गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डल र सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट ३ डिसेम्बर २०२५ । एनआरएनएलाई चुनावमा सहयोग गर्न राष्ट्रपति पौडेलको आग्रह सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले आसन्न संघीय संसदको निर्वाचनमा सकृय सहयोगको लागि विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग बुधवार शीतलनिवासमा भएको भेटघाटमा पौडेलले विदेशमा बस्ने नेपालीहरु देशको समृद्धिको लागि जोडिन आग्रह गर्नु भयो। भेटमा गैरआवासीय नेपालीहरुले उठाउदै आएका गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा सरकारसंग थप छलफल गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गर्नु भयो । संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गैरआवासीय नेपाली संघका मुख्यमुद्धाहरुलाई पौडेल समक्ष ध्यानार्कषण गराएको थियो । भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता लागू भए पछिका जटिलताको बारेमा जानकारी दिर्दै अध्यायदेश मार्फत नागरिकतामा आएका अल्झन फुकाउन आग्रह गर्नुभयो । साथै संघका अध्यक्ष महेश कुमार श्रेष्ठले गैरआवासीय नेपाली संघको विवाद अन्त्य गरि अब नेपालको समृद्धिको लागि केन्द्रीत हुने जानकारी दिनुभयो। उहाँले नेपालमा हुने निर्वाचनमा गैरआवासीय नेपालीहरुलाई मताधिकारको लागि सुनिश्चित गर्न आग्रह गर्नुभयो । यसैगरी भेटमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशमा भएको राजनीतिक परितर्वतनमा खेल्नु भएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले गैरआवासीय नेपाली संघभित्र हालै भएको एकताले देशमा समेत सकारात्मक सन्देश दिएको चर्चा गर्नुभयो । गैरआवासीय नेपाली संघको एकता पछि पहिलो पटक गएको सो प्रतिनिधि मण्डलमा संघका पूर्वअध्यक्षहरु, वर्तमान तथा पुर्व पदाधिकारीहरु लगायतका अभियन्ताहरुको बाक्लो उपस्थिति थियो । गैरआवासीय नेपाली संघ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) को बृहत् एकता कार्यक्रम सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बृहत् एकताका लागि बधाई ज्ञापन गर्दै सबै मनोमालिन्यलाई मेटाएर संघलाई एकसुत्रिय अभियानमा लैजाने क्रममा कोशेढुँगा भएको बताउनुभयो । उहाँले भन्नुभयो, भाइ फुटे गवार लुटे भन्ने त थाहै छ, त्यसैले मिलेर जाँदा राम्रो सन्देश जान्छ फुटेर कतै पुगिन्न । माननीय सूचना–सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनलाई गैर–राजनीतिक बन्न आग्रह गर्दै ‘एकता कागजमा मात्र होइन, मन र मस्तिष्कमा पनि कायम होस्’ भन्नुभयो।” कार्यक्रममा अध्यक्षद्दय डा बद्री केसी र महेश श्रेष्ठले मुलुकमा फेरिएको परिस्थितिपछि विदेशमा रहेका नेपालीहरूको हक हित, र अधिकारको संरक्षण तथा नेपालको समग्र समृद्धिमा योगदान पु¥याउन र विश्वभरिका गैरआवासीय नेपालीहरु एकमत रहेको सन्देश दिने उद्देश्यले बृहत् एकता गरेको स्पष्ट पार्नुभयो । कार्यक्रममा झण्डै डेढ सय एनआरएनए प्रतिनिधिीको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका लाखौँ नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । “विदेशमा रहेका नेपाली नागरिक तथा निर्वाचन क्षेत्र बाहिर रहेका मतदाताको मतदान'' सम्बन्धी नीति तथा संवाद कार्यक्रममा अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका लाखौँ नेपालीको अनलाइनमार्फत मताधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष डा. केसीले