Press release-10 -025/027
प्रेस विज्ञप्ति
रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चरणबद्ध रूपमा सहयोग गरिरहेको छ। तत्कालीन राहत तथा स्वास्थ्य सेवासँगै दीर्घकालीन रूपमा प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा सरकारलाई सहयोग गर्ने संघको योजना छ। यसैक्रममा हिजो, मिति २०८३ भदौ ११ गते बिहीबारदेखि नै एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा खटिएको छ।
राहत सामग्री वितरण तथा मानवीय सहायता
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नुवाकोटमा हिजो र आज (मिति २०८३ भदौ ११ र १२ गते) गरी रु. ५० लाख बराबरको राहत सामग्री बाढीबाट प्रभावित परिवारका लागि उपलब्ध गराएको छ। राहत सामग्रीमा ५ सय थान त्रिपाल,५ सय थान सोलार लाइट, ५ सय परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, ब्ल्याङ्केट, खानेपानी, औषधिलगायतका अत्यावश्यक सामग्री रहेका छन्।
- हिजो बिहानै काठमाडौंस्थित सचिवालयबाट राहत सामग्रीसहित एनआरएनएका पदाधिकारीहरूको टोली नुवाकोट पुगेको थियो। टोलीले प्रमुख जिल्ला विपद् व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा स्थानीय तहका प्रतिनिधिसँग समन्वय गरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिएको थियो
- त्यसपछि नुवाकोट वैकल्पिक आयुर्वेदिक औषधालय, विदुर–५ (सेल्टर–१) आश्रय लिइरहेका प्रभावित नागरिक, विशेषगरी वृद्धवृद्धालाई प्रत्यक्ष रूपमा राहत सामग्री वितरण गरिएको थियो ।
- सरकारको एकद्वार राहत वितरण नीतिअनुसार प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।
- राहत सामग्री नुवाकोट पुर्याउन हिजो अबेर रातिसम्म समय लागेकाले आज बिहानैदेखि राहत वितरण सुरु गरिएको हो। नुवाकोटको पिपलटारटारको चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका बाढी प्रभावित नागरिकलाई राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिएको छ।
- त्यहाँ रहेको राहत टोलीले एनआरएनएका सदस्य तथा पदाधिकारीका परिवारका सदस्यहरू बाढीबाट प्रभावित भए \नभएको जानकारी संकलन गरी आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय समेत गरिरहनु भएको छ।
भौगोलिक अवस्था तथा बाढीका कारण प्रत्यक्ष रूपमा पुग्न कठिन क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय तहसँग समन्वय गरी थप राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइनेछ।
स्वास्थ्य सेवा तथा चिकित्सकीय सहयोग
संघको राहत टोलीसँगै हिजो नुवाकोट पुगेको स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। साथै, संघको पहलमा छिट्टै थप स्वास्थ्य शिविर सञ्चालन गरी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, आवश्यक औषधि वितरण तथा स्वास्थ्य परामर्श प्रदान गरिनेछ। थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत गरिनेछ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित सहयोग रकम हस्तारण गरिने
हाल विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूले आ–आफ्नो स्तरबाट सहयोग तथा रकम संकलन अभियान सुरु गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का पदाधिकारीहरु , तथा सदस्यहरूलाई आफ्नो क्षमताअनुसार एनआरएनए आईसीसीको खातामा सहयोग रकम जम्मा गर्न र आफ्ना सञ्जालमार्फत अभियानलाई व्यापक बनाउन अपिल गरिएको छ। यसरी संकलित रकम राहत तथा मानवीय सहायताका लागि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। संघले विभिन्न एनसीसीमार्फत संकलित सहयोग रकमको पारदर्शी विवरण तयार गरी सार्वजनिक गर्नेछ।
अन्त्यमा, यो संघ विश्वभर रहेका आफ्ना एनसीसी, नेपाली समुदाय तथा गैरआवासीय नेपालीहरूलाई बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन भइरहेको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दछ ।
सोमनाथ सापकोटा
प्रवक्ता
गैरआवासीय नेपाली संघ (एनआरएनए )