News

  • Home
  • News
  • गैरआवासीय नेपाली नागरिकताको मुद्दा सम्बोधन हुन्छ, त्यसमा कुनै समस्या छैन : राष्ट्रपति रामचन्द्र पौडेल

गैरआवासीय नेपाली नागरिकताको मुद्दा सम्बोधन हुन्छ, त्यसमा कुनै समस्या छैन : राष्ट्रपति रामचन्द्र पौडेल



गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट सम्पन्न भएको छ । राष्ट्रपति निवासमा शुक्रबार (१७ मार्च २०२३ ) मा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दै संघको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष थापाले लामो समयदेखि संघले उठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चाल्नुपर्ने कदम लगायतका विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभयो।
सो अवसरमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधान समेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिई विश्वभरका गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय सम्बोधन गर्न राष्ट्रपति समक्ष आग्रह गर्नुभयो । अध्यक्ष आचार्यले गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमाथिको अधिकार सम्बन्धमा स्पष्ट कानूनी व्याख्या नहुँदा समस्या भोग्नुपरेको भन्दै उक्त विषय सम्बोधनका लागि पनि आग्रह गर्नुभयो । नेपालमा लगानीको वातावरण स्थापित गर्न अझै कयौँ कानूनी व्यवधान रहेको भन्दै अध्यक्ष आचार्यले पूँजी पलायन रोक्न र लगानी भित्र्याउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहेपनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताउनुभयो । गैरआवासीय नेपालीहरुले समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट अभियान थालिसकेको भन्दै डा महतोले उक्त अभियानको कुशल अभिभावकत्वका लागि राष्ट्रपति पौडेललाई अनुरोध गर्नुभयो । गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले सो विषय पनि केही समयभित्रै सम्बोधन हुने राष्टपति पौडेलको भनाई थियो । राष्ट्रपति पौडेलले समग्र मुलुकको विकासका लागि हातेमालो गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताउनुभयो ।
भेटका क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गोविन्द प्रसाद गौतम, प्रवक्ता सोम सापकोटा, कोषाध्यक्ष लोक प्रसाद दाहाल,सह–कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, यूवा संयोजक अब्दूल वसिद, संस्थापक सचिव चिरिन्जीवि ढकाल, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सूवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, एनआरएन दक्षिण कोरियाका राजन कूवँर, एनआरएनएन यूएसएका पदम विश्वकर्मा एनआरएनएका फोकल पर्सन सरोज दाहाल, संघका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।