अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना

Published On: Thursday, March 28, 2019 | Source: NRNA
गैरआवासीय नेपाली संघको निरन्तर अनुरोध पछि नेपाल सरकार अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना गरेको  छ । गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले माननीय गृह मन्त्री राम बहादुर थापालाई भेटी डेक्स स्थापना गर्ने काममा आवश्यक सहयोगका लागि अनुरोध गर्नुभएको थियो । यस अघि संघका उपाध्यक्ष कुल आचार्य र एनसिसि युकेले अध्यागमन विभागका प्रमुख ईश्वरराज पौडेललाई लण्डनमा यस बारे ध्यानाकर्षण गराउंदै एनआरएन डेस्क खोलि दिन आग्रह गर्नु भएको थियो ।
 डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताउनुभयो । सरकारले गैरआवासीय नेपालीहरुलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा पनि सरकारसंग  मिलेर काम गर्ने बताउनुभयो । भोलिबाट सुरु हुने लगानी सम्मेलनमा समेत गैरआवासीय नेपालीहरुको उत्साहपूर्वक सहभागी हुने उहाँको भनाई थियो । यसरी नै अध्यागमन विभागका महानिर्देशकले विभागले गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा  अध्यक्ष भट्ट सहित उपाध्यक्षद्वय कुमार पन्त, कूल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
 
गैरआवासीय नेपाली संघ ।