नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

NRNA Admin • 16 Mar 2026
news-img

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं, २ चैत
प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान गरेकी हुन् ।
‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् । उनले नेपालको लगानी र अवसरलाई सदुपयोग गर्न अपिल गर्दै प्रवासी नेपालीको हातेमालोले विकास, पर्यावरणीय संरक्षण र आर्थिक रुपमा समृद्ध बनाउने बताइन् ।  


प्रधानमन्त्री कार्कीले नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिइन् ।
सम्मेलनले विश्वका विभिन्न कुनामा फैलिएका नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण रहेको बताइन् । सम्मेलनले सबैमा साझा प्रतिबद्धता, नयाँ सहकार्यको वातावरण र मुलुकको विकासतर्फ अग्रसर हुने स्पष्ट मार्गदर्शन गरेको उनले उल्लेख गरिन् ।
‘नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ,’ उनले भनिन्, ‘यस्तो महत्वपूर्ण समयमा यहाँहरूले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकासमा सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गर्नुभएको छ ।’
गैरआवासीय नेपालीहरु वास्तवमा नेपालको सद्भावना दूत रहेको भन्दै प्रधानमन्त्रीले थपिन्, ‘तपाईंहरूसँगै नेपालको पहिचान पनि संसारभर फैलिरहेको हुन्छ। विश्वसामु कस्तो नेपाल प्रस्तुत गर्ने भन्ने कुरा तपाईंहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ। तपाईंहरू जहाँ बस्नुहुन्छ, त्यहाँ नेपालको गौरव, पहिचान र संस्कृतिलाई विश्वसामु परिचित गराइरहनुभएको पनि छ। यसका लागि म तपाईंहरू सबैप्रति सम्मान व्यक्त गर्दछु।’
नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको भन्दै उनले यो प्रबन्ध मातृभूमि र प्रवासी नेपालीबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने सेतु भएको बताइन् । ‘यसले तपाईंहरू जहाँ रहे पनि आफ्नो ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा योगदान गर्न सक्ने अवसर सुनिश्चित गरेको छ,’ उनले भनिन् । यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरहरूमा सक्रिय सहभागिताका लागि उनले आह्वान गरिन् । ‘तपाईंहरूको योगदानले देशको दिगो विकास, पर्यावरणीय संरक्षण र आर्थिक समृद्धिलाई सुदृढ बनाउनेछ,’ उनले भनिन् ।  
नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउनु साझा लक्ष्य भन्दै प्रधानमन्त्री कार्कीले नेपालमै अवसर सिर्जना गर्ने, नेपाली युवालाई आशावादी बनाउने र नेपाल विश्वका पर्यटकका लागि सुरक्षित तथा आकर्षक गन्तव्य हो भन्ने सन्देश फैलाउने काममा प्रवासी नेपालीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिन् ।
नेपाल नयाँ सरकार गठनको चरणमा रहेको भन्दै प्रधानमन्त्री कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजीलाई सुरक्षित र पारदर्शी ढङ्गले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति अबको प्राथमिकतामा रहने विश्वास व्यक्त गरिन् ।
गैरआवासीय नेपालीहरूको लगानी आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री कार्कीले यो लगानी नेपाली मन र नेपालीपनसँग जोडिएको लगानी भएको बताइन् । यसले विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेपालीबीच आर्थिक समुन्नति मात्र होइन, पहिचान र सामाजिक एकतालाई पनि सुदृढ बनाउने उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले विभाजन र मुद्दा मामिलासम्म पुगेको संघलाई एउटै मञ्चमा उभिएर सर्वसम्मत नेतृत्व चयन गरी अगाडि बढ्ने प्रण लिएकोमा प्रशंसा गर्दै  विश्वभर रहेका नेपालीहरूको भावनात्मक एकताको सूत्र बन्न सकोस् भनी शुभकामना दिइन् ।
आफू बाँच र अरूलाई पनि बचाऊ भन्ने मन्त्रअनुसार भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का बेला देशलाई सहयोग गरेको, लगानी भित्र्याउने अभियान सञ्चालन गरेको, विदेशमा जन्मे–हुर्केका नयाँ पुस्तालाई पनि नेपालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नुभएकोमा प्रधानमन्त्री कार्कीले धन्यवाद दिँदै भनिन्, ‘यस्ता कामहरू एकताबद्ध भएर गर्दा अझ प्रभावकारी हुनेछन् ।’ कार्कीले अब बन्ने सरकारले मुलुकलाई सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गमा तीव्र गतिमा अघि बढाउने विश्वास पनि व्यक्त गरिन् ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल नेपालीले नै बनाउने बताए । ‘संस्थामा बीचमा केही समस्या आएका थिए । तर ती समस्यालाई थाहा पाएर निराकरण गरेर तबमात्र अगाडि बढिन्छ भन्ने लागेर सबैले मेहनत गरेर हाम्रो बाटोमा फेरि ल्याइदिनुभएको छ,’ उनले भने ।
सभ्यता र संस्कारसहितको आर्थिक समृद्धि आवश्यक रहेको भन्दै उनले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न गैरआवासीय नेपाली तयार रहेको बताए । ‘सानो मन हुन दिँदैनौं । ठूलो मन बनाएर अगाडि बढ्छौं,’ उनले भने । नयाँ आउने कार्यसमितिमा ठूलो आशा र जिम्मेवारी नेपालीले दिएको भन्दै त्यसलाई सम्हालेर अगाडि बढ्न उनले अनुरोध गरे ।  
एनआरएनएका संस्थापक अन्तर्राष्ट्रिय संयोजक एवं म्यानमारका लागि नेपाली पूर्वराजदूत भीम उदासले समृद्ध नेपाल निर्माणका लागि रणनीतिक साझेदारी जरुरी भएको र एनआरएनए उपयुक्त प्लाटफर्म भएको बताए । नेपाली डायस्पोरा लगानीका लागि महत्त्वपूर्ण पक्ष भएको र विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना रहेको उनको भनाइ थियो ।
पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा बसे पनि गैरआवासीय नेपालीमा देशको लागि केही गर्नुपर्ने भावना रहेको बताए । प्रवासी नेपालीहरु एक भएर समृद्ध नेपालको अभिभारामा हातेमालो गर्न चाहेको उनको भनाइ छ । एनआरएनए एकेडेमिकहरुको संस्था हो भन्ने डा. हेमराज शर्मा निर्विरोध अध्यक्ष भएबाट पुष्टि भएको पनि बताए ।
अध्यक्ष डा. बद्री केसीले प्रविधिको युगमा धेरै देशले प्रवासमा रहेका नागरिकलाई मताधिकार दिएको भन्दै आउने सरकारले प्रवासी नेपालीलाई यो अधिकार सुनिश्चित गर्न माग गरे । उनले एकपटकको नेपाली सधैको नेपाली भन्दै नेपालीलाई नेपाल आउनबाट वञ्चित नगर्न पनि माग गरे । गैरआवासीय नागरिकता वा गैरआवासीय प्रमाणपत्र दिएर उनीहरुलाई सहजै मातृभूमिप्रति समर्पित हुने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
