News

  • Home
  • News
  • धादिङको बसेरी र नुवाकोटमा गैरआवासीय नेपाली संघको राहत

धादिङको बसेरी र नुवाकोटमा गैरआवासीय नेपाली संघको राहत



काठमाण्डौ । गैरआवासीय नेपाली संघले उत्तरी भेग बसेरीका भूकम्पपिडीत स्थानीयबासिन्दालाई राहत बितरण गरेको छ ।गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले सोमबार बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र बिद्यालयका शिक्षकको रोहरबारमा राहत बितरण गर्‍यो ।

 

८ सय ६७ घरधुरी रहेको बसेरीमा गैरआवासीय नेपाली संघले सवै घरलाई एक–एकवटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ लगायतका सामाग्री प्रदान गरेको छ । गोरखाको सीमा क्षेत्रमा पर्ने यो बिकट गाउँमा भूकम्पबाट लगभग सवैजसो घर भत्किएका छन् । ७ जनाले भूकम्पमा परी ज्यान गुमाए । तर, ज्यान गुमाउनको संख्या धेरै नभएका कारण ९ दिनसम्म कतैबाट पनि सहयोग पाउन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

 

‘यति दिन भइसक्यो, खाने अन्न छैन, ओत लाग्ने ठाउँ छैन, भूकम्पले भन्दा पनि खान नपाएर मर्ने अबस्था भयो’ स्थानीयबासी सकमाया गुरुङले  भनिन् । वडा नम्बर ६ का बासिन्दा नारायणबहादुर कार्की भन्छन– ‘मानिसमात्र ७ जना मरेका हुन् तर, ९ वटा वडामा ९ वटा पनि सद्दे घर भेटन सकिन्न, हामी सहनै नसक्ने मारमा पर्‍यौं । ’वडा नम्बर दुईका बासिन्दा नन्दबहादुर घले भन्छन–‘हाम्रो पहिलो प्राथमिकता बास हो, त्यसपछि गास हो र अनि ओढ्ने ओछ्याउने हो । कम्तीमा बासचाहिँ सरकारले बनाइदेओस् भन्ने हाम्रो माग हो ।’

 

राहत बितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिनुभयो ।

 

‘तपाईहरु यस्तो दु:खमा परेको देख्न र सुन्न नसकेरै हामी आफ्नो खल्तीबाट पैसा झिकेर तपाईका लागि खाना र नाना बाँड्न आएका हौं’ उहााले भन्नुभयो–‘यस्तो बिपत् सवै मिलेर सामना गर्नुपर्छ, तपाईंहरु पनि स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्नुहोला। ’गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपिडीतलाई आपतकालिन राहतस्वरुप १० करोड रुपैयााको कोष बनाई बिभिन्न ७ जिल्लामा राहत बितरण अभियान सुरु गरेको थियो । जसअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोर्खा, लमजुङ, काभ्रे, धादिङमा राहत बितरण भइसकेको छ । पहिलो चरणमा १० हजार परिवारलाई राहत बितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत बितरण कार्य भइरहेको छ । गैरआवासीय नेपाली संघले नुवाकोटको राकुका देवी गा.वि. स. र आसपासका भूकम्प पिडितहरुका सहयोगार्थ पाल ८५९, चाउचाउ १००० कार्टुन तथा कम्बल १६५० थान राहत सामाग्री सोमवार वितरण गरेको छ । नुवाकोटमा संघका तर्फबाट राहत वितरणमा निवर्तमान अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष टि.वि. कार्की, कोषाध्यक्ष बद्री केसी, महिला संयोजक शपिला राजभण्डारी तथा अष्ट्रेलिया तथा चाईनाका एनआरएनहरुको सहभागीता रहेको थियो।

 

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ ।