विज्ञ सम्मेलनको तयारी सम्बन्धमा सरोकारवालासँग छलफल

Published On: Sunday, April 1, 2018 | Source: NRNA
            गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा आयोजना गर्ने विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य तीव्र पारेको छ । सम्मेलनको तयारी स्वरुप १ अप्रिलमा संघले नेपालस्थित सरोकारवालाहरुसँग छलफल गरेको छ । छलफलमा  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न चार अनुसन्धान केन्द्र तथा अन्य विभागका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुले यस सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्नुपर्ने भनाइ राख्नुभएका थिए ।
          छलफलमा एन.आर.एन.ए. एकेडेमीका संयोजक डा.प्रमोद ढकालले सम्मेलनको उपयोग संस्थागत विकासमा हुनुपर्ने धारणा राख्नुभयो । गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले नेपालमा गैरआवासीय नेपालीहरुले उनीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रुपमा सम्मेलनलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । 
संस्थाका उपाध्यक्ष कुमार पन्तले नेपालमा अध्ययन र अनुसन्धानमा संलग्न विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुको सहयोगले सम्मेलन अझ बढी प्रभावकारी हुने र सो संलग्नता मार्फत विदेशमा बस्ने नेपालीसँग संस्थागत सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो ।  सम्मेलनमा विज्ञहरुसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएका विधान संशोधन समितिका संयोजक डा.हेमराज शर्माको नेतृत्वमा सरोकारवालाहरुको छलफलबाट प्राप्त सुझाव समेटेर सम्मेलन सम्बन्धमा विस्तृत विवरण प्रकाशित गर्ने तय भएको छ ।
            यस्तै आयोजना सम्बन्धमा नेपालमा एक इकाई समेत स्थापना गर्ने निर्णय छलफलबाट भएको छ । सो छलफलमा गैर–आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, विधान संशोधन समितिका संयोजक डा. हेमराज शर्मा तथा एन.आर.एन.ए. एकेडेमी संयोजक डा. प्रमोद ढकाल लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ ।