Latest News

news-img
NRNA Admin • 09 Apr 2026

एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने

काठमाडौं, ९ अप्रिल २०२६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच आज उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यले दुवै पक्षबीच नयाँ समझदारी पत्र (एमओयु) तयार गर्ने र सहकार्य विस्तार गर्ने निर्णय गरेको छ। बैठकमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र उपकार्यकारी निर्देशक कृष्ण अधिकारी उपस्थित थिए। एनआरएनए तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, महासचिव डा. चिरञ्जीवी खड्का, उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) ,एसिया प्यासिफिक महिला क्षेत्रिय संयोजक सङ्गीता अधिकारी सुवेदी, पूर्व उपाध्यक्ष डी.बी. क्षेत्री, सीओ राजेन्द्र कुमार राउत, बरिस्ठ अधिकृत कुनाल मिश्र लगायतका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा हाल एसएसएफमा २२ लाख नेपाली श्रमिक दर्ता भए पनि निरन्तर योगदान सीमित रहेको र धेरै श्रमिकले योगदान कायम गर्न नसकेको विषयमा गम्भीर छलफल भएको थियो। सहभागीहरूले प्रवासी श्रमिकहरूमा एसएसएफका फाइदाबारे व्यापक जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। बैठकले निम्न निर्णयहरू गरेको छ: • १००% एसएसएफ योगदान लागू गर्न नयाँ एमओयु तयार गर्ने • कागजातविहीन श्रमिकका लागि स्व–योगदानको व्यवस्था गर्ने • एसएसएफ भत्ताका लागि माग पत्र जारी गर्ने • मध्यपूर्व र पूर्वी युरोपमा एसएसएफ कभरेज विस्तार गर्ने • विदेशी रोजगारी दर्ता नवीकरण प्रभावकारी बनाउने • रोजगारदातासँग प्रत्यक्ष सम्झौता गर्ने • राष्ट्रिय परिचयपत्र (एनआईडी) एसएसएफ प्रणालीमा एकीकरण गर्ने • डी.बी. क्षेत्रीलाई केन्द्रीय फोकल प्वाइन्ट र समन्वयकर्ताको जिम्मेवारी दिने बैठकले मध्यपूर्वमा रोडशो कार्यक्रम सञ्चालन गर्ने, नीति निर्माणमा सहकार्य गर्ने, श्रम अनुगमन प्रणाली मजबुत बनाउने र एनआरएनएका सदस्य विवरण साझेदारी गर्ने निर्णयसमेत गरेको छ। बैठकले यसैगरी एसएसएफ सुविधालाई युरोपेली संघ (ईयू) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सन्दर्भमा हस्तान्तरणयोग्य बनाउने, गन्तव्य देशमा एसएसएफ सम्झौता गर्ने, र द्विपक्षीय श्रम सम्झौतामा समावेश गर्ने नीतिगत प्रस्ताव पनि अघि सारेको छ। यसका साथै, बैठकले दूतावाससम्बन्धी समस्या, विदेशमा अध्ययनरत विद्यार्थीहरूको सामाजिक सुरक्षा, म्यानपावर एजेन्सी सञ्चालन, भर्चुअल अभिमुखीकरण कार्यक्रम, विदेशी रोजगारी भुक्तानी संयन्त्र, र बैंकमार्फत नेपालमा एसएसएफ रकम स्थानान्तरण जस्ता व्यवहारिक मुद्दाहरू पनि छलफल गरेको छ।

news-img
NRNA Admin • 08 Apr 2026

गैरआवासीय नेपालीका मुद्दाहरूलाई मिडियाले प्राथमिकताका साथ बहस, पैरवी गर्ने

काठमाडौं, ८ अप्रिल २०२६ – नेपाल पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीबीच महासंघको केन्द्रीय कार्यालयमा भेटघाट भएको छ। भेटमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा लगायतका पदाधिकारीले नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेटका क्रममा अध्यक्ष शर्माले विशेषगरी विदेशमा रहेका नेपाली पत्रकारहरूसँग सहकार्य बढाउँदै सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने आवश्यकतामा जोड दिनुभयो। उहाँले प्रवासमा रहेका नेपालीका मुद्दा, उपलब्धि र चुनौतीलाई सन्तुलित र यथार्थपरक रूपमा प्रस्तुत गर्न मिडियाको दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले गैरआवासीय नेपालीका मुद्दाहरूलाई मिडियाले प्राथमिकताका साथ बहस र पैरवी गर्नुपर्ने बताउँदै एनआरएनएभित्र रहेको विशाल सम्भावना, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। महासंघका उपाध्यक्ष बुद्धि सुवेदी तथा महिला उपाध्यक्ष टीका गुरुङले पनि पत्रकारिता क्षेत्रको विकास र एनआरएनएसँग सहकार्यका विषयमा आफ्ना धारणा राख्नुभएको थियो। यसैबीच, महासंघका महासचिव डा. चिरञ्जीवी खड्काले पत्रकारिताको भूमिका र जिम्मेवारीबारे चर्चा गर्दै रचनात्मक आलोचनामार्फत खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मिडियाले सन्तुलित, तथ्यपरक र जिम्मेवार ढंगले आफ्नो दायित्व निर्वाह गर्दै सकारात्मक परिवर्तनमा योगदान दिनुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले एनआरएनएसँग रचनात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहकार्यका विभिन्न आयामहरू अघि बढाउन प्रस्ताव गर्नुभयो।

