गैरआवासीय नेपाली दिवस

Published On: Sunday, October 14, 2018 | Source: NRNA
पहिलो गैरआवासीय नेपाली सम्मेलन सुरु भएको दिन पारेर अक्टुबर ११ का दिनमा  मनाइँदै  आएको गैर आवासीय नेपाली दिवस भोली (११ अक्टुबर २०१८) मा विभिन्न कार्यक्रम मनाइँदैछ । यसै दिनलाई सन्दर्भ पारेर संघको सचिवालय आफ्नै भवनमा सार्ने र शंखमुलमा निर्मित उद्यान ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यस्तै  ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको पुनर्निर्माण योजनाको हस्तान्तरण, पर्यटन प्रवर्धनात्मक कार्यक्रम, रक्तदान, सडक सुरक्षाका निम्ति अपनाउनु पर्ने निर्माण विधिको प्रदर्शन र सडक सुरक्षा शिक्षा प्रदान गर्ने लगायतका कार्यक्रमहरु आयोजना हुन गइरहेका छन् । 
 
दिवसका अवसरमा बिहान पशुपतिनाथ र स्वयम्भूमा पूजा आराधना गर्ने,   बिहान ११ बजे पत्रकार महासंघस्थित स्थापना गरिएको पुस्तकालयको शुभारम्भ  गरिँदैछ । यस्तै दिउँसो २ बज माइतीघर मण्डलामा नेपालको  राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने  कार्यक्रम रहेको छ ।
यसैबीच गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउनका लागि हरेक २ वर्षमा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने तय भएअनुसार गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२– १४ तारिखमा विज्ञ सम्मेलन आयोजना गर्ने गरी कार्यक्रम तय भएको छ । कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणिय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघियतामा शिक्षाको मोडल लगायतका धेरै बिषयमा यस सम्मेलनमा छलफल हुनेछ । सम्मेलनमा १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।  नेपाल भित्र र बाहिर कार्यरत विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र, नेपालस्थित कुटनीतिज्ञ लगायत विविध क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ ।  सम्मेलनमा ४ सय बढी प्रतिनिधीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
 
यस्तै, गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन विधानमा व्यापक संशोधन गर्नुपर्ने  कुराको आवश्यकता गत वर्षको विश्व सम्मेलनमा महशुस भएको  र सोही अनुसार १२ अक्टोवर २०१८ का दिन विधानसभा आयोजना गरिँदै छ  ।  उक्त विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहाकार तथा मानार्थ सदस्यहरुले भाग लिनुहुनेछ ।
गैरआवासीय नेपाली संघ ।