एनआरएनए र इक्यानबीच सहकार्य सम्झौता, विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्ने प्रतिबद्धता भाद्र ९ –काठमाडौं - विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्र ( एमओयु) मा हस्ताक्षर भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्नेबारे छलफल भाद्र ९ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको प्रतिनिधिमण्डल र आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर) नुमान ओज्कान बीच भएको उक्त छलफलमा विशेषत: आप्रवासी नेपाली श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, सचेतना, आपत्कालीन सहयोग, पुनःस्थापना तथा फर्किएका श्रमिकको सीप उपयोगलगायतका विषयमा विस्तृत छलफल भएको छ। यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि सरकार, गैरसरकारी संस्था, साझेदार निकाय तथा प्रवासी नेपाली समुदायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
काठमाडौं, ७ भाद्र - गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। एनआरएनएका तर्फबाट अध्यक्ष डा हेम राज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सहजीकरण गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहकार्य गर्ने तथा स्वदेशी र गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त रूपमा पैरवी गर्ने विषय पनि समझदारीमा समेटिएको छ। एमओयूअन्तर्गत एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यवसायिक कार्यक्रम आयोजना गर्नेछन्। त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।
अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई राहत वितरण गरिएको छ। गत असोज १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरोले ३९ जनाको ज्यान गएको थियो। गैरआवासीय नेपाली संघ एनआरएनएले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखा र रेड हर्स फुटबल क्लबको सहकार्यमा असोज २३ गतेदेखि विभिन्न चरणमा राहत वितरण गरेको हो। नेपाल रेडक्रस सोसाइटीको इलाम शाखामार्फत वडा नम्बर ६ को बालन र घोषमा र मंगलबारे, सिधिथुम्का, शान्तिडाँडा, माइपोखरी एकतप्पा, दानाबारी उपशाखामार्फत थप राहत वितरण गरिएको हो । राहत सामग्रीमा १०० थान त्रिपाल, २०० थान ब्ल्यान्केट तथा १०० थान म्याट रहेका छन्। राहत पाएपछि प्रभावित परिवारहरूले केही सहजता महसुस भएको प्रतिक्रिया दिएका छन्। राहत वितरण कार्यक्रमको समन्वय संघको तर्फबाट कनिष्ठ अधिकृत निरोज महर्जनले गर्नुभएको थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीको उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका विभिन्न सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माणको लागि सो सहयोग गरिएको हो ।उपत्यका प्रहरी परिसर शुक्रबार एक कार्यक्रमको आयोजना गरि गरिएको सहयोगअन्तर्गत १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल तथा १५ वटा स्टील दराज (क्याबिनेट) उपलब्ध गराइएको हो। कार्यक्रममा एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, निवर्तमान अध्यक्ष तथा हाल आईसीसी सदस्य निर्मल शर्मा चौलागाई, उपाध्यक्ष प्रदीप नेपाल, सुरज व्याञ्जू, महासचिव सुरज न्यौपाने, सचिव कमल सापकोटा, सदस्य रोजेन माकजु, पञ्जीकृत सदस्य प्रियस खरेल र अंकित खतिवडा लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो । त्यसैगरी, आईसीसी तथा सचिवालय तर्फबाट अध्यक्ष डा. बद्री केसी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा सहायक निर्देशक रबिना महर्जन सहभागी हुनु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै एनसीसी चीनका पदाधिकारीहरुले नेपाल प्रहरीलाई आवश्यक सामग्री सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सकेसम्म योगदान गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । एनआरएनए अध्यक्ष डा. बद्री केसीले विश्वभर रहेका गैरआवासीय नेपालीले मातृभूमिको विपद् र संकटका घडीमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै, जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माण र अन्य आपतकालीन अवस्थामा एनआरएनए सधैं तयार साथै नेपाल सरकारका पुनर्निर्माणका पहलमा निरन्तर सहकार्य गर्ने बताउनुभयो । उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी जनताको शान्ति–सुरक्षामा अहोरात्र खटिरहने हुँदा यस विषम परिस्थितिमा एनआरएनए, विशेषगरी एनसीसी चीनबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी र विश्व बैंक क्षेत्रीय निर्देशकबीच भेटघाट गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विश्व बैंकका क्षेत्रीय निर्देशक (नेपाल, माल्दिभ्स र श्रीलंका) डेभिड एन. सिस्लेनसँग शिष्टाचार भेट गर्नु भएको छ । भेटमा नेपालमा आर्थिक विकास, लगानी प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो। संघका तर्फबाट अध्यक्ष डा. केसीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो। साथै, गैरआवासीय नेपाली समुदायबाट हुने ज्ञान, सीप र लगानी प्रवाहलाई विश्व बैंकका कार्यक्रमहरूसँग जोड्ने सम्भावनाबारे समेत चर्चा भएको थियो। त्यस अवसरमा, विश्व बैंकका क्षेत्रीय निर्देशक सिस्लेनले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्दै नेपालको दिगो विकासका लागि आवश्यक परियोजना तथा प्रयासमा हातेमालो गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। भेटमा एनआरएन डेभलप्मेन्ट फण्डका बारेमा सिइओ अनलराज भट्टराईले जानकारी गराउनुभयो भने संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले संघले विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थासँग गरिरहेको सहकार्यका बारेमा प्रकाश पार्नुभयो।
