हार्दिक श्रद्धाञ्जली: हमासको अपहरणमा परेका कञ्चनपूर भीमदत्त नगरपालिकाका विपिन जोशीको निधनको खबरले संघ अत्यन्त मर्माहत र स्तब्ध

16 Oct 2025

 

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको क्रममा हमासको अपहरणमा परेका कञ्चनपूर भीमदत्त नगरपालिकाका विपिन जोशीको निधनको खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) परिवारलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि आमा पद्यमा र बहिनी पुष्पाले गरेको अथक प्रयासका दौरानमा गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय समन्वय परिषद् इजरायल, तथा यूएसएले समेत सहजीकरण गरेका थिए ।

 ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उज्वल भविष्यको सपना बोकेर इजरायल पुगेका जोशीको निधनले सम्पूर्ण नेपाली समुदायले एक होनहार सुपुत्र गुमाएको अनुभूति गरिरहेको छ । यस दुःखद घडीमा, दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।

सुन्दर भविष्यको सपना बोकेर लाखौँ नेपाली युवाहरु विदेशी भूमिमा पुगेका  छन् । यस्ता दुखद् घटनाले ती युवाको सुरक्षाको सवाल पनि मुखरित भइरहेको छ यसर्थ विदेशमा अध्ययन, रोजगारी वा अन्य कुनै शिलशिलामा रहेका नेपाली युवाको सुरक्षाको प्रत्याभूतिका लागि कुशल कुटनीतिक नीति बनाउन गम्भीर हुन समेत नेपाल सरकारलाई अनुरोध गर्दछौँ ।

साथै, विपिन जोशीको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल गर्न समेत अनुरोध गर्दछौँ ।

 

 

डा बद्री केसी

अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद्

१५, अक्टोबर २०२५