News

  • Home
  • News
  • एसिया प्यासिफिक क्षेत्रीय बैठक म्यानमारमा सुरु

एसिया प्यासिफिक क्षेत्रीय बैठक म्यानमारमा सुरु



गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको यान्गोनमा आजबाट सुरु भयो । नेपालको समृध्दिका लागि गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित रहने बैठक जुलाई ६ र ७ गरी दुईदिने हुने छ । बैठकको औपचारिक उद्घाटन भोलि हुने भए पनि आज एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषदको प्रतिवेदनको प्रस्तुति र महिला तथा युवासंग सम्बन्धित कार्यक्रम सम्पन्न भएका छन् । आजको बैठकको सुरुवात केन्द्रिय अध्यक्ष भवन भट्टको सम्वोधनबाट भएको थियो भने सभापतित्व क्षेत्रीय संयोजक किरण विक्रम थापाले गर्नु भएको थियो । बैठकमा नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघीय संसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत तथा संघका संस्थापक महासचिव भीम उदास, संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ताहरुको सहभागिता रहेको छ ।

आजको बैठकमा मुलत प्रवासमा रहेका नेपाली समुदायको कृयाकलाप नेपाली समुदायलेभोग्ने गरेका समस्या र नेपालको कला संस्कृति तथा भाषा प्रवर्धनका कामहरुबारेमा सहभागीहरुले छलफल गरेका थिए । सयौं वर्षको इतिहास बोकेको म्यानमारको नेपाली समुदायले नेपालीहरुको संस्कृति बचाएर राख्न सकेको कुराको सबैले प्रशंसा गरेका थिए । खासगरी थाइल्याण्ड र म्यानमारमा धेरै पहिले देखि नेपालीहरुको बसोवास रहेकाले अन्यमुलुकका नेपालीको भन्दा फरक मुद्दाहरु समेत भएकाले ति विषयमा संघ र सरकारको समेत फरक चासो हुनुपर्ने धारणा बैठकमा उठेको थियो ।

महिला सत्रमा गैरआवासीय नेपाली अभियानमा महिला तथा युवाहरुको भूमिका अग्रणी हुनु पर्ने नेपाली आमाबाट जन्मेका सबैले नेपाली नागरिकताको अधिकार पाउनु पर्ने आवाज उठाइएको थियो ।

त्यसै गरी युवा सत्रमा दोस्रो तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली अभियानमा सक्रिय गराउनु पर्ने धारणा व्यक्त गरियो । मुलत युवाहरुको विश्वासको तह बढाउनु पर्ने र विभिन्न मुलुकमा रहेका युवाहरुबीच अनुभवहरुको आदानप्रदान गर्दै सहकार्यको वातावरण बनाउनु पर्ने कुरामा जोड दिइएको थियो ।

 

 

क्षेत्रीय बैठकमा एसिया क्षेत्रका जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, हङकङ, दक्षिण कोरिया र आयोजक राष्ट्र म्यानमारको सहभागिता रहेको छ भने अन्य क्षेत्र अमेरिका, युरोप, मध्यपूर्व र ओसिनियाको समेत प्रतिनिधित्व रहेको छ । आजको बैठकको संचालन क्षेत्रीय उपसंयोजक पारशमणि पोख्रेल र गणेश शर्माले गर्नु भएको थियो । करिब तीनसयको सहभागिता रहेको बैठकमा भोलि नेपालको समृध्दि सम्बन्धी विभिन्न विषयमा छलफल गरी निर्णय लिइने छ ।

आजको बैठक पछि सहभागीहरुलाई म्यानमार स्थित नेपाली दुतावासले रात्रिभोजसहितको स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक
म्यानमार