News

  • Home
  • News
  • सिन्धुपाल्चोकका एक हजार भूकम्प पिडीत परिवारलाई एनआरएनले दियो राहत प्याकेज

सिन्धुपाल्चोकका एक हजार भूकम्प पिडीत परिवारलाई एनआरएनले दियो राहत प्याकेज



काठमाण्डौ । गैरआवासीय नेपाली संघले भूकम्पपिडीत सिन्धुपाल्चोकका जनतालाई पहिलोपटक राहत बितरण गरेको छ । सिन्धुपाल्चोकको चनौटेमा शुक्रबार आयोजित कार्यक्रममा महांकाल, इचोक, किउल, हेलम्बु र पाल्चोक गाविसका करिव एक हजार परिवारलाई राहत बितरण गरिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा पुगेको गैरआवासीय नेपाली स्वयंसेवकहरुको टोलीले पिडीत परिवारलाई त्रिपाल, कम्बल, चाउचाउ, चिउरा लगायतका राहत सामाग्री वितरण गर्‍यो ।जिल्ला प्रशासन कार्यालयसँगको समन्वय र उनीहरुको सिफारिसकै आधारमा एनआरएनले सवैभन्दा धेरै प्रभावित यी गाविसहरुमा राहत बितरण गरेको हो । स्थानीय बासिन्दाहरुका अनुसार गैरआवासीय नेपाली संघ नै सो क्षेत्रमा राहत लिएर पुग्ने पहिलो टोली हो । भूकम्प आएको यति दिन बित्दा पनि यो क्षेत्रमा कोही पनि राहत बितरण गर्न आएको रहेनछ’ एनआरएन अध्यक्ष शेष घलेले भन्नुभयो – संसारभरका नेपालीहरुले एक-एक डलर जम्मा गरेको रकमबाट उहाँहरुकै हातमा राहत सामाग्री दिन पाउँदा सन्तोष मिलेको छ । राहत लिन आइपुगेका स्थानीय वासिन्दाहरुले आफुहरु भोकभोकै बस्नुपरेको गुनासो गरेका थिए । परिवारका सदस्य र वस्तुभाउ गुमाएका स्थानीय वासिन्दाहरुले गैरआवासीय नेपालीहरुको तर्फबाट खाना र नाना पाएपछि सन्तोषको सास फेर्दै धन्यबाद दिए । हामीले पहिलो चरणमा आपतकालिन राहत प्याकेजमात्र दिएका छौं अध्यक्ष घलेले भन्नुभयो- हामी भूकम्प पिडीत परिवारको उद्यमशीलता बिकाश र पुर्ननिर्माणमा समेत सहयोग गर्न चाहान्छौं, हाम्रो अभियान रोकिने छैन् । राहत वितरण कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष घले, उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक गोविन्द श्रेष्ठ, एमआईटी फाउन्डेसनकी अध्यक्ष जमुना गुरुङ लगायतले पिडीतलाई राहत वितरण गर्नुभएको थियो । राहत वितरण कार्यक्रमको संयोजन एनआरएन बहराइनका पूर्व अध्यक्ष श्याम तामाङले गर्नुभएको थियो । नेपाल भूकम्पको महाविपत्मा परेपछि गैरआवासीय नेपाली संघले बिश्वभरका नेपालीहरुलाई आपतकालिन राहत संकलन अभियानका लागि आह्वान गरेको थियो । सोहीअनुसार संसारभरका नेपालीहरुले संकलन गरेको करिव १० करोड रुपैयाँ बिभिन्न ७ जिल्लाका भूकम्पपिडीतका लागि राहत बितरण गर्ने एनआरएनले तयारी गरिरहेको छ । संघले सिन्धुपाल्चोकसँगै काभ्रे, धादिङ, नुवाकोट, गोरखा, रसुवा र गोरखामा गरी कूल १० हजार परिवारलाई न्यूनतम राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

 

भूकम्प पिडीतलाई बेग्लै स्वास्थ्य शिविर

यसैवीच गैरआवासीय नेपाली संघले भूकम्प पिडीतहरुका लागि बेग्लै स्वास्थ्य शिविर संचालन गरेको छ । आजदेखि सिन्धुपाल्चोकको चनौटेमा स्थापना गरिएको शिविरमा करिव एक सयको संख्यामा बिरामीहरुको स्वास्थ्य जाँच गरिएको छ ।अष्ट्रेलियामा कार्यरत नेपाली स्वास्थ्यकर्मी र नेपालमा कार्यरत चिकित्सक सम्मिलित करिव १५ जनाको टोलीले पिडीत स्थानीयवासीको स्वास्थ्य परिक्षण गर्दै प्राथमिक उपचारसमेत गरेको थियो । टोलीमा संलग्न डा. जयराम केसीका अनुसार धेरैजसो बिरामीहरु भूकम्पबाट घाइते भएकाहरु थिए । उनीहरुलाई प्राथमिक उपचार गरी निःशुल्क औषधीसमेत दिइएको छ । चनौटेमै केही दिन रहने सो स्वास्थ्य शिविरमा तीन जना चिकित्सक, नर्स र स्वयंसेवीहरु छन् । दुईवटा बेग्लाबेग्लै टोली बनाएर राहत वितरण गरिएका पाँचवटै गाविसका टोलटोलमा पुगी पिडीतहरुको स्वास्थ्य परिक्षण गरिने डा. बिदुरमणि ढकालले जानकारी दिनुभयो ।

 

गैरआवासीय नेपाली संघ सचिवालयकाठमाण्डौ ।