Activities

  • Home
  • Activities
  • अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास

अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास



गैरआवासीय नेपाली संघ एनआरएनएको सहयोगार्थ पोखराको महेन्द्रपुलमा निर्माण हुन लागेको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास भएको छ । संघका अध्यक्षद्वय बद्री केसी तथा रबिना थापा र महानगरका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । संघकी अध्यक्ष रबिना थापाको संयोजकत्वमा बन्न लागेको शौचालय र चमेना निर्माण पोखरा महानगरपालिकाको स्वामित्वमा बन्नेछ । उक्त परियोजनाको अनुमानित लागत करीब १ करोड रहेको छ । महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा सुरु हुन लागेको योजनामा एनआरएनएले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्ने समझदारी भएको छ । उक्त अवसरमा संघकी अध्यक्ष थापाले लामो समयदेखिको पहल सार्थक भएको भन्दै छिट्टै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । यस्तै संघका अध्यक्ष डा बद्री केसीले विदेशी स्तरको शौचालय र चमेनागृह निर्माण हुने बताउनुभयो । उक्त अवसरमा महानगरका प्रमुख धनराज आचार्यले शौचालय सुविधा सम्पन्न होटेलको बराबर हुने बताउनुभयो । शौचालयबाट ग्याँस निकालिने र त्यसको प्रयोगबाट नेपाली शैलीको चमेना गृह सञ्चालन हुने मेयर बताउनुभयो । उक्त क्षेत्र आसपासमा केही चौतारीहरू निर्माण गरिने र अधिकांश स्थान खुल्ला नै राखिने आचार्यले बताउनुभयो । ‘यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ । अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ । चमेनागृहसहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ’, प्रमुख आचार्यले भन्नुभयो । आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने गरी निर्माण कार्य अघि बढाइनेछ ।