नेपाली डायस्पोरालाई नेपालको लगानी तथा पर्यटन अवसरहरूसँग जोड्ने मुख्य उद्देश्य
गैरआवासीय नेपाली संघ अन्तर्गत एसिया-प्रशान्त क्षेत्रको आयोजना तथा राष्ट्रिय समन्वय परिषदको समन्वयमा आगामी अगस्त १५ र १६ २०२६ मा Crowne Plaza Guangzhou City Centre मा ११औँ एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आयोजना गरिदैछ l “आरोहण २०२६ – Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” मूल नारासहित आयोजना गर्न लागिएको सम्मेलन विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक, सामाजिक रुपमा जोड्नुको साथै पुस्तान्तरणमा केन्द्रित रहनेछ l सम्मेलनको संयोजकत्व एशिया-प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेललाई दिईएको छ।
चीनको विश्वव्यापी व्यापारिक केन्द्र ग्वाङझाउमा आयोजना हुने यस उच्चस्तरीय सम्मेलनले एशिया प्यासिफिक क्षेत्रमा रहेका दक्ष तथा स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालको लगानी तथा पर्यटन अवसरहरूसँग जोड्ने उद्देश्य लिएको छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार–व्यवसाय साझेदारी (B2B Networking), जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि र पूर्वाधार क्षेत्रमा विज्ञहरूको नेटवर्क निर्माण तथा श्रमिक सुरक्षाका विषयमा नीतिगत विषयमा घनिभूत छलफल समावेश हुनेछ l साथै, महिला उद्यमशीलता र युवा सहभागितालाई समेत प्राथमिकतामा राखिएको छ।
सम्मेलनले दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो मौलिक पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने विषयलाई विशेष प्राथमिकता दिईएको छ l साथै, विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक सम्बन्ध विस्तार गरिने छ l
दुई दिने सम्मेलनमा विभिन्न ५ वटा सत्रमा छलफलसहित कार्यपत्र प्रस्तुत गरिनेछ l सम्मेलनको पहिलो दिन अर्थात् अगस्त १५, २०२६ मा नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना गरिनेछ। त्यसपछि “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयक विशेष सत्र सञ्चालन हुनेछ। सो अवसरमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार तथा उत्पादनमूलक उद्योगका विषयमा छलफल गरिने छ l

दोस्रो दिन अगस्त १६ २०२६ पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विशेष छलफल हुने जनाइएको छ। सम्मेलनको समापनमा “ग्वाङझाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव र कार्ययोजना प्रस्तुत गरिने छ l सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ l जसमा NRNA नेतृत्व, लगानीकर्ता, व्यवसायी, कूटनीतिज्ञ, सरकारी अधिकारी तथा दोस्रो पुस्ताका युवाहरू सहभागी हुनेछन्।