President Corners

  • Home
  • President Corners
  • एनसिसि युकेको १५औ वार्षिकोत्सव सम्पन्नः

एनसिसि युकेको १५औ वार्षिकोत्सव सम्पन्नः



गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव समारोह नेपाली दूतावास युकेका उपनियोग प्रमुख शरदराज आरनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सम्वोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताउनु भयो । सम्बोधनको क्रममा संघका उहाँले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताउनु भयो । उहाँले संघको भवन बारे जानकारी दिनुका साथै भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी पनि दिनु भयो । यसरी नै उहाँले गैरआवासीय नेपालीसम्बन्धी नागरिकता ऐन बारे जानकारी समेत गराउनु भयो ।

संघका महासचिव डा. हेमराज शर्माले विगत ३ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पार्नु भयो । उहाँले गैरआवासीय नेपाली संघ अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने जानकारी दिनु भयो । उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको पनि अवगत गराउनु भयो ।

स्वागत मन्तव्य दिदैं एनसिसि युकेकी अध्यक्ष पुनम गुरुङले विगत ५ महिनामा परिषद्ले गरेका गतिविधिका बारेमा प्रकाश पार्नु भयो । उहाँले युकेमा रहेक सबै समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम संयोजक तथा आइसिसि सदस्य रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ युकेको इतिहासबारे जानकारी गराउनु भयो ।

कार्यक्रममा संचारकर्मी नरेन्द्र बस्नेतले तयार पारेको श्रव्य दृष्यको प्रदर्शन गरिएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्वमहासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित संस्था भएको बताउनु भएको थियो । उहाँले भातृभूमिका लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर एनसिसि युकेको स्थापना भएको बताउनु भयो । उहाँले गैरआवासीय नेपाली संघ कुनै धार्मिक तथा राजनीतिक संस्था नभएको बताउँदै सबैको छाता संस्थाको रुपमा विस्तार गर्नु पर्ने जोड दिनु भयो । कार्यक्रम अर्का पूर्वमहासचिव कृष्ण उपाध्यायले गैरआवासीय नेपाली नागरिकताको मुद्दा सबैको साझा भएको भन्दै गैरआवासीय नेपाली नागरिकताले सबै पक्षलाई समेटेर लैजाने बताउनु भयो । गैरआवासीय नेपाली संघको सदस्यता चुनावमुखि भएको भन्दै उपाध्यायले भने, ‘संघले नयाँ पुस्ता र पुराना पुस्तालाई जोड्ने कार्यक्रम ल्याउनु पर्छ ।’ उहाँले संगठनको स्वरुपमा समेत परिवर्तन गर्न सुझाव दिनु भएको थियो ।

कार्यक्रममा यति नेपाली एसोसियसन् युकेका अध्यक्ष ध्रुब केसीले संस्थाको स्थापनाकालको स्मरण गर्नु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघ युकेका सल्लाहकार शिवजी श्रेष्ठले गैरआवासीय नेपाली संघ युकेको गत सेप्टेम्वर महिनामा सम्पन्न भएको निर्वाचन बारे जानकारी गराउनु भयो ।

कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै संघका पूर्वअध्यक्ष महेन्द्र कंडेलले एनआरएनए अभियानमा थुप्रै नेपालीहरुको योगदान रहेको चर्चा गर्नु भयो । उहाँले संघभित्रका व्यक्तिगत तिक्तता मेटाएर अघि बढ्न सुझाव समेत दिनु भयो । एनसिसि युकेका संरक्षक सूर्य गुरुङले शुभकामना दिनु भएको थियो भने कार्यक्रममा सयपत्री कल्चर ग्रुपले विशेष संस्कृतिक कार्यक्रमको प्रस्तुत गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले विगत ३ वर्षको आफ्नो कार्यकालमा संघको गतिविधिलाई नजिकबाट नियाल्ने मौका पाएको बताउँदै तेस्रो पुस्ता तयार भइसकेको अवस्थामा दीर्घकालीन कार्यक्रम तय गर्न सुझाव दिए ।

उक्त समारोहमा आइसिसिका पदाधकारी र सदस्यहरु, एनसिसि युकेका संस्थापक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संघका केन्द्रीय पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, सल्लाहाकाररु, एनसिसि युकेका पदाधिकारी तथा सदस्यहरु लगायतको बाक्लो उपस्थिति थियो