News

  • Home
  • News
  • संघको महिला विभागको सक्रियतामा लण्डनमा एक गजल सांझ सम्पन्नः

संघको महिला विभागको सक्रियतामा लण्डनमा एक गजल सांझ सम्पन्नः



भूकम्प प्रभावित पश्चिम नेपालका महिला बालबालिकाका लागि सहयोग जुटाउन मंगलबार सांझ  लण्डनमा एक गजल सांझ सम्पन्न भएको छ ।  

 

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागको सकृयतामा सम्पन्न सो कार्यक्रमको संयोजन  युरोप क्षेत्रकी क्षेत्रीय महिला संयोजक प्रसुना कंडेलले गर्नुभएको हो   । ह्यारोस्थित ब्लु रुम स्पोर्टस्मा आयोजित कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले  च्यारिटी कार्यक्रम गरेकोमा महिला विभाग तथा फोरमको प्रशंसा गर्नुभयो । उहाँले भूकम्प पीडितको लागि सानो सहयोगले ठूलो आत्मवल पुग्ने बताउँदै आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा लोकप्रिय गजल गायक राज सिग्देलले  जितेर गई वा हारेर गई,  लगायतका  आफ्ना झन्डै दर्जन लोकप्रिय गजल  सुनाउनु भएको थियो ।  

 

कार्यक्रममा सन्जिता देउजा एवं नारायण गाउंले, कृष्ण भट्ट, फणिन्द्र भट्टराई, बासु लामिछाने लगायतले पनि  गजल, कविता सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख रोशन खनालले भूकम्पपीडित महिला बालबालिकाका लागि च्यारिटी गर्न जुटेको गैरआवासीय नेपाली संघको प्रशंसा गर्नु भएको थियो । 

विशेष अतिथी लन्डन बरो अफ ह्यारो मेयर काउन्सिलर रामजी चौहानले च्यारिटी लक्षित कार्यक्रमको सराहना गर्दै कार्यक्रमले सामाजिक सदभाव अभिवृद्धि गर्ने भएकाले आफूले ऐक्यवद्धता जनाएको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथी ग्रीनवीच बरो, काउन्सिलका डेपुटी मेयर जित रानाभाटले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम संयोजक प्रसुनाले सहभागी र प्रायोजक सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले रुकुम तथा जाजरकोटका भूकम्प पीडित महिला बालबालिकाका लागि न्यानो कपडा, पछ्यौरा, स्यानिटेरी प्याड, चप्पल र दूध बाँडन सानै भएपनि प्रयास गरिएको बताउनुभयो । कंडेलले कार्यक्रमबाट बचेको पैसा तत्तकालै भूकम्प पीडितको सहयोगार्थ नेपाल पठाइने जानकारी दिनुभयो । यसअघि जाजरकोट र पश्चिम रुकुममा भूकम्प गए पछि गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको टोली प्रभावित क्षेत्रमा राहत वितरण तथा स्वास्थ्य शिविर संचालन गरेको थियो ।

 

गैरआवासीय नेपाली संघ

महिला विभाग