विपिन जोशीको रिहाइका लागि आमा पद्मा र बहिनी पुष्पा अमेरिका प्रस्थान, विश्वव्यापी दबाब सिर्जनामा गैरआवासीय नेपाली संघको ऐक्यबद्धता प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अपहरण भई विगत २४ महिनादेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका छन्। यसअघि उनीहरू इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेका थिए। तर ठोस प्रगति नदेखिएकाले थप पहलका लागि संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने उदेश्यले अमेरिका गएका हुन्। आमा–छोरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने जनाइएको छ। विपिन जोशी कञ्चनपुर निवासी हुन् र सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका थिए। उनी २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका थिए र हालसम्म उनको अवस्था अज्ञात रहेको छ। नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको भए पनि अहिलेसम्म ठोस नतिजा आउन सकेको छैन। परिवार निरन्तर अपील र पहलमा सक्रिय छ र अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल जारी राखेको छ। जोशी परिवारले गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीलाई भेटी विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए। त्यसपश्चात संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका बसाइका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढाउनुभएको थियो। अमेरिका बसाइमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछ। क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष बिकाश उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा उनीहरुलाई सहयोग पुर्याउन र आवश्यक कार्यक्रम सञ्चालन गर्न तयारी गरिएको छ। यसअघि गैरआवासीय नेपाली संघ इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि ऐक्यबद्धता व्यक्त गरेको थियो । यस्तै, मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा समेत कूटनीतिक पहल तथा छलफलका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्नेछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुर्ननिर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको छ । विश्वभरिका गैरआवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष डा केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले मातृभूमिलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरुको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ ।’ जवाफमा सम्माननीय प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि बिदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभयो । पुनर्निर्माणको लागि नेपाली र गैरआवासीय नेपालीहरुसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आग्रह गर्नुभयो । उक्त भेटमा अध्यक्ष डा केसीले 'एक पटकको नेपाली सदैव नेपाली' भन्ने मुल उद्देश्य अनुरुप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरुलाई वंशजको नागरिकताको निरन्तरता सहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गर्नुभयो । यस्तै अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरुका लागि मताधिकार सुनिश्चित गर्न समेत अनुरोध गर्नुभयो । यसका साथै गैरआवासीय नेपाली संघको १२ औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारी समेत गराउनुभएको थियो । सम्माननीय प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रुपमा लिएको तथा आगामी निर्बाचनमा बिदेशमा रहेका नेपाली हरुलाई बिदेशबाट नै मतदान गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको थियो । २०८२ असोज ५
वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनी स्थित नेपाली दुतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो । केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो । सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरु विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरु दुवैजना काठमाण्डौ आईपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनीहरुलाई स्वागत गर्न संघको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र कनिष्ठ अधिकृत निरोज महर्जन उपस्थित हुनुभएको थियो । उनीहरु दुवै जनाले दुःखको बेलामा गैर आवासीय नेपाली संघ र जर्मन स्थित नेपाली दुतावासले पुर्याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् । नोट : फोटो शेयर नगर्न उनीहरुले गरेको आग्रहलाई सम्मान गर्दै यहाँ फोटो समावेश गरिएको छैन ।