news-img
NRNA Admin • 06 Apr 2026

एनआरएनए र नेपाल चेम्बरको सहकार्य: निर्यात वृद्धि, पर्यटन विकास र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा जोड

नेपाल चेम्बर अफ कमर्सले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र पहिचानलाई विश्वसामु पु¥याउन महत्वपूर्ण सेतुको भूमिका खेल्दैै आएको बताउदै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख समेत गर्नुभयो । उहाँले दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोडिराख्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्ने पनि बताउनुभयो । कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको समग्र विकास, व्यापार प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने विषय आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र मानवीय सम्भावनाले सम्पन्न भए पनि तिनको प्रभावकारी उपयोग अझै हुन नसकेको उल्लेख गर्नुभयो । अध्यक्ष अग्रवालले रणनीतिक ढंगले स्रोत परिचालन गर्नुपर्नेमा जोड दिदै नेपाल चेम्बर र एनआरएन बीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले मेड ईन नेपाललाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न स्थानीय उत्पादनको प्रवद्र्धन, निर्यात वृद्धि, पर्यटन विकास तथा वैदेशिक लगानी आकर्षण अपरिहार्य रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा सहभागीहरूले नेपालको आर्थिक समृद्धिका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गर्दै अवसरहरूको अधिकतम उपयोग गरी समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। कान्तिपथ स्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स र एनआरएनएका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

news-img
NRNA Admin • 06 Apr 2026

नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गर्नुभएको हो । “नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन”, उहाँले भन्नुभयो । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नु हुनेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् भन्दै उहाँले यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ भन्ने आफूलाई लागेको बताउनुभयो । “यसका लागि बुहपक्षीय साझेदारी अत्यावश्यक हुन्छ । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले विगतमा तपाईहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र संगठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ भन्नुभयो । साथै, आगामि दिनमा यो सहयोगलाई अझै प्रभावकारी बनाउन उहाँले आग्रह गर्नुभयो । भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उहाँको भनाई थियो । “नेपाली जनता र खासगरी युवा पुस्ताको चाहनाबमोजिम अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका छन्”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले हामीले राज्यको प्रशासनिक पुनसंरचना त ग¥यौ, तर राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई जबसम्म हामी आत्मसात गर्न सक्दैनौ तबसम्म नेपाली जनताले चाहेजस्तो सामाजिक न्यायसहितको समृद्धि हाँसिल गर्न कठिन छ भन्नुभयो । “त्यसैले आज हामी सबैले ती मूल्य, मान्यता र दर्शनलाई अंगिकार गरेर अघि बढ्नुपर्ने खाँचो छ”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली संघले आफ्नोतर्फबाट सहयोग गर्ने नै छ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिनुभयो । सो अवसरमा संघका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।यस्तै नेपालमा NRNA ले गरिरहेको लगानी, थप लगानीको सम्भावना, दोस्रो पुस्तालाई जोड्ने रणनीति लगायतका विषयमा प्रकाश पार्नुभएको थियो।

All News

news-img
NRNA • 05 Aug 2015

गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा परराष्ट्र मन्त्रीसंग भेट

news-img
NRNA • 04 Aug 2015

अफ्रिकी क्षेत्रीय वैठकमा एनआरएन अध्यक्ष सहभागी, राहत कोषका लागि सहयोग

news-img
NRNA • 04 Aug 2015

गैरआवासीय नेपाली संघका प्रतिमंडलद्वारा भेटघाट कार्यक्रम सम्पन्न

news-img
NRNA • 25 Jun 2015

अध्यक्ष घलेद्वारा माईति नेपाललाई सहयोग रकम हस्तान्तरण

news-img
NRNA • 22 Jun 2015

अध्यक्ष घलेद्वारा प्रधानसेनापतिसंग भेटवार्ता

news-img
NRNA • 21 Jun 2015

अध्यक्ष घलेद्वारा उद्योग मन्त्री तथा अर्थ सचिवसंग भेटवार्ता

news-img
NRNA • 20 Jun 2015

अध्यक्ष घलेद्वारा सम्माननीय राष्ट्रपतिसंग भेटवार्ता

news-img
NRNA • 12 Jun 2015

गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा सभामुखसँग भेट