Press Release

  • Home
  • Press Release
  • प्रेस विज्ञप्ति: बैदेशिक रोजगारमा रहेका नेपाली कामदारको अवस्था सम्वन्धि स्वेत पत्र सार्वजनिक

प्रेस विज्ञप्ति: बैदेशिक रोजगारमा रहेका नेपाली कामदारको अवस्था सम्वन्धि स्वेत पत्र सार्वजनिक


प्रेस विज्ञप्ति

नेपालको बैदेशिक रोजगारीको इतिहास निकै पुरानो छ । भारत, बेलायत, सिंगापुर लगायतका मुलुकमा सेना र प्रहरी वा अन्य श्रमका लागि नेपाली युवाहरु रोजगारीका लागि जाने प्रचलन पुरानै हो । त्यसो त उतिबेला नेपालमा बैदेशिक रोजगारी भन्दा पनि लाहुर जाने वा मुग्लान जाने नाममा युवाहरु विदेश जाने गरेका थिए । तर वैदेशिक रोजगारीका लागि नै भनेर युवाहरु विदेशी श्रम बजारमा जान थालेको भने करिब साढे चार दशक जति मात्र भएको छ । सन् १९९० पछि नेपालमा भएको राजनीतिक परिवर्तनसागै नेपालीहरुको लागि सहज रुपमा वैदेशिक रोजगारीको अवसर खुलेको हो । अहिले वैदेशिक रोजगारी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनेको छ । नेपालको बैदेशिक रोजगारीको पछिल्लो यात्राले छोटो समयमा धेरै सम्भावनाका साथै जोखिमहरु पनि बोकिरहेको छ ।

नेपाली युवाका लागि बैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ । दैनिक एक हजारदेखि पन्ध्र सय युवाहरु विभिन्न देशहरुमा रोजगारीका लागि देश छोडिरहेका छन् । नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसिया लगायतका देशहरुमा बैदेशिक रोजगारीमा जाने मध्ये करिव ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन् । युरोप, क्यानडा, अमेरिका लगायतका विकसित देशहरुमा पनि नगएका होइनन् तर तुलनात्मक रुपमा त्यो संख्या अत्यन्त कम छ ।

रोजगारीको सिलसिलामा वार्षिक करीब ४ लाख व्यक्तिहरु श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनौट नभएकोले अल्पकालीन रणनीतिको रुपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिादैन । तसर्थ, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको समयको माग र देशको आवश्यकता हो ।

नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि नेपाल सरकारले खोलेका ११० देशको लागि सन् २०१९ /२०२० मा मात्रै झण्डै ४ लाख नेपालीहरुले औपचारिक रुपमा नेपाल सरकारसाग श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रुपमा रहेको छ । कुल गार्हस्थ उत्पादनमा(जीडीपी)मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत २४ प्रतिशतको योगदान गरेका छन् । विश्वव्यापी कोरोना भाइरसको महामारीमा वैदेशिक रोजगारी समेत पूर्ण रुपमा प्रभावित हुादा मुख्य रुपमा मध्यपूर्व मा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायतका देशमा जाने नेपालीहरु समस्यामा परेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको हो । विदेशमा अलपत्रमा परेका नेपालीहरुको उद्धार र सहयोगमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कोभिड–१९ को महामारी पछि गैरआवासीय नेपाली संघ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब २ लाख नेपालीहरुको उद्धार गरिएको छ । आगामी दिनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार पारेको छ ।

कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरुको लागि आवश्यक सहयोग पुर्‍याउन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवश्यक तालिम, कानूनी परामर्श, अलपत्रमा परेकाहरुको घर फिर्ती र कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगहरुमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले नीतिगत सुधारका लागि पनि यो श्वेतपत्र सहयोगी हुने देखिन्छ ।

यसर्थ, वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतन सहित कयौा अवसर र चुनौतिहरुलाई समेटेर गैरआवासीय नेपाली संघको तर्फबाट यो श्वेत पत्र जारी गरिएको छ । यो श्वेतपत्रमा विशेषत: नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरुमा नेपालीहरुको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीहरुको पुर्नएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिका लगायतका बारेमा वास्तविक रुपमा चित्रण गर्ने कोसिस गरिएको छ ।

कोभिड –१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीहरुको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालाहरुलाई सचेत गराउने, साथै, नेपाली आप्रवासी कामदारहरुलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्रहरुको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको हो ।

डि.बि क्षेत्री

प्रवक्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद्

गैरआवासीय नेपाली संघ

२०७८, साउन ३१ गते (१५ अगष्ट २०२१)

 

Downloads

  1. 1. White Paper On Nepali Migrants In Foreign Employment

  2. 2. Presentation On White Paper On Nepali Migrants In Foreign Employment