Latest News

news-img
NRNA Admin • 21 Jun 2026

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती : व्यवहारिक अधिकार सुनिश्चित गर्न एकीकृत कानुन र संवैधानिक संशोधन अपरिहार्य

२१ जुन २०२६ - गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा सञ्चालन गरिएको वेबिनार शृंखलाको पहिलो कार्यक्रम “नागरिकताको निरन्तरता र एनआरएन नागरिकताको वर्तमान अवस्था” विषयमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को आयोजना तथा नागरिकता निरन्तरता कार्यदल (CNC Task Force) को समन्वयमा २१ जुन २०२६ मा आयोजित उक्त वेबिनारमा विश्वभरका राष्ट्रिय समन्वय परिषद् (NCC) का प्रतिनिधि, पत्रकार, कानुनविद्, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वेबिनारले दुई दशकभन्दा बढी संघर्षपछि प्राप्त भएको एनआरएन नागरिकता ऐतिहासिक उपलब्धि भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी, प्रशासनिक तथा नीतिगत सुधार अझै अधुरो रहेको निष्कर्ष निकालेको छ। सहभागीहरूले हालको अवस्थामा एनआरएन नागरिकता व्यवहारिक रूपमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको, विभिन्न ऐन, नियम तथा प्रक्रियागत अस्पष्टताका कारण हजारौं गैरआवासीय नेपालीहरू आफ्ना अधिकार प्रयोग गर्नबाट वञ्चित भएको धारणा व्यक्त गरेका छन्। कार्यक्रमको अध्यक्षता गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्की उपाध्यक्ष तथा नागरिकता निरन्तरता (CNC) टास्क फोर्सकी संयोजक रोजिना प्रधान राई ले एनआरएन नागरिकता केवल कानुनी दस्तावेज मात्र नभई विश्वभर छरिएर रहेका नेपालीहरूको पहिचान, भावना र मातृभूमिसँगको सम्बन्धको प्रतीक भएको बताउनुभयो। उहाँले २० वर्षभन्दा लामो संघर्षपछि नागरिकताको व्यवस्था भए पनि आवश्यक कानुनी तथा प्रशासनिक संरचना तयार नहुँदा यसको कार्यान्वयन अपेक्षित स्तरमा पुग्न नसकेको उल्लेख गर्नुभयो। एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ले “एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणालाई व्यवहारमा उतार्न राजनीतिक नेतृत्व, सरकार र सम्पूर्ण गैरआवासीय नेपाली समुदाय एकताबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले २३ वर्षदेखि उठाइँदै आएको मुद्दा अझै पूर्ण कार्यान्वयनमा नपुग्नु दुःखद भएको उल्लेख गर्दै वर्तमान सरकारले यस विषयलाई प्राथमिकताका साथ समाधान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा ले नागरिकता निरन्तरतासम्बन्धी हालसम्म भएका प्रगति, सरकारसँगको संवाद तथा संघले अघि सारेको “थ्री-स्टेज सोलुसन” (तीन चरणीय समाधान) प्रस्तुत गर्नुभयो। उहाँले एनआरएनएले सरकारसमक्ष राखेका अधिकांश सुझावहरू समेटेर गैरआवासीय नेपाली सम्बन्धी एकीकृत ऐनको मस्यौदा तयार भएको जानकारी दिँदै यसको शीघ्र पारित हुनु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'हालको अवस्थामा एनआरएन नागरिकता प्राप्त भए पनि सम्बन्धित ऐनहरू संशोधन नभएसम्म बैंकिङ, मालपोत, राष्ट्रिय