News

  • Home
  • News
  • संघका अध्यक्षको अर्थमन्त्री र पुनर्निर्माण प्राधिकरणाका प्रमुखसंग भेटघाट

संघका अध्यक्षको अर्थमन्त्री र पुनर्निर्माण प्राधिकरणाका प्रमुखसंग भेटघाट



काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालका नवनियुक्त अर्थमन्त्री माननीय ज्ञानेन्द्र कार्कीसंग भेटघाट गरी गैरआवासीय नेपाली संघका गतिबिधि र मुद्दाबारे जानकारी गराउनु भएको छ ।

 जुन १३ तारिख मंगलबार अर्थमन्त्रालय सिंहदरवारमा भएको भेटमा सर्वप्रथम संघका अध्यक्षले नवनियुक्ति मन्त्री कार्कीलाई हार्दिक बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो ।

 मुख्यतया अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका गतिविधिहरुमा प्रकाश पार्दै संघले निर्माण गरिरहेको लाप्राक नमूना बस्तीबारे जानकारी गराउनु भयो । लाप्राकको भौगोलिक अवस्था तथा जलवायुको कारण निर्माणकार्य निकै चुनौतीपूर्ण रहेको भन्दै उहाँले त्यसमाथि प्रशासनिक झमेलाका कारण निर्माण कार्य अपेक्षा गरेभन्दा ढिलो भइरहेको जानकारी गराउनुभयो ।

उहाँले नेपालको बिकासको प्रस्थान बिन्दु नै स्थलमार्ग भएको र यसको बिस्तार, बिकास र स्तरउन्नतिमा नै समृद्ध नेपालको भविष्य गाँसिएको औंलाउँदै सरकारलाई सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

 अध्यक्ष घलेले नेपालको युवा जनशक्ति दक्षता बिनै वैदेशिक रोजगारीमा होमिएकाले प्रतिफल न्यून रहेको र दक्षता अभिबृद्धिमा राष्ट्रले भूमिका खेल्नु पर्ने सुझाव पेश गर्दै वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्दै देशमै रोजगारीको पाउने अबस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

 उहाँले गैरआवासीय नेपाली संघले कर्मचारी सञ्चय कोष संग सहकार्य गर्दै वैदेशिक रोजगारीमा गएकाहरुको लागि सञ्चय कोषको व्यवस्था गर्न लागेको जानकारी गराउँदै यसको कार्यान्वयनमा सहजिकरण गरिदिन समेत अग्रह गर्न भयो ।

 माननीय अर्थ मन्त्रीले संघका प्रतिनिधिहरु आफ्नै पहलमा अर्थ मन्त्रालयमा आउनु भई संघका गतिविधि तथा सुझावहरु पेश गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । उहाँले गैरआवासीय नेपालीहरुका समस्या तथा सुझावप्रति अर्थ मन्त्रालय सकारात्मक रहेको र सम्भव भएसम्म संबोधन गरिने वताउनु भयो

 उहाँले संघलाई लाप्राक नमूना बस्ती निर्माण गर्न अग्रसर भएकोमा अभार प्रकट गर्नु भयो र स्थानिय चूनाव सम्पन्न भएपछि आफू लाप्राक गई त्यहाँका स्थानिय बासिन्दाको जीवनस्तर कसरी उकास्न सकिन्छ र यसमा अर्थ मन्त्रालयले कस्तो भूमिका खेल्न सक्छ त्यसको समिक्षा गरी उचित रणनीति समेत अपनाउने आश्वासन दिनु भयो ।

 अर्थ मन्त्रीले कर्मचारी सञ्चय कोषसागको सहकार्यमा संघले वैदेशिक रोजगारीमा गएकाहरुको लागि संचालनमा ल्याउन लागेको सञ्चय कोषको व्यवस्था वैदेशिक रोजगारीमा गएकाहरुको लागि मात्र नभई राष्ट्रको लागि समेत फलदायी हुने भएकोले यसको अर्थ मन्त्रालयले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुखसाग छलफल
 

संघका अध्यक्ष शेष घले नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलसाग भेट गरी लाप्राक नमूना बस्तीको प्रगतीबारे अवगत गरायो ।सो अवसरमा अध्यक्ष घलेले धरै प्रयास र छलफलपछि नमूना बस्तीको घरको नक्सा स्वीकृत गरिदिएकोमा प्राधिकरणलाई धन्यवाद व्यक्त गर्दै सो स्वीकृति पत्रमा उल्लेख गरिएको इन्टरलकिङ्ग ब्रिकको मापन शक्ति ५ एमपिए कायम गरिएको तर नेपाल सरकारको मापन शक्ति ३.५ एमपिए मात्र रहेको प्रति कार्यकारी अधिकृतको ध्यानाकर्षण गराउनु भयो ।

 अध्यक्ष घलेले २५ देशका झण्डै ५० जना दक्ष जनशक्ति एक महिनाको लागि स्वयंसेवकका रुपमा लाप्राकमा १५ जुन देखि परिचालन गर्न लागिएको जानकारी दिदै यस कार्यले नेपालको पुनर्निमाणको सन्देश विश्वभर फैलिने र थप सहकार्य तथा सहयोगको लागि ढोका खोल्ने वताउनु भयो ।कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले प्राधिकरण संघलाई पुनर्निमाणमा सहजकर्ताको भूमिका निर्वाह गर्न हरदम तयार रहेको र त्यस क्षेत्रको स्थानिय तहको निर्वाचन सम्पन्न भई सकेकोले धेरै अधिकार गाउँपालिकालाई हस्तान्तरण गरिएको समेत अवगत गराउनु भयो ।

 डा. गोविन्द पोखरेलले लाप्राक नमूना बस्तीको प्रगति विवरण जानकारी गराएकोमा धन्यवाद व्यक्त गर्दै इन्टरलकिङ्ग ब्रिकको मापन शक्ति नेपाल सरकारको मापनअनुसार कायम राख्न सुझाव दिंदै लाप्राक नमूना बस्ती निर्माणको अनुभव र स्रोत अन्य बस्ती निर्माणमा समेत उपयोग गर्न सकिने वताउनु भयो ।

 भेटमा संघका तर्फबाट अमेरिकाज् क्षेत्रिय संयोजक सोनाम लामा, सल्लाहकार त्रिलोक गुरुङ्ग र सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

 रञ्जु थापा

प्रवक्ता

अन्तराष्ट्रिय समन्वय परिषद्,

गैरआवासीय नेपाली संघ ।

 मिति: ३० जेष्ठ, २०७४ ।