चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठकः एनआरएनए र सरकारबीच सहकार्यमा जोड

NRNA Admin • 03 May 2026
news-img

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आगामी जनवरी २०२७ मा आयोजना गरिने चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठकले नेपाल सरकारका प्राथमिकता क्षेत्रलाई आधार मानेर संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

संघका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको सहजीकरणमा सम्पन्न उक्त भर्चुअल (जुममार्फत) बैठकमा विदेशस्थित विभिन्न क्षेत्रका विज्ञहरूले विदेशमा रहेका नेपाली र नेपाल सरकारबीच प्रभावकारी संवाद तथा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, सरकारका प्राथमिकताहरू नै एनआरएनएका मुख्य प्राथमिकता बन्नुपर्ने धारणा व्यक्त गरिएको छ।

 बैठकमा प्रस्तावित विषयवस्तुहरू राष्ट्रिय योजना आयोगका लक्ष्यसँग मेल खाने, सान्दर्भिक तथा विश्वसनीय हुनुपर्नेमा विशेष जोड दिइएको छ। त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै सम्मेलन आयोजना गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ। यसले प्रवासी विज्ञहरूलाई प्रमुख वक्ताका रूपमा सहभागी गराउँदै सरकारी प्राथमिकता र अन्तर्राष्ट्रिय अनुभवबीच समन्वय कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, आगामी सम्मेलनलाई अघिल्ला संस्करणहरूको निरन्तरतासँगै अझ बढी परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

यसअघि सम्पन्न तीन संस्करणहरू नेपाल सरकारका प्रमुख चुनौतीहरूको पहिचान, प्रवासी सञ्जाल विस्तार तथा नीतिगत सुझावमा केन्द्रित थिए। अब भने कार्यक्रमलाई व्यवहारिक तथा अनुसन्धानमुखी बनाउँदै सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। संघका अध्यक्ष डा. हेमराज शर्माले सहभागीहरूलाई रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दै ती सुझावहरूलाई आत्मसात गर्दै चौथो विश्व ज्ञान सम्मेलनलाई प्रभावकारी, व्यवहारिक तथा परिणाममुखी रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।