परिचयपत्र, लगानी, उत्तराधिकार, अध्यागमन तथा अन्य अधिकारहरूको पूर्ण उपयोग सम्भव छैन। त्यसैले एनआरएन नागरिकतालाई व्यवहारिक र प्रभावकारी बनाउन एकीकृत कानुन, आवश्यक ऐन संशोधन तथा संवैधानिक सुधार अपरिहार्य छ l' महासचिव डा. चिरञ्जीवी खड्का ले सरकारसँग निरन्तर संवाद जारी रहेको बताउँदै नागरिकता, लगानी, आर्थिक सहभागिता र नेपाली डायस्पोराका अधिकारहरूलाई समान प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो। उहाँले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई एकीकृत आवाजका साथ नागरिकता कार्यान्वयन र कानुनी सुधारका लागि पहल गर्न आह्वान गर्नुभयो। नागरिकता निरन्तरता कार्यदलका फोकल पर्सन सरोज दाहाल ले परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायहरूसँग भइरहेको समन्वय, हालसम्मका उपलब्धि र आगामी प्रक्रियाबारे जानकारी गराउनुभयो। उहाँका अनुसार एनआरएनएका करिब ९९ प्रतिशत सुझावहरू सम्बन्धित मस्यौदामा समेटिएका छन् र यदि सरकारले प्राथमिकताका साथ प्रक्रिया अघि बढाए आगामी केही महिना निर्णायक हुन सक्छन्। वेबिनारमा अमेरिका, बेलायत, क्यानडा, हङकङ, जापान लगायत विभिन्न देशका प्रतिनिधिहरूले एनआरएन कार्ड, नागरिकता निरन्तरता, PNO कार्ड, वंशजको नागरिकता, नेपाली पासपोर्ट, अध्यागमन व्यवस्था तथा हालै देखिएका प्रशासनिक जटिलताबारे प्रश्न तथा सुझावहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले नागरिकता प्राप्त भए पनि व्यवहारिक रूपमा मालपोत, अध्यागमन र अन्य सरकारी निकायमा अझै पर्याप्त मान्यता र स्पष्टता अभाव रहेको विषय उठाएका थिए। वेबिनारले निम्न विषयहरूमा विशेष जोड दिएको छ: * एनआरएन नागरिकताको प्रभावकारी र व्यवहारिक कार्यान्वयन सुनिश्चित गरिनुपर्छ। * गैरआवासीय नेपाली सम्बन्धी एकीकृत ऐन शीघ्र संसदबाट पारित गरिनुपर्छ। * नागरिकता, एनआरएन परिचयपत्र र PNO कार्डको स्पष्ट कानुनी वर्गीकरण गरिनुपर्छ। * वंशजको नागरिकता निरन्तरता तथा आवश्यक संवैधानिक संशोधनलाई प्राथमिकता दिनुपर्छ। * विदेशमा रहेका नेपालीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकार सुनिश्चित गरिनुपर्छ। * “एकपटकको नेपाली, सधैंको नेपाली” अवधारणालाई कानुनी तथा व्यवहारिक रूपमा स्थापित गरिनुपर्छ। * सरकारसँग निरन्तर संवाद, सहकार्य र आवश्यक दबाबमार्फत समाधान प्रक्रिया तीव्र बनाइनुपर्छ। कार्यक्रमका सञ्चालक तथा एनआरएनए उपमहासचिव बेदराज बस्नेत ले २०२५–२०२७ कार्यकालको कार्यसमितिले गैरआवासीय नेपालीहरूको साझा सरोकारका विषयमा नियमित रूपमा यस्ता वेबिनार सञ्चालन गर्दै जानकारी, संवाद र नीति पैरवीलाई अझ प्रभावकारी बनाउने जानकारी दिनुभयो। वेबिनारको अन्त्यमा नागरिकता निरन्तरतालाई व्यवहारिक, प्रभावकारी र विश्वभरका गैरआवासीय नेपालीमैत्री बनाउन नेपाल सरकार, राजनीतिक नेतृत्व, संसद, सम्बन्धित मन्त्रालयहरू तथा सम्पूर्ण नेपाली डायस्पोराबीच सहकार्यलाई अझ सुदृढ बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

