News

  • Home
  • News
  • प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र

प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी असार १५–१६ गते (२९–३० जुन २०२४)मा आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र रुपमा अघि बढाएको छ । सोही सन्दर्भमा आज अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भगवती चौधरीसंग  भेटेर सम्मेलनको अवधारणापत्र बुझाएको छ ।
भेटमा डा केसीले सम्मेलनमा नेपाल सरकारको सहकार्यका लागि अनुरोध गर्दै यसअघि पनि विभिन्न चरणमा भएका छलफलको जानकारी गराउनुभयो । उहाँले मन्त्री चौधरीको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति गठन गरी अन्तर्राष्ट्रिय महिला सम्मेलनलाई सफल पार्नका लागि आवश्यक निर्देशन एवं सहयोग गर्नका लागि समेत मन्त्री चौधरी समक्ष अनुरोध गर्नुभयो ।
जवाफमा मन्त्री चौधरीले संघले आयोजना गर्न लागेको सम्मेलनले स्वदेश तथा विदेशमा रहेका सबैलाई समेटनुपर्नेमा जोड दिँदै समिति गठन एवं अन्य तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संघले सन् २०२४ को २९–३० जुन (२०८१ असार १५ र १६) मा काठमाडौंमा प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनको तयारी स्वरुप यसअघि पनि मन्त्रालय तथा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।
भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला सम्मेलनमार्फत स्वदेशका ग्रामिक भेगदेखि विश्वमा उदाहरणीय बनेका महिलालाई साक्षतकार गराउने, महिला बालबालिकाको उत्थान, महिला सशक्तिकरण, स्वास्थ्य शिक्षा लगायतका विषयमा बृहत छलफल गर्ने र सोही आधारमा सरकार तथा सरोकारवाला निकायलाई सुझाव पेश गर्ने बताउनुभयो । यस्तै महिला सचिव टीका गुरुङले संघले सडक बालबालिकाका लागि हाल सञ्चालन गरिरहेका परियोजनाको बारेमा मन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो ।
आजको भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको उपस्थिति थियो ।