News

  • Home
  • News
  • एनआरएनए अध्यक्षद्वारा क्रिकेट मैदान निर्माण गर्न १० लाख सहयोगः

एनआरएनए अध्यक्षद्वारा क्रिकेट मैदान निर्माण गर्न १० लाख सहयोगः



दुबई । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले काठमाण्डौको मुलपानीमा निर्माणाधीन ‘इनडोर क्रिकेट मैदान’ निर्माण गर्न १० लाख रुपैयाँ सहयोग गर्नु भएको छ । एनआरएन युएईको अग्रसरतामा सुरु भई हाल बिश्वका बिभिन्न मुलुकमा सहयोग संकलन अभियान चलिरहेको छ । सोही अभियानमा अध्यक्ष घलेले ब्यक्तिगतरुपमा १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो । नेपाली कामदारका समस्याबारे जानकारी लिन हालै युएई भ्रमणमा रहनुभएका अध्यक्ष घलेले दुवईमा आयोजित एक कार्यक्रममा आर्थिक सहयोगको घोषणा गर्नुभएको हो । ‘बिश्वभर रहेका नेपालीलाई एकै सूत्रमा बाँध्ने नेपाली क्रिकेटको बिकाशका लागि मेरो पूर्ण सहयोग रहनेछ’ घलेले भन्नुभयो–‘देशभित्रै राम्रा पूर्वाधार र खेल्ने वातावरण दिन सकेमात्र बिश्वकप यात्रामा लागेको नेपाली क्रिकेट टीमले राम्रो खेल्न सक्नेछ ।’ नेपाली क्रिकेट टोलीको भबिष्यप्रति आफु निकै आशावादी रहेको उहाँले बताउनु भयो । सन् २०१३ जनवरी १ बाट सुरु सहयोग संकलन अभियानमा हालसम्म घलेले दिएको सहित करिव ४२ लाख रुपैयाँ संकलन भएको गैरआवासीय नेपाली संघ मध्य पूर्वका क्षेत्रीय संयोजक चन्द्र रोकाहाले जानकारी दिनु भयो । इन्डोर अभ्यास मैदान निर्माणका लागि करिव ६२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।