विदेशको नागरिकता लिए पनि नेपाली नागरिकता कायमै रहनेगरी संविधान संशोधन गरेर व्यवस्था गर्न र नेपालीको पहिचान नखोस्न पनि माग गरे । अध्यक्ष केसीले मध्यपूर्वको तनावले जोखिममा परेका लाखौं श्रमिक नेपालीलाई सरकार र एनआरएनएले भरोसा दिलाउनुपर्नेमा जोड दिए । एनआरएनएमा एकता भइसकेको भन्दै अध्यक्ष केसीले नेपालको विकास र समृद्धिमा हातेमालो गर्न गैरआवासीय नेपाली सदैव तयार रहेको प्रतिबद्धता जनाए ।
अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले गैरआवासीय नेपाली संघभित्र थुप्रै मतभेद भए पनि एकताबद्ध रुपमा एकताको १२औं महाधिवेशन सम्पन्न गरेको बताए । ‘हामी विभाजित हुँदा असाध्यै कमजोर भयौं । विश्वास टुट्यो । हामीप्रतिको अविश्वासले मुद्दा कमजोर भएका थिए । आजबाट त्यो अविश्वास टुटेको छ । अब यस्तो टुटफुट दोहोरिन दिने छैनौं । मिलेर सकारात्मक सोचका साथ अगाडि बढ्नेछौं,’ उनले भने । समृद्ध नेपाल निर्माणमा योगदान गर्न चाहने भन्दै आफूहरुका मुद्दा सम्बोधन गर्न माग गरे । गैरआवासीय नेपाली नागरिकताले अधिकार नपाएको भन्दै उनले आगामी सरकारले सम्बोधन गरेर अधिकार दिलाउने विश्वास व्यक्त गरे । उनले प्रवासी नेपालीको लगानी भित्र्याउन ऐनहरु संशोधन गर्नुपर्ने, धितोपत्र बोर्डसम्बन्धी नियमावली संशोधन गरेर अर्बाै लगानी भित्र्याउने सकारात्मक वातावरण आगामी सरकारले बनाउने उनको विश्वास थियो ।
संघका उपाध्यक्ष एवं अध्यक्षमा निर्विरोध डा. हेमराज शर्माले आफूलाई सर्वसम्मत बनाएकोमा रोविन शेरचन र रविन बर्जाचार्यलाई धन्यवाद दिए । एनआरएनएको एकताका लागि भूमिका खेल्ने पूर्वअध्यक्षहरु, सरकारका पदाधिकारीलाई पनि सम्मान व्यक्त गरे ।


शर्माले प्रवासी नेपालीको ज्ञान सीप र पुँजीलाई आर्थिक र सामाजिक विकासमा एकताबद्ध गर्ने उद्देश्यले एनआरएनएको स्थापना भएको र सबै प्रवासीलाई स्वदेशसँग जोड्ने काम गरेको बताए ।
आफूले एनआरएनएलाई रिब्राण्डिङ गर्दै पुस्तौसम्म जोड्ने प्रतिबद्धता गरेको बताए । ‘संघलाई बलियो बनाउँदै आम गैरआवासीयलाई जोड्ने र समस्या केन्द्रित हुने निधो गरेको छु । संस्थाको पुनर्संरचना गर्ने, सम्पूर्ण पञ्जीकृत सदस्यले अनलाइनबाट समिति चयन गर्न सकिने व्यवस्था गरिनेछ । वशंजको नागरिकता कायम, सम्पत्तिको अधिकार, निर्वाचनमा मताधिकार, पिएनओज, ब्रिटिस गोर्खाका मुद्दामा काम गर्नेछु । अब बन्ने सरकार विदेशमा बसेका नेपालीको मुद्दामा उदार देखिएकाले हाम्रा मागहरु पूरा हुनेछन् भन्ने अपेक्षा छ,’ उनले भने । सुरक्षित मर्यादित वैदेशिक रोजगारका लागि केन्द्रीय कार्यालयमा फोकल पर्सन राख्ने, श्रमिकका समस्याहरु रियल टाइम थाहा पाउन आर्टिफिसियल इन्टलीजेन्स प्रयोग गर्नेलगायत आफ्ना योजनाहरु उनले समारोहमा सुनाएका थिए । उनले आफू नेतृत्वमा पुग्छु भन्ने कल्पना नगरेको भन्दै एनआरएनए सबैको हो भन्ने सन्देश गएको बताए । शर्माले संघको विभाजन भएका एनसीसी कार्यसमिति देशहरुमा पुग्ने र एकताको वातावरण बनाउने प्रतिबद्धता पनि जनाए ।
समापन सत्रमा पूर्वअध्यक्ष विनोद कुँवर, भवन भट्ट, आरके  शर्मा लगायतले नयाँ कार्यसमितिलाई बधाई नयाँ ढंगबाट नयाँ सोचले नयाँ सरकारसँग एकताबद्ध ढंगले काम गर्न शुभकामना दिएका थिए ।
समारोहमा प्रवक्ता गंगाधर गौतमले १२औं अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा पत्र प्रस्तुत गरेका थिए । समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको हातमा सम्मान पत्र र प्रशंसा पत्र प्रदान गरिएको थियो ।