News

  • Home
  • News
  • १० अर्ब को एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना

१० अर्ब को एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना



गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ ।   विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ । फण्ड स्थापनाको औपचारिक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्यका लागि सदैव तत्पर रहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो ।
 गैरआवासीय नेपालीले लगानीदूतको रुपमा भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न मद्दत गर्न उहाँले आह्वान गर्नुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले छरिएर आउने गरेको लगानी संगठित रुपमा नेपाल ल्याउन बाटो खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, यसबाट पनि रोजगारी सिर्जना भइरहेको छ । केही समयअघि पनि हामीले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका थियौँ ।  तर हाम्रा दाजुभाइहरुले बृहत लगानीको प्ल्याटफर्म खोज्नुभएको थियो । त्यही मागलाई पूरा गर्न यो कोष आएको छ ।  फन्डका अध्यक्ष डा उपेन्द्र महतोले विश्वभरका नेपालीबाट ठूलो लगानी रकम नेपाल ल्याउँदा अन्य लगानीकर्तालाई समेत प्रोत्साहन गर्न सकिने बताउनुभयो ।
 नेपालको विसकामा पहिला नेपालीको सहभागिता आवश्यक पर्ने र त्यसपछि मात्र विदेशी पनि आकर्षित हुने उहाँको भनाई थियो । विदेशबाट लगानीमात्र नभई प्रविधि, सीप, कर्पोरेट कल्चर र सुशासन पनि भित्रने उहाँको विश्वास थियो । अर्थसचिव शिशिर ढुंगानाले  यस फण्डमा सरकारको पनि पाँच प्रतिशत लगानी रहने र यस फण्डलाई कोरोना पछिको अर्थतन्त्रको उत्थानका लागि  प्रयोग गर्न सकिने बताउनुभयो ।  यसअघिका पराम्परागत आयोजना नवप्रवर्धनात्मक पूर्वाधार र आर्थिक विकासका आयोजना पहिचान गरी लगानी गर्न यो फण्ड सहयोगी हुने र त्यसका लागि सरकारले सहयोग गर्ने उहाँको भनाई थियो ।
 कार्यक्रममा महाप्रसाद अधिकारीले फण्ड स्थापनाका परिकल्पनाकारलाई धन्यवाद दिनुभयो । उहाँले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नेपालको आर्थिक विकासमा सहभागिता जनाउन चाहने संसारभर छरिएर रहेका नेपालीको लागि यो फण्ड उपलब्धिमुलक  र फाइदाजनक हुने बताउनुभयो ।
 
