गैरअवासीय नेपाली संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) वीच भेटघाट र छलफलः
हिजो सन् २०१८ जनवरी २९ का दिन गैरआवासीय नेपाली संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सक्रियतामा आर्थिक पत्रकारहरुसंग एक भेटघाटको कार्यक्रम आयोजना गर्यो । यस कार्यक्रमको मुख्य उद्देश्य संघका गतिविधिहरुमा सुरुदेखी नै दुई संस्था वीच कायम रहेको सहकार्यलाई निरन्तरता दिने रहेको थियो ।हिजो सन् २०१८ जनवरी २९ का दिन गैरआवासीय नेपाली संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सक्रियतामा आर्थिक पत्रकारहरुसंग एक भेटघाटको कार्यक्रम आयोजना गर्यो । यस कार्यक्रमको मुख्य उद्देश्य संघका गतिविधिहरुमा सुरुदेखी नै दुई संस्था वीच कायम रहेको सहकार्यलाई निरन्तरता दिने रहेको थियो ।
कार्यक्रमको सुरुमा संघका प्रवक्ता भूषण घिमिरेले सहभागीहरुलाई स्वागत गर्दै संघले नयां कार्यकालमा गरेका गतिविधिहरु र भावी कार्यक्रमहरु बारे जानकारी गराउनुका साथै संघले गरेका गतिविधिहरुलाई विश्वभर जानकारी गराउनको लागी सेजनसंगको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । साथै उहाँले नेपालका संचारकर्मीहरुले सदैव गैरआवासीय नेपालीहरुका चासोका विषयहरुलाई आफ्नो संचार माध्यममा प्राथमिकता दिएकोमा आभार प्रकट गर्नु भयो ।
संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघका परियोजनाहरुमा भएका कामको साथै संघका हालका क्रियाकलापहरु र भर्खरै बेलायतमा सम्पन्न भएको लगानी सम्बन्धी गोष्ठी बारे अवगत गराउनु भयो । उहाँले नेपालको लगानीमा प्रवर्धन गर्नको लागी नेपालमा एक लगानी कोष खडा गर्ने र यस कोषमा करीव १० अरव रकम जम्मा हुने लक्ष्य राखेको जानकारी गराउनु भएको थियो । यसका साथै उहाँले छोटो समयमा कार्यक्रमको आयोजना गरिएको भएता पनि आफ्नो अमुल्य समय दिएर सहभागीता हुनु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।
लगानी विशेषज्ञ अनल भट्टराईले गैरआवासीय नेपाली संघको पहलमा खडा गर्न लागिएको १० अर्वको लगानी कोषको स्थापनाका लागि सरकारका निकायहरुसंग भएको पहल र संभावित प्रकृया बारे जानकारी गराउनु भएको थियो ।
सहभागी हुनु भएका संचारकर्मीहरुले संघले गरेका गतिविधिहरु बारे विभिन्न जिज्ञासा राखेका थिए । जसमा प्रायजसो संचारकर्मीहरुले विगतमा संघ र संचारकर्मीहरु वीच संवादमा कमी आएको गुनासा गरेका थिए । यसका साथै उहाँहरुले नेपालको संचार जगत नेपालको उन्नती र प्रगतीमा संघले गर्ने पहलमा साथ दिन सदैव तत्पर रहेको जानकारी गराउनु भएको थियो ।
यस कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, प्रवक्ता भूषण घिमिरे, एशिया प्रशान्तका क्षेत्रीय संयोजक किरणविक्रम थापा, युकेका पूर्व आइसिसि सदस्य सुवाष अधिकारी, आर्थिक क्षेत्रका विशेषज्ञ अनल भट्टराई, सेजनका अध्यक्ष पुष्पराज आचार्य लगायतका पदाधिकारी तथा सदस्यहरु र सचिवालयका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागीता रहेको थियो ।
