Press Release

  • Home
  • Press Releases
  • प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


कोभिड–१९ को महामारीपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकाय सम्म आफ्नो आवाजलाई बुलन्द गरेको थियो ।

सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सक्रिय रुपमा काम गर्दे आएको छ । कोरोना महामारीको चुनौतीबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् । सोको जानकारी संघका पदाधिकारीहरुलाई  बेलाबेलामा दिइएको छ ।

श्रमिकहरुको उद्धारका विषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका विभिन्न खाले कुरा प्रति संघको  ध्यानाकर्षण भएको छ ।

राहत तथा उद्धारको लागि भएका खर्चहरु पारदर्शी होस भनेर सचिवालयमा छुट्टै संयन्त्र राखिएको छ र जसको सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको छ ।  उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमिति मार्फत अनुगमनको तयारी गरेको छ । साथै संघले यस कार्यक्रमको समग्र रुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाइसकेको कुरा समेत सहर्ष जानकारी गराउँदछौं । विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रक्रिया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्ने क्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टीकाटिप्पणीहरु प्रति संघ संवेदनशील छ ।

राहत तथा उद्धारका क्रममा कुनै कमीकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने छ । त्यसैले कुनै पनि भ्रममा नपरि संघले जारी राखेको उद्धार प्रक्रियामा सहयोग गर्न आग्रह गर्दछौँ ।

हाल सम्म मध्यपूर्वका विभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तव्य मुलुकहरुमा खाना तथा बासको व्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससँग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पुर्‍याईएको छ ।

साथै नेपालमा आईसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आआफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत सहयोग प्रदान गरिएको छ र प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको छ ।

साथै दातृसंस्थाको सहकार्यमा मलेसियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारहरुलाई नेपाल फर्काउन सकिएको छ । ती १८ जना व्यक्तिहरु  ज्यादै समस्यामा रहेका र धेरै वर्षदेखि मलेसियाका  जेलमा समेत रहेको अवस्थामा एनआरएनएले सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको छ ।

 

डिबि क्षेत्री

प्रवक्ता

गैरआवासीय नेपाली संघ ।

सन् २०२१ फेब्रुअरी १८