Buddha Statue at Muktinath

NRNA Admin • 04 Jan 2015
news-img
बुद्ध मुर्ति निर्माणका लागि क्षेत्रीय उप–संयोजक सोनम लामाबाट एक करोड ४० लाख सहयोग


मुस्ताङ जिल्लाको मुक्तिनाथमा ३२ फिट अग्लो भगवान बुद्धको मुर्ति निर्माणका लागि अमेरिकाको न्युयोर्क निवासी एनआरएनएका क्षेत्रीय उप–संयोजक सोनाम लामाले एक करोड ४० लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
ढुंगाबाटमात्र निर्माण हुने भगवान बुद्धको मुर्ति ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित ‘अरनिको स्टोन कार्भिङ’ मा कुँद्ने काम भैरहेको छ । निर्माणको जिम्मा लिएको अरनिको स्टोन कार्भिङले करिव ५० प्रतिशत काम सकिसकेको जनाएको छ । हिन्दु र बौद्ध धर्मावलम्बिहरुको संयुक्त तिर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा सन् २०१५ को अक्टोबरसम्ममा मुर्ति स्थापना गरिसक्ने लक्ष्य लिइएको छ । हाल तिब्र गतिमा काम भैरहेको छ भने सामाग्रीहरु ढुवानी गरी आधारस्तम्भ तयार भैसकेको छ ।

सम्पूर्ण लागत तीन करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उक्त बुद्ध मुर्ति निर्माणको खर्च क्षेत्रीय उप–संयोजक लामाले प्रदान गर्नु भएको हो । यो बाहेक ढुवानी र उक्त क्षेत्रमा निर्माण गरिने बगैचा एवं अन्य निर्माणका लागि अझै एक करोड ६० लाख रुपैयाँ आवश्यक पर्ने भन्दै ‘मुक्तिनाथ क्षेत्र विकास एवं स्थानिय संरक्षण समिति’ ले सहयोगका लागि अपिल गरेको छ ।


 

प्रस्तावित भगवान बुद्धको मुर्ती

मुक्तिनाथ क्षेत्रमा बुद्धमुर्ति स्थापना गरी लुम्बिनी र मुक्तिनाथलाई संगसंगै लैजाने प्रयास रहेको भन्दै लामाले भन्नुभयो– ‘धामिर्क एवं पर्यटकीय क्षेत्रको रुपमा मुक्तिनाथलाई विकास गरी समग्र मुलुकको अर्थतन्त्रलाई टेवा दिने उद्देश्य अनुरुप आर्थिक सहयोग गरेको हुँ । यसले एकातिर धार्मिक पर्यटकको संख्या बढ्छ भने अर्कोतिर लुम्बिनी र मुक्तिनाथलाई जोड्न सहज हुन्छ ।’


समुद्री सतहदेखि ३७१० मिटरको उचाईमा रहेको मुक्तिनाथ क्षेत्रमा स्थापना हुने यो मुर्ति संसारकै उग्लोस्थानमा अवस्थित ढुंगाबाट निर्मित बुद्ध मुर्ति हुने अनुमान गरिएको छ । यसले पनि पर्यटकको संख्यामा बृद्धि हुने मुक्तिनाथ क्षेत्र विकास एवं स्थानिय संरक्षण समितिले अपेक्षा गरेको छ ।
मुक्तिनाथ क्षेत्रमा ढुंगाको मुर्ति बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । उनीहरुले मुर्ति निर्माणका लागि सहयोग गर्ने लामालाई धन्यवादसमेत दिएका छन् । लामाको जन्मस्थल पनि मुक्तिनाथमै भएकोले आफ्नो क्षेत्रको विकासमा सहयोग गरेकोप्रति स्थानीयले आभारसमेत व्यक्त गरेका छन् ।

निर्मणाधिन् भगवान बुद्धको मुर्ती- मुस्ताङ