Press Release

  • Home
  • Press Releases
  • NRNA Press Release 13 : गैरआवासीय नेपाली संघ, ९५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक तथा कार्यशाला गोष्ठी

NRNA Press Release 13 : गैरआवासीय नेपाली संघ, ९५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक तथा कार्यशाला गोष्ठी


Ref.        Press Release-13/2325                                                                                                                                  


गैरआवासीय नेपाली संघ, ९५औँ  अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक तथा कार्यशाला गोष्ठी

२१–२२ जनवरी २०२४ (तीन साताव्यापी कार्यक्रमसहित)

 

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ९५औँ पूर्ण बैठक तथा  ३ दिने कार्यशाला गोष्ठी हालै चन्द्रागिरिमा सम्पन्न भयो । गोष्ठीमा  दुई दर्जन देशका ७० भन्दा बढी कार्यसमितिका सदस्य र  अन्य पदाधिकारी तथा सदस्यहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागिता रह्यो ।

 

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा भएको कार्यशालामा संस्थाका ८ विभागीय प्रमुखहरूले आ-आफ्ना कार्ययोजना प्रस्तुत गर्नुभयो । कार्यशालामा नेपालका प्रमुख ६ राजनीतिक दलका नेताहरूसँग एनआरएनए नागरिकता, विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकार, सामाजिक सुरक्षा कोषलगायतका विषयमा छलफल भयो । 

 

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सांसद शंकर भण्डारी, नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल, नेकपा (एमाले) का सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झा र गणेश पराजुली, नेकपा (एकीकृत समाजवादी) का  सांसद तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे, नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री ध्रुवबहादुर प्रधान, संविधानसभा सदस्यहरू खिमलाल देवकोटा (माओवादी केन्द्र), राधेश्याम अधिकारी (नेपाली कांग्रेस), एकीकृत  समाजवादीकी  सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री, संघका संस्थापक महासचिव भीम उदास लगायतको उपस्थिति थियो । गैरआवासीय नेपाली संघ उहाँहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

 

कार्यशाला गोष्ठीसहित जनवरी महिनामा विभिन्न कार्यक्रम सम्पन्न गरेको समेत जानकारी गराइन्छ । जसअन्तर्गत कोशी, मधेश तथा लुम्बिनी प्रदेशलाई मोबाइल ब्लड बस हस्तान्तरण, सेती  अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण, नेपाल क्रिकेट संघलाई १० लाख रुपैयाँ सहयोग हस्तान्तरण, नेपाल भलिबल संघलाई ८ लाख रुपैयाँ सहयोग हस्तान्तरण, पहिलो एनआरएनए इलाम गोल्ड कप फुटबल संघलाई ५ लाख ८० हजार रुपैयाँ सहयोग हस्तान्तरण, वैदेशिक रोजगार कल्याण कोषअन्तर्गत राहत वितरण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक रोजगारबारेमा प्रमुख ६ राजनीतिक दलहरूबीच अन्तरक्रिया, संस्थागत सहकार्यका लागि विभिन्न संघसँस्था, स्थानीय तथा प्रादेशिक सरकारसँग छलफल, भेटघाट, सुदूरपश्चिम सरकारको आर्थिक मामिला मन्त्रीसँग लगानीका सम्भावना छलफल, आदि रहेका छन् ।

 

कार्यशाला गोष्ठीको निर्णयको सारांश निम्नानुसार रहेको जानकारी गराइन्छ ।

 

निर्णयहरुः-

१. गैरआवासीय नेपाली संघलाई समयानुकूल व्यवस्थित तथा परिमार्जन गर्ने उद्देश्यले आगामी अक्टोबर २०२४ सम्म संस्थाको स्थायित्वको लागि ‘भिजन २०५०’ अवधारण तय गरिनेछ । संस्थामा नयाँ पुस्ता, युवा, महिला, वैदेशिक रोजगार र विभिन्न पेशामा रहेका गैरआवासीय नेपालीलाई समेत उचित स्थान दिन र अहिलेको आवश्यकता अनुरूप नयाँ दृष्टिकोण तय गर्न सन् २०३०, २०४० र २०५० को दीर्घकालीन योजना तय गरिनेछ । 

२.      गैरआवासीय नेपाली संघ र नेपाल सरकारको संयुक्त लगानीमा स्थापित एनआरएन नेपाल डेभलपमेन्ट फण्ड अन्तर्गतको १०० मिलियन फण्डको गैरआवासीय नेपाली संघद्वारा प्रबर्धित कम्पनी नेपालमै पहिलेपटक डलरमा आइपिओ (IPO) जारी गर्ने कम्पनी बनेकोप्रति बैठक खुशी व्यक्त गर्दछ ।

गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्न कानुनी बाधा अड्चन हटाई आवश्यक कानुन संशोधन गर्न संघ नेपाल सरकारसँग आग्रह गर्दछ ।

 

३. हाल गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको सम्पत्तिको अधिकार, भिसा प्राप्तिलगायत अन्य नेपाली नागरिकतासरह सहज तरिकाले नागरिकताको भोगचलन गर्न पाउनका लागि आवश्यक कानुन ल्याउन नेपाल सरकारसमक्ष आग्रह गरिन्छ । कानुनी व्यवस्था हुनुपूर्व तत्काललाई मन्त्रिपरिषद्ले एक सर्कुलर जारी गरी अध्यागमन, मालपोतलगायतका गैरआवासीय नेपालीका सरोकारवाला सरकारी निकायहरूमा संविधानले परिकल्पना गरेअनुसार अधिकार प्राप्त गर्ने बाटो खुलाउन नेपाल सरकारलाई अनुरोध गरिन्छ ।

 

४. वैदेशिक रोजगार तथा स्वरोजगारमा रहेका बढीभन्दा बढी नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न राष्ट्रिय समन्वय परिषद्मा छुट्टै संयन्त्रको स्थापना गरिनेछ । साथै, वैदेशिक रोजगार कल्याणकारी कोषलाई ५ करोड रुपैयाँको बनाइनेछ । यस्तै वैदेशिक रोजगार परामर्श कार्यक्रमलाई ७ वटै प्रदेशमा सञ्चालन गरिनेछ । 

 

५. सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत मतदान गर्ने व्यवस्था गर्न विधान संशोधन प्रक्रियालाई अघि बढाउने निर्णय गरिएको छ ।

 

६. विदेशमा सिकेको ज्ञान सीप र विषय विज्ञतामा दखल राख्ने विज्ञहरूको सञ्जाल विस्तार गर्न एक राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बराबरको मान्यता पाउनेगरी प्रोफेसनल कोडिनेशन काउन्सिल (पीसीसी) को गठन गर्न विधानमा  आवश्यक संशोधन गर्ने । विदेशमा सिकेको ज्ञान सीप र विषय विज्ञतालाई नेपालको समृद्धिमा लगाउने उद्देश्यले सन् २०२४ मा नेपालमा चौथो विज्ञ सम्मेलनको आयोजना गरिनेछ । 

 

७. नेपाल सरकार तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गैरआवसीय नेपाली संघले नेपाल सरकारसँगको सहकार्यमा गत वर्षदेखि सञ्चालित  नेपाल सडक बालबालिका सहायता परियोजनालाई निरन्तरता र थप तीव्रता दिँदै हाल रहेको ५० जनाको सहयोगलाई सन् २०२५ सम्म १०० जनालाई पुर्‍याइनेछ । सन् २०५० सम्ममा नेपालका सडक बालबालिकारहित बनाउन गैरआवासीय नेपाली संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।

 

८. गैरआवासीय नेपाली संघको महिला विभागको सक्रियतामा यसै कार्यकालमा महिलाको उद्यमशीलता विकास गरिने कार्यक्रम ल्याइने छ । बालबालिकाको वृद्धि विकास तथा महिलाको स्वास्थ्य क्षेत्रमा सहायता गर्ने विशेष परियोजना अघि बढाइनेछ । र, यसै वर्ष नेपालमा पहिलोपटक एनआरएन महिला विश्व सम्मेलनको आयोजना गरिनेछ ।

 

