मुख्य सचिवसंग भेटघाट
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नेपाल सरकारको मुख्य सचिव शंकरदास वैरागी संग भेट गर्नु भयो । उहांले संघको १०औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउंदै हाल सम्म संघले गरेका र भविष्यमा गरिने मुख्य गतिविधिहरु बारे जानकारी गराउनु भयो ।
साथै उहांले हालै सम्पन्न भएको १०औं गैरआवासीय नेपाली विश्व सम्मेलनबाट आएका निम्न निष्कर्ष तथा योजनाहरुको कार्यान्वयनमा सहयोग र समन्वय गरिदिन हुन अनुरोध गर्नु भयो ।
१. १०० कोठाको आधुनिक सुविधा सम्पन्न वृद्धआश्रम निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराईदिने सम्बन्धमा ।
२. वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम संचालनमा ल्याउनकालागि पहल गरिदिने सम्बन्धमा
३. नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधयेक बनाएर यथासक्दो छिटो पारित गर्ने सम्बन्धमा ।
४ कम्तिमा १० अर्बको एन. आर. एन. नेपाल डेभलपमेन्ट फण्ड सम्बन्धि भएका कानुनी बाधा अड्चनलाई फुकाउनका लागि सहजीकरण गरिदिने सम्बन्धमा ।
५. वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्न सहजीकरण गरिदिने सम्बन्धमा ।
संघले राखेका यी महत्वपूर्ण विषयहरुमा मुख्य सचिवज्यू सकारात्मक हुनु भएको र यस विषयहरुलाई सम्बन्धित निकाय संग सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहांले आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम निर्माण गर्न थालेको प्रति प्रशंसा गर्दै यस पुनित कार्यको लागि नेपाल सरकारको सहयोग रहने जानकारी गराउनु भयो । यस भेटघाटमा एन.आर.एन. नेपाल डेभलपमेण्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईको उपस्थिति रहेको थियो ।