प्रविधिको युगमा अनलाइन माध्यमबाट मतदान प्रणाली सञ्चालन गर्नु नै सबैभन्दा व्यवहारिक र प्रभावकारी उपाय हुने र नेपाल सरकार र सम्बन्धित निकायहरूले प्रविधिमैत्री नीति निर्माण गरी विदेशमा रहेका नेपालीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले प्रवासमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्नु राज्यको नैतिक र संवैधानिक दायित्व भएको उल्लेख गर्दै आवश्यक कानूनी तथा प्राविधिक तयारी तत्काल अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो 'हाल विदेशमा रहेका हाम्रा ९० भन्दा बढी राष्ट्रिय समन्वय परिषद् सक्रिय रूपमा कार्यरत छन्, जसको माध्यमबाट गैरआवासीय नेपाली संघले विश्वभरका नेपालीहरूलाई संगठित गरेको छ। निर्वाचन आयोगका लागि जनशक्ति, प्रविधि र आर्थिक स्रोत जुटाउन समेत सहयोग गर्न सक्ने क्षमतामा पुगेको छ, त्यसका लागि केवल अवसर दिनु आवश्यक छ।' उहाँले थप्नुभयो, 'गैरआवासीय नेपाली संघले विगत २२ वर्षदेखि माग गर्दै आएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार अब उपलब्ध गराउनुपर्छ।' विदेशमा रहेका लाखौँ नेपालीहरूले माग गरिरहेका ती अधिकारबाट उनीहरूलाई वञ्चित राखिराख्नु अन्याय हुने भन्दै उहाँले राज्यले अब उनीहरूको आवाज सुन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा महिला उपाध्यक्ष रोजिना प्रधान राई कुनै न कुनै बिन्दुबाट बिदेशमा रहेका नेपालीले मतदानमा भाग लिन पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले अनलाइन मतदान प्रणालीले विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूलाई नेपालको लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कानूनी सल्लाहकार तेजेन्द्र गिरि, वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरे पनि सहभागी थिए।
'खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान' विषयक 'खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान' विषयक समन्वयात्मक बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को संयुक्त सहकार्यमा संचालन भैरहेको Migrants Rights and Decent Work (MiRiDeW) Phase–II, NRNA–ILO Project Initiative अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो । गैरआवासीय नेपाली संघको बालुवाटारस्थित सचिवालयमा आयोजित बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग, सरकारी तथा गैरसरकारी संस्था, वैदेशिक रोजगारसँग सम्बन्धित निकाय, श्रमिक संगठनहरू,बिज्ञ, नीति अनुसन्धानकर्ता, लगायत ३० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले खाडी मुलुक र मलेसियामा रहेका नेपाली श्रमिकहरूले भोगिरहेका प्रमुख समस्या, जस्तै कुटनीतिक सम्बन्ध, द्विपक्षिय श्रम सम्झौता उल्लंघन, तलब र सुविधा नपाउने समस्या, स्वास्थ्य र सुरक्षासम्बन्धी चुनौती, सामाजिक सुरक्षा कोषमा आबद्धता, श्रमिक संरक्षण संयन्त्र र विधमान कमजोरी लगायत विषयमा आ-आफ्नो धारणा राखेका थिए ।