News

  • Home
  • News
  • वैदेशिक रोजगार सम्बन्धी संचारकर्मीहरुसंग छलफल :

वैदेशिक रोजगार सम्बन्धी संचारकर्मीहरुसंग छलफल :



८ मार्च २०२० का दिन वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउने र यस सम्बन्धमा संघको दीर्घकालीन नीति सहितको आधिकारिक धारणा पत्र बनाउने संघको पहल बारे  जानकारी गराउन र यस सम्बन्धमा संचारकर्मीहरु संग समेत सुझाव लिनका उद्देश्यले गैरआवासीय नेपाली संघ र नेपाल वैदेशिक रोजगार पत्रकार समाज वीच एक छलफल कार्यक्रमको आयोजना गरियो । उक्त छलफल कार्यक्रममा मूलतः निम्न मुख्य विषयहरु माथि छलफल भएको थियो ।
  • वैदेशिक रोजगारीको क्षेत्रमा हाल  देखिएका समस्याहरु
  • वैदेशिक रोजगारीमा भएका समस्याका समाधानका गैरआवासीय नेपाली संघको भूमिका
  • वैदेशिक रोजगार कोषको प्रभावकारी उपयोग
  • वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा
  • संघको वैदेशिक रोजगारी सम्बन्धमा आधिकारीक धारणामा समेटिने विषयहरु
यस कार्यक्रममा उपस्थित भएका संचारकर्मीहरुले माथिका विषयहरुमा केन्द्रित भएर आ-आफ्ना सुझावहरु दिनु भएको थियो ।
छलफलमा संचारकर्मीहरु द्वारा संघले वैदेशिक रोजगारी सम्बन्धमा निस्पक्ष र मुलुकका लागि उपयोगी सुझाव दिनसक्ने उपयुक्त संस्था भएको र बनाउन लागिएको अवधारणा पत्रमा संघले खेल्न सक्ने भूमिकामा केन्द्रित रहन सुझाव दिएका थिए । उहाँहरुले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरुलाई उद्धार र राहतमा संघले ठूलो सकारात्मक भूमिका खेलेको र अन्ततः उद्धार र राहतको दायित्व राज्यकै भएकोले यस सम्बन्धमा संस्थागत व्यवस्था गर्न संघले दबाब दिनु पर्ने धारणा राख्नु भयो । साथै उहाँहरुले नयाँ र उच्च आय आर्जना हुने गन्तब्य विकास गर्न र वैदेशिक रोजगारीमा जानेहरुको सीप अभिबृद्धि गर्न संघले पहल गर्नु पर्ने धारणा राख्नु भयो ।
उक्त अवसरमा संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिनु भएको थियो । साथै उहांले संघले वैदेशिक रोजगारी सम्बन्धि संघको दीर्घकालीन नीति सहितको आधिकारीक धारणा पत्र बनाउने कार्यक्रम रहेको बारे जानकारी दिदै राय सुझावहरु दिनको लागि अनुरोध गर्नु भयो । यसरी नै अन्य संघका पदाधिकारहरुले पनि यस विषयमा आफ्ना धारणाहरु राख्नु भएको थियो ।
यस कार्यक्रमा वैदेशिक रोगार पत्रकार समाज, अन्नपूर्ण पोष्ट, नागरिक दैनिक, नयाँ पत्रिका, रोजगार मिडिया लगायत अन्य दैनिक पत्रिकाका साथै अनलाइन मिडियाहरु र संघको तर्फबाट उपाध्यक्षहरु क्रमशः डा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, महासचिव डा. हेमराज शर्मा, महिला संयोजक भोमा देवी लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
सचिवालय,
गैरआवासीय नेपाली संघ ।