News

  • Home
  • News
  • पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा निर्माण गरिएको शौचालय हस्तान्तरण

पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा निर्माण गरिएको शौचालय हस्तान्तरण



पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिन् ।

सो क्रममा प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताए । उनले पोखराको व्यस्त बजार महेन्द्रपूलमा निर्माण गरिएको अत्यावश्यक आधुनिक प्रविधि जडित सार्वजनिक शौचालयले सबैलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

पोखरा घुम्न आउने पर्यटक तथा नागरिकको सेवाका लागि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको प्रमुख आचार्यले बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष समेत रहेकी मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखराको मुटु महेन्द्रपुलमा नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा साझेदारी गर्न पाउँदा खुसी लागेको बताइन् ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पोखराको महेन्द्रपुलमा रहेको सार्वजनिक जग्गा सही सदुपयोग गरिएको बताए ।

महिला पुरुष शौचालय, महिलाहरूका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सर सहितका बेसिन तथा धाराहरू जडान गरिएको छ । बायो डाइजेस्टर भने जडान गर्न बाँकी नै छ । महेन्द्रपुलको उत्तर तर्फ कि.न.८२ को ५ आना क्षेत्रफलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको हो । सो स्थानमा सुन्दर पार्क समेत निर्माण हुनेछ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ । शौचालय निर्माणका लागि एनआरएनएले रु ६० लाख उपलब्ध गराएको छने पार्क निर्माणका लागि थप रु.२० लाख प्रदान गर्नेछ । बाँकी खर्चको व्यवस्थापन पोखरा महानगरपालिकाले बेहोर्नेछ । शौचालय लाखे विल्डर्स नेपाल प्रा.लिले निर्माणको जिम्मा पाएको थियो । यसको ड्रोइङ र डिजाइनको काम सर्ग आर्किटेक प्रा.लिले निशुल्क रुपमा गरेको हो ।

 

हाल पोखरा महानगरपालिकामा १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् । कार्यक्रममा एनआरएनएका सहकोषाध्यक्ष कृष्ण तिम्सेनालगायतकाे सहभागिता थियो ।