बैठकमा श्रमिक अधिकार सुनिश्चित गर्न र वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीको वातावरण सृजना गर्न सरकारी निकाय, एनआरएनए, र अन्य सरोकारवाला संस्थाबीच सहकार्य र समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो । बैठकले आगामी दिनमा वैदेशिक रोजगारीसम्बन्धी नीतिगत सुधार, श्रमिक अभिवृद्धि र हकहित संरक्षणका लागि संयुक्त कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ । बैठकमा संघका अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राइ, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, सल्लाहाकार अतुल कोइराला लगायतले पनि विधमान अवस्था र तिनको न्यूनीकरण लगायतमा आफ्नो धारणा राख्नु भएको थियो । फरक प्रसँगमा, अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका वैदेशिक रोजगार वा स्वरोजगारमा रहेका नेपाली तथा गैरआवासीय नेपालीले पाउनुपर्ने भनि संविधानमा किटान गरिएका विषय, सेवा सुविधा प्रदान गर्न सरकारले ढिलाई गर्न नहुने र त्यसमा सरोकारवालाले पनि सरकारलाई झक्झकाइदिनुपर्ने बताउनुभएको थियो । मिति: बिहीबार, २०२५ नोभेम्बर ६ स्थान: गैरआवासीय नेपाली संघ सभा हल
अस्ट्रेलियामा क्षेत्रीय बिज्ञ सम्मेलन सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसेनिया क्षेत्रको आयोजनामा सीडनीमा प्रथम क्षेत्रीय बिज्ञ तयारी सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । ओसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शिप र ज्ञानलाई नेपालसम्म पुर्याउने प्रयास स्वरुप पहिलो पटक अस्ट्रेलियाको सीडनीमा एक दिने तयारी बिज्ञ सम्मेलनको आयोजना गरेको हो । अस्ट्रेलिया र न्युजिल्यान्ड जस्तो बिकसीत मुलुकमा महत्वपुर्ण भुमिकामा रहेका नेपाली बिज्ञहरुलाई एकैथलोमा भेला पारेर यहा सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकीन्छ भन्ने सोचका साथ आयोजना गरिएको कार्यक्रममा केहि महत्वपुर्ण कार्यपत्रहरु प्रस्तुत भएका थिए । यस क्षेत्रमा छरिएर रहेका नेपाली समाजका अगुवाहरुलाई आमन्त्रीतगर्दै गरिएको कार्यक्रममा बिशेषगरी कृषी तथा खाद्य सुरक्षा, स्वास्थ र शिक्षा अनि पुर्वाधार बिकासमा केन्द्रित रहेको थियो । काठमाडौमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैरआवासीय नेपाली संघको प्रथम बिश्व बिज्ञ सम्मेलनमा यहाँ प्रस्तुत गरिएका महत्वपुर्ण कार्यपत्रहरुलाई समेटिने आयोजक ओसेनियाका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले बताए । हाम्रो मुख्य उद्देस्य भनेको एक पटकका नेपाली सधैको नेपाली नै हो । बिज्ञ सम्मेलनका उद्देश्य बिदेशमा बस्ने बिज्ञहरुको ज्ञान र शिपलाई नेपालसम्म पुर्याउनु नै हो । जे जे भने पनि गरेपनि हामीले मुलुकमा लगानी गर्न सक्यौ भने मात्र देश बन्ने छ । त्यसका लागि एनआरएनले लगानीको नया बाटोको पहिचान गर्ने बिषयको थालनी गर्ने बिश्वास लिएको छु, संयोजक धर्मराज अधिकारीले बताए । कृषी तथा खाध्य सुरक्षा, पुर्वाधार निमार्ण तथा रेलवे, सुरुङ मार्ग, स्वास्थ तथा शिक्षा जस्ता उपयुक्त बिषयमा केन्द्रित हुन सके यस्ता कार्यक्रम परिणाममुखी बन्ने हुनाले त्यस्ता बिषयलाई ध्यान दिएको अधिकारीले सुनाए । बिज्ञताको कुनै कसी हुदैन , बिदेशमा बसेर गमलामा साग फलाउन सिक्ने पनि बिज्ञ हुन अनि अस्ट्रेलियामा बसेर मुटु फेर्ने डाक्टर कुमुद धिताल सम्म हाम्रो परिप्रेक्षमा बिज्ञ हुन,त्यसैले मुलुक सुहाउदो प्रविधी र लगानी लान सके यस्ता कार्यक्रम सफल हुने कुरामा बिश्वस्त रहेको अधिकारी बताउछन । कार्यक्रममा युवा वर्गलाई केन्द्रित गरेर नेपाली बिध्यार्थीहरुको बिषयमा समेत केहि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । जसमा काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुका लागि कठिन गन्तब्य बन्दै आएको सन्दर्भमा केहि महत्वपुर्ण बिषय उठान गरेका थिए । निकै सहज रुपमा बिध्यार्थीहरुलाई अध्यन भिषा दिएपनि लाखौ डलर खर्च