news-img
NRNA Admin • 27 May 2026

आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा सुझाव प्रस्तुत

२७ मे : परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट सहभागिता जनाई सुझाव दिईएको छ । नेपालको आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीतिगत, संस्थागत तथा संरचनागत सुधार आवश्यक रहेको सुझाव दिईएको हो । एनआरएनलाई संविधानतः अधिकार प्रदान गरी अझ प्रभावकारी रूपमा लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने, आर्थिक कूटनीतिलाई संस्थागत, समन्वयात्मक र परिणाममुखी बनाउनुपर्ने लगायतका सुझाव प्रस्तुत गरिएको थियो ।

news-img
NRNA Admin • 25 May 2026

एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच नीति सुधारका सम्भावनाबारे विस्तृत छलफल

मुलुकको शासकीय प्रणाली, दिगो आर्थिक विकास तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच विशेष मस्तिष्क मन्थन कार्यक्रम सम्पन्न भएको छ। बालुवाटारस्थित एनआरएनए सचिवालयमा आयोजित कार्यक्रममा मुलुकमा देखिएका नीतिगत अन्तर (Policy Gap) पहिचान गर्दै दीर्घकालीन नीति सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बहुविधागत र समसामयिक विषयमा अध्ययन, अनुसन्धान तथा नीति पैरवीका लागि अनुभवी, दक्ष र प्राज्ञिक क्षमता भएका विज्ञहरूको प्रभावकारी उपयोग गर्न सक्षम संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालिएको हो । छलफलमा गैरआवासीय नेपाली, नेपालका प्राज्ञिक विद्वान, सेवानिवृत्त राष्ट्रसेवक, सफल उद्यमी–व्यवसायी, पत्रकार, कानुन व्यवसायी तथा अनुसन्धानकर्ताबीच सहकार्य विस्तार गर्दै नीति निर्माणमा संस्थागत योगदान बढाउनुपर्ने धारणा राखिएको थियो। कार्यक्रममा नेपालको दीर्घकालीन तथा समावेशी आर्थिक विकासका लागि संरचनागत रूपान्तरण (Structural Transformation) केन्द्रित आर्थिक नीतिहरू तर्जुमा र कार्यान्वयनमा जोड दिइएको थियो। उत्पादन तथा उत्पादकत्व वृद्धि, औद्योगिकीकरण, डिजिटल अर्थतन्त्र, हरित अर्थतन्त्र, रोजगारी सिर्जना तथा सार्वजनिक–निजी–सहकारी साझेदारीलाई सुदृढ बनाउने नीति निर्माणमा विशेष ध्यान दिनुपर्ने सहभागीहरूको भनाइ थियो। “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणालाई आत्मसात गर्दै विश्वभर रहेका गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धि र विकासमा प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक कानुनी तथा नीतिगत ढाँचा निर्माणमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो। संविधानले व्यवस्था गरेअनुसार गैरआवासीय नेपालीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्धबारे समेत सहभागीहरूले धारणा राखेका थिए। कार्यक्रममा नेपाली विज्ञहरूको अन्तर्राष्ट्रिय अनुभव र ज्ञानलाई नेपालमा नीति निर्माण तथा विकास प्रक्रियामा संस्थागत रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको थियो। निजी क्षेत्र, शैक्षिक संस्था तथा विदेशस्थित नेपाली विशेषज्ञबीच समन्वय गर्दै नीति संवाद, अनुसन्धान र रणनीतिक सुझाव तयार गर्ने साझा प्लेटफर्म निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। छलफलका क्रममा निम्न विषयगत क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सुझाव दिइएको थियोः १ कानुन, संविधान तथा सुशासन २. अर्थतन्त्र, व्यापार तथा लगानी ३. जलवायु परिवर्तन, दिगो विकास तथा प्राकृतिक स्रोत व्यवस्थापन ४. सामाजिक क्षेत्र (स्वास्थ्य, शिक्षा तथा सरसफाइ) ५. परराष्ट्र मामिला तथा कनेक्टिभिटी ६. विज्ञान, प्रविधि तथा नवप्रवर्तन ७. कृषि तथा ग्रामीण विकास ८. ऊर्जा ९. श्रम, आप्रवासन तथा वैदेशिक रोजगार व्यवस्थापन १०. पर्यटन, संस्कृति तथा सम्पदा संरक्षण ११. पूर्वाधार विकास, सहरीकरण तथा यातायात व्यवस्थापन १२. विपद् व्यवस्थापन तथा संकट न्यूनीकरण १३. मानव संसाधन विकास तथा व्यावसायिक सीप तालिम १४. उद्योग, उत्पादन तथा आपूर्ति १५ युवा विज्ञहरूको समावेशीकरण/ डायस्पोराका नेपाली विज्ञहरूको ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभव कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा, निवर्तमान अध्यक्ष डा. बद्री केसी, महासचिव डा. चिरञ्जीवी खड्का, उपमहासचिव दिनेश कुमार घिमिरे, कोषाध्यक्ष कृष्ण तिमल्सिना लगायतले आफ्नो धारणा राख्नुभएको थियो । साथै, अन्य पदाधिकारी तथा सरोकारवालाहरू पनि अनलाइनमार्फत कार्यक्रममा जोडिएका थिए । कार्यक्रममा पूर्व मुख्य सचिवहरू एकनारायण अर्याल र शंकर बैरागी, पूर्व सचिवहरू शिशिरकुमार ढुङ्गाना, प्रेम कँडेल, रामप्रसाद घिमिरे, धनराज ज्ञवाली, फणिन्द्र गौतम र मणिलाम गेलाँलको उपस्थिति रहेको थियो । यसैगरी सशस्त्र प्रहरीका अवकाशप्राप्त महानिरीक्षक राजु अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपक श्रेष्ठ, साथै नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी पूर्व महाप्रबन्धक संगिता यादव, बिजनेस डेभलपमेन्ट एशोसिएट्स (बीडीए) का कार्यकारी अधिकृत इन्जिनियर सुदिप पौडेल एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की , सल्लाहकार पूर्णलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

