News

  • Home
  • News
  • कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग हस्तान्तरण

कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग हस्तान्तरण



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका- ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चार महिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुवा धनबहादुर सिल्ला र आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्काले एनआरएन अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए ।

परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो । एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए ।

एनआरएनए महासचिव गौरीराज जोशीकाअनुसार हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराको लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत बुवा/आमाको खर्च भनेर सहयोग गरिएको हो ।

सिल्लाको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. केसीले यो दुखको घडीमा एनआरएनले थोरै भए पनि मलहम लगाउने प्रयास गरेको बताए । ‘हामी गैरआवासीयको विडम्बना नै यही हो । हामीले चित्कार गरिरहेको विषय नै यही हो । हामी नेपालबाट मासिकरुपमा चार लाख स्वस्थ मान्छे पठाएर शव बुझ्न बाध्य भएका छौं । यही पीडा कम गराउनको लागि नै गैरआवासीय नेपाली संघ स्थापना भएको हो । संघले स्थापनाकालदेखि नै संघले यो बाकस कति बुझिरहने, यसलाई कम गर्नुपर्यो भनेर धेरै काम गरेका छौं, यद्यपि रोकिएको छैन । आज सुरेश सिल्लाको पनि त्यही हालत भएको छ,’ उनले भने ।

 

धेरै नेपालीहरु श्रम स्वीकृत लिएर जाँदाखेरी अझ सुरक्षित भए पनि त्यो वातावरण नरहेको अध्यक्ष केसीको भनाइ थियो । ‘धेरैले स्वीकृति लिएर जानुभएको छैन । किनभने बाहिर निस्किँदा एयरपोर्टमै सेटिङ गर्नुपर्छ । कागजहरु हुँदाहुँदै पनि सेटिङ भएन भने, ४०/५० हजारदेखि १/२ लाखसम्म दिएन भने त्यो ठाउँमा जानै पाइँदैन । अफ्रिकाको कथा यही छ । कंगोको कथा यही छ । कंगोमा राम्रो तलबमा काम गर्न जान नेपालीहरु तयार छन्, त्यो ठाउँ छ । तर, कंगोमा नेपाल सरकारले स्वीकृति दिएको छैन । अफ्रिकामा उच्च सीपयुक्त नेपालीहरु जान तयार छन् । तर सरकारले दिँदैन,’ उनले भने । यस्ता देशहरुमा नेपालीहरुले राम्रो तलब पाउँछ भने किन जान नदिने भनेर श्रम मन्त्रालयसँग सम्वाद गरिरहेको उनले जानकारी गराए । कंगोमा करिब २ हजार नेपाली रहेको र उनीहरु पनि अवैधानिक रुपमै जान बाध्य भएको उल्लेख गर्दै भने, ‘छुट्टीमाम नेपाल फर्किन पनि भारतबाट आउनुपर्छ । भारतबाटै फर्किनुपर्छ । सेटिङका कारण नेपालबाट जान नसक्ने बाध्यता छ ।’

यो बाध्यताका कारण विभिन्न कालखण्डमा जानेहरु मारिनुपरेको भन्दै अध्यक्ष केसीले यसलाई अन्त्य गर्न प्रयत्न जारी रहने बताए । ‘आज कलिलो बालक टुहुरो भएको छ । पत्नी विधुवा भएकी छन् । यो दुखको घडीमा कंगोका साथीहरुले सहयोग पठाएका छन् । धेरै भएर पठाएको होइन, ठूलो मन गरेर पठाएको हो । त्यो पैसा छोराको पढाईमा खर्च गर्नुस् । बच्चाको पढाइको लागि हामी अन्य सहयोग पनि गर्छौं,’ उनले भने ।

 

सहयोग रकम बुझ्दै गाउँपालिका अध्यक्ष गणेश खड्काले राहत संकलन गरेर परिवारलाई सहयोग गरी दुखको घडीमा मलहम लगाउने प्रयास गरेकोमा कंगोका नेपालीहरुलाई धन्यवाद दिए । उनले मृतकको परिवार र बच्चालाई पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘राष्ट्रका दक्ष युवाहरुको विदेश जाने परिपाटी बढ्यो । देशभित्रै रोजगारी सिर्जना नभएसम्म देश बन्दैन । विदेशमा जति काम युवाहरु गर्नुहुन्छ, त्यति नेपालभित्रै गरेको भए देश बन्थ्यो । तर सरकारले त्यो वातावरण बनाउनुपर्छ । दैनिक लास भित्र्याउने दैनिक रोक्नुपर्छ । सीप र योग्यताको आधारमा नेपालमै काम गर्ने वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्छ । नेपालमा कृषिको सम्भावना छ । तर बाहिरबाट भित्र्याउनुपरेको छ । तर युवाहरु बाहिर जानुपरेको अवस्थालाई अब अन्त्य गर्नुपर्छ,’ उनले भने ।

 

 

गैरआवासीय नेपाली संघ