गरेर पढिसकेपछि स्थायीत्वको समस्या कठिन बन्दै गएको परिप्रेक्षमा नेपाल सरकार र बिध्यार्थी तथा अभिभावकले सोच्नुपर्ने बेला आएको सापकोटाले बताए । उनले अहिले अन्तराष्ट्रिय बिध्यार्थीहरुमा १६ प्रतिशत मात्र पीआर पाएको तथ्याकं सार्वजनिक गर्दै भने बिश्वबिद्यालयमा पढेर शिक्षा आर्जन गर्छु भनेर आउने हो भने त्यो ठिकै छ तर पीआर पाउने सोच बनाएर आउने हो भने अस्ट्रेलिया कठिन बनेको छ, सापकोटाले भने । लाखौं खर्च गरेर नेपाली बिध्यार्थी अस्ट्रेलिया आएपनि सो अनुसारको उपलब्धी हुन नसकेकोमा विजयले चिन्ता ब्यक्त गरे । सो सत्रमा पीजे श्रेष्ठ, जेसिका तामाङ, तिर्थराज कार्कीले यहाँको सन्दर्भमा बिध्यार्थीको समसामयीक समस्या र त्यसका चुनौतीका बिषयमा आआफना धारणा राखेका थिए । यस्तै कार्यक्रममा राजु अधिकारी डा. सिताराम घिमिरे, न्युजिल्यान्डका बाबुराजा महर्जन, अमित भट्टराइ, भुपेन्द्र केसी, डा. डिल्ली बन्जाडे, डा. कुशराज श्रेष्ठ, जगदिश तिम्सीना, राम राज ओली लगायतले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुमा ब्रिसबेनका पार्थ पराजुली र अनन्त कार्कीको नेपालको रोड सेफ्टी र ट्राफीक ब्यबस्थापन अनि डा. केशव कडेंलको आलुको आधुनिक बिउ उत्पादन र संभावना बिषयक कार्यपत्र निकै चाखलाग्दो रहेको थियो । कार्यक्रममा सरसफाइ सम्वन्धी बिषयमा खेम शर्मा जस्ता जोशिला युवाले मुलुकको मुहार फेर्ने बिषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा अस्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले यस्ता कार्यक्रमहरु देशका लागि निकै महत्वपुर्ण रहने बताउदै मुलुकको बिकासका लागि आर्थिक ब्यबस्थापनसँगै प्राविधिक शक्तीको पनि आवश्यकता रहेको औल्यानु भयो । राजदुत शेर्पाले यतिखेर मुलुकमा युवा शक्तीको खाँचो देखिएको परिप्रेक्षमा दक्ष जनशक्तीले देशको निमार्णका लागि स्वदेश फर्कने अभियानको थालनी गर्नु पर्ने बताउनु भयो । राजदुत शेर्पाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुको आकर्षक गन्तब्य बनेपनि नेपालको गुणस्तर शिक्षाको बिषयमा अभिभावक र बिध्यार्थी गम्भीर नभएको र त्यसमा शैक्षिक निकायहरु पनि जिम्मेबार भएको जानकारी पनि गराउनु भयो । उहाँले बिध्यार्थीहरुमा कठिनाइ उत्पन्न हुदै जाँदा त्यसका जिम्मेबार निकायहरु प्रोभाइडर र परामर्शदाताहरु पनि जिम्मेबार हुनेहुँदा यसतर्फ गम्भीर हुन संकेत गर्नु भयो । कार्यक्रमका बिशेष अतिथी गैर आवासिय नेपाली संघका केन्द्रिय महासचिब डा. बद्री केसीले संसारभर फैलिएको एनआरएन अभियान मुलुकको उन्नती र प्रगतीसँग जोडिएको हुँदा यस्ता बिज्ञ सम्मेलनहरुको निष्कर्षले महत्वपुर्ण उपलब्धी हासिल हुने बिश्वस ब्यक्त गर्नु भयो । डा. केसीले यतिखेर संसारभर फैलिएका गैरआवासीय नेपालीहरुको हक र हितका लागि परेको एनआरएन अभियान देशको मुहार फर्ने अभियानमा लागि परेको छ । राज्यले गैरआवासीय नेपाली नागरिकताको ब्यवस्था र सर्बोच्च अदालतले देश बाहर बस्ने एनआरएनका लागि मताधिकारीको हक प्रदान गरेकोमा खुसी ब्यक्त गर्नु भयो । कार्यक्रममा महासचिब केसी र क्षेत्रिय संयोजक अधिकारीले काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटालाई नेपाल र नेपालीको प्रतिष्ठा अभिबृद्धी गरेकोमा एनआरएनकोतर्फवाट सम्मान गर्नु भएको थियो । कार्यक्रममा आइसिसि सदस्यहरुले पनि आआफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा एनआरएनको प्रस्तावित बिधानमा छलफल समेत भएको थियो । ओसेनिया क्षेत्र ।