news-img
NRNA • 24 May 2026

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आगामी अगस्ट १५ र १६ २०२६ मा

नेपाली डायस्पोरालाई नेपालको लगानी तथा पर्यटन अवसरहरूसँग जोड्ने मुख्य उद्देश्य गैरआवासीय नेपाली संघ अन्तर्गत एसिया-प्रशान्त क्षेत्रको आयोजना तथा राष्ट्रिय समन्वय परिषदको समन्वयमा आगामी अगस्त १५ र १६ २०२६ मा Crowne Plaza Guangzhou City Centre मा ११औँ एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आयोजना गरिदैछ l “आरोहण २०२६ – Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” मूल नारासहित आयोजना गर्न लागिएको सम्मेलन विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक, सामाजिक रुपमा जोड्नुको साथै पुस्तान्तरणमा केन्द्रित रहनेछ l सम्मेलनको संयोजकत्व एशिया-प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेललाई दिईएको छ। चीनको विश्वव्यापी व्यापारिक केन्द्र ग्वाङझाउमा आयोजना हुने यस उच्चस्तरीय सम्मेलनले एशिया प्यासिफिक क्षेत्रमा रहेका दक्ष तथा स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालको लगानी तथा पर्यटन अवसरहरूसँग जोड्ने उद्देश्य लिएको छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार–व्यवसाय साझेदारी (B2B Networking), जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि र पूर्वाधार क्षेत्रमा विज्ञहरूको नेटवर्क निर्माण तथा श्रमिक सुरक्षाका विषयमा नीतिगत विषयमा घनिभूत छलफल समावेश हुनेछ l साथै, महिला उद्यमशीलता र युवा सहभागितालाई समेत प्राथमिकतामा राखिएको छ। सम्मेलनले दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो मौलिक पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने विषयलाई विशेष प्राथमिकता दिईएको छ l साथै, विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक सम्बन्ध विस्तार गरिने छ l दुई दिने सम्मेलनमा विभिन्न ५ वटा सत्रमा छलफलसहित कार्यपत्र प्रस्तुत गरिनेछ l सम्मेलनको पहिलो दिन अर्थात् अगस्त १५, २०२६ मा नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना गरिनेछ। त्यसपछि “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयक विशेष सत्र सञ्चालन हुनेछ। सो अवसरमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार तथा उत्पादनमूलक उद्योगका विषयमा छलफल गरिने छ l दोस्रो दिन अगस्त १६ २०२६ पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विशेष छलफल हुने जनाइएको छ। सम्मेलनको समापनमा “ग्वाङझाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव र कार्ययोजना प्रस्तुत गरिने छ l सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ l जसमा NRNA नेतृत्व, लगानीकर्ता, व्यवसायी, कूटनीतिज्ञ, सरकारी अधिकारी तथा दोस्रो पुस्ताका युवाहरू सहभागी हुनेछन्।

