Publications

  • Home
  • Publications
  • व्यवसायमा सफल हुनका लागि समर्पण र इमान्दारिता अति महत्वपूर्ण कुरा हुन्

व्यवसायमा सफल हुनका लागि समर्पण र इमान्दारिता अति महत्वपूर्ण कुरा हुन्



चितवनको पदमपुर भन्ने गाउँमा सन् १९६७ मा जन्मनु भएका जीवा लामिछाने गैरआवासीय नेपाली संघका रुस प्रतिनिधि एवं रुसका प्रतिष्ठित नेपाली व्यवसायी हुनुहुन्छ । पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थानवाट सिभिल इन्जिनियरिङ विषयको प्रविणता प्रमाणपत्र तहमा प्रथम श्रेणीमा प्रथम भइ सन् १९८६ मा तत्कालिन सोभियत संघको छात्रबृत्तिमा मास्को पुग्नु भएका लामिछानेले त्यहाँको सिभिल इन्जिनियरिंग विश्वविद्यालयवाट सन् १९९२ मा स्नातकोत्तरको डिग्रि प्राप्त गर्नु भएको छ । त्यस पछि निरन्तर मास्को मै बसोबासरत जीवा लामिछानेका दुई छोरा छन् ।

यात्रा, साहित्य अध्ययन र सामाजिक सेवालाई आफ्नो रुचि बताउनु हुने लामिछानेले जन्मभूमि चितवनमा पुस्तकालय निर्माण आदि थुप्रै सामाजिक कार्यहरु गर्नु भएको छ । नेपाली साहित्यका विभिन्न विधालाई अंग्रेजी र रुसी भाषामा अनुवाद गराई बिदेशमा नेपाली साहित्यको प्रचारप्रसार गर्ने उद्धेश्यले उहाँले दश वटा पुस्तक प्रकाशित गर्नुका साथै मोफसलका साहित्यकारहरुलाई हौसला मिलोस् भनेर नेपाली साहित्यकर्मीहरुको सल्लाहमा आफ्नै गाउँको नाममा “पद्मश्री” साहित्य पुरस्कार・को स्थापना गर्नु भएकोछ ।

गैर आवासीय नेपाली अभियानलाई आजको अवस्था सम्म ल्याउन ठूलो योगदान दिने जीवा लामिछानेसँग गैरआवासीय नेपाली संघका गतिविधि लगायत अन्य समसामयिक विषयमा भएको कुराकानीका केही अंशहरु:

१. गैरआवासीय नेपाली संघद्वारा यहाँको संयोजनमा निर्माण कार्य शुरु गरेको देवघाटस्थित एनआरएन देवघाट बृद्धाश्रमको कति निर्माण सकिएको छ ?
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले देवघाट चितवनमा निर्माण हुन लागेको बृद्धाश्रामलाई औपचारिक रुपमा नै च्यारिटी परियोजनाको रुपमा स्वीकार गरेको छ । जम्मा एक करोड बीस लाख रुपैंयाको लागतमा बन्ने उक्त बृद्धाश्रम आवश्यक पूर्वाधारसहित जम्मा ५८ बेडको हुनेछ । यही अक्टोबरमा हुने तृतीय विश्व सम्मेलनसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेर गत मार्च महिनादेखि युद्धस्तरमा निर्माण कार्य भइरहेकोले समय मै बृद्धाश्रम निर्माण हुने कुरामा हामी आशावादी छौं ।

२. यसको निर्माणका लागि कस्ता सहयोगहरु को सँग लिनु भयो ?
एउटा सामाजिक कार्य भएकोले यसको निर्माण लागि स्वेच्छिक योगदान गर्न विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आहृ्वान गरेका छौं । आयल अफ म्यान, जापान, साइप्रस, हल्याण्ड, रुस, हङकङ, अमेरिका, जर्मनी, बेलायत, दक्षीण अफ्रिका, कतार, युएइ, युक्रेन आदि देशमा बसोवास गर्ने सहृदयी नेपाली मित्रहरुबाट बृद्धाश्रम निर्माणका लागि हालसम्म जम्मा १५३००० डलरको सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ । नेपालमा बस्नुहुने हाम्रा बृद्ध बाबुआमा, बाजेबज्यैको लागि विदेशमा बसोवास गर्ने हामी सबै १५ लाख एनआरएनहरुको यो एउटा सानो उपहार भएकोले सबै एनआरएन साथीहरुलाई यस पुनित कार्यका लागि सप्रेम सहयोग गर्नुहुन म नेपालजापान डट कम मार्फत अनुरोध पनि गर्दछु ।

