News

  • Home
  • News
  • एनआरएनए स्पेनको पहलमा पहिलो चरणमा नेपालका लागि अत्याबस्यक स्वास्थ्य सामाग्री सहयोगः

एनआरएनए स्पेनको पहलमा पहिलो चरणमा नेपालका लागि अत्याबस्यक स्वास्थ्य सामाग्री सहयोगः



२० मई २०२१ ।

हाम्रो मातृभूमि नेपाल कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणबाट आक्रान्त छ। यो महामारीबाट नेपालमा स्वास्थ्य संकट आइपरेको छ र हाम्रा नेपाली दाजुभाई तथा दिदीबिनीहरु समयमा उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुहुन्छ। नेपाली अस्पतालहरुमा बिरामीको लागि प्रयाप्त बेड, अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभावका कारण स्थिति थप भयावह हुँदै गएको छ। जसको कारण हामी गैरआवासीय स्पेनबासी नेपालीहरु पनि नेपाल र नेपालीहरुको पीडामा सहयोग गर्ने अभिप्रायले आर्थिक संकलनमा जुटेका छौं। पहिलो चरणमा आज मात्र एनआरएन स्पेनको पहलमा सम्पूर्ण क्षेत्रीय समितिहरू, सामाजिक, जातीय तथा राजनीतिक संघसंस्थाको सहकार्यमा पहिलो चरणमा अत्यावस्यक स्वास्थ्य सामाग्री नेपाल पठाईएको कुरा जानकारी गराउँदछौ। एनआरएनए स्पेनले यहाँका विभिन्न भूभागबाट सहयोग संकलन गरी नेपाली दूतावास मार्फत स्पेन सरकारको चार्टर फ्लाइटमा नेपाल पठाएको हो ।

संघको पहिलो सहयोग अन्तर्गत पहिलो चरणमा १७ हजार ६०० सर्जिकल माक्स, सेनिटाइजर, पन्जा तथा चिकित्सकको लागि फेस शिड लगायतका स्वस्थ्य सामाग्री संघका उपाअध्यक्ष उत्तर कुमार राईको नेतृत्वमा एनआरएनए स्पेन क्षेत्रीय समिति मड्रिडका अध्यक्ष सुजिल गोले, सचिव मेघनाथ ढकाल, एनआरएनए पूर्व युरोप उपसंयोजक तथा एनआरएनए स्पेनका पुर्व अध्यक्ष एकराज गिरी लगायतको टीम एअरपोर्टमा नै पुगेर स्पेनका लागि नेपाली राजदूत फबाफुटी शेर्पालाई हस्तान्तरण गर्नुभएको थियो । संकलित सहयोग सामाग्री एनआरएनए स्पेन, क्षेत्रीय समितिहरू भएका क्षेत्रहरू क्रमश: म्याड्रिड, कोस्टाब्लान्का, पाईसभास्को, ग्रान कानारिया, बार्सिलोना लगायतका स्थानबाट संकलन गरिएको थियो।


जन्मभूमि नेपाल र नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आफ्नै पीडा सम्झी सहयोगमा तत्परता देखाउँदै स्पेनिश सरकारसँग सहयोगको अपिल गरी लगभग १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहित स्पेनिश सहयोग नियोग (AECID)का निर्देशक म्याग्डी मार्टिनेज साेलिमान सहितको टीम सहित स्पेनका लागि महामहिम राजदुत दावाफुटी शेर्पा आइवेरिया एयरलाइन्सको चार्टर फ्लाईट मार्फत सहयोग हस्तान्तरणको लागि आज नेपाल प्रस्थान गर्नु भएको छ। दूतावास स्रोतका अनुसार स्पेन सरकारको सहयोग अन्तर्गत १५ रेस्पिराटोर, १० अक्सिजन कन्सन्ट्रेटर र त्यसका लागि आवश्यक पाटपुर्जा, १ लाख पचिस हजार एन्टिजेन टेस्ट किट, १ लाख ४४ हजार मास्क लगायत रहेका छ। यसका लागि महामहिम राजदूतलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं। त्यसैगरी सहयोग संकलनमा प्रत्यक्षपरोक्ष सहयोग पुर्याउनुहुने संघका उपाध्यक्ष उत्तर कुमार राई, पूर्व युरोप संयोजक एकराज गिरी, क्षेत्रीय समिति मड्रिडका अध्यक्ष र सचिव क्रमश सुजील गोले ,मेघनाथ ढकाल क्षेत्रीय समिति कोस्टाब्लान्का अध्यक्ष र सचिव क्रमश सुरेन्द्र भुजेल थापा तथा कमल पराजुली, क्षेत्रीय समिति पाईसभास्कोका अध्यक्ष कमला बराल, क्षेत्रीय समिति ग्रान कानारिया अध्यक्ष पावनलाल राजभण्डारी लगायत सम्पूर्ण स्पेनबासी संघसंस्थाका पदाधिकारी तथा सदस्यहरु, सामाजिक व्यक्तित्व हरुका साथै सम्पूर्ण स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
यसैगरी हाम्रो सहयोग संकलनको क्रम जारी रहेको जानकारी गराउँदै सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको लागि पुनः अनुरोध गर्दै बोल सहयोग रकम यथासक्य संघको बैँक खातामा जम्मा गरिदिनु हुन अनुरोध गर्दछौँ। यहाँहरू बाट संकलित सहयोग छिट्टैनै नेपाल पठाउने जानकारी गराउँदछौ।

सुन्दर रानाभाट
प्रवक्ता
गैह्र आवसीय नेपाली संघ स्पेन।