संघीय संसद भवनको अवलोकन गत भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको गैरआवासीय नेपाली संघ (NRNA) ले भग्नावशेषहरूको अवलोकन कार्य सुरु गरेको छ। यही क्रममा, भदौ ३१ गते मंगलबार संघीय संसद भवनको अवलोकन गरिएको छ। गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको नेतृत्वमा गएको टोलीले संसद भवनमा आगजनीबाट भएको क्षतिको प्रत्यक्ष निरीक्षण गरेको हो। उक्त टोलीमा संघका सचिव स्वतन्त्र प्रताप शाहसहित केन्द्रीय कार्यालयका अन्य पदाधिकारीहरू र कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो। संघले आन्दोलनका क्रममा भएको भौतिक र आर्थिक क्षतिको मूल्यांकन गर्दै प्रभावित संरचनाहरूको पुनःनिर्माणमा सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्नेछ।
२६ अगस्ट २०२५, काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सम्बोधनका लागि सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । संघको सचिवालयमा मंगलबार (२०८२ साल भाद्र १० गते तदनुसार २६ अगस्त २०२५ ) स्वीस विकास तथा सहयोग संस्था (SDC)को सहयोगमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क (MiRiDeW) परियोजना दोस्रो चरणको कार्यान्वयनका लागि दुई संस्थाबीच सम्झौता भएको हो । आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार मुख्यतया मध्यपूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकहरूमा एनआरएनएको संस्थागत क्षमता अभिवृद्धिका साथै नेपाल सरकारसँग नीतिगत वकालत एवं पैरवी, श्रमिकलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता, महिला र अलेखबद्ध (अवैधानिक) अवस्थामा रहेका श्रमिकहरूलाई कानूनी परामर्ष, सचेतना अभिवृद्धि लगायतका विषयहरुलाई यस परियोजनाले प्राथमिकतामा राखेर काम गर्नेछ । यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ । उक्त अवसरमा आईएलओ नेपालका निर्देशक ओजकानले ‘एनआरएनलाई रणनैतिक साझेदार मित्रका रुपमा लिईएको र यस संस्थाको विश्वब्यापी संजालका माध्यमबाट विदेशमा रहेका नेपाली श्रमिकहरुले भोग्नुपरेका समस्या समाधानका लागि यो परियोजनाले सहयोग पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली श्रमिकहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड हुन्, तर विदेशमा उनीहरूले असुरक्षित कार्यस्थिति, कानुनी सुरक्षाको अभाव, र एक्लोपनको सामना गर्नुपरेको छ । एनआरएनए सँगको सहकार्यले संस्थागत सुदृढीकरण र मानसिक स्वास्थ्यमा टेवा पु¥याउनेछ । हाम्रो लक्ष्य प्रवासी श्रमिकहरूलाई सुरक्षित, मर्यादित र अधिकारसहितको रोजगारीका लागि प्रणाली निर्माण गर्ने नै हो ।” एनआरएनए–आईसीसी अध्यक्ष डा. केसीले एनआरएनएले आप्रवासी नेपाली श्रमिकहरु तथा गैर आवासीय नेपालीहरुको हक हितका लागि एनआरएनएले सधै बहस तथा पैरवी गरिरहको बताउनुभयो उहाँले भन्नुभयो, “हामीले दुई दशक लामो इतिहासमा ९० भन्दा बढी देशमा समन्वय परिषद् (NCC) स्थापना गरेका छौं जसमा ८०,००० भन्दा बढी पञ्जीकृत सदस्यहरू छन् । सरकारको विश्वासिलो साझेदारको रूपमा, एनआरएनएले प्रवासी श्रमिकहरूको अधिकार र हितका लागि निरन्तर काम गर्दै आएको छ । यो साझेदारी विदेशमा रहेका श्रमिकहरूको समस्या समाधानका लागि एक सुनौलो अवसर हो, जसलाई हामी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्नेछौं।” एनआरएनकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै विदेशको श्रम बजारमा रहेका युवा, महिला तथा पछाडि पारिएका श्रमिकहरुका अवसर तथा जोखिमका विषयमा चर्चा गर्नु भएको थियो । कोभिड–१९ को महामारीका बेलामा समेत एउटा महत्वपुर्ण परियोजना मार्फत सफलतापुर्वक सहकार्य सम्पन्न भईसकेको र यसका कतिपय असल अभ्यास तथा सिकाईहरुबाट यो दोश्रो सहकार्य तथा साझेदारीता पनि सफलता पुर्वक सम्पन्न हुनेमा विश्वस्त रहेको डा केसीले उल्लेख गर्नुभयो । यो साझेदारी सेप्टेम्बर २०२५ देखि मे २०२६ सम्म ९ महिनाको अवधिमा सञ्चालन हुनेछ । कोभिड–१९ महामारीको समयमा दुबै संस्थाले हजारौं नेपाली श्रमिकहरूलाई सहयोग पु¥याएको सफल सहकार्यलाई आधार बनाएर यो कार्यक्रम अगाडि बढाइएको हो । यो परियोजनाले एनआरएनएका प्रतिनिधिहरूलाई तालिम, नेपाली कूटनीतिक मिशनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ । कार्यक्रममा आईएलओ नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर, नुमन ओजकान, राष्ट्रिय कार्यक्रम संयोजक रोनी प्रधान धौभडेल तथा संचार अधिकृत निष्ठा रायमाझी र एनआरएनएका तर्फबाट अध्यक्ष डा.बद्री केसीका साथै महिला उपाध्यक्ष रोजिना प्रधान राई, सल्लाहकारहरु अतुल कोईराला र हिराधन राई र एनआरएन अभियन्ता बाबा राजेश्वरी थापा र रोविन बज्राचार्यको पनि उपस्थिति रहको थियो । साथै उक्त कार्यक्रममा एनआरएन डेभलपमेन्ट फण्डका सिईओ अनलराज भट्टराई र संघको सचिवालयका सिईओ राजेन्द्र कुमार राउतका साथै अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका सिईओ राजेन्द्र कुमार राउतले गर्नुभएको थियो ।