३. यसरी गैरआवासीय नेपाली संघले अन्य सामाजिक कार्यमा हात हालेको छ की ?
व्यक्तिगत रुपमा धेरै एनआरएन साथीहरुबाट आफ्नो गाउँ, समाज, जिल्ला, आफू पढेको विद्यालय आदिलाई शिक्षा, स्वास्थ्य, खानेपानी लगायत अन्य सामाजिक क्षेत्रमा सहयोग गरेको जानकारी हामीलाई प्राप्त छ । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोको व्यक्तिगत अनुदानमा पशुपति क्षेत्रभित्र एक करोड रुपैंयाको लागतमा एउटा सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण भएर संचालनमा आएको सर्वविदीतै छ भने अर्का आइसीसी सदस्य आयल अफ म्यान निबासी जनक बस्नेतले ललितपुर जिल्लामा शिक्षाको क्षेत्रमा र अमेरिका निबासी डा. नारायण श्रेष्ठले स्वास्थ्यको क्षेत्रमा नेपालका धेरै जिल्लामा निकै उल्लेखनिय काम गर्नु भएकोछ । त्यसै गरी बिदेशमा बस्ने सक्रिय नेपालीहरुको अर्को संगठन हेल्प नेपाल नेटवर्कले नेपालका दुर्गम जिल्लाहरुमा बिभिन्न सामाजिक कार्यको संचालन गरिरहेको हामी सवैलाई थाहै छ । हाम्रो सानो सहयोगमा पनि नेपालमा कति ठूला कामहरु हुन सक्छन् भन्ने कुराको त्यो नेटवर्क एउटा राम्रो उदाहरण हो । यसै सन्दर्भमा, हालै मात्र गैरआवासीय नेपाली संघको सचिवालय, काठमाडौंले एनआरएनहरुबाट भएको लगानी र सामाजिक कार्यको औपचारिक तथ्याङ्क राख्ने कार्यको सुरुआत गरेको छ । यस कार्यमा नेपालमा लगानी गरिरहनु भएका साथीहरुले सचिवालयलाई तथ्यांक उपलब्ध गराई सहयोग गरिदिनुभए यस सम्बन्धी थप जानकारी हुने थियो । सचिवालयको बेब साइट www.nrn.org.np वाट अन्य बिबरण प्राप्त गर्न सकिने छ ।

४. भूतपूर्व सोभियत संघमा बसोबास गर्ने नेपालीहरुका बारेमा केही बताइदिनु हुन्छ की ?
सोभियत संघमा सन् १९५७ देखि नेपालीहरु अध्ययनको लागि आउने क्रम सुरु भएको हो । सोभियत संघको विधिवत विघटनभन्दा केही पहिले मिखाइल गोर्बाचोभको पालामा ग्लासनोस्त र पेरेस्त्रोइकाको नीति अबलम्बन गरिएपछि तत्कालीन विद्यार्थीहरुले सानोतिनो पटके व्यापार थालेका थिए र सोभियत संघको विघटनपश्चात् नयाँ प्रजातान्त्रिक वातावरणमा उनीहरुले अध्ययनलाई जारी राख्तै व्यापारलाई अगाडि बढाउँदै लाने र यस देशमा लामो समयसम्म बसोवास गर्ने पनि अवसर पाए । तर्सथ रुसमा बसोवास गर्ने नेपालीहरु मुख्यतः पहिलेका विद्यार्थी नै हुनाले यहाँ प्रायः सबै नेपालीहरु उच्च शिक्षा प्राप्त गर्नेहरु नै छन् । विद्यावारिधि र महाविद्यावारिधिको प्राज्ञिक उपाधि प्राप्त गरी रुसका उच्च शिक्षण संस्थानहरुमा अध्यापन गर्ने र वैज्ञानिक अनुसन्धान जारी राख्ने नेपालीहरु पनि यहाँ छन् । मुख्यतः रुसमा पहिलो पुस्ताकै नेपालीहरुको बसोवास छ भन्नुपर्दछ । नेपालबाट यहाँ व्यवसाय नै गर्न भनी आउने उद्यमी र व्यापारीहरुको संख्या नगण्य छ । रसियाली महिलाहरुसंग वैवाहिक सम्बन्ध जोडेर बसेका नेपालीहरुको संख्या उल्लेख्य रहेको हुँदा दोस्रो र अझ तेस्रो पुस्ताका नेपाली मूलका व्यक्तिहरुको संख्या पनि बढिरहेको पाइन्छ । यसका अतिरिक्त आफ्नै खर्चमा वा सरकारी छात्रवृत्तिमा पढ्न आउने केही नेपाली विद्यार्थीहरु पनि हरेक वर्षयहाँ थपिन्छन् ।