All News

news-img
NRNA Admin • 19 May 2026

मध्यपूर्व संकटबारे समन्वयात्मक छलफल सम्पन्न

सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव नेपाल सरकार, दूतावास र NRNA बीच मध्यपूर्वको वर्तमान संकटका कारण नेपाली श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे समन्वयात्मक छलफल सम्पन्न भएको छ। मध्यपूर्वको वर्तमान संकट र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापन विषयमा परराष्ट्र मन्त्रालय डायस्पोरा डिभिजन लगायत सरकारी तथा गैरसरकारी ४० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको हो । बैठक NRNA र ILO को संयुक्त परियोजना “MiRiDeW Phase II” अन्तर्गत आयोजना गरिएको हो । बैठकमा प्राप्त मुख्य सुझावहरू: नेपाल सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्रलाई अझ सुदृढ र प्रभावकारी बनाउनुपर्ने। आपतकालीन उद्धार योजना तथा सुरक्षित स्थानान्तरण प्रणालीलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने। नेपाली श्रमिकहरूको तथ्यांक अद्यावधिक गर्ने प्रणालीलाई नियमित, विश्वसनीय र केन्द्रीकृत बनाउनुपर्ने। मानसिक तनावग्रस्त श्रमिकहरूका लागि मनोसामाजिक परामर्श सेवाको पहुँच विस्तार गर्नुपर्ने। प्रस्थानपूर्व अभिमुखीकरण तालिममा संकट व्यवस्थापन तथा जोखिम सचेतना अनिवार्य रूपमा समावेश गर्नुपर्ने। वैदेशिक रोजगारीसम्बन्धी ठगी रोक्न व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने। डिजिटल सहायता प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र व्यवस्थित बनाउनुपर्ने। गन्तव्य देशहरूसँग श्रमसम्बन्धी द्विपक्षीय सम्झौताहरूलाई अझ सुदृढ गर्नुपर्ने। फर्किएका श्रमिकहरूको सीप विकास, वैकल्पिक रोजगारी तथा पुनःएकीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने। द्रुत प्रतिक्रिया संयन्त्र (Rapid Response Mechanism) विकास गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने। बैदेशिक रोजगार विभाग प्रमुख तथा उपाध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षता सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालय पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले सरकारले गरिरहेको कामबारे जानकारी गराउनु भएको थियो । उक्त बैठकमा कतार, यूएई, साउदी अरब, कुवेत, ओमान, बहराइनका NRNA NCC प्रतिनिधिहरूले आफ्नो धारणा राख्नु भएको थियो भने आप्रवासन विज्ञहरू, सरोकारवाला सबैले सुझाव पेश गर्नुभएको थियो । अध्यक्ष डा. शर्माले सरकार, दूतावास र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। कोभिड कालमा NRNA को RRR (Relief, Repatriation & Rehabilitation) कार्यक्रममार्फत मध्यपूर्वलगायत देशबाट नेपालीहरूको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी भूमिका खेलेको स्मरण गर्नुभयो। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, बैदेशिक रोजगार विभाग, बैदेशिक रोजगार बोर्ड, कल्याणकारी कोष आदि र NRNA बीच उच्चस्तरीय समन्वय गरी तत्काल आपतकालीन संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनमा NRNA ले सरकारसँग मिलेर वा आफ्नै संयन्त्रबाट तत्काल पहल गर्न तयार रहेको बताउनुभयो। प्रवक्ता सोम सापकोटाले संकटले श्रमिकहरूको रोजगारी, सुरक्षा र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारेकोले नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो। डा. बद्री केसी (NRNA को पूर्व अध्यक्षले मध्यपूर्वको वर्तमान संकटका बेला NRNA को सक्रिय भूमिका र सरकारसँगको सहकार्यमा जोड दिनुभएको थियो। मध्यपूर्वका प्रमुख श्रम गन्तव्य देशहरूमा पछिल्ला घटनाक्रमले नेपालीहरूमा डर र अनिश्चितताको वातावरण सिर्जना गरेको बताउनुभयो। यस्तै महिला संयोजक रश्मि थापाले सिप सिकाएर मात्र बिदेशमा श्रमिक पठाउन पर्ने बताउनु भयो । बैठकमा महासचिव डा चिरन्जीवी खड्का, सहकोषाध्यक्ष गंगा खतिवडा, एनसीसी साउथ सुडानका अध्यक्ष राम प्रसाद पाध्या पनि सहभागी हुनुहुन्थियो । अनलाइन जुममार्फत पनि पदाधिकारीले सहभागी हुनुभएको थियो ।

