Press Release

  • Home
  • Press Releases
  • उद्धार र राहत वितरण पूर्ण रुपमा पारदर्शिता : गैरआवासीय नेपाली संघ १ लाख ७० हजार भन्दा बढीलाई राहत

उद्धार र राहत वितरण पूर्ण रुपमा पारदर्शिता : गैरआवासीय नेपाली संघ १ लाख ७० हजार भन्दा बढीलाई राहत


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ । संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको बताउनुभयो । 

संघले समस्यामा परेका नेपालीश्रमिकहरु मध्ये घर फिर्तीको लागि ३२४ जनालाई पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको समेत व्यवस्था गरिएको जनाएको छ । सम्मेलनमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राजशर्माले नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघले विश्वभर दुई सय भन्दा बढि नेपाली डाक्टरहरु परिचालन गरेको जानकारी दिए । संघले कार्यकालागि अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसियाप्रशान्त क्षेत्रहरुमाअनुभवी स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालनगरिएको  गैरआवासीय नेपाली संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगबाट रोजगारी गुमाएका, समान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी जस्ता विशेष आवश्यकता भएका व्यक्तिका लागि खर्चिएको जानकारी दिनुभयो ।संघले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरब , बहराईन, कुवेत तथा ओमान लगायतका मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो  ।  

संघका प्रवक्ता डिबी क्षेत्रीले संचालन गरेको पत्रकार  सम्मलेनमा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती थियो ।  

प्रेस विज्ञप्ति

कोभिड–१९ रोकथामकालागि संघको भूमिका :

सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीबाट संसार भरिका नेपाली पनि आक्रान्त छन् । महामारीका कारण हजारौँ नेपाली संक्रमित भए, हजारौँ नेपाली श्रमिक अलपत्र परे, कैयौँले रोजगारी गुमाए त कयौँले विदेशमा ठूलो दुःख व्यहोर्नुपर्यो । कोभिड–१९ को प्रकोप बढ्दै गएपछि विभिन्न देशमा छरिएर बसेका गैरआवासीय नेपालीहरु र अन्य कामको सिल–सिलामा विदेशमा रहेका नेपालीहरुलाई मानसिक र आर्थिक सुरक्षाको प्रत्याभूति जरुरी थियो । त्यसका लागि गैरआवासीय नेपाली संघबाट विभिन्न किसिमका राहत, घर फिर्ति तथा पुर्नस्थापनाका कार्यक्रमहरु अघि सार्ने कार्य सुरु भयो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक कोभिड–१९ रोकथाम उच्चस्तरीय समिति गठन भई नेपाल सरकार समक्ष उच्चस्तरीय कोभिड–१९ रोकथाम समितिको तर्फबाट राहत, घर फिर्ति तथा पुर्नस्थापनाका लागि कार्यपत्र प्रस्तुत भयो । संघले यसै कार्यपत्रको आधारमा नेपाल सरकार र विदेशस्थित नेपाली नियोगसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

“नेपालीका लागि नेपाली” भन्ने मुख्य अवधारणा मनन गर्दै राष्ट्रिय समन्वय परिषद्बाट प्राप्त सहयोगबाट विभिन्न ५० देशका कम्तिमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । जसका लागि २५ सय भन्दा बढी स्वयंसेवकहरुले दिनरात सेवा दिइरहेका छन् । हाल सम्म विभिन्न गन्तव्य मुलुकहरु र नेपालमा गरी झण्डै १६,३०० भन्दा बढी नेपाली कामदारहरुलाई यस कार्यक्रम मार्फत विभिन्न किसिमको सहयोग पु¥याईएको छ । सामान्य गल्तीहरुका कारणले जेलमा तथा नजरबन्दमा परेका नेपाली श्रमिकहरुलाई आवश्यक कानूनी परामर्श तथा सहयोग पु¥याई तत्काल घर फिर्ती कार्यमा सहयोग पु-याईएको छ । १८ जना त्यस्ता व्यक्तिहरुलाई कार्यक्रम मार्फत सेवा पु¥याइएको छ । २८०० जनाभन्दा बढी नेपालीहरुलाई राहत स्वरुप खाना तथा अस्थायी बासको सहयोग पुगेको र निजहरुलाई नेपाली दूताबाससँग समन्वय गरेर पुनःअर्को रोजगार तथा घर फिर्ती कार्यमा सहजीकरण गरिएको छ । हालसम्म १०१० जना नेपाली श्रमिकरुलाई काठमाण्डौंबाट आ–आफ्नो घर सम्म जानका लागि सहयोग पुर्याइएको छ । हालसम्म २४९ जति नेपाली श्रमिकहरुलाई पुनः रोजगारीका लागि सहयोग पुगेको छ ।