रुसमा मात्रै व्यापार-व्यवसायमा केन्द्रीय नरही यहाँका नेपालीहरुले नेपालमा आर्थिक लगानी भित्र्याउन पनि निकै अग्रणी भूमिका निर्वाह गरेका छन् । नेपालमा भएको गैरआवासीय नेपालीहरुको लगानीमा रुसका नेपालीहरुको निकै उल्लेख्य स्थान छ । बिभिन्न सामाजिक कार्यमा पनि यहाँका नेपालीहरुले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । एनआरएन एनसीसी बाहेक रुस-नेपाल उद्योग बाणिज्य संघ र नेपाली नारी निकुञ्ज जस्ता संस्थाहरुले नेपालको भाषा, संस्कृति र परम्पराको संरक्षणकालागि विभिन्न कार्यक्रमको आयोजना गरिरहन्छ ।

५. यहाँलाई त्यहाँ बसोबास गर्ने नेपालीहरु व्यापार-व्यवसायमा सफल हुनुको कारण के हो जस्तो लाग्छ ?
कुनै पनि पेशा वा व्यवसायमा सफल हुनका लागि समर्पण र इमान्दारिता अति महत्वपूर्ण कुरा हुन् । यी दुई कुरालाई साथ लिएर अगाडि बढ्ने कुनै पनि व्यक्ति रुसमा मात्र नभई दुनियाँभरि नै सफल व्यक्ति बन्न सक्छ भन्ने मेरो मान्यता छ । व्यापारमा अबसरको पनि त्यत्ति कै ठूलो भूमिका छ । पेरेस्त्रोइकाले प्रदान गरेको अबसरलाई हामीले मेहनत र इमान्दारितापूर्वक ग्रहण गर्न सकेकोले नै होला धेरै नेपालीले व्यापार-व्यवसायमा सफलता हासिल गर्न सकेको ।

६. यहाँ खासगरी कस्तो व्यवसायमा सम्लग्न हुनुहुन्छ ?
मेरो रुसमा कन्ज्युमर इलेक्ट्रोनिक्सको व्यवसाय छ । हामी रुस र सीआईएस (स्वाधीन राष्ट्रमण्डल) का देशहरुमा सोनी, पानासोनिक, एलजी, सामसुङ, जेभिसी आदि ब्राण्डका कन्ज्युमर इलेक्ट्रोनिक्सका सामानहरु बिक्रीवितरण गर्छौ ।

७. प्रवासको जीवन कस्तो पाउनुभयो त ?
नेपालमा भन्दा यहाँ अवश्य पनि सम्भावनाहरु बढी होलान् र एउटा पोखरीमा भन्दा समुद्रमा अवश्य पनि ठूला र धेरै माछा मार्न सकिन्छ होला, तर अर्को सत्य के पनि हो भने समुद्रमा ठूलो आँधी आउने सम्भावना पनि त्यत्तिकै प्रबल रहन्छ । त्यसैले प्रवासको बसाइका आफ्नै असहजताहरु छन् । रुसी भाषामा एउटा भनाइ छ “पाहुना घरमा आनन्द हुन्छ तर आफ्नो घरमा धेरै आनन्द ।”