news-img
NRNA Admin • 18 May 2026

गैरआवासीय नेपाली नागरिकता तथा सम्बन्धित नीतिगत विषयमा व्यापक छलफल

१६ मे : अमेरिकास्थित US-Nepal Policy Research Center (USNPRC) द्वारा आयोजित “NRN Bill 2082: Policy and the Path Ahead” विषयक अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता तथा सम्बन्धित नीतिगत विषयमा व्यापक छलफल गरिएको छ। कार्यक्रममा गैरआवासीय नेपालीहरूको अधिकार, लगानी, नागरिकता तथा नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारसँग निरन्तर संवाद भइरहेको र एनआरएन सम्बन्धी विधेयकमा संसारभर रहेका नेपाली समुदायबाट सुझाव संकलन गरिएको तथा ती सुझावहरूलाई नेपाल सरकारसमक्ष व्यवस्थित रूपमा साझा धारणा निर्माण गरिएको जानकारी दिइएको थियो l छलफलका क्रममा गैरआवासीय नेपाली नागरिकताको व्यवहारिक कार्यान्वयन, लगानीमैत्री वातावरण, सम्पत्ति अधिकार, तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको भूमिकाबारे पनि विचार राखिएको थियो।

news-img
NRNA Admin • 18 May 2026

राष्ट्रिय समन्वय परिषद (एनसीसी) आयरल्याण्डका पदाधिकारीहरूसँग भेटघाट तथा अन्तरक्रिया

१८ मे : राष्ट्रिय समन्वय परिषद (एनसीसी) आयरल्याण्डका पदाधिकारीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल सरकारसँग भएका नीतिगत बैठकहरू, गैरआवासीय नेपाली नागरिकताको मस्यौदामा दिइएका सुझावहरू, प्रवासी नेपालीहरूका अधिकार तथा सरोकारका विभिन्न विषयमा विस्तृत छलफल र जानकारी आदानप्रदान गरिएको थियो। भेटघाटका क्रममा १७ औँ युरोप क्षेत्रीय सम्मेलनको तयारी, संगठनको सुदृढीकरण तथा आगामी कार्ययोजनाहरूबारे पनि गहन छलफल भएको थियो। साइडलाइन कार्यक्रम अन्तर्गत राष्ट्रिय समन्वय परिषद (एनसीसी) आयरल्याण्ड र गरिमा मेमोरियल फाउण्डेसनको संयुक्त आयोजनामा डब्लिनमा क्यान्सर रोकथाम तथा नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रवासमा रहेका नेपाली समुदायको स्वास्थ्य सुरक्षाका लागि नियमित सचेतनामूलक तथा स्वास्थ्य शिविर कार्यक्रमहरू आवश्यक रहेको धारणा राखिएको छ l सो अवसरमा एनसीसीआयरल्याण्डद्वारा सञ्चालित नेपाली भाषा तथा संस्कार कक्षाको अवलोकन गरिएको थियो। सो अवसरमा उहाँले विदेशमा हुर्कंदै गरेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूमा मातृभाषा, संस्कार र सांस्कृतिक पहिचानको संरक्षण अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिइएको छ l