आजको कार्यक्रममा सहभागीहरुलाई संघले ३ महिने कार्यकालमा गरेका गितविधिहरु बारे एक प्रेस नोट वितरण गरेको थियो । प्रेस नोट यसै साथ संलग्न गरिएको छ ।
प्रेस नोटः
गैरआवासीय नेपाली संघको वर्तमा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले कार्यभार सम्हालेको लगभग १०० दिन पुरा भएको छ । संसारभर छरिएर रहेको र दिनानुदिन विस्तार हुँदै गैरहेको हाम्रो गैरआवासीय नेपाली अभियान र संघले गर्नु पर्ने काम एवं विधानत समन्वय परिषद्ले गर्नु पर्ने पदपूर्ति, विभिन्न समिति तथा टास्क फोर्सहरुको निर्माण र नेपालस्थित सचिवालयलाई बढी भन्दा बढी सक्षम र चुस्त बनाउनु लगायतका आन्तरिक कामहरुमा हाम्रो यो अवधिको बढी समय खर्चेका छौं ।
पूर्व कार्यकालमा अधुरो रहेका लाप्राक नमुना बस्ती, संघको सचिवालय भवन तथा संखमुल पार्क निर्माणमा हामीले विशेष जोड दिएका छौं । संघको पहिलो प्रत्यक्ष्य बैठकमा नै ती आयोजनाहरुका ठेकेदार, परामर्शदाता सहित सम्बन्धित पक्षलाई निम्त्याएर तीन वटै आयोजनाहरुका गतिबिधि अध्ययन गरिएको थियो । यी तीनवटै आयोजनाहरु संघका अध्यक्ष लगायत उपाध्यक्षहरुको नेतृत्वमा अघि बढिरहेका छन् । यी सबै प्रोजेक्टहरुको स्टेरिंग कमिटी गठनभई तदारुकताका साथ कार्य संचालन भइरहेको छ ।
१) लाप्राक नमूना वस्ती निर्माणका लागि अध्यक्षज्यूकै पहलमा नेपाली सेनाका ५० जवान बढाउने काम भएको छ र हाल प्रयोग भैरहेका निर्माण सामग्रीहरुमा थप सुधार गर्दै कामलाई द्रुत गतिमा अघि बढाइएको छ । महिला उपाध्यक्ष सपिला राजभण्डारीले यो आयोजनाको संयोजन गरिरहनु भएको छ । हालसम्म ३२७ वटा घरको डिपिसि सम्मको कार्य सम्पन्न भईसकेको र ३ वटा घर पूर्ण रुपमा निर्माण भइसकेको छ र यस बाहेक अन्य निर्माण सम्बन्धी कार्यहरु नियमित रुपमा भइरहेको छ । केही दिन अघिदेखि मौसमका कारणले काममा शिथिलता आएको थियो । तर मौसम सुधारसंगै काम पुनः सुचारु भएको छ ।
निर्माण कार्य समयमै सम्पन्न गर्न मौसमी कठिनाइ, निर्माणस्थलको कठिन भौगोलिक अवस्था स्थानीयवासीको सहयोग र कामदारको उपलब्धता प्रमुख चुनौति रहेको छ ।
२) संघको कार्यालय भवन: भवन निर्माण कार्य तिव्र गतिमा भइरहेको छ । सकेसम्म छिटो निर्माण कार्य सम्पन्न गरी आफ्नै भवनबाट सचिवालयको कार्य सम्पादन गर्ने दिनको प्रतीक्षामा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । सचिवालय भवनको संयोजन उपाध्यक्ष कुमार पन्तले गरिरहनु भएको छ । पहिलो चरणको कार्य आगामी बैशाख सम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट संचालन गर्ने तयारी भैरहेको छ । पहिलो चरणमा सम्पन्न हुने उक्त भवनको लागि जग्गा सहित करिब २५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । उक्त भवनको दोस्रो चरणको निर्माण कार्यलाई पनि निरन्तरता दिइने छ । यसका लागि स्रोत जुटाउनु पर्ने अवस्था छ ।