हालसम्म झण्डै १०,००० जति नेपाली श्रमिकहरुलाई निःशुल्क परामर्श सेवाप्रदान गरिएको छ जस्तैः उनीहरुका स्वास्थ्य सम्बन्धि समस्या,  परामर्श सेवाप्रदान गरिएको छ र झण्डै ४००० भन्दा बढी व्यक्तिहरुलाई दूताबासमा आवश्यक कागजी प्रक्रियाका लागि सहयोग पु-याईएका छ । जस्तैः श्रमिकहरुको पासपोर्ट नवीकरण तथा फारम भर्न सहयोग गर्ने आदि कार्यको सहजीकरण गर्ने कार्यमा सहयोग पुगेको छ । केही अत्यन्त समस्यामा परेका नेपाली श्रमिकहरु मध्ये घर फिर्तीको लागि ३२४ जनालाई पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको समेत व्यवस्था गरिएको छ । कम्बोडियामा समेत अलपत्र परेका २२ जना नेपालीहरुलाई नेपाली दूताबाससँगको समन्वयमा राष्ट्रिय समन्वय परिषद् कम्बोडियासँग सहकार्य गरेर खाना तथा बासको व्यवस्था, पीसीआर र स्वदेश फिर्ती कार्यका लागि हवाई टिकट तथा घर सम्म जानका लागि यातायात खर्चमा सहयोग पुर्याइएकोछ । मनो–सामाजिक विमर्श तथा अन्य स्वास्थ्य सम्बन्धि कार्यक्रमका माध्यमबाट सहयोग पु¥याउनको लागि विभिन्न चरणमा आत्महत्या रोकथाम तालिम सञ्चालन गरिएको थियो जसबाट १००जना भन्दा बढी स्वयं–सेवकहरुले तालिम पाएका छन् ।

प्रदेश नं १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुलाई क्वारेन्टिन तथा आइसोलेशन सेन्टरहरुमा समेत नेपाली श्रमिकहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रु.१४ लाख बराबरका अति आवश्यक मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको छ ।  नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर यस संस्थाले गैरआवसीय टेलि –स्वास्थ्य र मानसिक स्वास्थ्य परामर्श केन्द्रको स्थापना गर्नुका साथै विभिन्न कार्यक्रम सञ्चालन गर्यो । यस कार्यका लागि अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसिया प्रशान्त क्षेत्रहरुमा अनुभवी स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालन गरिएको  छ । संसारभर २०० भन्दा बढी स्वास्थ्य कर्मीले निशुल्क सेवा उपलब्ध गराएका छन् । विभिन्न देशका नेपालीहरुले पठाएका राहतलाई संकलन गरेर गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई एनटिजेन टेष्ट किट, पीपीई, आई आर गन, सुज, कभर, के एन–९५ माक्स जस्ता सामग्रीहरु उपलब्ध गराएको छ । यी सबै कार्यक्रमका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट रु १३ करोड र यूएनअन्तर्गतका निकायबाट प्राप्त रु १० करोड गरी रु २३ करोड बराबरको रकम परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरबबाट सुरु भएको यो कार्यक्रम पछिल्लो समय बहराईन, कुवेत तथा ओमानमा समेत लागू गरिएको छ । तत्काल राहतको लागि खाना तथा बासको व्यवस्था, घर फिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स–साना स्वास्थ्य समस्याका लागि सहयोग, आउटरिच सेवा, कानूनी सहायता र घर फिर्ता हुने क्रममा त्रिभुवन विमान स्थलबाट घर सम्म जानको लागि यातायात तथा खानाखर्च तथा अन्य प्रशासनिक खर्च समेत ब्यवस्था गरिएको छ । यो कार्यक्रम विशेष गरेर कोभिड–१९ का कारणले रोजगारी गुमाएका, समान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी जस्ता विशेष आवश्यकता भएका व्यक्तिका लागि संचालन गरिएको छ ।