news-img
NRNA Admin • 15 May 2026

एनआरएनए आईसीसी उपाध्यक्ष तथा कार्यकारी बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको उपाध्यक्ष तथा कार्यकारी बैठक सम्पन्न भएको छ। बैठकको सहजीकरण महासचिवले गर्नुभएको थियो। बैठकमा संस्थागत समन्वय, रणनीतिक योजना, विभागीय प्रतिवेदन, अन्तर्राष्ट्रिय सहकार्य, सदस्यता प्रमाणीकरण, एनसीसी एकीकरण, लगानी तथा व्यापार, महिला सशक्तिकरण, कल्याणकारी कार्यक्रम तथा ECOSOC दर्ता प्रक्रिया लगायतका विषयमा छलफल गरिएको थियो। बैठकले संगठनात्मक गतिविधिलाई थप प्रभावकारी, पारदर्शी र कार्यान्वयनमुखी बनाउने निर्णयसहित सम्पन्न भएको छ।

news-img
NRNA Admin • 10 May 2026

एनआरएनए रि- ब्रान्डिङ र संगठन सुदृढीकरणका लागि समन्वय बैठक सम्पन्न

आईसीसीका अध्यक्ष र महासचिवसँग क्षेत्रीय समन्वय परिषद् (Regional Coordination Committee) बीचको बैठक सम्पन्न भएको छ। बैठक जुम माध्यमबाट सम्पन्न गरिएको हो। बैठकमा क्षेत्रीय गतिविधि समीक्षा, एनआरएनए–एनसीसी एकीकरण, आगामी आईसीसी बैठकका एजेन्डा, एनआरएनए ऐन, ग्लोबल नलेज कार्यक्रम, दोस्रो पुस्ता सम्मेलन, महिला सम्मेलन, क्षेत्रीय सम्मेलन तथा अन्य रणनीतिक विषयमा छलफल गरिएको थियो। बैठकले एनआरएनएलाई पुनः ब्रान्डिङ गर्दै संगठनात्मक लक्ष्य र उद्देश्य हासिल गर्ने दिशामा अघि बढ्ने निष्कर्षसहित सम्पन्न भएको छ।

news-img
NRNA Admin • 10 May 2026

१७औँ युरोपियन क्षेत्रीय सम्मेलन “संकल्प 2026” को औपचारिक घोषणा

गैरआवासीय नेपाली संघको १७औँ युरोपियन क्षेत्रीय सम्मेलन “संकल्प 2026” को औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्याण्डमा गर्न लागिएको उक्त सम्मेलन १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको डब्लिनमा हुने छ। सम्मेलन युरोपमा रहेका नेपाली समुदायको साझा प्रतिबद्धता, एकता र समर्पणको प्रतीकका रूपमा रहनेछ । “नागरिकता, लगानी र समृद्धि” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले नीति निर्माताहरू, उद्यमी, लगानीकर्ता, महिला नेतृत्व, युवा नवप्रवर्तक, प्राज्ञिक वर्ग तथा नेपाली डायस्पोराबीच सहकार्य र संवादलाई सशक्त बनाउने लक्ष्य राखेको छ। सम्मेलनमा नागरिकता, लगानी, डायस्पोरा सहभागिता, संस्थागत पुनर्संरचना तथा ब्रान्डिङ, उद्यमशीलता र दिगो विकासजस्ता विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ। साथै महिला सम्मेलन र युवा तथा दोस्रो पुस्ता सम्मेलन पनि आयोजना गरिनेछ।

