जोड्न उनले आग्रह गरे । व्यवसायीहरुलाई एक अर्काको कुरा नकाट्न अनुरोध गर्दै यसले कर्मचारीतन्त्र र राजनीतिक दलले हेप्ने गरेको सुनाए । गैरआवासीय नेपालीहरुको लगानी पैसामा मात्र नभई सीप, प्रविधि, ज्ञान आउने उनले बताए । उनले संविधान निर्माण भएको १० वर्ष वित्दा अझै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन नभएकोमा आक्रोश पोखे । संविधान र ऐन भन्दा नियमावली बनाइदिन र नियमावलीमा प्रष्ट लेखिदिएर गैरअवासीय नेपालीलाई काम गर्न दिन अनुरोध गरे । 'जो काम गर्न चाहन्छन् तिनीहरुलाई आदर सत्कारका साथ गर्न दिनुस्,' उनले भने । महतोले नेपालको विकास संस्कृति, संस्कार सभ्यतासहितको विकास चाहिएको बताए । नेपालमा समस्या रहे पनि लगानी गर्न गैरआवासीय नेपालीलाई अपिल गरे । एनआरएनएका पूर्वअध्यक्ष आरके शर्मा लगानीमा डाइभर्ट गर्न नसकेको पैसा रेमिट्यान्स भएको र यो अनुत्पादक क्षेत्रमा गर्न भइरहेको बताए । रेमिट्यान्सलाई उत्पादनमा जोड्न अर्थ शिक्षाको पनि अभाव रहेको भन्दै वार्षिक २ खर्बको रेमिट्यान्सलाई उत्पादनमा जोड्न सकिने उनले बताए । एनआरएनए र उद्योग वाणिज्य महासंघ मिलेर ग्यास विस्थापित गर्न सकिने बताए । अर्को सीप सिकेको नेपालीलाई स्वरोजगारको ठूलो सम्भावना बोकेको बताए । १० देखि १५ हजार मेगावाट बिजुली खपत हुने डाटा सेन्टर राख्दा धेरै ठूलो अर्थतन्त्रमा टेवा पुग्ने बताए । यी तीनवटै क्षेत्रलाई हेर्न सकियो भने समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने भन्दै उनले नयाँ सरकारले कानुन संशोधनमार्फत लगानीमैत्री वातावरण बनाउनेमा आशा व्यक्त गरे । उपाध्यक्ष रोविनप्रसाद शेरचनले संस्थालाई एक ठाउँमा ल्याउन आफू अध्यक्षको उम्मेदवारीबाट फिर्ता भएको बताए । 'नेपालसँग जोडिन चाहन्दौ । तर वातावण भन्नुपर्छ । हामीले बुझेका छौं । लगानीमा सहयोग गर्नेछौं,' उनले भने । उपाध्यक्ष अर्जुन श्रेष्ठले सडक, पूर्वाधार, पर्यटन, कृषिमा लगानी गर्न उत्साहित रहेको तर वातावरण बनाउनुपर्ने बताए । सचिव डा. ज्ञानेन्द्र रेग्मीले लगानीका लागि नीतिगत सुधारहरु जरुरी रहेको बताए । धितोपत्र बोर्डमा शेयरमा जोडिन खोजे पनि नपाएको गुनासो गरे । समारोहमा भुवन खरेलले पाँच मिनेटको गुल्मीको कफी खेती परियोजनाको सो केस गरेका थिए । समारोहमा वक्तालाई मायाको चिनो प्रदान गरिएको थियो ।

news-img
NRNA Admin • 11 Mar 2026

१२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्तामा विशेष सहजीकरण

१२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्तामा विशेष सहजीकरण मध्यपूर्व क्षेत्रमा उत्पन्न असामान्य परिस्थिति, उक्त क्षेत्रमा बसोबास गर्ने तथा सोही क्षेत्रलाई ट्रान्जिट बनाई नेपाल यात्रा गर्नुपर्ने महाधिवेशन प्रतिनिधिहरूको अवस्थालाई दृष्टिगत गर्दै, साथै गैरआवासीय नेपाली संघको बृहत् एकताको मूल सहमतिपत्रलाई समेत मध्यनजर गरी १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूका लागि उम्मेदवारी दर्ता प्रक्रियामा विशेष व्यवस्था लागू गरिको छ। सो सम्बन्धमा परराष्ट्र मन्त्री माननीय बालानन्द शर्माज्यूलाई समेत जानकारी गराइएको छ। मध्यपूर्वमा जारी विषम परिस्थितिलाई मध्यनजर गर्दै विशेष व्यवस्था गरिएको हो। सो व्यवस्था अनुसार १ मध्यपूर्वका एशियाली राष्ट्रहरूमा बसोबास गर्ने १२ औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले कुनै पनि पदमा उम्मेदवारी दर्ता गर्दा अनलाइन माध्यमबाट उम्मेदवारी दर्ता गर्न सक्ने अस्थायी व्यवस्था लागू गर्ने । त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकहरूलाई भौतिक रूपमा निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्ने अनिवार्यता लागू नहुने व्यवस्था गर्ने । २ उत्तर-दक्षिण अमेरिका, युरोप, अष्ट्रेलिया तथा अफ्रिकाबाट नेपाल यात्रा गर्दा मध्यपूर्वका एशियाली राष्ट्रहरूलाई ट्रान्जिटका रूपमा प्रयोग गर्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै, सबै उम्मेदवारका प्रस्तावक तथा समर्थकहरूलाई पनि भौतिक रूपमा निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्ने बाध्यता लागू नहुने व्यवस्था गर्ने उल्लेख छ । उपरोक्त व्यवस्था विशेष परिस्थितिमा आधारित अस्थायी सहजीकरण (Special Facilitation) का रूपमा लागू गरिनेछ तथा यो व्यवस्था १२ औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन र सोसँग सम्बन्धित निर्वाचन प्रक्रियासम्म मात्र सीमित रहनेछ ।