जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले ‘जेनजी आन्दोलन र नेपालमा डायस्पोराको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । एनआरएनएकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा आयोजित कार्यक्रममा संघीय संसदकी उपसभामुख महिला अधिकारकर्मी,संचारकर्मी,जेनजीका प्रतिनिधिहरु, मानव अधिकारकर्मी लगायत एनआरएनएका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विशेषगरी जेनजी पुस्ताका माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्नेमा समग्र एनआरएनए र विदेशमा रहेका नेपालीहरुको तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो ।उहाँले अपराध, हिंसा र आन्दोलनलाई फरक दृष्टिले बुझ्नुपर्ने बताउँदै आफ्ना माग शान्तिपूर्ण रूपमा राख्नु संवैधानिक अधिकार भए पनि अपराध र हिंसामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो। “जेनजीको नाममा गल्ती गर्नेले उन्मुक्ति पाउनु हुँदैन,” उहाँको भनाइ थियो।
उहाँले थप्नुभयो, “हामी नेपाली जो विगतमा बाध्यतावश विदेशिएका थियौं, अहिले देशमा केही गर्नुपर्छ भनेर फर्किएका र फर्कने क्रममा रहेका सबै सशंकित भएका छौँ । देश नै दुखेको बेला आफ्नो पीडा राख्ने ठाउँसम्म नभएको महसुस हुन्छ। आन्दोलनको क्रममा भएका हिंसा, लुटपाट तथा राज्यहिनताको परिस्थितिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सम्मान घटेको छ ।" लगानीका लागि गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई समेत प्रोत्साहित गरिरहेको बेला अकस्मात् उत्पन्न भएको घटनाले “के अब नेपालमा लगानीकर्ता आउलान् त?” भन्ने भय सिर्जना भएको छ। यति मात्र नभई, नेपाल अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकको सूचीमा समावेश हुनै लागेको अवस्थामा आएको यो परिवर्तनले देशको आर्थिक दिशाबारे थप अन्योलता सिर्जना गरेको छ।”
डा. केसीका अनुसार अब सबैले मिलेर जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बेला आएको छ। उहाँले वर्तमान अवस्थामा एनआरएनएका माग सम्बोधन गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारसँग हातेमालो गर्न सकिने कानूनी मार्ग प्रशस्त गर्न सरकार तथा सरोकारवालाहरूले ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो।
गैरआवासीय नेपाली संघ (NRNA) की उपाध्यक्ष रोजिना प्रधान राइले महिलाको नेतृत्व, नयाँ पुस्ताको भूमिका र सहकार्यका सम्भावनाबारे महत्वपूर्ण विचार प्रस्तुत गर्नुभयो । कार्यक्रममा उहाले सक्षम महिलाहरूको सहभागिताप्रति खुशी व्यक्त गर्दै नयाँ पुस्ता, विशेषगरी जेनजी आन्दोलन पछि आएको चेतना र आत्मविश्वासलाई सही दिशामा लैजानु आवश्यक रहेको बताउनुभयो । उहाले भन्नुभयो, 'आन्दोलनले नयाँ पुस्तामा चेतना र आत्मविश्वास जगाएको छ। उनीहरू अब मौन छैनन्, उनीहरू बोल्छन्, प्रश्न गर्छन्, र परिवर्तन चाहन्छन्। तर त्यो परिवर्तनलाई सहि दिशा दिने जिम्मेवारी हाम्रो पुस्ताको पनि हो।” उहाँले एनआरएनएको भूमिका र जिम्मेवारीबारे जिज्ञासा राख्दै भन्नुभयो, “हामी,एनआरएन का रूपमा, कसरी ती युवाहरूको आवाजलाई अवसरमा रूपान्तरण गर्न सक्छौँ? महिलाहरूको नेतृत्वमा, शिक्षा, उद्यमशीलता र सशक्तिकरणमा के-कस्तो ठोस योगदान दिन सक्छौँ? र हामी कसरी आफ्नो अनुभव र जेनजी को ऊर्जा जोडेर साझा बाटो बनाउन सक्छौँ?” भनेरै सबैसंग सम्बादमा छौ ।' प्रधानका अनुसार एनआरएनए महिला विभागले विश्वभर रहेका नेपाली महिलाबीच सञ्जाल, मार्गदर्शन, र सीप आदान–प्रदानमार्फत नेपालका महिलाहरू र युवाहरूलाई सशक्त बनाउन सकिने उहाँको भनाइ थियो । उहाले भन्नुभयो, “हामीसँग ज्ञान छ, स्रोत छ, र अब प्रतिबद्धता पनि चाहिन्छ। आजको बैठक केवल विचार साझा गर्ने मञ्च होइन, नयाँ सहकार्य र प्रतिबद्धताको सुरुवात हो।” उहाँले सबै सहभागीहरूलाई अनुभव, विश्वास र नयाँ पुस्ताको उत्साह एकत्रित गरी “सशक्त, समान र सम्भावनायुक्त नेपाल” निर्माण गर्न आह्वान गर्नुभयो उपसभामुख इन्दिरा रानाले जेनजी आन्दोलनले देशमा नयाँ सोच, नयाँ नेतृत्व र उत्तरदायित्वको संस्कृति जन्माएको बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजी पुस्ताले राज्यसँग प्रश्न उठाउनु सकारात्मक कुरा हो, तर युवाले आफ्नो कर्तव्य पनि नबिर्सिनु जरुरी छ । जिम्मेवार नागरिकको भूमिका नखेलेसम्म परिवर्तन दिगो हुन सक्दैन ।”
राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापाले ‘जेनजी आन्दोलन’ पछिको अवस्थाबारे बोल्दै विदेशमा रहेका नेपालीहरूले पाउनुपर्ने अधिकारसँगै निर्वाह गर्नुपर्ने कर्तव्यबारे स्पष्ट हुनुपर्ने बताउनुभएको छ। थापाले राज्यका संरचनाहरूमा व्यापक क्षति पुगेको उल्लेख गर्दै त्यसको पुनर्निर्माणमा सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “राज्यका धेरै संरचनाहरू बिग्रिएका छन्। यदि तपाईंहरू सक्नुहुन्छ भने सहयोग गर्नुहोस्। अब देश बनाउने जिम्मेवारी तपाईंहरूको पनि हो।”
कार्यक्रममा महिला तथा लैङ्गिक अधिकार बिज्ञ सरु जोशीले विदेशमा रहेका नेपालीहरुको मताधिकारका लागि काम भइरहेको र आफूले नीति तथा अनुसन्धान परिषद्मा रही त्यसका लागि आवश्यक प्रक्रियागत काममा सक्रिय रहेको बताउनुभयो उहाँले सरकारले अध्यादेश ल्याउँदा नै लचकता अपनाएर ल्याउनुपर्ने र विदेशमा रहेका नेपालीहरुलाई सजिलै सँग मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउन एनआरएनए लगायत सरोकारवालाले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चारकर्मी युबराज घिमिरे, बबिता बस्नेत र बालकृष्ण बस्नेतले जेन जी आन्दोलनपछि बढ्दो नकारात्मकतालाई सबैले आ आफ्नो स्थानबाट कम गर्न पहलकदमी दिनुपर्ने, नेपालको पुर्नसंरचना पुर्ननिर्माणमा हातेमालो गर्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।
यस्तै जेनजी पुस्ताका अभियन्ताहरु निशा थापा, किशोरी कार्की लगायतले मुलुक परिवर्तनउन्मुख भइसकेको अवस्थामा विदेशमा रहेका नेपालीहरुले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने समय आएकोमा जोड दिएका थिए । कयौँ युवाहरु विदेशिरहेको समयमा नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
यसै क्रममा, साथसाथै फाउन्डेशनकी प्रजिता कार्कीले जलवायु परिबर्तनको क्षेत्रमा एनआरएनको योगदान भूमिकाको बारेमा चर्चा गर्नुभयो । यस्तै पौरखी नेपालकी संस्थागत अध्यक्ष मंजु गुरुङले विदेशमा रहेका नेपालीहरूले नेपालको पुनर्निर्माण र विकासका काममा सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
अन्य वक्ताहरूले नेपालमा भइरहेको जेनजी आन्दोलनले सामाजिक र राजनीतिक चेतनाको नयाँ आयाम खोलेको बताउँदै विदेशमा रहेका नेपालीहरू पनि देश निर्माणको यात्रामा समान रूपमा सहभागी हुनुपर्ने धारणा राखे ।
वक्ताहरूले एनआरएनएले प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चित गर्न सरकारले तयारी गरिरहेकोले विदेशमा रहेका नेपाली बिशेषत: एनआरएनएले महत्वपूर्ण सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । “विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारले कानुनी रूपमा स्पष्ट र खुला अध्यादेश ल्याउनुपर्छ र एनआरएनएले यसमा महत्वपूर्ण सहयोग गर्न जरुरी छ । ” उनीहरुको भनाइ थियो । कार्यक्रममा सहभागीहरूले सरकारले प्रवासी नेपालीहरूको सहभागितालाई राष्ट्रिय नीतिमा समेट्ने स्पष्ट कानुनी बाटो खोल्नुपर्ने, जेनजी आन्दोलनले उठाएका मागहरूलाई दीर्घकालीन सुधारका एजेन्डा बनाइनुपर्ने, र युवाहरूको ऊर्जालाई सकारात्मक परिवर्तनका लागि उपयोग गर्नुपर्ने निष्कर्ष निकाले । एनआरएनए महिला विभागका पदाधिकारीहरूले भने, यस्तो अन्तरक्रियाले देशभित्र र बाहिर रहेका नेपालीबीच विचार–विनिमय र सहकार्यको वातावरण निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
3.
कार्यक्रमका मुख्य निष्कर्षहरू
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सह–कोषाध्यक्ष कृष्ण तिमल्सेना, एनआरएन अमेरिकाज क्षेत्रकि महिला संयोजक इन्दिरा त्रिपाठी राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापा, बेपत्ता छानबिन आयोगबाट श्रीजना शिवाकोटी, सञ्चारकर्मी युवराज घिमिरे, बालकृष्ण बस्नेत, र बबिता बस्नेत, महिला तथा लैङ्गिक अधिकार बिज्ञ सरु जोशी, जेनजी प्रतिनिधिहरु, निशा थापा र किशोरी कार्की, पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङ, अनु भट्टराई साथसाथै फाउन्डेसनबाट प्रजीता कार्की, कमल अर्याल लगायतका सहभागीहरूको उपस्थिति रहेको थियो।