news-img
NRNA Admin • 03 May 2026

चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठकः एनआरएनए र सरकारबीच सहकार्यमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आगामी जनवरी २०२७ मा आयोजना गरिने चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठकले नेपाल सरकारका प्राथमिकता क्षेत्रलाई आधार मानेर संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ। संघका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको सहजीकरणमा सम्पन्न उक्त भर्चुअल (जुममार्फत) बैठकमा विदेशस्थित विभिन्न क्षेत्रका विज्ञहरूले विदेशमा रहेका नेपाली र नेपाल सरकारबीच प्रभावकारी संवाद तथा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, सरकारका प्राथमिकताहरू नै एनआरएनएका मुख्य प्राथमिकता बन्नुपर्ने धारणा व्यक्त गरिएको छ। बैठकमा प्रस्तावित विषयवस्तुहरू राष्ट्रिय योजना आयोगका लक्ष्यसँग मेल खाने, सान्दर्भिक तथा विश्वसनीय हुनुपर्नेमा विशेष जोड दिइएको छ। त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै सम्मेलन आयोजना गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ। यसले प्रवासी विज्ञहरूलाई प्रमुख वक्ताका रूपमा सहभागी गराउँदै सरकारी प्राथमिकता र अन्तर्राष्ट्रिय अनुभवबीच समन्वय कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, आगामी सम्मेलनलाई अघिल्ला संस्करणहरूको निरन्तरतासँगै अझ बढी परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। यसअघि सम्पन्न तीन संस्करणहरू नेपाल सरकारका प्रमुख चुनौतीहरूको पहिचान, प्रवासी सञ्जाल विस्तार तथा नीतिगत सुझावमा केन्द्रित थिए। अब भने कार्यक्रमलाई व्यवहारिक तथा अनुसन्धानमुखी बनाउँदै सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। संघका अध्यक्ष डा. हेमराज शर्माले सहभागीहरूलाई रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दै ती सुझावहरूलाई आत्मसात गर्दै चौथो विश्व ज्ञान सम्मेलनलाई प्रभावकारी, व्यवहारिक तथा परिणाममुखी रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

news-img
NRNA Admin • 01 May 2026

विदेशस्थित नेपाली विद्यार्थीका चुनौती र अवसरबारे छलफल, सहयोगमा एनआरएनए तत्पर

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मा ले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको हितमा संघले विभिन्न पहल अघि बढाएको बताउनुभएको छ। गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्न आयोजना गरेको गर्न “द प्लग” नामक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष शर्माले हालै नेपालका शिक्षा मन्त्रीसँग भेट गरी विदेश जाने विद्यार्थीहरूलाई प्रस्थानपूर्व आवश्यक सूचना दिने, सम्बन्धित मुलुकमा पुगेपछि दूतावासमार्फत सहयोग प्रणाली उपलब्ध गराउने तथा अध्ययनपछि नेपाल फर्किएपछि रोजगारीमा प्रवेश गर्न सहजीकरण गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँले आफू शैक्षिक क्षेत्रबाट आएकाले विद्यार्थीहरूका समस्याबारे जानकार रहेको उल्लेख गर्दै स्वास्थ्य बीमा नभएका मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई बीमा गरेर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो। अध्यक्ष शर्माका अनुसार एनआरएनएको केन्द्रीय कार्यालयमार्फत विदेश जानुअघि नै विद्यार्थीहरूलाई काउन्सिलिङ सेवा सुरु गर्ने तयारी भइरहेको छ। यसका लागि शैक्षिक परामर्शदातृ संस्थासँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले १८३ दिनभन्दा बढी विदेशमा बस्ने विद्यार्थीहरूलाई पनि एनआरएनएको सदस्यता दिनुपर्ने बताउँदै दूतावास तथा अन्य संघसंस्थासँग सहकार्य गरी विद्यार्थीहरूका लागि करियर फेयर, कानुनी सल्लाह लगायतका कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो। विद्यार्थीहरूको हितका लागि पहिलो पटक संघका उपाध्यक्षको संयोजकत्वमा विद्यार्थी कल्याण समिति गठन गरिएको पनि अध्यक्ष शर्माले जानकारी दिनुभयो। कार्यक्रममा विद्यार्थीहरूको हितमा स्वास्थ्य बीमा, करियर फेयर, कानुनी सल्लाह र अन्य आवश्यक सहयोग प्रणाली विकास गर्न सरकार, दूतावास, विश्वविद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेकोले सबै सरोकारवालाहरू सहकार्यका लागि आह्वान गरिएको छ।