News

  • Home
  • News
  • विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न संघले गरेको पहल सफल :

विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न संघले गरेको पहल सफल :



गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि एक दशक भन्दा बढी समयदेखि संघले गरि आएको पहलले सार्थकता पाएको बताउनु भएको छ ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संघले लगातार नेपाल सरकार र सम्बन्धित निकायसंग गरेको पहलले मुर्तरुप लिएको बताउनु भएको हो । आप्रबाशनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारि हुने उहाँको भनाइ छ । संघले सरकारसंग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । सरकारले कार्यविधि ल्याएसंगै बैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको भन्दै थापाले सरकारले गरेको यो निर्णयले बिदेशमा रहेका श्रमिकलाई राहत मिलेको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “संघकै तर्फबाट पटकपटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।”

हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसंग संघले सहकार्य समेत गरिरहेको भन्दै अध्यक्ष थापाले आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरी यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्ने बताउनुभयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा बस्ने नेपालीलाई योगदानमा आधारित कोषमा आवद्व हुन आवहान गर्नु भयो ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएको निरन्तर सहकार्य र पहलको लागि धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले यस कार्यकमा सहयोग गर्नु हुने संघका पदाधिकारीहरु लगायत सम्पूर्ण अग्रज तथा अभियन्ताहरु प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरु, सरकोकारवालाहरु, संचारकर्मीहरु लगायत गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