12 Mar 2026
Press release-55/23-25
प्रेस- बिज्ञप्ति
गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको १३औँ बैठक मिति २०८२ साल फाल्गुन २८ गते (तदनुसार १२ मार्च २०२६ बिहीबार) सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा बसेको उक्त बैठकमा मध्यपूर्व क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन इच्छुक बहुसंख्यक अभियन्ताहरू, राष्ट्रिय समन्वय परिषदहरू तथा आसन्न अन्तर्राष्ट्रिय महाधिवेशनका प्रत्यासी उम्मेदवारहरूबाट महाधिवेशनको मिति तथा निर्वाचन प्रक्रिया स्थगन गर्नुपर्ने विषयमा लिखित अनुरोधहरू प्राप्त भएका सन्दर्भमा स्टेयरिङ कमिटीको आजको बैठकले तपाईंहरूका सुझाव तथा परिपत्रलाई सम्मान गर्दै निम्नलिखित निर्णयहरू गरिएको छ :
१ . मध्यपूर्वको पछिल्लो अवस्थाप्रति हामी अत्यन्त चिन्तित र गम्भीर छौँ। यस सन्दर्भमा अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन इच्छुक बहुसंख्यक अभियन्ताहरू, राष्ट्रिय समन्वय परिषदहरू तथा आसन्न अन्तर्राष्ट्रिय महाधिवेशनका प्रत्यासी उम्मेदवारहरूबाट विभिन्न सुझाव तथा गुनासाहरू पनि हामीलाई प्राप्त भएका छन्, जसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ती गुनासाहरूलाई हामीले सम्मानजनक रूपमा मनन गर्दै, यस बैठकबाट पछिल्लो विकसित घटनाक्रमका कारण प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित उम्मेदवार तथा प्रतिनिधिहरूको हकलाई मध्यनजर गर्दै, अत्यधिक रूपमा भौतिक तथा आंशिक रूपमा अनलाइन माध्यमबाट सञ्चालन गर्ने भनिएको निर्वाचन प्रक्रियामा परिस्थिति हाम्रो नियन्त्रणमा नभएकाले अनलाइन र भौतिक दुवै विधिमा लचकता अपनाउनुपर्ने बाध्यता उत्पन्न भएको छ। त्यसैले सम्पूर्णमा यो परिस्थिति बुझिदिनु हुन अनुरोध गर्दछौँ। यसै सन्दर्भमा मध्यपूर्व क्षेत्रका हकमा नेपालमा भौतिक रूपमा उपस्थित हुन नसकेका उम्मेदवार तथा प्रतिनिधिहरूको उम्मेदवारी दर्ता, सनाखत लगायत सपथ ग्रहणसमेतका सबै प्रक्रिया भर्चुअल माध्यमबाट गर्ने व्यवस्था गरिनेछ। यसका साथै पछिल्ला सबै परिस्थितिलाई मध्यनजर गर्दै हामी अत्यधिक रूपमा सर्वसम्मतिको लागि प्रयासरत रहेको जानकारी पनि गराउन चाहन्छौँ।
२. आसन्न १२ औँ महाधिवेशनमा मध्यपूर्वको पछिल्लो घटनालाई उच्च प्राथमिकतामा राखी संकल्प प्रस्तावका रूपमा प्रस्तुत गरिनेछ। यस सम्बन्धमा तपाईंहरूका सुझावहरू पनि info@nrna.org मा पठाइदिनु हुन अनुरोध गर्दछौँ।
अन्त्यमा, गैरआवासीय नेपाली विश्व सम्मेलन एवं १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई उत्साहपूर्ण बनाउन हार्दिक अपिल महत्वपूर्ण सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ ।
मिति २०८२ साल फाल्गुन २८ गते (तदनुसार १२ मार्च २०२६ बिहीबार)
|
डा. बद्री केसी अध्यक्ष |
महेश कुमार श्रेष्ठ अध्यक्ष |