एन.आर.एन. नेपाल डेभलमेन्ट फण्ड, एनआरएन फाउण्डेसन र लाप्राक नमूना बस्ती हस्तान्तरणबारे जानकारी दिने उद्देश्यले आयोजित
पत्रकार सम्मेलन
“नेपालीका लागि नेपाली” भन्ने मुख्य अवधारणासहित स्थापना भएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै नेपालको समृद्धि, नेपाली समुदायको सामाजिक उत्थान, परोपकार, व्यवसायिक एवं आर्थिक विकासका लागि निरन्तर काम गर्दै आएको छ । गैरआवासीय नेपाली संघले पूँजीसहित ज्ञान र सीपको विकासतर्फ पनि अग्रसरता देखाइरहेको छ ।  यसै सन्दर्भमा एनआरएन डेभलपमेन्ट फण्डले पूर्णता पाएको जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौँ । हाम्रो अथक प्रयासपछि २०७७ चैत्र ३० मा एनआरएन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड कम्पनी रजिष्ट्रार कार्यालयमा विधिवत रुपमा दर्ता भएको होे ।
यस कम्पनीको अधिकृत पूँजी. १० अर्ब रहेको छ । गैरआवासीय नेपाली संघको काठमाडौँस्थित सचिवालयमा यही वैशाख, ४ गते बसेको प्रथम बोर्ड बैठकले यस कोषको (फण्ड) को अध्यक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोज्यू लाई चयन गरेको जानकारी गराउँदछौँ । साथै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनलराज भट्टराईज्यूले पाउनुभएको छ । उहाँहरूको व्यवसायिक अनुभव र नेतृत्वले संसारभरका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा यस कम्पनीलाई स्थापित गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ । बैठकले एनआरएन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडको विशेष साधारण सभा मिति २०७८, वैशाख २९ गते आयोजना गर्ने निर्णय समेत गरेको छ । सो सभाबाट कम्पनीको पूँजी वृद्धि गर्ने एजेण्डा समेत तय गरिएको छ । यस कम्पनीमा संस्थापकको रुपमा लगानी गर्न चाहाने गैरआवासीय नेपालीहरुले सो मिति अगावै न्यूनतम ५० लाखको प्रतिवद्धतापत्र संघको सचिवालयमा पठाउन सक्नेछन् । यस फण्डका लागि सञ्चालक समिति समेत गठन गरिएको छ । सञ्चालक समितिले आफ्नो व्यवसायिक कार्य समेत अघि बढाइसकेको जानकारी गराउँदछौँ । पाँच प्रतिशत लगानीसहित सरकारसमेत प्रवद्र्धक रहेको यस कम्पनीमा ३ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको छ । कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुनेछ, जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा छ । यसबाट संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउनुहुनेछ ।
लाप्राक बस्ती हस्तान्तरण
गैरआवासीय नेपाली संघको महत्वपूर्ण मेघा प्रोजेक्ट अन्तर्गतको लाप्राक  नमूना बस्तीको निर्माण कार्य सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त खुशी छौँ ।  विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो । अब, सम्पूर्ण प्रक्रिया पूरा गरेर विसं २०७८ वैशाख ९ गते जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गरिने जानकारी गराउँदछौँ । बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका वडा नम्बर. ४  र नेपाल सरकारबाट समेत अनुमति प्राप्त भइसकेको छ । ५७ करोड ६६ लाख भन्दा बढीको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, नेपाल सरकार, स्थानीय सरकार लगायत सम्पूर्ण दाता एवं  अन्य सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।
एनआरएन फाउण्डेसनको स्थापना
नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्ने उदेश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरेको छ । विश्वभर छरिएका नेपालीहरुले नेपालमा गर्ने परोपकारी कामहरुलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उदेश्यले गैरआवासीय नेपाली संघले छुट्टै फाउण्डेनशनको स्थापना गरेको यहाँहरुसमक्ष जानकारी गराउँदछौँ । परराष्ट्र मन्त्रालयले प्रमाण्किरण गरेको गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ को संशोधन सहित)  मा एनआरएन फाउण्डेसनको व्यवस्था रहेको छ । यसको स्थापना नेपाल भित्र वा विश्वको कुन पनिै स्थानमा गरिन सकिनेछ । फाउण्डेशनमार्फत संघले सञ्ंचालन गर्ने परोपकारी परियोजनाहरुको लागि आवश्यक कोषको व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै सहयोग गर्ने संघसंस्थाहरुलाई समेत करमा छुट पाउन सक्ने प्रावधान अनुसार धेरै दाताहरुको सहयोग र साथ पाउन सकिन्छ भन्ने फाउण्डेशनको धारणा रहेको छ ।  फाउण्डेशनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, प्राचिन स्मारकहरुको मर्मत तथा जिर्णोद्धार, कला तथा संगीत क्षेत्रमा सहयोग, बैज्ञानिकहरु तथा श्रमिकहरुको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीहरुको उत्थान, विपत व्यवस्थापन तथा अन्या सरोकारका क्षेत्रमा सहयोग गर्ने जानकारी गराउँदछौँ ।
यसका साथै, सन् २०२१ जनवरी २३ र २४ तारिखमा सम्पन्न भएको संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित गरिएको संशोधित विधान परराष्ट्र मन्त्रलायले प्रमाणिकरण  गरेको सहर्ष जानकारी गराउँछौँ । विधान संशोधन सुझाव समिति तथा संशोधनको लागि भूमिका खेल्नु हुने सबैजनालाई धन्यवाद दिन चाहान्छौँ ।
अन्त्यमा, हाम्रा सम्पूर्ण परियोजनाको सफलताका लागि अहोरात्र खटिनुहुने महानुभावहरु, हामीलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग दिनुहुने सम्पूर्ण नेपाल सरकार, सरोकार निकाय, पत्रकार महानुभाव सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । साथै विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ बाट आफू र आफ्नालाई जोगाऔँ, सुरक्षित र स्वस्थ्य रहौँ ।
 गैरआवासीय नेपाली संघ
१९ अप्रिल २०२१