News

  • Home
  • News
  • गोर्खा, लम्जुङ्ग र काभ्रेका भूकम्प पिडितलाई वितरण गरियो एनआरएन राहत प्याकेज

गोर्खा, लम्जुङ्ग र काभ्रेका भूकम्प पिडितलाई वितरण गरियो एनआरएन राहत प्याकेज



काठमाण्डौं । गैरअवासीय नेपाली संघले नेपालको भूकम्पपिडितका लागी तयार पारेको राहत प्याकेज प्रभावित गाउँहरुमा पुगेको छ । आइतवार गोर्खाको लाप्राक र दुम्जा गाउँ तथा लमजुङ्गको इलाम पोखरी, दूधपोखरी र बिचौर गाउँमा राहत सामाग्री वितरण गरिएको छ । गोर्खाको लाप्राक सवैभन्दा धेरै क्ष्ति भएको र अहिलेसम्म राहत पुग्न नसकेको ठाउँ हो जहाँ करिव एक हजार धर परिवार प्रभावित भएका छन् । शनिवार काठमाण्डौंबाट ट्रकमा गोर्खा पुर्‍याइएको राहत सामाग्री आइतवार दिनभर नेपाली सेनाको हेलिकप्टरमार्फत ती दूर्गम गाउँहरुमा पुर्‍याइ वितरण गरिएको हो । संघले गोर्खामा १ हजार थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार ७ सय किलो चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय किलो चामल वितरण गरेको छ । यसैगरी लम्जुङ्गमा १ हजार थान पाल, २ हजार थान कम्बल, १ हजार किलो चिउरा, १ हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल वितरण गरेको छ ।

 

राहत सामाग्री पुर्‍याउने तथा वितरण गर्ने प्रकृयामा बिभिन्न देशबाट आउनुभएका गैरआवासीय नेपाली स्वयंसेवकहरुसंगै संघका अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्ट प्रत्यक्षरुपमा सहभागी हुनुहुन्थ्यो । संघले स्थानीय समाजसेवी, सुरक्षा निकाय तथा गाविस सचिवको रोबरमा पिडित स्थानीयवासीहरुलाई रहात वितरण गरेको छ । राहत वितरणमा ती दूर्गम गाउँमा खटिएका नेपाली सेना र नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यसैगरी काभ्रे जिल्लाको चौबाटे चौकी, भुर्मुटारमा पनि आजै राहत सामाग्री वितरण गरिएको छ । यस वितरण कार्यमा अमेरिकाज्का क्षेत्रिय उपसंयोजक सोनाम लामा तथा एनआरएन लोक तिवारी पनि समावेश हुनुहुन्थ्यो । काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार किलो चिउरा र १ हजार थान कम्बल वितरण गरिएको छ । गैरआवासीय नेपाली संघले नुवाकोटका लागी पाल ८५९, चाउचाउ १००० कार्टुन तथा कम्बल १६५० थान राहत सामाग्री आइतवार साँझ त्यस तर्फ पठाएको छ, जुन सोमवार वितरण गर्ने योजना रहेको छ । नुवाकोटमा संघका तर्फबाट निवर्तमान अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष टि.वि. कार्की, कोषाध्यक्ष बद्री केसी, महिला संयोजक शपिला राजभण्डारी तथा अष्ट्रेलियाका एनआरएन नरेश थापा सहभागी हुनुहुन्थ्यो । यसैगरी जर्मनीका एनआरएन सन्तोष भट्टराईको संयोजकत्वमा धादिङ्ग जिल्लामा राहत वितरण गर्न तथा स्वास्थ शिविर संचालन गर्न स्वास्थ स्वयंसेवकहरु सहितको टोली त्यस तर्फ प्रस्थान गरेको छ । धादिङ्गमा सोमवार स्वास्थ शिविर संचालन तथा राहत वितरण गर्ने योजना रहेको छ ।

गैरआवसीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।

मिति: ४ मे, २०१५ ।