खर्चमा पूर्ण पारदर्शिता

कोभिड–१९ बाट प्रभावितहरुको लागि स्वीकृत कार्यक्रम अनुसार स्पष्ट रुपमा संस्थाका आर्थिक नियमावलीलाई आधार बनाई खर्च गरिएको र यस्ता खर्चहरुका बारेमा संस्थाले आन्तरिक तथा स्वतन्त्र लेखा परिक्षणको कार्य समेत गरेको छ । साथै हाल सम्मका सम्पूर्ण खर्चहरुलाई दाताले समेत परिक्षण गरेको र नियमित रुपमा खर्चको प्रतिवेदन समेत दातालाई दिने गरेका छौँ । खर्चका बिल तथा भपाईहरु स्पष्ट रुपमा फाईलिङ्ग गरी राखिएको छ । सो कार्यका लागि संघको सचिवालयमा कार्यक्रमसँग सम्बन्धित कर्मचारी तथा सचिवालयमा समेत कार्यकारी निर्देशक तथा लेखा अधिकृतले समेत स्वीकृत खर्चको प्रमाणीकरण गर्ने गरिएको छ ।  

 

कार्यक्रममा उल्लेख भएका खर्चका सन्दर्भमा सम्बन्धित गन्तव्य देशका व्यवस्थापनलाई जानकारी गराईएको र सोही अनुसार नियमानुसार रकम माग भई आए बमोजिम कार्यक्रमका निर्देशकको स्वीकृति बमोजिम खर्च गर्ने निर्णय गरिन्छ । साथै खर्चका सम्पूर्ण विल भपाईहरु अद्यावधिक गरी राख्ने गरिन्छ । त्यसैले संघको आर्थिक नियमावली र अन्तराष्ट्रिय दातृराष्ट्रहरुको मापदण्डमा रहेर आर्थिक विवरणलाई पूर्ण रुपमा पारदर्शिता रहेको जानकारी गराइन्छ । यसका साथै, मलेसिया, कतार, यूएई र साउदी अरबबाट भएका उद्धार र राहत कार्यक्रममा भएका गतिविधीहरुको अनुगमन गर्न संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा एक उच्चस्तरीय अनुगमन समिति गठन गरिएको छ । सो समितिले आफ्नो कार्यलाई सक्रिय रुपमा अघि बढाई रहेको छ । सोही समितिले पछिल्लो समय उद्धार र राहत कार्यक्रम सम्बन्धमा उठेका सवालको जवाफ दिने र उत्पन्न भ्रम चिर्ने विश्वास लिइएको छ ।

 

रु. १० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड :

हाम्रो अथक प्रयास पछि अन्ततः १० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ । ५ प्रतिशत लगानी सहित सरकारसमेत प्रवद्र्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको छ । कम्तीमा रु. १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुनेछ, जसमा दसौँ लाख नेपाली सहभागीहुने अपेक्षा गरिएको छ । यसबाट संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउनुहुनेछ ।

 

लाप्राकबस्ती निर्माण कार्यको हस्तान्तरण :

वि.सं.२०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोर्खाको लाप्राकमा गैरआवासीय नेपाली संघले ५ सय ७३ वटा नीजि आवास निर्माण कार्य सम्पन्नभएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर  वि.सं.०७८ साल वैशाख १२ गते सो बस्ती हस्तान्तरण गरिने जानकारी गराउँदछौँ । बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिकाबाट समेत सहमति भइसकेको र अन्य सम्पूर्ण प्रक्रियागत काम पनि पूरा भएकोले एक भव्य कार्यक्रमको आयोजना गरेर बस्ती निर्माण कार्य हस्तान्तरण गर्न लागिएको कुरा सहर्ष जानकारी गराउन चाहन्छौं ।

 

गैरआवासीय नेपाली संघ

३ अप्रिल, २०२१