९. गैरआवासीय नेपाली संघको ७ वटै प्रदेशमा मोबाइल ब्लड बस दिने निर्णय अनुसार बाँकी थप दुई प्रदेश गण्डकी र कर्णालीमा मोबाइल ब्लड बसका साथै देशका राजधानी शहर काठमाडौंमा १ गरी यस कार्यकालमा जम्मा ३ मोबाइल ब्लड बस दिने निर्णय भएको छ ।  यसअघि मोबाइल ब्लड बस व्यवस्थापनको लागि  ३ करोड ३० लाख बराबरको आर्थिक सहयोग गर्ने दाताहरूप्रति संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ ।  

 

१०. एक एनसीसी एक च्यारिटी परियोजना अन्तर्गत राष्ट्रिय समन्वय परिषद्ले गर्ने परियोजनामा कम्तीमा  १० प्रतिशत योगदान  आईसीसीले गर्ने निर्णय भएको छ । राष्ट्रिय समन्वय परिषद्ले सञ्चालन गर्ने ती परियोजनाको सहयोगार्थ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आर्थिक संकलनमा सहयोग गर्ने तथा नेपालमा परियोजना सञ्चालनमा समन्वय गरिनेछ ।

 

११. गैरआवासीय नेपाली संघले जाजरकोट र पश्चिम रुकुममा भूकम्पले क्षति गरेको संरचना पुननिमार्णका लागि १ करोड रुपैयाँ बराबरको  आर्थिक सहयोग गर्ने निर्णय भएको छ  । जसअन्तर्गत आवश्यकता अनुसार शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा परियोजना छानिनेछ । 

 

१२.  स्मार्ट एनआरएनएको बहुआयमिक संरचनालाई थप सशक्त रूपमा विकास गर्दै संस्थाभित्र एआई प्रविधिमार्फत संस्थाको रूपान्तरणमा उच्च प्रविधिको प्रयोग गरिनेछ । सदस्यता वितरणलगायतको प्रणाली एआईमार्फत स्वचालित बनाइनेछ । 

 

१३. गैरआवासीय नेपाली संघको सूचना तथा सञ्चार विभागलाई समयसापेक्ष विकास गरिनेछ । संस्थाको आन्तरिक सूचना तथा सञ्चार प्रणाली सशक्त बनाइने, सबै पदाधिकारीले संस्थाको सूचना सञ्चार नीति तथा निर्देशिका अनुसार कार्य गरिनेछ । संघका दैनिक समाचारहरूलाई व्यवस्थित तथा प्रभावकारी बनाइनेछ ।

 

१४. विश्वका विभिन्न देशमा अध्ययनको लागि पुगेका नेपाली विद्यार्थीहरूको सहयोगार्थ एक विशेष समिति गठन गर्ने तर तत्कालै काठमाडौंस्थित सचिवालयमा विद्यार्थी हेल्प डेस्कको स्थापना गर्ने निर्णय भएको छ । 

 

१५. विदेशमा रहेका भावी पुस्तालाई नेपाली भाषामा पहुँच पुर्‍याउने उदेश्यले डिजिटल तथा भर्चुअल भाषा कक्षा सञ्चालन गर्न आवश्यक तयारी अघि बढाउने निर्णय भएको छ । यसको लागि संघका राष्ट्रिय समन्वय परिषद्हरुसँग आवश्यक सहयोग र परामर्श गरिनेछ । 

 

१६. अमेरिकामा हुने टि-२० क्रिकेट प्रतियोगितालाई सहयोग गर्न एक विशेष समितिको गठन गर्ने र नेपाली खेलाडीहरूलाई हौसला दिन खेल मैदानमा उत्साहपूर्वक उपस्थितिको लागि गैरआवासीय नेपालीहरूलाई अनुरोध गर्ने निर्णय भएको छ । नेपाल क्रिकेट संघसँगको दीर्घकालीन विकासको लागि गैरआवासीय नेपाली संघ र नेपाल क्रिकेट संघबीच विशेष पार्टनरसिप सम्झौता गरिनेछ । 

 

