News

  • Home
  • News
  • संविधानले परिकपना गरेअनुसार गैरआवासीय नेपालीले नागरिकता पाउँछन् : परराष्ट्रमन्त्री

संविधानले परिकपना गरेअनुसार गैरआवासीय नेपालीले नागरिकता पाउँछन् : परराष्ट्रमन्त्री



एनआरएनए नागरिकतामा सबै दलको एउटै प्रतिबद्धता

प्राग । संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली सम्बन्धी नागरिकताको विषयमा नेपालका प्रमुख दलका नेताहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली संघको १५ औं युरोप क्षेत्रीय सम्मेलनलाई आइतवार सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरुले गैरआवासीय नेपालीहरुका मुद्धाका एक मत जाहेर गरेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताउनुभएको छ । चेक रिपब्लिकमा जारी १५ औँ यूरोपेली क्षेत्रीय सम्मेलनको समापन सत्रमा आइतबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकोले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी मुद्दा १५ -१६ वर्षदेखि बहसको विषय बनिरहेको छ अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता म सरकारको तर्फबाट गर्दछु ।”

गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रुपमा कुनै समस्या र विमति नभएको भन्दै उहाँले भन्नुभयो, “संविधान सम्मानित छ र परिवर्तनशील पनि छ । संविधान परिवर्तन नहुन्जेल चाहिँ हामी संविधानको दायराभित्र बस्नुपर्छ । तपाईहरुका समस्यालाई कानूनी फ्रेमवर्कमा राखेर समाधान गरिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता लगायतका विषय नेपाली कांग्रेस सकरात्मक रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पती अधिकार, मताधिकारका विषयमा बिभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिनुभयो । लेखकले आगामी दशैँ तिहारभित्रै गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निमार्णमा गैरआवासीय नेपालीहरुको समेत भूमिका भएको चर्चा गर्नुभयो । नेम्वाङले भन्नुभयो, “नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रष्ट लेखिएकोले मूर्तता दिनु पर्छ । त्यसको लागि हामी सहयोग गर्न तयार छौँ ।”

उहाँले समयअनुकुल आवश्यकता अनुसार संविधानलाई संसोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताउनुभयो । उहाँले गैरआवासीय नेपाली संघलाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गर्नुभयो । उहाँले नेपालका राजनीतिक दलहरुलाई थप जिम्मेवारी दिन समेत गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभयो ।

नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदान, सम्पतिको सुरक्षा र सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रियामा बोल्दै नेकपा माओवादीका सांसद खिमलाल देवकोटाले गैरआवासीय नेपालीहरुको मागप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष कुल आचार्यको सभापत्विमा सम्पन्न तेस्रो दिन आइतबारको कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्षहरु डा. हेम राज शर्मा, आरके शर्माले नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदान, सम्पतिको सुरक्षा र सामाजिक सुरक्षा लगायतका विषयमा कानूनी अड्चन तथा चुनौतीका बारेमा संस्थागत धारणा प्रस्तुत गरेका थिए । संघका उपहासचिव रामशरण सिम्खडाले सञ्चालन गरेको कार्यक्रममा सरोज दाहाल, योगेन क्षेत्री लगायतले आ–आफ्ना सुझाव दिएका थिए । शुक्रवारदेखि सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ । सम्मेलनको अन्त्यमा प्राग घोषणपत्र जारी गरिनेछ ।