८. अब गैरआवासीय नेपाली संघले के-कस्ता कार्यक्रम ल्याउनु पर्छ जस्तो यहाँलाई लाग्छ ?
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको यो छोटो अवधिमा धेरै नै उल्लेखनीय कार्यहरु गर्न सफल भएको छ । हालसम्म संसारका २७ राष्ट्रमा गैर-आवासीय नेपाली संघका राष्ट्रिय समन्वय समितिहरु गठन भएका छन् । गैरआवासीय नेपाली संघ विदेशमा बस्ने सवै नेपालीको आफ्नै साझा संस्थाको रुपमा स्विकार्य हुँदै गएकोछ । यसरी विश्वव्यापी सञ्जाल निर्माणको एउटा पाटो पूरा भएपछि हामी एउटा मजबुत समुहको रुपमा स्थापित भएका छौं । जसले हाम्रो दयित्वमा पनि बृद्धि भएकोछ । गत जनआन्दोलनको सफलतापछि भएको राजनीतिक परिवर्तनको परिप्रेक्षमा हामी अझ बढी जिम्मेवार बन्नु आवश्यक भएको छ । नेपालमा द्वन्दकालमा भत्किएका संरचनाको पुनर्निर्माणमा हामीले भूमिका खोज्नु आवश्यक छ । नेपालको ह्रासोन्मुख पर्यटन उद्योगको अन्तर्राष्ट्रिय छवि सुधार गर्न पनि हाम्रो ठूलो भुमिका हुन सक्छ । तर अर्को यथार्थ के पनि हो भने बिभिन्न बस्तुगत कारणबश हामीले अठोट गरेका थुप्रै काम अझै सम्पन्न हुन सकेका छैनन् । त्यसैले अहिले हामीले अरु धेरै प्रतिबद्धता व्यक्त गर्नुभन्दा गैरआवासीय नेपाली संघको विगतको विश्व सम्मेलन र प्रादेशिक सम्मेलनहरुमा तय गरेका बाँकी कामहरु पुरा गर्ने दिशातर्फ लाग्नु उचीत हुनेछ ।

९. गैरआवासीय नेपाली संघको तेस्रो विश्व सम्मेलनको तयारी कस्तो भइरहेको छ त ?
आउँदो अक्टोबर १५, १६ र १७ मा काठमाडौंमा हुने तेस्रो विश्व सम्मेलनका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदका सबै साथीहरु तयारीमा लागिसक्नुभएको छ । एसिया-प्यासिफिकका उपाध्यक्ष जापान निवासी देवमान हिराचनजीको अध्यक्षतामा विश्व सम्मेलन तयारी समितिको गठन भएको छ । विगतका दुई विश्व सम्मेलनहरुमा भन्दा तेस्रो सम्मेलनमा अझ बढी एनआरएन साथीहरुको उत्साहबर्धक उपस्थिति रहनेछ भन्ने हामीले विश्वास राखेका छौं । यस पटक हामीले दुईवटा कुरामा विशेष ध्यान दिनु आवश्यक छ भन्ने मलाई लाग्छ । द्वन्दकालमा भत्किएका संरचनाको पुनर्निर्माणमा हाम्रो लगानी, सीप र ज्ञानको उपयोगका संभावनाको बारेमा छलफल गर्नु आवश्यक छ । अर्को हाम्रो संगठनको सुदृढिकरणको कुरा छ । विश्वका २७ देशमा एनसीसी गठन भइसकेपछि हामीले तिनीहरुसँगको आइसीसीको सम्बन्धलाई अझ सुदृढ र समयसापेक्ष बनाउँदै संगठनलाई अझ बढी बिकेन्द्रिकृत बनाउनु जरुरी छ । त्यस बाहेक एनसीसीका साथीहरुसँग सल्लाह गरी सम्मेलनको एजेण्डा बनाइने छ । विश्व सम्मेलन तयारी समितिले त्यही अनुरुप काम सुरु गरिसकेकोछ ।

१०. अन्त्यमा विश्वभर छरिएर रहेका नेपालजापान डट कमका पाठकहरुलाई केही सन्देश छ कि ?
नेपालजापान डट कम विदेशबाट प्रकाशित हुने अनलाइन पत्रिकामध्ये एउटा लोकप्रिय पत्रिका हो । नेपालसम्बन्धित विविध समाचारहरु र विदेशमा बस्ने नेपालीहरुका विभिन्न गतिविधिहरुलाई समयमा नै प्रकाशित गरेर यसले पाठकहरुलाई सुसूचित गराउँदै आएकोछ । नेपाली अनलाईन पत्रिकाहरुले हामीलाई सँधै नेपालसँग जोडेर राख्न जुन भूमिका खेलेका छन् त्यसको जति प्रसंसा गरेपनि कम हुन्छ । आउँदा दिनहरुमा नेपालजापान डट कम लगायत सवै नेपाली अनलाईनहरु अझ सशक्त बन्दै जाउन् भन्ने कामना गर्दै विश्वमा छरिएर रहेका सम्पूर्ण एनआरएन साथीहरुमा नयाँ वर्ष २०६४ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।