 १७. कोशी प्रदेश सरकारसँगको सहकार्यमा कोशी प्रदेशमा एक चिया फेस्टिभलको आयोजना गर्ने र आगामी दिनमा अन्य प्रदेशमा समेत शिक्षा, स्वास्थ्य तथा लगानीका क्षेत्रमा सहकार्य गरिनेछ ।

 

 १८. पढ्दै कमाउँदै अभियान अन्तर्गत गैरआवासीय नेपाली संघको अग्रसरतामा आगामी वर्षभित्र कम्तीमा २ विद्यालयमा यो परियोजना सञ्चालन गर्ने निर्णय भएको छ ।

 

१९. संघको आर्थिक अनुशासनमा शून्य सहनशीलता नीति लिइएकोमा आर्थिक पारदर्शी र प्रभावकारी रूपमा अघि बढाइने छ । संघको आन्तरिक स्रोत तथा बाह्य – अन्तर्राष्ट्रिय फण्ड आकर्षित गरी दीर्घकालीन लक्ष्य प्राप्तको लागि संघ अन्तर्गत रहेको एनआरएन फाउण्डेशनलाई अन्तर्राष्ट्रिय फोरममा दर्ताको प्रक्रिया अघि बढाइनेछ । साथै संघले लिएको विभिन्न लक्षहरु  हाँसिल गर्न तत्  सम्बन्धित विभिन्न सरोकारवाला राष्ट्रिय वा अन्तराष्ट्रिय संघ संस्था तथा अभियान संग सामाजिक सहकार्यको नीति र योजना अनुसार अघि बढिने छ ।

 

तीन साताव्यापी संघका गतिविधिहरु

–     कोशी, मधेश तथा लुम्बिनी प्रदेशलाई मोबाइल ब्लड बस हस्तान्तरण

–     सेती अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

–     नेपाल क्रिकेट संघलाई १० लाख रुपैयाँ सहयोग हस्तान्तरण 

–     नेपाल भलिबल संघलाई ८ लाख रुपैयाँ सहयोग हस्तान्तरण

–     पहिलो एनआरएनए इलाम गोल्ड कप फुटबल संघलाई ५ लाख ८० हजार रुपैयाँ सहयोग हस्तान्तरण

–     वैदेशिक रोजगार कल्याणकोष अन्तरर्गत राहत वितरण

–     गैरआवासीय नेपाली नागरिकता, मताधिकारको बारेमा प्रमुख ६ राजनीतिक दलहरुबीच अन्तरक्रिया 

–     संस्थागत सहकार्यको लागि विभिन्न संघसँस्था, स्थानीय तथा प्रादेशिक सरकारसंग छलफल तथा भेटघाट

–     सुदुरपश्चिम सरकारको आर्थिक मामिला मन्त्रीसंग लगानीका सम्भवनाका बारेमा छलफल

–     महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री सुरेन्द्र राज आचार्यज्यूसंग गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीज्यू सहित प्रतिनिधिमण्डल एनआरएनएको परोपकार तथा मानव कल्याणका परियोजाना बारे जानकारी दिन भेटघाट ।

–    माननीय श्रम मन्त्री सरद सिंह भण्डारीज्यूसंग गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी ज्यू सहित प्रतिनिधिमण्डलले  एनआरएनएको श्रमिक  कल्याणका कार्यक्रम तथा परियोजाना बारे जानकारी दिन भेटघाट।

–     नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालज्यूसंग गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीज्यू सहित प्रतिनिधिमण्डल एनआरएनएको लगानी तथा रोजगार शृजना कार्यक्रम तथा परियोजाना बारे जानकारी दिन भेटघाट। एनआरएनएले सम्बन्धित क्षेत्रको विकासमा सामाजिक सहकार्यको मोडालिटीमा एक मुख्य प्रबर्द्धकको रुपमा काम गर्ने छ ।

                                   

गौरीराज जोशी                                           फणिन्द्र पन्त

महासचिव                                               प्रवक्ता

गैरआवासीय नेपाली संघ                                          गैरआवासीय नेपाली संघ

 

मिति: १ फेब्रुअरी, २०२४